राजनीतिक नियुक्तिले राससमा लफडा


सञ्चार मन्त्रालय जसको हातमा उसैको हातमा राष्ट्रिय समाचार समिति । डाडुपन्यू आफ्नो हातमा भएपछि के चाहियो र ? राष्ट्रिय समाचार समिति (रासस) विगतदेखि नै कार्यकर्ता भर्तिको अखडा बनेको हो । तीनतीन महिना म्याद थप्दै पदावधी बढाएर कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने थलो बनेको राससमा व्यवस्थापनले म्याद नथप्ने गाइँगुईँ चलेपछि मासिक, ज्यालादारी कर्मचारी तथा सञ्चारकर्मी आन्दोलनमा उत्रिएका छन् ।

मासिक, ज्यालादारी कर्मचारी तथा सञ्चारकर्मीलाई व्यवस्थापनले मनोवैज्ञानिक त्रास दिएको भन्दै उनीहरुले व्यवस्थापनलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्मचारी संघर्ष समितिले मासिक ज्यालादारी कर्मचारी तथा सञ्चारकर्मीको म्याद थपिदैन भन्दै गरिएको प्रचार नरोके कडा कदम चाल्न बाध्य हुने चेतावनी दिँदै असार ११ गते अध्यक्ष कोमल बराललाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघर्ष समितिले लामो समयदेखि मासिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई स्वतः स्थायी नगरि नयाँ कर्मचारी नियुक्ति नगर्न, आफूहरुलाई श्रम ऐनका आधारमा बिदा लगायत सबै सेवा सुविधा उपलब्ध गराउन, कर्मचारीको बढुवा, सेवावृद्धि जस्ता काम तत्काल प्रक्रियागत रुपमा अघि बढाउनु पर्ने लगायत माग गरेको छ ।

आन्दोलनमा उत्रेका पत्रकार–कर्मचारी महाप्रवन्धक रामकुमार कोइरालाप्रति क्रुद्ध छन् । ‘हाम्रो मागप्रति अध्यक्ष त सकारात्मक नै हुनुहुन्थ्यो तर जिएमले म्याद नथप्ने भन्दै मनोवैज्ञानिक त्रास दिनुभयो’, राससमा कार्यरत एक पत्रकारले भने, ‘हामीलाई निकाल्न मन्त्रालयदेखि नै षड्यन्त्र भएको छ ।’ आन्दोलनरत कर्मचारीले आफ्ना मागबारे जानकारी गराउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सञ्चारमन्त्री राजकिशोर यादवलाई पनि भेट्ने भएका छन् । उनका अनुसार राससमा ४० जना अस्थायी तथा मासिक ज्यालादारी पत्रकार–कर्मचारी छन् ।

राससका करार तथा मासिक ज्यालादारी कर्मचारीको विगतदेखि नै ३/ ३ महिनामा म्याद थपिँदै आएको छ । राससमा १५/ १६ वर्षदेखि मासिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरु समेत छन् । रासस अध्यक्ष कोमल बरालले कर्मचारीको ज्ञापनपत्रको विषय ठुलो विषय नभएको र आफु ‘सकारात्मक नै रहेको’ प्रतिक्रिया दिए । ‘म त सकारात्मक नै थिएँ र छु’, अध्यक्ष बरालले भने, ‘उहाँहरुलाई केही आशंका भएकोले ज्ञापनपत्र सहित आउनुभएको होला ।’ कर्मचारीले ज्ञापनपत्र बुझाउनु सामान्य विषय भएको भन्दै अध्यक्ष बरालले विगतदेखि नै कर्मचारीको म्याद थप्ने चलन भएको बताए ।

यस्तो छ कर्मचारीको ज्ञापनपत्रः

मासिक ज्यालादारी तथा अस्थायी कर्मचारी संर्घष समिति
रासस, केन्द्रीय कार्यालय
भद्रकाली प्लाजा काठमाडौ
मिति–२०६९/ ३/ ११

श्रीमान अध्यक्ष ज्यू,
राष्ट्रिय समाचार समिति भद्रकाली प्लाजा, काठमाडौ

विषय – ज्ञापनपत्र सम्बन्धमा

महोदय,

देशको एकमात्र  राष्ट्रिय समाचार समितिमा  विगत लामो समयदेखि कार्यरत मासिक ज्यालादारी कर्मचारी तथा सञ्चारकर्मीहरुलाई विनाकारण सेवाबाट बञ्चित गर्ने भन्ने विषयहरु सार्वजनिक गरेर व्यवस्थापनले मनोवैज्ञानिक आतंक सिर्जना गरेको  प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको  छ । जनतालाई सूचना दिनका लागि दिन रात नभनी कार्य क्षेत्रमा पूर्ण इमान्दारीताका साथ काममा खटिएका सञ्चारकर्मी तथा कर्मचारीहरुलाई म्याद थपिँदैन भन्दै गरिएको प्रचार र मनोवैज्ञानिक आतंक तत्काल नरोकिए कडा भन्दा कडा कदम चाल्न हामी बाध्य हुने चेतावनी दिन चाहन्छौ ।

लामो समयदेखि अस्थायी तथा मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आन्तरिक प्रक्रिया मार्फत स्थायी गर्नुपर्नेमा उल्टै कामबाट निकाल्ने भन्दै मनोवैज्ञानिक आतंक फैलाउनु व्यवस्थापनको लाचारी भन्दा अरु केही हुनै  सक्दैन । यस समाचार समितिमा कार्यरत मासिक ज्यालादारी कर्मचारीको अवमूल्यन गर्ने दुष्साहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भने हामीहरुको कार्यदक्षताको उचित मूल्याङ्कन नभएकोप्रति समेत दुःख व्यक्त गर्न चाहन्छौं । साथै, कुनै पनि मूल्यमा समितिका पक्षमा खरो उत्रन सक्ने क्षमता हामीमा रहेको स्पष्ट हुँदा हुँदै व्यवस्थापनबाट चालिएको त्यस प्रकारको कदम दुरासय पूर्ण रहेको तथ्य स्पष्ट भएको छ । हामी गर्वका साथ आगामी दिनमा समितिका पक्षमा खरो  उत्रने विश्वास दिलाउन चाहन्छौं । तर, त्यसको बदलामा हठात् ज्यालादारी कर्मचारीहरुलाई हटाउने हल्ला फिजाउने र त्यसको तयारी गर्ने व्यवस्थापनले यो कुरालाई अगाडि बढाए र त्यस खालको व्यवहार जारी राखिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा व्यवस्थापनले नै लिनुपर्नेछ ।

आन्तरिक प्रक्रिया पुर्‍याएर सबै ज्यालादारी कर्मचारीहरुलाई स्थायी गर्छौ भन्दै आएको व्यवस्थापनले यतिबेला हामी मासिक ज्यालादारी कर्मचारीहरुको म्याद कहिले कहिले सकिन्छ भन्दै मन्त्रालयमा रिपोर्ट बुझाउने र मानसिक यातना दिने काम गरिएको भन्ने कुरा सुनिन आएकाले त्यस प्रति  घोर भ्रत्सना गर्दछौँ ।

चोर बाटोबाट चालिएका यस्ता अराजक हर्कत र व्यवस्थापनले सिर्जना गरेको मनौवैज्ञानिक  आतंक तत्काल रोक्न अनुरोध गर्दछौं, अन्यथा हामी जस्तो सुकै पनि कदम चाल्न बाध्य हुने छौँ । यस्तो हर्कत कोही कसैको निर्देशनमा कालो पर्दाभित्र बाट चालिएको कदम त होइन भन्ने हामीलाई आशंका  पैदा भएको छ । हामीले व्यवस्थापन समक्ष विनम्रतापूर्वक राखेको माग उपर कुनै सुनुवाई नगरी मन्त्रालयमा रिपोर्ट बुझाएर आत्मरतिमा रमाउने कुचेष्टा गरिए त्यो व्यवस्थापनका लागि सबैभन्दा महङ्गो पर्ने पनि हामी चेतावनी दिन चाहन्छौ, साथै यस्तो व्यवहार रोकेर तत्काल स्थायीको प्रक्रिया अगाडि नबढाइए त्यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मा लिन पनि यो ज्ञापन पत्र मार्फत अवगत गराउन चाहन्छौँ ।

वोधार्थ :

महाप्रवन्धक, राष्ट्रिय समाचार समिति ,

कर्मचारी संघ रासस, नेपाल राष्ट्रिय कर्मचारी संघ रासस, नेपाल पत्रकार महासंघ रासस शाखा, क्रान्तिकारी पत्रकार संघ रासस शाखा ,प्रेस चौतारी नेपाल रासस शाखा , नेपाल प्रेस युनियन रासस, शाखा ,नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ, राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल प्रजातान्त्रिक कर्मचारी संघ, न्यूनत्तम पारिश्रमिक निर्धारण आयोग, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, अन्तर संस्थान कर्मचारी संघ तथा सङ्गठनहरु

हाम्रा मागहरु
१. लामो समयदेखि मासिक ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई स्वतःस्थायी गरियोस। किनकी यति लामो समयदेखि आफनो क्षेत्रमा पूर्ण दक्षताका साथ कार्य गर्नु आफैमा कडा परीक्षा हो ।
२. हामी माथि थोपरिएको मनौवैज्ञानिक आतंक तत्काल बन्द गरियोस ।
३. हाल समितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई स्वतःस्थायी नगरिकन नयाँ कर्मचारी नियुक्ती गर्ने काम रोकियोस ।
४. मासिक ज्यालादाीमा कार्यरत हामी कर्मचारीहरुलाई श्रम ऐनका आधारमा विदा लगायत सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइयोस ।
५. समितिभित्र रहेको कामचोर प्रवृत्ति, हाटा प्रवृत्ति तथा अराजकतालाई तत्काल अन्त्य गरियोस ।
६. काम नगर्ने र केवल गुटवन्दी गर्ने, सस्थागत हित र  मर्यादा विपरित काम गर्ने , सस्थाको गोप्यता र मर्यादा भङ्ग गर्दै एनजिओ, आईएनजीओमा संलग्नहरुलाई सस्थागत कारवाही गरियोस ।
७. यस समितिको विनियम धेरै पूरानो भएकाले यसलाई तत्काल समयानुकुल परिवर्तन गरियोस र कर्मचारीहरुको हकहित मैत्री बनाइयोस ।
८. समितिका सम्पूर्ण सम्पत्तिहरु पहिचान गरी तिनीहरुलाई आय आर्जनको स्रोतका रुपमा परिचालित गरियोस ।
९. ठूलो सानो उच निच भन्ने सामन्ती मानसिकताको अन्त्य गरी सम्पूर्ण तहका कर्मचारीहरुको श्रमको सम्मान गर्दै सबैलाई समान दृष्टिले हेर्ने र व्यवहार गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक सस्कारको विकास गरियोस ।
१०. साथै सम्पूर्ण कर्मचारीहरुको स्वभाविक अधिकारको रुपमा रहेको बढुवा, सेवावृद्धि जस्ता कार्यहरुलाई तत्काल प्रक्रियागत रुपमा अगाडि बढाइयोस ।
११. संस्थामा कार्यरत सम्पूर्ण स्टिन्जरहरुलाई स्वतः सवोच्च अदालतको आदेश र न्यूनत्तम पारिश्रमिक निर्धारण आयोगको निर्देशन बमोजिम काममा लगाइयोस ।

मासिक ज्यालादारीहाम्रा मागह्ररु उपर सुनुवाई नभए तथा व्यवस्थापनले जारी राखेको मनोवैज्ञानिक आतंक पूर्ण रुपमा अन्त्य गरी स्वतः स्थायीको प्रक्रिया अगाडि नबढाए, त्यसबाट उत्पन्न हुने हुने जुनसुकै परिणामको जिम्मेवार समेत स्वयम् व्यवस्थापन नै हुने छ ।

सम्पूर्ण  मासिक ज्यालादारी तथा  अस्थायी कर्मचारी संर्घष समिति
रासस  केन्द्रीय कार्यालय

(प्रष्टीकरणः राससका महाप्रवन्धक रामकुमार कोइरालासँग सम्पर्क हुन नसकेकोले यो पोष्टमा महत्वपूर्ण पक्ष छुट्न गएको छ । आगामी दिनमा यसबारे लेख्ने छौँ ।)