समाचार भन्दा विज्ञापनको अनुपात बढी


प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित विज्ञापनको अनुपात अनुगमन गर्ने भएको छ । छापा माध्यममा विज्ञापनको अनुपात धेरै पाइएको भन्दै काउन्सिलले अनुगमन गर्ने भएको हो । विज्ञापनको अनुपात ४० प्रतिशत भन्दा बढी हुन नहुने छापामाध्यममा समाचार र सम्पादकीय सामाग्री भन्दा विज्ञापन बढी पाइएको भन्दै काउन्सिलले अनुगमन गर्ने बताएको छ ।

काउन्सिलले विज्ञप्ति निकालेर प्रकाशित सामग्री मध्ये समाचार तथा सम्पादकीय सामग्री अनिवार्य रुपमा ६० प्रतिशत बनाउन पनि भनेको छ । यस्तै काउन्सिलले पत्रकार आचार संहिता सम्बन्धी सामग्री महिनामा एकपल्ट अनिवार्य रुपमा प्रशारण तथा प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।

प्रेस काउन्सिलको बोर्ड बैठकले छापा, विद्युतीय एवम् अनलाईन मिडियालाई आफ्नो निर्देशन गम्भीरताका साथ लिन पनि सचेत गराएको छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तीः

२०६९, भदौ २७ गते

प्रेस काउन्सिल नेपालको हालै काठमाडौंमा बसेको बोर्ड बैठकले आम सञ्चारमाध्यमका विषयमा गरेको महत्वपूर्ण निम्न दुई निर्णयलाई सबै आम सञ्चारमाध्यममा तदारुकताका साथ कार्यान्वयन गर्न – गराउन सहज वातावरण बनोस भन्ने हेतुले सार्वजनिक जानकारीका लागि संप्रेसित गरिएको छ । निर्णयसँग सम्बन्धित पक्षबाट विषयको गाम्भीर्यता बुझी सोहीअनुसार कार्य गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।

१. पत्रकार आचार संहिताको पालनालाई प्रभावकारी बनाउन नेपालभरका छापा, विद्युतीय एवं अनलाईन मिडियाहरुले कम्तिमा पनि महिनाको एकपटक आफ्नो अनुकुलतालाई मिलाएर प्रेस काउन्सिल नेपालले उपलब्ध गराएको पत्रकार आचारसंहिता सम्बन्धी सामाग्री प्रकाशन वा प्रसारणलाई लोककल्याणकारी विज्ञापनका लागि प्रयोग गरिने मिडिया (छापा तथा विद्युतीय) वर्गीकरण प्रयोजनमा उपयोग गर्न सकिने छ ।

२. आम सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गर्ने सामाग्रीमध्ये छापामाध्यममा विज्ञापनको अनुपात धेरै रहेको पाइएकोले विज्ञापन र समाचार तथा सम्पादकीय सामाग्रीको अनुपात ६०–४० हुनुपर्ने अर्थात समाचार तथा सम्पादकीय सामाग्री अनिवार्य रुपमा ६० प्रतिशत हुनुपर्ने छ र सो को अनुगमन गरिने छ ।

झविन्द्र भुषाल
मुख्य अधिकृत