मूलधारको मिडिया या ब्लग दुबैमा उति नै अध्ययन, अनुसन्धान र गम्भीरता चाहिन्छ: रविराज बराल


मेरो रिपोर्ट डट नेट (MeroReport.net) को स्तम्भ साताका ब्लगरमा २०६९ फागुन ३ (२०१३ मार्च ३) मा प्रकाशित रविराज बरालको अन्तर्वार्ता। एक पत्रकारको व्यक्तिगत ब्लगका रुपमा इन्टरनेटमा सुरु भएको मिडिया कुराकानी  र यसका संस्थापकको लेखन/ब्लगिङबारे मेरो रिपोर्टका पवन न्यौपानेले बराललाई विभिन्न प्रश्नहरू सोधेका थिए।प्रस्तुत छ अन्तर्वार्ताः

अन्तर्वार्ताको मूल लिंक

ब्लग लेखन कहिलेबाट शुरु गर्नु भयो ?

ब्लगहरु पढ्न थालेको त धेरै भयो । तर आफैले लेख्न थालेको चाहीँ एक वर्षपनि पुगेको छैन । ब्लगिङमा म नयाँ हुँ ।

किन गर्नुहुन्छ ब्लगिङ ?

रहर मेट्न । मिडिया अध्ययनका क्रममा आफुले भेटेका सामग्री संग्रहित गर्न र अरुमाझ बाँड्न ब्लगिङ गर्छु ।

आफ्नो ब्लगको बारेमा भन्दिनुस् न ।

मिडिया अध्ययन अनुसन्धानमा रुचि भएकोले मिडियामै केन्द्रीत केही काम गरुँ भन्ने लागिरहेको थियो । केही साथीहरुसँगको छलफलपछि ब्लग सबैभन्दा उपयुक्त माध्यम हुन सक्छ भन्ने निष्कर्षमा पुगियो । अरुका ब्लग पढ्दा आफुलाई पनि ब्लग लेख्ने रहर थियो । त्यही रुचि र रहरको बीचबाट मिडिया कुराकानी डट कम सुरु भयो । यो प्रारम्भीक चरणमा छ । मिडिया र पत्रकारिताको सेरोफेरो समेट्ने प्रयास हो । 

मिडिया र पत्रकारिताको सेरोफेरो समेट्ने भन्नुभयो, त्यो बाहेक के कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् ? 

मिडिया मेरो रहर हो । त्यसैले ब्लगको विषयवस्तु छान्दा म मिडियाकै सेरोफेरो हेर्छु । वृहद् अर्थमा मिडिया भन्दा हामी जे बुझ्छौँ ति सबै मेरा विषयवस्तु हुन् । त्यसो भन्दैमा सबैकुरा जानिन्छ भन्ने छैन । जति जानिन्छ, त्यति लेखिन्छ । नजानेको सिकिन्छ, पढिन्छ र लेख्ने कोशिष गरिन्छ । प्राथमिकता निर्धारण गरिसकेको छैन तर अध्ययनका क्रममा भेटेका, देखेका कुरा नै ब्लगमा लेख्ने कोशिष गर्छु ।

तपाईंको ब्लग मिडिया कुराकानीमा धेरैजसो मिडियाकै सवाल राख्नुभएको छ । मिडियाकै सवाललाई ब्लगको बिषय चैं किन बनाउनभयो ?

मिडियालाई हामी चौँथो अंग मान्छौँ । राज्यका अन्य अंगको पहरेदार मान्छौँ । तर मिडिया सधैँ पहरेदारमात्र नबन्नसक्छ । विभिन्न शक्तिको स्वार्थमा यसको प्रयोग हुन सक्छ, भैरहेको छ । यसभित्र पनि राम्रानराम्रा पक्ष छन् । मिडिया कुराकानी तिनै विषयबस्तु अध्ययनको जमर्को हो ।

कत्तिको छन् यस्ता ब्लगहरु प्रचलनमा ?

विदेशतिर त मिडियामै केन्द्रीत ब्लग धेरै छन् । ग्रुप ब्लगिङले गर्दा गुणस्तर पनि राम्रो छ । त्यहाँ आलोचना स्वीकार्ने संस्कृति छ, जुन हाम्रोमा छैन । यहाँ कसैले आलोचना भयोभने त्यसलाई बदलाभावले हेर्ने चलन छ । विकसित मुलुकमा मिडिया रिपोर्टिङ, मिडिया रिपोर्टर र मिडिया बिटको कन्सेप्ट छ । मिडिया र पत्रकार पनि समाचार बनिरहेका हुन्छन् । पत्रकारिताको राम्रो नराम्रो अभ्यासमा धेरै मानिसको रुचि हुन्छ । हाम्रोमा व्यवसायिक संस्कृति कम छ । पत्रकारिता पेशा संकटमा छ, पेशागत सुरक्षा छैन । आज पत्रकारिता गरिरहेको मान्छे भोलिपनि पत्रकारितामै हुन्छ भन्ने ग्यारेन्टी छैन । तर सुधारोन्मुख पक्कै छ । मिडियाका सवाल समेटिएका ब्लग नेपालमा थोरै छन् । तर सोसल मिडियामार्फत मिडियाको बहस गर्नेहरु बढेका छन् । र, त्यसमा पत्रकार नै अगाडी छन् । मिडियाको बारेमा बहस गर्ने संस्कृति सुरु भएको छ, जुन राम्रो कुरा हो ।

ब्लगका लागि अलग्गै समय खर्चेर रिपोर्टिङ गर्नुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ ?

ट्वीटर, फेसबुक लगायतका नेटवर्कबाट आइडिया जेनेरेट हुन्छ । अरुका स्ट्याटस् पढ्दा स्टोरी आइडिया आउँछ । विषयको प्रारम्भिक जानकारी हुने त्यहीँबाट हो । मुलधारका मिडियामा आउने विषयपनि अध्ययनका लागि सहयोगी बन्छन् । आवश्यक परे सम्बन्धित श्रोतसम्मै पुग्ने प्रयास गर्छु । आवश्यकता हेरेर ब्लगका लागि रिपोर्टिङ पनि गर्छु । जिज्ञासा लागेको कुरा सोध्न म हिचकिचाउन्न । धेरै साथीहरुले सहयोग गर्नुहुन्छ । कसैले ब्लगका लागि विषयबस्तु दिएर त कसैले सूचना दिएर सहयोग गर्नुभएको छ । कतिले गल्ती कमजोरी औँल्याएर अघि बढ्ने प्रेरणा दिनुभएको छ । यो एकजनाको प्रयत्नले मात्र हुने कुरा होइन ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ?

सम्भव भएसम्म छुटाउन्न । नपढी आइडिया पनि आउँदैन । फेसबुक, ट्वीटरमा शेयर गरिने लिंक मार्फत धेरैका ब्लगमा छिरिन्छ । आफ्नो नेटवर्कमा रहेकाहरुलाई पनि काम लाग्ला भनेर शेयर गरिन्छ । माइसन्सारनेपालीभ्वाइसेज्वाग्ले स्ट्रिट जर्नल मैले नियमित पढ्ने ब्लग हुन् । केही छुट्यो कि भनेर म यि ब्लग नियमित हेर्ने गर्छु । मन छुने लेखन शैली भएकाले जोतारे धाइवाको ब्लग शब्दकोश पनि म छुटाउन्न । मिडिया र पत्रकारितासँग सम्बन्धि विदेशी ब्लग र वेबसाइटहरु पनि भ्याएससम्म पढ्छु ।

लिंक कहाँबाट लिनु हुन्छ वा खोज्नु हुन्छ ?

अध्ययनका लागि कुनै सन्दर्भ सामाग्री जुटाउन म सबैभन्दा पहिले गुगल गर्छु । सम्भावित कि वर्डको सहारा लिएर ट्वीटरमा पनि सर्च गर्छु । कतिपय सामाग्रीको खोजीका लागि सम्बन्धित क्षेत्रमै कार्यरत विज्ञ र अग्रजसँग सहयोग माग्छु । सम्बन्धित विषयका आधिकारिक वेबसाइटमा पनि खोज्ने गर्छु । 

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

पढ्ने हिसावले सोध्नुभएको हो भने म सबैखालका ब्लग पढ्छु । भाषा, साहित्य, कला र संस्कृतिसँग सम्बन्धित् विषय पढ्न मज्जा लाग्छ । मिडियाको विद्यार्थी भएकोले अध्ययनका लागि त्यस्तै सामाग्री खोज्ने गर्छु । अध्ययनका क्रममा भेटिएका र आफुले सिकेका विषयलाई नै ब्लगमा समेट्ने कोशिष हो । गति सुस्त छ तर जारी छ ।

तपाईँ त मुलधारको मिडियामा क्रियाशिल व्यक्ति पनि । मुलधारको मिडियाको लेखन र ब्लग लेखनमा के फरक पाउनु भयो ?

लेखनका केही धर्म हुन्छन्, नियम हुन्छन् । त्यसअर्थमा यो निकै जिम्मेवारीपूर्ण कर्म हो । मुलधारको मिडिया होस् वा ब्लग दुबैमा उति नै अध्ययन, अनुसन्धान र गम्भीरता चाहिन्छ । मुलधारको मिडियाका आफ्नै मान्यता, नियम र शैली हुन्छन् । स्वछन्दता कम हुन्छ । मुलधारको मिडियाका आर्थिक–राजनीतिक सम्बन्ध र सीमा हुन्छ । ब्लग दृष्टिकोण, विचार, भावना र अनुभवको सिर्जनात्मक अभिव्यक्ति हो । त्यसैले यो तुलनात्मक रुपमा स्वतन्त्र हुन्छ ।

ब्लग लेखनका बारेमा रहेको आचारसंहिता पालना भएको पाउनु भएको छ ?

ब्लग लेखन अभिव्यक्ति स्वतन्त्रताकै एउटा रुप हो । अभिव्यक्ति स्वतन्त्रताका सीमा बुझ्ने हो भने आचारसंहिता चाहिँदैन । अभिव्यक्ति स्वतन्त्रताका सीमा नाघ्ने हो भने आचारसंहिताको के अर्थ ?

तपाईँले ब्लगमा राख्नु भएको सामग्री पहिले तपाईँ कार्यरत संचारमाध्यममा राख्न वा त्यसबाट दिन कत्तिको दबाव आउँछ ?

मेरो ब्लगको दायरा सानो छ । यो सानो दायरमा पर्ने कुनै सामाग्री म कार्यरत मिडियामा अट्ने रहेछ भने ब्लग मेरो प्राथमिकतामा पर्दैन किनकी ब्लगले मेरो जीवन चलाउँदैन ।

कुनै ठूलो दबाव परेको घटना ?

त्यो पनि जुरेको छैन । ससाना दवाव भएनन् भने त जाँगर पनि चल्दैन नी ।

ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनु भयो ?

यि सबै इन्टरनेटले दिएका अभिव्यक्ति स्वतन्त्रताका मञ्च हुन् । यसअर्थमा यि सबैमा समानता छ । हरेक माध्यमको आफ्नै विशेषता हुन्छ । विधा अनुसारको स्वाद हुन्छ । आ आफ्ना विशेषताका कारण यि भिन्न पनि छन् । फेसबुक ब्लगभन्दा विकसित लाग्छ । स्ट्याटस्, फोटो एल्बम, भिडियो, लिंक हुने हुँदा यो ब्लगजस्तो पनि छ । यसमा एउटा साथी सर्कल हुन्छ । कमेन्ट, लाइक, शेयरिङ हुन्छ । च्याट हुन्छ । तर ब्लग यो भन्दा अलि फरक छ । ब्लगमा लिंक हुन्छन्, ट्याग, क्याटेगोरी, पेज र लेभल हुन्छन् । अझ नयाँनयाँ फिचर थपिएका छन् । फेसबुक र ब्लगभन्दा ट्वीटर अझ भिन्न छ । ट्वीटर थोरैमा शब्दमा धेरै कुरा भन्न सकिने माइक्रोब्लगिङ हो जहाँ झट्ट हेर्दा केही छैन तर धेरै कुरा भेट्न सकिन्छ । 

नेपाली ब्लग सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?

हामीले मुलधारको भन्ने गरेका सञ्चारमाध्यमलाई त आर्थिक–राजनीतिक स्वार्थप्रेरित भएको र समाजिक हितमा काम गर्न नसकेको भनेर आलोचकहरुले भनिरहेका छन् भने ब्लगको प्रभाव कसरी मापन गर्ने ? उत्तर खोज्न निकै गाह्रो छ । हामी भर्खर इन्टरनेट सिक्दै छौँ । पछिल्लो तथ्यांकअनुसार नेपालको कूल जनसंख्याको २१ प्रतिशतले इन्टरनेट चलाउँछन् । त्यसमा पनि मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या निकै ठुलो छ । अधिकतम सर्वसाधारणमा इन्टरनेटको पहुँच र प्रयोग बढाउन बाँकी नै छ । तैपनि समस्याको उठान, बहस र विचार निर्माणमा थोरै नै भएपनि ब्लगको महत्व छ । 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग ?

गुगल एनालिटिक्स अनुसार बिराटनगरका पत्रकार खिलानाथ ढकालबारे लेखेको ब्लग सबैभन्दा बढी पढिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको फेक ट्वीटर अकाउन्टबारेको ब्लग र नेपाल रिपब्लिक मिडिया आक्रमणबारेको ब्लग पनि निकै पढिएको छ । बीबीसीका प्रस्तोता जिम्मी सेभिल र उनको यौनकाण्डले बीबीसीमा परेको संकट बारेको ब्लगपनि रुचाइएको छ ।

ब्लगबाट के पाउनुभयो ? के गुमाउनु भयो ?

भर्खर त सिकिँदैछ । पाउन गुमाउन बाँकी नै छ कि ?

ब्लग लेख्न चाहने र लेखिरहनुभएकाहरुलाई के सन्देश दिनु हुन्छ ?

लेख्न चाहनेहरुले अरुको पढ्नुपर्छ  । लेखिरहेकाहरुले सिक्न चाहनेलाई प्रोत्साहन गर्नुपर्छ । सिकाउने, आलोचना गर्ने र आलोचना स्वीकार्ने संस्कृतिको विकास गर्नुपर्छ । सिक्ने सिकाउने वातावरण बनाउनपर्छ ।

अन्त्यमा,

मेरो रिपोर्टले सिक्न चाहनेलाई प्रोत्साहनको काम गरेको छ । यसको टिम सोसल मिडिया सिकाउँदै हिँडेको छ । न्यु मिडियामा रुचि राख्नेका लागि एउटा मञ्च दिएको छ । यो खुसीको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.