चर्चित प्रस्तोतादेखि यौन आक्रमणकारीसम्म


जिम्मी सेभिल। फोटो श्रोतः telegraph.co.uk
जिम्मी सेभिल। फोटो श्रोतः telegraph.co.uk

बीबीसीको कुनै समयका चर्चित प्रस्तोता जिम्मी सेभिल बाँचुन्जेल उनले गरेको मिडिया कर्म र परोपकार अभियानका कारण चर्चाको शिखरमा थिए । सामाजिक कार्यमा निकै रुचि राख्ने सेभिलले परोपकार कार्यका लागि बेलायतमा ४० मिलियन पाउन्ड भन्दा बढी रकम संकलन गरेका थिए ।

चर्चित कार्यक्रम ‘टप अफ द पप्स्’ र ‘जिम्मी विल फिक्स इट’ सञ्चालन गर्ने सेभिल जिवित रहुन्जेल टेलिभिजन स्टार र सामाजिक कार्यकर्ताका रुपमा निकै सम्मानित रहे । जब उनको सन् २०११ को अक्टोबरमा मृत्युभयो, त्यसपछि उनले गरेका कुकर्मको श्रृंखला बिस्तारै पर्दाफास हुन थाल्यो ।

पत्याउनुहुन्छ ? उनी हरेक मिनेट कसरी किशोर किशोरीहरुलाई आफ्नो शिकार बनाउने भनेर साचिरहन्थे ।

सेभिलमाथिका आरोप र बीबीसीमाथि आइपरेको संकटबारे केही समयअघिको ब्लग बीबीसी, यौनकाण्ड र विश्वासको संकटमा विस्तृत उल्लेख छ ।

सेभिलले झण्डै ६ दशकसम्म गरेका यौन आक्रमणका घटनाहरुको तीन महिनालामो अनुसन्धानपछि गतसाता सार्वजनिक प्रतिवेदन GIVING VICTIMS A VOICE ले कमजोरहरुको फाइदा उठाउने यौन आक्रमणकारीको संज्ञा दिएको छ । ३० पृष्ठ लामो उक्त प्रतिवेदनले बाँचुन्जेल सेलिब्रेटी रहेका सेभिलले कसरी ५ सय भन्दा बढी वालवालिका र किशोरकिशोरीमाथि यौन शोषण गरे र कसरी दुई दर्जन भन्दा बढीलाई बलात्कार गरे भन्ने विस्तृत ब्याख्या गरिएको छ ।

प्रतिवेदनका अनुसार सेभिलले गरेको यौन दुर्व्यवाहारको श्रृंखला झण्डै ६ दशक सम्म चलेको थियो । अरुले दिएको माया र सम्मानको बदलामा उनले आफ्नो सेलिब्रेटी हैसियतको दुरुपयोग गरेर वालवालिकामाथि यौन आक्रमण गर्ने गर्थे ।

जिम्मी सेभिलले ८ वर्ष उमेर रहेका वालवालिकालाई समेत यौन दुर्व्यवहार गरेको लन्डन प्रहरी र परोपकारी संस्था एएसपिसिसीले गरेको अनुसन्धान प्रतिवेदनले खुलासा गरेको छ । प्रतिवेदनमा १३ वटा विभिन्न अस्पतालमा भएका यौन दुर्व्यवहारका घटना उल्लेख छन् ।

प्रतिवेदनमा २ सय १८ वटा अपराधका घटना किटान गरिएको छ जहाँ सेभिलले २४ वटा बलात्कार गरेको उल्लेख छ । सन् २००९ मा जिम्मी सेभिल जिवितै छँदा उनी बिरुद्ध कारबाही गर्न सकिने एउटा अवसर गुमाएकोमा बेलायतको न्यायाधिवक्ताको कार्यालयले क्षमा याचना गरेको छ ।

बीबीसीको प्रतिस्पर्धी टेलिभिजन च्यानल आइटिभीले एक्सपोजरः द अदर साइड अफ जिम्मी सेभिल नामक डकुमेन्ट्रीमार्फत सेभिलले गरेका यौन दुर्व्यवहार सम्बन्धि विवरण खुलासा भएको थियो ।

प्रतिवेदनका केही खुलासाः

  • १३ वटा अस्पतालमा यौन दुर्व्यवहारका घटना भएका थिए ।
  • १४ दुर्व्यवहारका घटना विद्यालयभित्र भएका थिए ।
  • सेभिलले सबैभन्दा सानी ८ वर्षिय वालिका र सबैभन्दा ठुलीमा ४७ वर्षिय महिलालाई आफ्नो शिकार बनाएका थिए ।
  • सन् १९५५ बाट सुरु भएको दुर्व्यवहारको श्रृंखला २००९ सम्म चलेको थियो ।
  • सन् १९६५ देखि सन् २००६ सम्म सेभिलले बीबीसी परिसरमै वालवालिकामाथि बलात्कार र यौन दुर्व्यवहार गर्थे र, आफ्नो भोक मेट्थे ।
  • सन् १९६६ देखि १९७६ सम्म सबैभन्दा बढी यौन आक्रमणका  घटना भएका थिए ।
  • ४ सय ५० व्यक्तिले सेभिल बिरुद्ध यौन शोषण गरेको भन्दै उजुरी गरेका छन् । यि मध्ये ७३ प्रतिशत १८ वर्षमुनिका छन् । ति मध्ये अधिकांश १३ देखि १६ वर्ष उमेरका छन् ।

‘न्यूजनाइट’ को भविष्य

बीबीसीले जिम्मी सेभिल यौन काण्डको सामाग्री प्रसारण नगरेर आलोचित  भैरहेको थियो । न्यूजनाइट कार्यक्रममा सन् १९७० र ८० को दशकमा भएका यौन शोषणका घटनाबारेको रिपोर्टमा एक राजनीतिज्ञमाथि गलत आरोप लगाएपछि बीबीसी झन् आलोचित बन्यो । उक्त गलत रिपोर्ट प्रसारण भएको बारे छानबिन गर्न स्काई न्यूजका पूर्व प्रमुख निक पोलार्डको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा बीबीसीमा व्यवास्थापकीय कमजोरी भएको औँल्याइएको छ । यस्तै सम्पादकीय मापदण्ड समितिको प्रतिवेदनमा आधारभूत सम्पादकीय परीक्षणको अभावमा न्यूजनाइटमा गलत रिपोर्ट प्रसारण भएको उल्लेख छ ।

यतिबेला बीबीसी आफ्नो गुमेको साख फर्काउने कोसिसमा छ । र, उसले निकै आलोचित बनेको आफ्नो कार्यक्रम ‘न्यूजनाइट’ मा नयाँ सम्पादक ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.