अन्ततः खिलानाथ ढकालले नागरिक छोडे


झण्डै चार महिना जिम्मेवारी बिहिन बनाइएपछि नागरिक दैनिकका बिराटनगर सम्बाददाता खिलानाथ ढकालले राजीनामा दिएका छन्। नागरिक दैनिकमा समाचार लेखेकै आधारमा आपराधिक समूहको आक्रमणमा परेका र अदालतमा मुद्दासमेत खेपिरहेका ढकाल अन्यायपूर्ण तरिकाले विराटनगर कार्यक्षेत्रबाट सिन्धुली जिल्लामा गरिएको सरूवा नमानेपछि जिम्मेवारीबिहिन बनाइएका थिए।

‘बिनाकारण सरूवा गर्ने, सेवा सुविधा रोक्ने, समाचार प्रकाशन नै नगर्ने कार्यले मेरो करियरमा समेत आघात पर्‍यो’, काठमाडौंमै आएर बिहीबार राजीनामा दिएका ढकालले भने, ‘संस्थाको अन्यायपूर्ण हर्कत सहिरहनुभन्दा राजीनामा दिनु नै उचित लाग्यो ।’

नागरिक दैनिकमा समाचार लेखेकै निहुँमा २०६८ साल जेठ २२ गते उनलाई आपराधिक समूहले अपहरण गरी ज्यान लिने प्रयास गरेको थियो।

नागरिक दैनिकमा लेखेको समाचारकै आधारमा कुटिएका र अदालतको मानहानी मुद्दा खेपिरहेका ढकाललाई यसअघि नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले राजीनामा दिन वा सरुवा स्वीकार गर्न दबाब दिएको थियो। पढ्नुहोस्ः पत्रकार ढकाललाई नागरिकको दबाबः ‘कि राजीनामा देउ, कि सिन्धुली जाउ’

समाचार लेखेकै कारण उनीबिरुद्ध पुनरावेदन अदालत विराटनगरमा मानहानि मुद्दा लाग्यो। जुन अहिले पनि विचाराधिन छ।

२०६९ भदौ १ गते उनलाई अन्यायपूर्ण तरिकाले विराटनगर कार्यक्षेत्रबाट सिन्धुली जिल्लामा सरूवा गरिएको थियो। पढ्नुहोस्ः राजनीतिक आपराधीकरणको शिकार पत्रकार खिलानाथ ढकाल

अदालतमा विचाराधिन दुई वटा मुद्दा किनारा नलागेको, व्यक्तिगत सुरक्षा र पारिवारीक कारण देखाउँदै उनले सिन्धुली जिल्ला जान नसक्ने लिखित रूपमा जानकारी गराए। तर उनको अनुरोध कहिल्यै सुनिएन । उल्टो उनले लेखेको समाचार छापिएन। तलब र सेवासुविधा समेत रोकियो।

उनले असोजदेखिको पारिश्रमिक समेत पाएका छैनन्।

खिलाले २०६६ भदौ १ गतेदेखि इलाम जिल्लाबाट नागरिक दैनिकमा काम थालेका थिए।

गत दशैँदेखि जिम्मेवारी बिहिन बनाइएपछि गत मंसिर १९ गते नागरिक दैनिकका एशोसियट एडिटर गुणराज लुइँटेलले पनि नागरिकबाट राजीनामा दिएका थिए।