दशैँ, तलब र पत्रकार महासंघको गाईजात्रा


दशैँ आउन केही दिन मात्रै बाँकी छ । बजारमा चहलपहल सुरु भैसक्यो । किनमेल गर्नेहरुको भीडभाड छ चारैतिर । दशैँ उमंगको पर्व । तर ‘बिचरा’ पत्रकारका लागि ‘रुनु न हास्नु’ । कारण, अधिकांश मिडियामा काम गर्ने पत्रकार तलबबाट वञ्चित छन् ।

काठमाडौंको भृकुटीमण्डपमा एक हप्ताअघि भेटिएका एक पत्रकार निकै निराश देखिन्थे ।

‘खै म त यसपाली दशैँमा घर जान्न होला ।’ उनी भन्दै थिए ।

‘किन ?’

‘किन भन्नु अब । पैसा छैन । घर गयो, बेकारको जाउ आउ खर्चमात्र । बरु यतै बस्यो । अफिसले नै खुवाउँछ । ल्याउने लैजाने गर्छ । आनन्द ।’

उनी ‘नाम चलेको’ टेलिभिजनमा काम गर्छन् । तर चार महिना भयो तलब हात नपरेको ।

नियमित तलब पाउनेहरुलाई त काठमाडौंमा टिक्न धौ धौ छ भने तलब नै नियमित नपाउनेहरुको हालत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।

श्रमजीवी पत्रकारका हकहितका चर्का कुरा गर्ने नेपाल पत्रकार महासंघलाई पनि पत्रकारले तलब नपाएको राम्रै जानकारी रहेछ । महासंघका महासचिव ओम शर्माले असोज २५ गते विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न सञ्चारगृहरु विशेषतः अधिकांश टेलिभिजनहरुमा कार्यरत श्रमजीवी पत्रकाररुले ३ महिनादेखि ९ महिनासम्म पारिश्रमिक नपाएको भन्ने गुनासा तथा तथ्यहरुले महासंघ गम्भीर बनेको छ ।’

यस्तो छ महासंघको विज्ञप्ती:

२०६९।०६।२५

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका उपलव्ध पदाधिकारी तथा सदस्यहरुको आकस्मिक बैठक महासंघका अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा असोज २४ गते महासंघको कार्यालयमा बस्यो । बैठकमा श्रमजीवी पत्रकारहरुको अवस्थाका बारेमा गम्भीर छलफल भएको छ ।

विभिन्न सञ्चारगृहरु विशेषतः अधिकांश टेलिभिजनहरुमा कार्यरत श्रमजीवी पत्रकाररुले ३ महिनादेखि ९ महिनासम्म पारिश्रमिक नपाएको भन्ने गुनासा तथा तथ्यहरुले महासंघ गम्भीर बनेको छ । बैठकले दशैंका बेलामा श्रमजीवी पत्रकारहरुले तलब तथा दशैं खर्च नपाएमा गम्भीर कदम चाल्नुपर्ने ठहर गरेको छ । महासंघले सञ्चारगृहका सञ्चालकहरुलाई पटकपटक श्रमजीवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिमको तलब भत्ता तथा सुविधा प्रदान गर्न आग्रह गरे पनि केही केही सन्चारगृह (विशेषतः निजी लगानीका टेलिभिजनहरु) ले उपेक्षा गरेकाले दबाबमूलक कदम चाल्न बाध्य हुनेछ ।

बैठकले तत्कालै पहिलो चरणमा टेलिभिजन सञ्चालक तथा लगानीकर्ताहरुसँग प्रेस रजिष्ट्रार र न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई तलब सुबिधा दिलाउनका लागि जरुरी छलफल गरी औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । दशैंअघि नै ती सञ्चारगृहमा पत्रकारहरुले तलब सुविधा पाए–नपाएको सम्बन्धमा पत्रकार महासंघ सहित सबै निकायको संलग्नतामा प्रत्यक्ष अनुगमनमा निस्कने र त्यसका लागि अनुगमन टोली गठन गर्ने निर्णय भएको छ । श्रमजीवी पत्रकार साथीहरुलाई गुनासा, उजुरी तथा तथ्यहरु सहित महासंघमा पेश गर्न पनि आग्रह गरिन्छ ।

ओम शर्मा
महासचिव

पत्रकार महासंघको काम विज्ञप्ती निकाल्ने मात्र हो ?

महासंघ धेरैपटक गम्भीर बनेको छ । उसले धेरैपटक ‘गम्भीर छलफल’ गरेको छ । उसले ‘गम्भीर कदम’ चाल्नुपर्ने ठहर गरेको यो पहिलोपटक हैन । ‘दबाबमूलक कदम चाल्न बाध्य हुने’ महासंघको चेतावनी थोत्रो भैसक्यो ।

विज्ञप्ती राम्रोसँग हुर्नुहोस् त, श्रमजीवी पत्रकारलाई तलब सुबिधा दिलाउनका लागि जरुरी छलफल पश्चात औपचारिक आग्रह गर्ने रे । आफै भन्दै छ, ९ महिनादेखि पत्रकारले तलब पाएनन् । फेरी उही भन्दै छ छलफल गरी औपचारिक आग्रह गर्ने । कहिले गर्ने छलफल कहिले गर्ने औपचारिक आग्रह ? अनि कहिले पाउने पत्रकार ले तलब ?

महासंघ मिडिया मालिकहरुको माइक ?

फलानो फलानो मिडियाले पत्रकारलाई तलब दिएन भन्ने हिम्मत छ महासंघसँग ? महासंघ के हो ? अब यसको बारेमा गम्भीर बहस भएन भने यो पनि मिडिया मालिकहरुको माइक मात्रै हुनेछ । बाहिर जे भनिए पनि पत्रकार महासंघले आफ्नो पृष्ठभूमि र उद्देश्य बिर्सँदै गएको छ ।

व्यवसायिक र प्रेस स्वतन्त्रताका नाममा महासंघले मिडिया उद्योगलाई शोषण गृह बन्न दिने कि प्रेस स्वतन्त्रताका लागि रात दिन खटेर काम गर्ने पत्रकारहरुका पक्षमा उभिएर लड्ने महासंघले र स्वंय पत्रकारले पनि अब बोल्नु पर्छ । कुनै अमुक सञ्चार माध्यम बन्द भएर वा कुनै पत्रकारले पत्रकारिता पेशा छोडेर प्रेस स्वतन्त्रता रोकिन्न । यो आन्दोलन अनवरत रुपमा चलिरहन्छ तर यो आन्दोलनलाई सीमित व्यक्तिहरुले धेरै व्यक्तिहरुलाई शोषण गर्ने हतियार बनाउन दिने अनि पत्रकार महासंघ त्यसको मतियार हुने कि नहुने ?

नेपाल पत्रकार महासंघमा बसेका एमाले, माओवादी र काँग्रेसको कोटाबाट निर्वाचित भएका ‘व्यवसायिकता, क्षमता र ट्रेड यूनियन अधिकार’को वकालत गर्ने तर त्यसका लागि सिन्को नभाच्नेहरुले कति दिन त्यही कुराको रटान लगाइरहने ? व्यवसायिकता र ट्रेड यूनियनको कुरा गर्दा त्यहाँ श्रमको मूल्यको कुरा आउँछ अनि क्षमता हुनेले खान्छ भन्नेहरुले पत्रकारहको क्षमता अभिवृद्धिको लागि काम गर्छु भनेर आएको सम्झिनु पर्दैन ?

९ महिनासम्म तलब नपाउँदा पनि पत्रकार किन चुप ?

नेपालका अधिकांश मिडियामा कार्यरत पत्रकारले समयमा तलब नपाउनु नयाँ कुरा होइन । पत्रकारहरु स्वयं तलबको विषयमा त्यति कुरा गर्न रुचाउँदैनन् । तलब नपाएपनि ‘राम्रै छ’ भनेर गफ लगाउने हाम्रा पत्रकारको पुरानै रोग हो ।

पत्रकार ऋषिकेश दाहाल लेख्छन् –पत्रकारिता एक किसिमको नशा हो । यसमा छिर्यो कि हत्तपत्त मानिस बाहिरिन सक्दैन । बाइलाइन प्रेम, टेलिभिजनमा देखिने अनुहार र सस्ता लोकप्रियता । मुलुकका चिनिएका सानाठूला सबैसँगको उठबसले उसलाई पत्रकारिताबाट बाहिर निस्कन रोक्छ । समाजमा पत्रकार बन्दा पाएको ‘रवाफ’ले उसलाई तल ओर्लिन दिँदैन । र, यही भ्रममा उ महिनौ तलब नपाउँदा पनि रवाफिलो देखिन छोड्दैन । पाएभन्दा बढी तलब लिएको ‘धाक’ लगाउन उ नै सबैभन्दा अगाडि हुन्छ । (पढ्नुहोस्ः भात बाँड्ने पेशा होइन पत्रकारिता)

९ महिनासम्म पारिश्रमिक नपाउँदा पनि काम गर्ने पत्रकार कस्ता ? त्यो पनि नबोली ? तलब नपाएकोमा पत्रकारका बारेमा सहानूभति हुनु सामान्य कुरा हो तर यसले एउटा गम्भीर प्रश्न उठाएको छ । ९ महिनासम्म तलव नपाउँदा जीविका कसरी चल्छ ? उनीहरु किन पत्रकारिता गर्दैछन् ? पत्रकारिता कतै देखाउने बाटो मात्रै त होइन ? पत्रकार चुप लागेर बस्दा यस्ता थुप्रै प्रश्न उनीहरु माथि तेर्सिन्छन् ।

त्यसो त आलोचना सहने संस्कार पत्रकारहरुमा हुन्न । तर ‘आवाज विहीनहरुको आवाज’ हौँ भन्नेहरुले आफ्नो आवाज दबाउनुका पछाडी के कारण छ त्यो नबोल्ने हो भने उनीहरु पनि यी प्रश्नबाट मुक्त हुन सक्दैनन् ।

यो पनि पढ्नुहोस्ः

‘न्यूनतम पारिश्रमिक नदिने मिडिया बन्द भए फरक पर्दैन’

राज्यलाई कर तिर्दा कसरी हुन्छ प्रेस स्वतन्त्रताको हनन्?

‘पत्रकारलाई तलब नदिने मिडियालाई कारबाही गर’

‘पत्रकारलाई तलब देउ’ (१२ बुँदे दोलखा घोषणापत्रको पूर्ण पाठ)