नागरिकका ७७ पत्रकारले मागे स्थायी नियुक्ति


रिपब्लिक मिडियाका ७७ जना पत्रकारले सेवामा प्रवेश गरेको वर्षौँ बितिसक्दा पनि स्थाई नियुक्तिपत्र प्रदान नगरी सेवाको सुरक्षा तथा उपदान, सञ्चयकोष लगायतका सामाजिक सुरक्षाका प्रावधानबाट बञ्चित गरिंदै आएको भन्दै स्थायी नियुक्तिको पहल गरिदिन विभागमा निवेदन दिएका छन् ।

व्यवस्थापनले आधा दर्जन पत्रकारको करार अवधि नवीकरण नगरेर निकाल्ने षड्यन्त्र गरेपछि झस्किएका नेपाल रिपब्लिक मिडियाका पत्रकारले स्थायी नियुक्तिको माग गर्दै सूचना विभागमा निवेदन दिएका छन् ।

रिपब्लिक मिडियाका ७७ जना पत्रकारले सेवामा प्रवेश गरेको वर्षौँ बितिसक्दा पनि स्थाई नियुक्तिपत्र प्रदान नगरी सेवाको सुरक्षा तथा उपदान, सञ्चयकोष लगायतका सामाजिक सुरक्षाका प्रावधानबाट बञ्चित गरिंदै आएको भन्दै स्थायी नियुक्तिको पहल गरिदिन विभागमा निवेदन दिएका हुन् ।

रिपब्लिक मिडियामा श्रमजीवी पत्रकार एक जना पनि स्थायी नगरी सबैलाई नै श्रमजीवी पत्रकार ऐनविपरीत करार सेवा थप गरिंदै ऐनविपरीत काममा लगाइको निवेदनमा उल्लेख छ ।

पढ्नुहोस् निवेदनको पूर्ण पाठः

मितिः २०६९/१०/७

श्रीमान प्रेस रजिष्ट्रार ज्यू,
सूचना विभाग, सिनामंगल, काठमाडौं

विषयः स्थायी नियुक्ति दिलाई पाऊँ ।

१.     हामी तपसिलमा उल्लेखित श्रमजीवी पत्रकारहरू नेपाल रिपब्लिक मिडिया प्रा.लि.मा तपसिलमा उल्लेखित गरिएको मिति देखि श्रमजीवी पत्रकारको हैसियतमा सेवामा प्रवेश गरेका थियौं । सेवामा प्रवेश गरेको वर्षौँ बितिसक्दा पनि  हालसम्म हामीलाई स्थाई नियुक्तिपत्र प्रदान नगरी सेवाको सुरक्षा तथा उपदान, सञ्चयकोष लगायतका सामाजिक सुरक्षाका प्रावधानबाट बञ्चित गरिंदैआएको छ ।

२.    नेपाल रिपब्लिक मिडिया प्रा.लि. श्रमजीवी पत्रकार ऐन, २०५१ (संशोधन सहित) को दफा २ (ख) को प्रतिष्ठानको परिभाषाभित्र पर्ने सञ्चार प्रतिष्ठान हो । हामी श्रमजीवी पत्रकार ऐनको दफा २ (घ) को परिभाषाभित्र पर्ने श्रमजीवी पत्रकार भएको साथै ऐ. ऐनको दफा ६ ले “श्रमजीवी पत्रकारमा सुरुमा स्थायी नियुक्ति गर्दा ६ महिनाको परीक्षणकालमा रहने गरी नियुक्ति गरिनेछ । सो अवधिमा निजको काम सन्तोषजनक नभएमा निजको नियुक्ति बदर गर्न सकिनेछ” भन्ने उल्लेख गरेको र सो ऐनमा उल्लेखित अवधि समेत पूरा गरिसकेको अवस्था छ । सञ्चार प्रतिष्ठानमा कि त उक्त ऐनको दफा ५ बमोजिम करारमा वा दफा ६ बमोजिम ६ महिनाको परिक्षणकाल पूरा भएपछि स्थायी गर्नेबाहेक अन्य तवरले श्रमजीवी पत्रकारलाई काम लगाउन मिल्दैन । ऐ. ऐनको दफा ५ (२) ले करारमा राख्दा समेत प्रेस रजिष्ट्रारको पूर्वस्वीकृति लिएर १५ प्रतिशतसम्म मात्र राख्न सकिन्छ । हाम्रो हकमा उक्त प्रावधान अनुसार नराखिएको हुँदा दफा ६ आकर्षित हुने कुरा निर्विवाद छ ।

३.    श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ६ बमोजिम हामीले ६ महिना अबिछिन्न सेवा गरिसकेको मात्र नभई ४ वर्ष अबिछिन्न सेवा पूरा गरिसकेका छौं । यसबाट हामी कार्यरत पद स्थायी प्रकृतिको रहेको र स्थायी गर्नुपर्ने तथ्य स्थापित छ ।

४.   श्रमजीवी पत्रकार ऐनको दफा ५ बमोजिम प्रेस रजिष्ट्रारको पूर्व स्वीकृति लिई करारमा नियुक्त गरेकोमा समेत कुल १५ प्रतिशतभन्दा बढी करारमा राख्न मिल्दैन । ज कि हामी कार्यरत सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार एक जना पनि स्थायी नगरी सबैलाई नै उक्त ऐनविपरीत करार सेवा थप गरिंदै ऐनविपरीत काममा लगाइको स्पष्ट छ । यसैगरी, श्रमजीवी पत्रकार ऐनको मर्मअनुरुप समेत हामीलाई स्थायी गरी ऐनमा तोकिएअनुरुपको सेवा सर्त सुविधा उपलब्ध गराउनुपर्नेमा सो विपरीत हाम्रो भाग्य र भविष्य अन्यौलमा पुर्‍याउने कार्य भएको छ । जुन कार्य सधैं कानुनअनुरुप कार्य गर्न अरुलाई पाठ सिकाउँदै आएको ‘नागरिक’ तथा ‘रिपब्लिका’ दैनिक प्रकाशित गर्ने नेपाल रिपब्लिक मिडिया प्रा.लि.को लागि सुहाउँदो कुरा होइन ।

५.    श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा २ (घ), दफा ६ बमोजिम हामीलाई सुरुमा नियुक्त गरिएको तपसिलमा उल्लेखित मितिदेखि नै लागू हुने गरी स्थायी नियुक्ति दिई सोही मितिदेखि नै लागू हुने गरी सेवा अवधि गणना गरी श्रमजीवी पत्रकार ऐनअनुसार हामीले पाउनुपर्ने सुविधासमेत एकमुष्ट भुक्तानी हुने व्यवस्था मिलाउनुहुन भनी व्यवस्थापनसमक्ष हाम्रो अन्तिम पटक अवधि थप गर्ने समयमा भनेका थियौं । उक्त कुरा नेपाल पत्रकार महासंघ रिपब्लिका शाखा र मजदुर युनियनमार्फत व्यवस्थापनसमक्ष ज्ञापनपत्र समेत दिएका थियौं ।

६.    हाम्रो सदाशयलाई बेवास्ता मात्र नगरी हाम्रो अनुरोधउपर व्यवस्थापकबाट कुनै सुनुवाई नभएको हुँदा ऐ.ऐनको दफा ३४ बमोजिमको निवेदन लिई उपस्थित भएका छौं । अतः सुरुमा नियुक्ति गरिएको तपसिलमा उल्लेखित मितिदेखि नै लागु हुने गरी स्थायी नियुक्ति दिई सोही मितिदेखि नै लागू हुने गरी सेवा अवधि गणना गरी श्रमजीवी पत्रकार ऐनअनुसार हामीले पाउनुपर्ने उपदान, सञ्चयकोष लगायतको सुविधासमेत एकमुष्ट भुक्तानी हुने व्यवस्था मिलाउनुहुन भनी निर्णयसहित नेपाल रिपब्लिक मिडिया प्रा.लि.को व्यवस्थापनलाई आदेश तथा आवश्यक निर्देशन दिनुहुन अनुरोध गर्दछौं । हामीलाई स्थायी नगरी श्रमजीवी पत्रकार ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम कार्यान्वयन गर्न गराउन अटेर गरेमा प्रेस रजिष्ट्रारले ऐ. ऐनको दफा ३३क. बमोजिमको कारवाही गर्नुहुन समेत सादर निवेदन गर्दछौ ।

तपसिल/ निवेदकः–

इति सम्बत्  २०६९ साल माघ महिना  गते रोज  शुभम् ………………………..।

बोधार्थः–
१. नेपाल रिपब्लिक मिडिया प्रा.लि.
२. नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय
३. नेपाल पत्रकार महासंघ, नेपाल रिपब्लिक मिडिया शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.