पत्रकार धम्क्याएकोप्रति पत्रकार महासंघको आपत्ति


नेपाल पत्रकार महासंघले एकीकृत नेकपा माओवादीका कार्यकर्ताले समाचार लेखेको विषयमा मोरङका पत्रकारलाई धम्की दिएकोप्रति खेद व्यक्त गरेको छ । महासंघका महासचिव ओम शर्माले असार १९ गते विज्ञप्ती निकालेर मोरङको उर्लावारीबाट प्रकाशित ‘निगरानी दैनिक’का सम्पादक मिलन के राउत र सम्वाददाता तेजन खड्कालाई समाचार लेखेको विषयमा माओवादी कार्यकर्ताले दिएको धम्की दिएकोमा आपत्ति जनाउँदै खेद व्यक्त गरेका हुन् ।

‘धम्कीका कारण पत्रकारहरु आफ्नो कार्यक्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुनु मुलुकमा प्रेसजगत हदैसम्म असुरक्षित छ भन्ने प्रमाण हो’, महासचिव शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रकाशित समाचारबारे आफ्नो असहमति भए त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै यसरी पत्रकारहरुलाई धम्क्याउनु निन्दनीय र खेदजनक काम हो ।’

महासंघले एकीकृत नेकपा माओवादी सहित सम्वद्ध सबैमा यस्ता ज्यादती बन्द गरेर प्रेसलाई निर्भयपूर्वक काम गर्ने बातावरण बनाउन अपिल गरेको छ ।

मोरङको उर्लाबारी २ मा एकीकृत नेकपा माओेवादी र काँग्रेस कार्यकर्ताबीच भएको झडपको बारेमा छापिएको समाचारको विषयलाई लिएर माओवादी कार्यकर्ताले राउत र खड्कालाई ज्यान मार्ने धम्की दिएका थिए । सम्पादक राउत प्रेस चौतारी नेपाल मोरङ शाखका उपाध्यक्ष समेत हुन् ।

गत असार ५ गते राति माओवादी र काँग्रेस कार्यकर्ताबीच भएको झडपको विषयमा ‘निगरानी’मा प्रकाशिन समाचारको विषयमा आफुहरुलाई पटक पटक ज्यान मार्ने धम्की आएको पीडित पत्रकारले बताएका छन् ।

गत शनिबार पत्रिकाको छापाखान तोडफोड भएपछि आइतवारदेखि नै पत्रिकाको प्रकाशन बन्द छ । तर एकीकृत माओवादीका जिल्ला सहइन्चार्ज गणेश उप्रेतीले पत्रकारलाई धम्कि दिने आफ्नो नीति नरहेको भन्दै घटनाको जिम्मा नलिने बताएका छन् ।