‘आफ्नै छटपटीले नागरिकबाट राजीनामा’


नागरिक दैनिकका एशोसियट एडिटर गुणराज लुइँटेलले राजीनामा दिएका छन्। नागरिकको स्थापना कालदेखि नै पत्रिकाको एशोसियट एडिटर रहेका लुइँटेलले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

व्यक्तिगत कारणले राजीनामा दिएको भन्दै लुइँटेलले तत्काल नयाँ केही सोचिनसकेको बताए। आफु पत्रकारिता क्षेत्रबाट टाढिन नसक्ने भन्दै उनले आफ्नै ‘छटपटी’ले राजीनामा दिएको बताए।

‘आफ्नै छटपटीले राजीनामा दिएको हुँ’, मिडिया कुराकानी डट कमसँग उनले भने, ‘पत्रकारितामा केही नयाँ चिज गरुँ भन्ने छ।’ समयको माग अनुरुप अहिलेको भन्दा फरक र नयाँ ढंगको पत्रकारिता गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए।

गत दशैँदेखि नागरिकमा उनलाई कुनै जिम्मेवारी नदिइएको बताइन्छ।

एसासियट एडिटरका रुपमा कार्यरत लुइँटेल ‘नागरिक पश्चिमेली’ का सम्पादक समेत थिए। उनले नागरिक दैनिकमा दुई पटक गरि झण्डै ३ वर्ष ८ महिना काम गरे । लुइँटेलले अन्नपूर्ण पोष्टमा कार्यकारी सम्पादकका रुपमा समेत काम गरेका थिए।

कान्तिपुर दैनिकमा रिपोर्टरदेखि जागिर खाएका लुइँटेलले त्यहाँ १५ वर्ष बिताए। आफ्नो टिम सहित नागरिकमा प्रवेश गर्नुपूर्व उनी कान्तिपुरमा समाचार सम्पादक थिए।

नागरिकका पत्रकार कुष्ण ढुंगानाले लुइँटेलले व्यक्तिगत कारणले छोडेको र भविष्यामा सँगै काम गर्न सक्ने बताएको भन्दै ट्वीट गरेका छन्।

नागरिककै अर्का पत्रकार उमेश श्रेष्ठले भने गुणराजको राजीनामा ट्वीटरबाटमात्र थाहा पाएको बताएका छन् ।