बीबीसी, यौनकाण्ड र विश्वासको संकट


जिम्मी सेभिल। फोटो श्रोतः telegraph.co.uk
जिम्मी सेभिल। फोटो श्रोतः telegraph.co.uk

जीवित हुँदासम्म उनी बेलायतमा सबैभन्दा रुचाइएका टेलिभिजनकर्मी थिए । ‘जिम्मी विल फिक्स इट’ नामक कार्यक्रमका सञ्चालक उनी मुख्यगरी वालवालिकामाझ निकै चर्चित थिए । मिलनसार स्वभावका उनलाई उनका सामाजिक कामका लागि पनि सम्मानपूर्वक सम्झना गरिन्थ्यो ।

तर मृत्युपछि उनी एक अभियुक्तका रुपमा चिनिएका छन् । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेका उनले दशकौँसम्म आफ्नो सेलिब्रेटी हैसियतको दुरुपयोग गरेर कलिला युवायुवतिलाई यौनजन्य दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । जनताको चर्को बिरोध र आलोचना पछि उनको चिहान समेत हटाइएको छ ।

प्रशंग हो बीबीसीका चर्चित टेलिभिजन प्रस्तोता जिम्मी सेभिलको । मानिसहरु, खासगरि वालवालिका, उनको कार्यक्रम ‘जिम्मी विल फिक्स इट’ र जिम्मी दुबैका ‘डाइहर्ट फ्यान’ थिए ।

तर विडम्बना, जिम्मीले लामो समय लगाएर कमाएको वाहवाहीको शिखर उनको निधन लगत्तै ढल्यो जब उनले आफ्नो पेशा र पदको आडमा कलिलो उमेरका कयौँ वालवालिकाहरुमाथि यौन शोषण गरेको पर्दाफास भयो ।

अर्को प्रशंग

जिम्मी यौन काण्डका बारेको सामाग्री प्रसारण नगरेर आलोचन खेपिरहेको बीबीसीले एक अर्को यौन काण्डका बारेमा सामाग्री प्रसारण गरेपछि झन् आलोचना खेप्नुपर्‍यो । नोभेम्बर २ मा न्यूजनाइट कार्यक्रमले वेल्समा रहेको वाल गृहमा सन् १९७०/ ८० को दशकमा भएका यौन शोषणका घटनाबारेकोएक रिपोर्ट प्रसारण गर्‍यो ।

कार्यक्रममा एक पीडितले कन्जर्भेटिभ पार्टीका एक राजनीतिज्ञले आफुमाथि पटकपटक यौन शोषण गरेको आरोप लगाए । नाम नखुलाइएपनि उक्त रिपोर्टमा आरोपित व्यक्ति राजनीतिज्ञ लर्ड म्याकएल्पाइन भएको सोसल मिडियामार्फत सार्वजनिक भयो ।

लर्ड म्याकएल्पाइनले आफुमाथि लगाइएको आरोप अस्वीकार गरे र बीबीसी बिरुद्ध मानहानीको मुद्दा हाले ।

उक्त कार्यक्रममा देखाइएका प्रत्यक्षदर्शीले पनि आफुले गलत पहिचान गरेको भन्दै माफी मागेपछि बीबीसीले गम्भीर गल्ती भएको स्वीकार गर्‍यो । झुठो रिपोर्ट प्रसारण भएको झण्डै दुई हप्तापछि बीबीसी र म्याकएल्पाइनबीच सम्झौता भयो । ७ लाख १४ हजार अमेरिकी डलर जरिवाना तिर्न बीबीसी तयार भयो ।

यौन शोषणबारेको उक्त रिपोर्ट बीबीसी आफैले नभई ब्यूरो अफ इन्भेस्टिगेटिभ जर्नलिज्मले उत्पादन गरेको थियो । उक्त गलत रिपोर्ट प्रसारण भएपछि यो संस्था समेत अस्तित्व रक्षाका लागि प्रयास गरिरहेको छ । उक्त रिपोर्ट ब्यूरो अफ इन्भेस्टिगेटिभ जर्नलिज्मको उत्पादनका भएपनि यसमा सम्पूर्ण सम्पादकीय अधिकार बीबीसीकै रहने र त्यसको जिम्मेवारी आफुले नलिने संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

राजीनामा श्रृंखला

कार्यक्रम न्यूजनाइटमा राजनीतिज्ञ म्याकएल्पाइनमाथि झुठो आरोप लगाइएपछि बीबीसीको महानिर्देशकको पद सम्हालेको दुई महिना नबित्दै जर्ज एन्ट्वीस्टलले पदबाट राजीनामा दिनुपर्‍यो । समाचार निर्देशक हेलेन वोडेन र उप निर्देशक स्टिभ मिचेललाई अनुसन्धान नसकिएसम्मका लागि जिम्मेवारीबाट मुक्त गरियो । कार्यक्रममा गलत रिपोर्ट प्रसारण भएको भन्दै बीबीसीले राजनीतिज्ञ लर्ड म्याकएल्पाइनसँग माफी समेत माग्यो ।

जिम्मी यौनकाण्डः पृष्ठभूमि

आफ्नै पूर्व प्रस्तोताका बारेमा ६ हप्ता लगाएर बनाइएको न्यूजनाइट कार्यक्रमको एक अनुसन्धानमूलक रिपोर्ट सन् २०११ डिसेम्बरमा प्रसारण हुनबाट रोकेपछि बीबीसीमाथि विश्वासको संकट सुरु भएको थियो ।

तर यो काण्ड तबमात्र थाहा भयो, जब गत अक्टुबरमा बीबीसीको प्रतिद्वन्दी टेलिभिजन च्यानल आइटिभीलेएक्सपोजरः द अदर साइड अफ जिम्मी सेभिल नामको ५० मिनेट लामो डकुमेन्ट्री प्रसारण गर्‍यो । सेभिलमाथि गरिएको अनुसन्धान बीबीसीले नै रोकेको डकुमेन्ट्रीमार्फत खुलासा भएपछि पत्रकारिताको अभ्यासमा आफुलाई सबैभन्दा उत्कृष्ट दावी गर्ने बीबीसीका लागि लाजको विषयमात्रै भएन, चारैतिर यसको तीब्र आलोचना समेत भयो ।आफ्नै पूर्व प्रस्तोताका बारेमा ६ हप्ता लगाएर बनाइएको न्यूजनाइट कार्यक्रमको एक अनुसन्धानमूलक रिपोर्ट सन् २०११ डिसेम्बरमा प्रसारण हुनबाट रोकेपछि बीबीसीमाथि विश्वासको संकट सुरु भएको थियो ।

१९६० देखि १९८० को दशकसम्म निकै चर्चित रहेका बीबीसीका टेलिभिजन प्रस्तोता जिम्मी सेभिलका बारेको अनुसन्धानमूलक सामाग्री के कति कारणले प्रसारण हुनबाट रोकिएको थियो भन्ने प्रश्नको भरपर्दो उत्तर अझै बीबीसीले दिन सकेको छैन । तर बीबीसीकै उच्च तहको निर्देशनमा कार्यक्रमका सम्पादकले नै रिपोर्ट प्रसारण हुनबाट रोकेको भने कसैबाट लुकेको छैन ।

के सेभिललाई जोगाउन उनीबारे बनाइएको सामाग्री प्रसारण हुनबाट रोकिएको थियो ? उनलाई जोगाउन बीबीसीले पत्रकारिताका स्थापित मापदण्डलाई दाउमा राखेकै हो त ? सेभिलका बारेको समाचारको हत्या कसले गर्‍यो ?

बीबीसीका कोको यस काण्डमा संलग्न थिए ? जस्ता गम्भीर प्रश्नहरु खडा भए ।

सेभिलमाथिका उजुरी

जिम्मी सेभिल यौन काण्डबारे गत अक्टुबर १९ देखि औपचारिक अनुसन्धान थालेको प्रहरीले हालसम्म चारसय भन्दा बढी उजुरी परेको बताउँछ । जम्माजम्मी तीन सयभन्दा बढी सम्भावित पीडितको पहिचान गरिएको छ । प्रहरीले सेभिललाई हिंश्रक यौन अपराधीको सूचिमा राखेको छ । सेभिलमाथि सन् १९५९ देखि २००६ सम्म यौन शोषण गरेको आरोप लगाइएको छ । यौन शोषणका कतिपय घटना बीबीसी मुख्यालय परिषरमै घटेका थिए । जिम्मी सेभिल धेरैपटक आफ्नो ड्रेसिङ रुममै यौन सम्पर्क गरिरहेको अवस्थामा फेला परेको यतिबेला सार्वजनिक हुँदैछ ।

बीबीसीले घरेलु श्रोता दर्शक तान्नका लागि बेलायतका अन्य निजी सञ्चार माध्यमसँग तीब्र प्रतिस्पर्धा गरिरहेको छ । आलोचकहरु भन्छन्, प्रतिस्पर्धा बढेपछि बिबिसीले चलचित्र, खेलकुद र विभिन्न रियालिटी शो लगायतमा पनि लगानी बढाउँदै लगेको छ फलस्वरुप उसले ‘मैलिक’ खालका कार्यक्रमहरुमा कटौती गरिरहेको छ ।

कतिपयले महानिर्देशक एन्ट्वीस्टलको राजीनामा प्रकरणलाई विश्वकै चर्चित प्रसारण माध्यमको संस्थागत असफलता भएको टिप्पँणी गरेका छन् । एन्ट्वीस्टल बाहिरिए लगत्तै बेलायतमा भएको एक अध्ययनले आशा र निराशा दुबै देखाएको छ । बीबीसीका लागि खुसीको कुरा के छ भने अहिले पनि मानिसहरु बीबीसीका पत्रकारलाई अन्य संस्था भन्दा बढी विश्वास गर्छन् ।

अध्ययनमा सहभागीमध्ये ४४ प्रतिशतले बीबीसीका पत्रकारलाई विश्वास गर्न सकिने जवाफ दिएका छन् । १८ प्रतिशतले मात्र पत्रपत्रिकाको विश्वास गर्न सकिने बताएका छन् । अध्ययनमा सहभागी मध्ये १० प्रतिशतले ट्याब्लोइड पत्रिकामा आवद्ध पत्रकारलाई विश्वास गर्छन् ।

पानीमाथिको ओभानो

दुई यौनकाण्डबारेका सामाग्रीको प्रसारणपछि बीबीसीमा आएको संकटमा बीबीसी ट्रस्टका अध्यक्ष क्रिस प्याटेन पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाउनेहरुपनि कम छैनन् । प्याटेनले नै जर्ज एन्ट्वीस्टललाई महानिर्देशकमा नियुक्त गरेका थिए । आलोचकहरु ट्रस्टको अध्यक्षका रुपमा उनले लाइसेन्स शुल्क तिर्नेहरुको स्वार्थमा काम गर्न, संस्थाको सम्पादकीय मापदण्ड निर्माण गर्न र बीबीसीको स्वतन्त्रताको सुरक्षा गर्न असफल भएकोले उनका लागि पनि बीबीसीको ढोका खुल्ला भएको बताउँछन् ।

बीबीसीमा आएको संकटबारे विभिन्न सञ्चार माध्यम र सोसल मिडियामा प्रतिक्रिया आउने क्रम रोकिएको छैन । पत्रकारितामा स्थापित आधारभूत मूल्य र मान्यता बिपरित न्यूजनाइट कार्यक्रममा म्याकएल्पाइनलाई झुठो आरोप लगाएर रिपोर्ट प्रसारण भएपछि बीबीसीले छानविन सुरु गर्‍यो ।

त्यसका लागि बीबीसीले स्काई न्यूजका पूर्व प्रमुख निक पोलार्डको अध्यक्षतामा छानबिन समिति समेत बनायो । र, अनुसन्धान जारी छ । बीबीसीले सेभिल अनुसन्धानमा प्राप्त प्रमाणहरु गोप्य राख्ने बताएको छ ।

आइटिभीमा जिम्मी सेभिलका बारेमा निर्माण भएको डकुमेन्ट्री प्रसारण हुनुभन्दा एक दिन अघि न्यूजनाइट कार्यक्रमका सम्पादक पिटर रिपोनले ‘सम्पादकीय कारण’ ले कार्यक्रमको प्रसारण रोकिएको भन्दै ब्लग समेत लेखेका थिए ।

छोटकरीमा बीबीसी

सन् १९२२ मा स्थापना भएको बीबीसी १९२६ को अन्त्यमा कम्पनीबाट गैर नाफामुखी कर्पोरेसनमा रुपान्तरित भएको थियो । जोन रेथ बीबीसीको सुरुका महानिर्देशक थिए ।

बीबीसीमा राजनीतिक प्रभाव जमाउन त्यतिबेलाका राजनीतिज्ञले गरेको प्रयत्नसँग लड्दै उनले नागरिकलाई ‘शिक्षा, सूचना र मनोरञ्जन दिने’ मिडियाका रुपमा बीबीसीलाई स्थापित गरेका थिए ।

विश्वका धेरैजसो प्रसारकले शिक्षा, सूचना र मनोरञ्जनको रेथ फर्मुला अपनाएका छन् ।

दर्शकले सरकारलाई तिर्ने लाइसेन्स शुल्कबाट बीबीसी सञ्चालन हुन्छ । सुरुमा सरकारले संकलन गरेको रकम पछि बीबीसीको नाममा रकम ट्रान्सफर हुन्छ । उक्त रकम बीबीसीको टेलिभिजन, रेडियो र अनलाइन सेवाका लागि खर्च हुन्छ ।

के के चलाउँछ बीबीसी ?

बीबीसी दर्शक संख्याको आधारमा विश्वको सबैभन्दा ठुलो प्रसारण संस्था हो । बीबीसीले १० वटा राष्ट्रिय टेलिभिजन च्यानल, १० वटा राष्ट्रिय रेडियो स्टेशन सहित बीबीसी रेड बटन इन्टरएक्टिभ टेलिभिजन सञ्चालन गरेको छ । यस्तै उसँग स्कटल्यान्ड, वेल्स, दक्षिणी आयरल्याण्डमा छुट्टाछुट्टै रेडियो र टेलिभिजन सेवा छन् भने ४० भन्दा बढी स्थानीय रेडियो स्टेसन छन् ।

यसले बीबीसी अनलाइन र बीबीसी विश्व सेवा पनि सञ्चालन गर्छ ।

गुमेको विश्वास फर्काउँदै बीबीसी

बीबीसी ट्रस्टका अध्यक्ष क्रिश प्याटेन गम्भीर गल्ती र यदाकदा हुने असफलताका बाबजुद बीबीसीले जनताको विश्वास कायम गर्न सक्नेमा विश्वस्त छन् ।

धुमिलिएको विश्वास फर्काउन प्रयासत बीबीसीले पूर्व समाचार प्रमुख ६१ वर्षिय टोनी हललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको छ । र, बीबीसीको नेतृत्वले संस्थाको पत्रकारिता र सम्पादकीय निर्णय पद्दतिमा गम्भीर गल्ती भएको स्वीकार गरेको छ ।

आन्तरिक अनुसन्धानले समेत पत्रकारिताको अभ्यासमा अब्बल मानिएको बीबीसीजस्तो संस्थामा कार्यक्रमको अन्तिम सम्पादकीय कसले गर्ने र जिम्मेवारी कसले लिने भन्नेमा द्विविधा रहेको देखाएको छ ।

हरेक वर्षजस्तो हुने बजेट कटौति, अन्य व्यवसायिक सञ्चार संस्थासँगको तीब्र प्रतिस्पर्धासँग जुधिरहेको बीबीसीमा सम्पादकीय जिम्मेवारीबोध र यसभित्र रहेका खराब आचरणका व्यक्तिका कारण निम्तिएको विश्वासको संकट चिरेर अघि बढ्नु बीबीसीको मुख्य चुनौती हो ।