‘पत्रकारलाई तलब नदिने मिडियालाई कारबाही गर’


 

पूर्वाञ्चलका सञ्चारकर्मीको भेलाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन फितलो रहेको निष्कर्ष निकाल्दै ऐन कार्यान्वय नगर्ने सञ्चार प्रतिष्ठानलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्गमा भएको पुर्वाञ्चल मिडिया सम्मेलनले ऐन कार्यान्वय नगर्ने संचार प्रतिष्ठानको नवीकरण नगर्न, लोककल्याणकारी लगायत सरकारी विज्ञापन र अरु सेवा सुविधा बन्द गर्न पनि सिफारिस गरेको छ ।

भेलापछि १५ बुँदे तेह्रथुम घोषणापत्र जारी गर्दै सम्मेलनले लामो समयदेखि पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठानलाई पारिश्रमिक अविलम्ब उपलब्ध गराउन आग्रह गर्दै आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका मुद्दालाई प्रेस स्वतन्त्रताको मुद्धासँगै उठाउन सञ्चार सम्वद्ध संस्थाहरुलाई आग्रह गर्दै नियुक्ति पत्र र न्युनत पारिश्रमिकको सुनिश्चितता नभएसम्म सञ्चार प्रतिष्ठानमा काम नर्गन संचारकर्मीहरुलाई आग्रह गरिएको पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानले जानकारी दिनुभयो ।

नियुक्ति पत्र र न्युनत पारिश्रमिकको सुनिश्चितता नभएसम्म सञ्चार प्रतिष्ठानमा काम नर्गन संचारकर्मीहरुलाई आग्रह

भेलाले मोफसलका सञ्चार प्रतिष्ठानको स्थायित्वको लागि समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय निकायका विज्ञापन अनिवार्य रुपमा स्थानीय सञ्चार माध्यममा उपलब्ध गराउने ब्यवस्था गर्न पनि सरकारसँग सम्मेलनले माग गरेको छ । यसैगरी सम्मेलनले पत्रकारिता क्षेत्रमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित र पछाडी पारिएको क्षेत्रको सहभागितामा बृद्धि गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

पत्रकार महासंघ पूर्वाञ्चल क्षेत्रिय समितिको आयोजना तथा तेह्रथुम शाखाको व्यवस्थापनमा भएको सम्मेलनमा पूर्वाञ्चलका भोजपुर, खोटाङ्ग, उदयपुर र सोलुखुम्वु बाहेक १२ वटा जिल्ला शाखाका अध्यक्ष र प्रतिनिधि गरी झण्डै ५० जनाको सहभागीता थियो ।

यसैबीच पत्रकार मकासंघ तेह्रथुम शाखाको भवन शिलान्यास भएको छ । महासंघका अध्यक्ष गाउलेले म्याङ्लुङको बसपार्क नजिकै शाखाको भवन निर्माणको शिलान्यास गर्नुभयो ।