चोरलाई चौतारो, साधुलाई शूली !


 

तीन वर्ष पहिला नागरिक दैनिकमा आवद्ध भएर पत्रकारिता थाल्दा पत्रकार खिलानाथ ढकालले भर्खरै १०+२ सकेका थिए । पूर्व सन्देश दैनिक, जनसंसद् दैनिक लगायतका पत्रपत्रिकामा झण्डै साढे २ वर्षदेखि कार्यरत ढकालले २०६६ साउनमा अन्तर्वार्तामा भिडेर नागरिकमा सम्वाददाताको काम पाएका थिए ।

ढकाल दिनरात, गर्मीवर्षा, चाडपर्व, आफन्त परिवार केही नभनी रिपोर्टिङमा लागिरहे, निरन्तर । पत्रकारहरु पैसामा बिक्छन् भन्नेहरुलाई लोप्पा खुवाउँदै ढकाल गुण्डाराजसँग लडे, अदालत र सरकारी कार्यालयमा हुने भ्रष्टाचार र अनियमितता विरुद्ध लेखिरहे । समाचार लेखेकै कारण मरणासन्न हुने गरी कुटाइ पनि खाए । अदालतमा मुद्दा खेपे (खेपिरहेका छन्) । तर अन्तिममा आफ्नै संस्थाबाट हात लाग्यो, ‘कारवाही ’।

संयोग नै भन्नुपर्छ, नेकपा एमालेका लागि गरेको योगदानको कदर स्वरुप पर्शुराम बस्नेतले केन्द्रीय सदस्यमा बढुवा पाएको दुई हप्ता पछि पत्रकार खिलानाथ ढकालले नागरिक पत्रिकाका लागि गरेको योगदानको बदलामा सरुवा पाएका छन् । पत्रकार ढकालले साउन २८ गते नै आफ्नो फेसबुकमा आफुलाई सरुवा गरिएको उल्लेख गरेका छन् ।

नेपाल रिपब्लिक मिडिया प्रा.लि.ले हाल कार्यरत क्षेत्र विराटनगरबाट मलाई सरुवा गरेको छ । सरुवाको औपचारिक पत्र पाएँ । पत्रअनुसार म अब सिन्धुली जानुपर्ने रहेछ । के गर्दा उपयुक्त होला भन्ने सुझबुझपूर्ण निर्णयको तयारीमा छु । विराटनगर रहँदा बस्दा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरुलाई हृदयदेखि धन्यवाद । इलाम जिल्लाबाट मैले २०६६ सालदेखि नागरिकमा रिपोर्टिङ थालेको थिएँ । त्यहाँ उत्कृष्ट कार्य गरेको भनी मलाई विराटनगर सरुवा गरियो । यहाँ रहँदा बस्दा मैले अझै राम्रो काम गरेँ ।

बेथिति, अन्याय, अत्यचार, भ्रष्टाचार, गुण्डागर्दी, अपराध, तस्करी, जस्ता समाज र राष्ट्रका चुनौतिविरूद्ध कलम चलाइरहेँ । त्यसको मूल्यांकनस्वरूप मेरो बढुवा पनि भयो । हत्केलामा मृत्यु बोकेर पत्रकारितामा लडेको थिएँ, जसका कारण मेरो ज्यान लिनेसम्मको हर्कत पनि भएको थियो । यी सबैले मलाई पूर्वी नेपालबाट धेरै अन्तरालमा पुर्‍यायो । सिन्धुली जिल्लाबाट काम गर्ने नयाँ अवसर आएको छ ।

यस्तै उनले साउन २१ मा आफ्नो फेसबुकमा लेखेका छन्-

अपहरण मुद्दामा सामान्य तारेख समाचार लेख्दा पुनरावेदन अदालत बिराटनगररमा परेको मानहानी मुद्दाको आज अन्तिम फाइट छ । कि जंगे जेलमा, कि जंगे रेलमा ।’

तर फैसला पछि सर्‍यो ।

ढकाललाई नागरिकको प्रकाशन गृह नेपाल रिपब्लिक मिडियाले भदौ १ गतेदेखि नै लागु हुने गरि सिन्धुलीमा उपस्थित हुन भनेको छ । ढकालको फेसबुक स्टाटस त्यति नकारात्मक नभएपनि उनी भने यतिबेला तनावमा छन् । ‘अपहरण मुद्दामा सामान्य तारेख’ शीर्षकमा २०६८ पुस ६ गते प्रकाशित समाचारले अदालतको मानहानी गरेको भन्दै दायर अदालत अपहेलना मुद्दाको फैसला भदौ ११ गते तोकिएकोले त्यसअघि नयाँ कार्यक्षेत्रमा जान सक्ने अवस्थामा नभएको जानकारी संस्थामा गराएको ढकालले बताए । यद्यपी यसबारे अन्य प्रतिक्रिया दिन भने उनले अस्वीकार गरे ।

रिपब्लिक मिडियाकै पत्रकार महासंघका शाखाहरुले उनको सरुवा रोक्ने प्रयास गरेकोले उनी तत्काल नबोलेका पनि हुन सक्छन् । अन्यथा फेसबुक स्टाटसमा ‘सुझबुझपूर्ण निर्णयको तयारीमा’ रहेको उल्लेख गर्ने ढकाल त्यत्तिकै मौन बस्ने थिएनन् होला । नागरिक दैनिकका पत्रकारहरु अहिले ढकाललाई सरुवा नभई कारवाही गरिएको भन्दै त्यसलाई रोक्ने तयारीमा छन् ।

२०६८ पुस ६ गतेको नागरिक दैनिकमा प्रकाशित ‘अपहरण मुद्दामा सामान्य तारेख’ शीर्षकको समाचारले अदालतको मानहानी गरेको भन्दै ढकाल बिरुद्ध दायर अदालत अपहेलना मुद्दा पुनरावेदन अदालतमा विचाराधिन छ । जसको फैसला यही भदौ ११ गते हुँदैछ ।

आफूहरूविरुद्ध समाचार लेखेको भन्दै एमाले निकट युवा संघका कार्यकर्ताले ढकाललाई २०६८ जेठ २२ गते राति मरणासन्न कुटेका थिए ।

माइसन्सारसँग ढकालले आफुमाथि आक्रमण हुँदाको दिउसो एमाले पार्टी कार्यालय गएको बखत पर्शुरामले भित्र डाकेर ‘त्यस्ता समाचार लेख्दा विचार पुर्‍याउनु, म को हुँ चिन्या हो? गुण्डाजस्तो लागे त्यस्तै व्यवहार गरुँला, अरुले नलेख्दा पनि त भयो, तिमीले किन लेख्ने?’ भन्दै धम्की दिएको बताएका थिए । त्यही राति उनलाई पर्शुरामका निकट सहयोगी मनोज राईलगायतले ‘पर्शु दाई विरुद्धसमाचार लेख्ने?’ भन्दै मार्ने प्रयत्न गरेका थिए ।

फेसबुक र ट्वीटरमा सरुवाको बिरोध

फेसबुक र ट्वीटरमा कतिपय पत्रकारले ढकालको सरुवा प्रेस स्वतन्त्रताको विपक्ष र आपराधिकरणको पक्षमा रहेको भन्दै बिरोध जनाएका छन् ।

Sudeep Shrestha:

Khilanath Dhakal, young and brave reporter of Nagarik daily, who fought against gundaraj of Parshuram Basnet, transferred from Biratnagar to Sindhuli. This is complete injustice against Khila. So, how can we say journalists always stand for justice? Shame to all of us. Why journalists are acting like dumb and deaf on Khilanath Dhakal issue??? Don’t you guys think Khila is flagship of Nagarik daily and his transfer is shame on Nepali journalism.

पत्रकार किरण भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन् –

‘खिलानाथ ढकाल । नागरिकका बिराटनगरस्थित स्टार रिपोटर्र । अहिलेपनि उनी ३ वटा मुद्दा खेपिरहेका छन् । अदालत आक्रमणमा पर्शराम बस्नेतको संलग्नता बारे समाचार लेखेवापत उनलाई नागरिकले सरुवा गरेको खबर छ । यो प्रेस स्वतान्त्रता माथिको आक्रमण हो कि होइन ? पत्रकार महासंघको केन्द्र, मोरङ शाखा र नेपाल रिपब्लिक मिडिया शाखा कता छन् ?’

किरणले ढकालको राजिनामा बाहुवलको राजनीतिका पक्षमा र प्रेस स्वतन्त्रताको बिरोधमा रहेका भन्दै ट्वीट समेत गरेका छन् ।

Binita Dahal

Wonderin on d ntr of our job We talk abt d transparency n justice in every other sector but when it comes 2 us we become completely helpless. Its the paradox that we journalist by profession are more willing to find the injustice in the society and when it hits our own head we prefer to keep mum than to fight against the injustice on us…..

दाहालले पत्रकारहरु सधैँ अन्य क्षेत्रको पारदर्शिता र न्यायको कुरा गर्ने गरे पनि आफनो सवालमा भने निरिह बन्नुपरेको भन्दै ट्वीट गरेकी छन् ।

पत्रकार गिरिशले ट्वीटमार्फत ढकाल राजनीतिक आपराधिकरण र भ्रष्ट पत्रकारिताको सिकार बनेको बताएका छन् ।

पर्शुराम बस्नेतको नागरिकसँग कम्प्रमाइज?

हिजोआज बिराटनगरमा हुने जुलुस, धर्ना र अन्य राजनीतिक गतिविधिको नेतृत्व गर्छन पर्शुराम बस्नेत जसमाथि पत्रकार ढकालमाथिको आक्रमणको मुख्य नाइके भएको आरोप छ । बस्नेत लामो समय उच्च राजनीतिक संरक्षणमा भूमिगत रहे, राजनीतिक नेतृत्वले नै उनलाई लुकायो । र, अहिले हर्ताकर्ता बनेका छन् बिराटनगरमा । र, कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएकोमा खुसी छ उनको समूह ।

उनको समूह नागरिक पत्रिकासँग आफ्नो कम्प्रमाइज भैसकेको र कुनै समस्या नरहेको समेत बताउन थालेको छ । र, यसैलाई पुष्टी गरेको छ ढकालको सरुवाले । नत्र स्पष्ट आधार र आवश्यकता बिना एउटा ठाउँमा जमेर काम गरिरहेको पत्रकारलाई सरुवा गर्नु  अन्यायपूर्ण, अव्यवसायिक र अमानवीय भएन र ? सबैलाई पारदर्शिताको पाठ पढाउने, नैतिकता र सदाचारको रटान लगाउने मिडिया आफैचाहीँ त्यस्तो हुनुपर्दैन ?

नेपाल रिपब्लिक मिडिया श्रोतका अनुसार संस्थामा पहिलेदेखि नै एकखालको उकुसमुकुस थियो । त्यसमाथि किशोर नेपाल सम्पादकका रुपमा आएपछि त्यो उकुसमुकस चरमचुलीमा पुगेको छ । परिणाम स्वरुप पत्रकारहरुको एउटा समूह नागरिकबाट बाहिरिइसकेको छ ।

इमान्दारितापूर्वक पेशागत मर्यादामा रहेर काम गर्ने पत्रकारलाई भएको यस किसिमको व्यवहारले यो पेशामा रहेका धेरै श्रमजीवीलाई झस्काएको छ । ‘चोरलाई चौतारो र साधुलाई शूली’ भनेको शायद यही हो ।, दुर्भाग्य, गुण्डाराज विरुद्ध लड्नेले पत्रकारितामा शूली चढ्नु पर्‍यो भने अपराध गर्नेले राजनीतिमा चौतारो पाए ।

पत्रकार खिलानाथ ढकाललाई गरिएको सरुवाबारे तपाईँलाई केही भन्नु छ ? मिडिया हाउस कत्तिको पारदर्शी छन् ? के पत्रकारहरु आफ्नै मिडियाबाटै पनि सुरक्षित छैनन् ? आफ्नो विचार व्यक्त गर्नुहोस् कमेन्ट बक्समा