नेपाल पत्रकार महासंघको पाँचौं पूर्ण बैठकका निर्णयहरु


नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक २०७२ जेठ ३० गते भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ। अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको भावी कार्ययोजनासहित समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू सहित महासचिव उजिर मगरको महासंघको सांगठनिक र कार्ययोजना तथा कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गरेको छ। महासंघका पूर्वसपभातिहरू हरिहर विरही, सुरेश आचार्य र विष्णु निष्ठुरी समेत सहभागी रहेको बैठकका निर्णयहरू देहायबमोजिम छन्।

FNJ Nepal

१. महासंघको यो बैठक २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र लगातारको पराकम्पनबाट भएको व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ। त्यसक्रममा जीवन गुमाउने पत्रकार सुमन भोम्जन, रेडियो कार्यक्रम प्रस्तोता सिर्जना लामा, दैनिक नेपालगञ्जका प्रवन्ध निर्देशक अच्युतराज सुवेदीसहित मृतक सवैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै महासंघ केन्द्रीय सदस्य माधव दुलालसहित आफन्त गुमाउने सवै पत्रकार र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकहरूप्रति एक मिनेट मौनधारणबाट बैठक सुरु भएको थियो।

लाखौं नागरिकले आफ्नो बासस्थान गुमाउनुपरेको छ भने मुलुकका थुप्रै ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एबं धार्मिक सम्पदासहित सार्वजनिक सम्पत्ति र संरचनाहरू ध्वस्त भएका छन्। नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले व्यक्तिगत र संस्थागतरूपमा पनि ठूलो भौतिक तथा मानसिक क्षतिसमेत व्यहोर्नुपरेको यर्थाथबारे छलफल गर्‍यो।

भूकम्पको अति जोखिमका वाबजुद नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यमले समग्रमा निर्वाह गरेको भूमिका र पालना गरेको पेशागत दायित्व प्रशंसनीय रहेको बैठकको ठहर छ। महासंघको यो बैठकले साहसिक पत्रकारिता र जिम्मेवार भूमिकाको निम्ति सम्बद्ध सवै पत्रकार र सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्‍यो। बैठकले मुलुकलाई परेको महाविपत्तिको अवस्थामा पीडितको उद्धार, घाइतेको उपचार र राहतको निम्ति महासंघको केन्द्रिय समिति, स्थानीय शाखा/एसोसियट संस्था, यसका सदस्य र सबै सञ्चारकर्मीले खेलेको भूमिकाको स्मरण गर्दै सम्बद्ध सवैप्रति आभार व्यक्त गरेको छ। बैठकले यस क्षणमा महासंघको यो बैठक महाविपत्तिको लगत्तै र तत्पश्चातको अवस्थामा मुलुकका सुरक्षा निकाय र चिकित्सा क्षेत्रको विशेष भूमिकाको प्रशंसा गर्दै सम्बद्ध सबैबाट निर्वाह भएको भूमिकाको पनि स्मरण गर्न चाहेको निश्कर्ष निकाल्यो। महासंघ अब आमनागरिक र आमसञ्चार क्षेत्रलाई थप विपत्तिबाट जोगाउन, विपत्तिमा परेकालाई पूर्ववतरूपमा सामान्य अवस्थामा फर्काउन एवं पुनर्स्थापना र पुनर्निर्माणको अभियानमा पनि यसैगरी सक्रियरूपमा सरिक हुन सञ्चारजगतका साथै नेपाल सरकार, पेशागत क्षेत्र र आमनागरिक समुदायसहित सम्पूर्ण मुलुकवासीमा हार्दिक अपील गर्दछ।

२. महाविपत्तिमा परेका पत्रकार र सञ्चारमाध्यमलाई महासंघ र महासंघमार्फत् एवं स्वस्फूर्तरूपमा भएको तत्कालीन राहत सहयोगको लागि धन्यवाद व्यक्त गर्दै अब महासंघ सञ्चारमाध्यम र अन्य सञ्चार संस्थाहरूसँगसमेत व्यापक सहकार्यका साथ पुनर्निर्माण, पुनस्थापना, विपत्तिको बेला पत्रकारको सुरक्षा, सीप र जोखिम न्यूनीकरणका साथै श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र संविधान निर्माण प्रक्रियालाई साझा अभियानका रूपमा अघि बढाउने प्रतिवद्धता महासंघले यसै बैठकबाट गर्‍यो।

३. बैठकद्वारा पारित तत्काल सञ्चालन गर्ने कार्यक्रमहरू देहायबमोजिम हुने छन्—

क) भूकम्प पीडितका सन्दर्भमा

१) भूकम्पबाट अति प्रभावित जिल्ला लगायत देशभर भएको पत्रकारहरूको जनधनको क्षतिको विवरणका आधारमा अति प्रभावित, प्रभावित र अन्य क्षेत्र गरी तीन भागमा वर्गीकरण गरी पुनर्निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने निर्णय बैठकले गर्‍यो।

२) सञ्चारकर्मी र सञ्चारसंस्थालाई राहत र पुनस्र्थापनाका लागि राज्यका तर्फबाट विशेष कार्यक्रम ल्याउन सरकारलाई दबाब सिर्जना गर्नुका साथै प्रेस काउन्सिल र सूचना विभागलगायतका निकायबाट सञ्चार उपकरण खरीद, लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी, वर्गीकरणमा सहुलियत, सार्वजनिक हितसम्बन्धी सन्देशसहितका लागि व्यवस्था मिलाई समानुपातिक विज्ञापन नीति तत्काल कार्यन्वयन गर्न दबाब दिने निर्णय बैठकले गर्‍यो।

३) भूकम्पबाट ध्वस्त भएका सञ्चारमाध्यमको पुनःसंचालनका लागि उपकरण आयातमा भन्सार छुट तथा नवीकरण र अन्य दस्तुरमा मिनाह वा छुटका लागि पहल गर्ने तर त्यस्तो पहल गर्दा उक्त सहुलियतको प्रतिफल सम्बन्धित सञ्चारमाध्यमले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको प्रमाण अनिवार्य हुनुपर्ने पूर्व शर्तसहित हुनपर्ने निर्णय बैठकले गर्‍यो।

४) भूकम्पबाट अति प्रभावित पत्रकार, कर्मचारी, कामदारलाई राहत र पुनर्निर्माणमा सहयोग गर्नु ऊ कार्यरत संस्थाको पनि दायित्व हो। सो दायित्व पालना गर्नुको सट्टा यही मौकामा आमानवीय ढंगले पत्रकार निष्कासन गर्ने, पारिश्रमिक रोक्का गर्ने, दरवन्दी कटौती गर्ने, असुरक्षित र अत्यन्तै जोखिमपूर्ण कार्यस्थलमा जवर्जस्ती काममा लगाउने जस्ता प्रवृत्ति देखिइरहेकोले त्यस्तो कार्यप्रति सचेत गराउने र गर्न नदिने निकायमा त्यस सम्बन्धित शाखासँग समन्वय गरी प्रतिवादमा उत्रिने निर्णय बैठकले गर्‍यो।

५) महासंघद्वारा स्थापित महाभूकम्प पीडित उद्धार कोषमा जम्मा हुने रकम र अन्य सहयोगी संस्थासँगको सहकार्यमा महासंघका क्षतिग्रस्त शाखा भवनको पुनर्निर्माण तथा अति पीडित पत्रकारको लागि आवास निर्माण, बैंक ऋणमा सहुलियत र बालबच्चाको शिक्षाको लागि सक्दो सहयोग र सहुलियतको पहल गर्ने निर्णय बैठकले गर्‍यो।

६) अति प्रभावित क्षेत्रका पत्रकारका लागि प्रभावित नभएका वा कम प्रभावित भएका क्षेत्रका पत्रकारको साथ जरूरी छ। यसका निम्ति क्षेत्रीय, प्रतिष्ठान र एशोसियट संयोजक र सहसंयोजकले समन्वय गरी क्षेत्रीय/प्रतिष्ठान/एशोसियट समितिबाट ‘भूकम्प प्रभावित पत्रकार राहत कोष–२०७२’ मा तत्काल नगद जम्मा गर्ने निर्णय बैठकले गर्‍यो।

७) अन्तर्राष्ट्रिय संघसंस्था र स्थानीय निकायसँग समन्वय गरेर स्रोतको खोजी गरी ट्रमा मनोपरामर्श, स्वास्थ्य उपचार प्रबन्ध, अस्थायी शिविर सञ्चालन, पत्रकार सुरक्षा, भूकम्प केन्द्रित सूचना वा स्रोत केन्द्र सञ्चालन र विपत्तिमा पत्रकारिता अभ्यास जस्ता विषयलाई केन्द्रित गरी प्रशिक्षण अभियान सञ्चालन गर्ने र सोको व्यवस्थापन मिलाउने।

८) भूकम्पसम्बन्धी सम्पूर्ण कामको प्रमुख जिम्मेवारी उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा सात सदस्यीय समति गठन गरियो। अन्य सदस्यहरूमा सचिव प्रभात चलाउने, कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्यहरू राजु लामा, पवन वर्षा शाह, चिरिञ्जीवी मास्के, प्रकाश तिम्लिसिना रहेका छन्।

ख) श्रमजीवी पत्रकारका सन्दर्भमा

१) श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन नयाँ चरणको अभियान सञ्चालन गर्ने। यस क्रममा देखिने गरी उपलब्धि हासिल गर्न २०७२ भदौ महिनाभित्र देशभरका संचार प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र बक्यौता पारिश्रमिक भुक्तानी कार्यान्वयन गरी सार्वजनिक गर्न कार्ययोजना बनाउन श्रमजीवी पत्रकार ऐन कार्यन्वयन अनुगमन समितिलाई जिम्मा दिने निर्णय बैठकले गर्‍यो।

समितिले महासंघको सम्बन्धित शाखासँग समन्वय गरी आपसी लबिङ र व्यवस्थापनसँग वार्ता गर्नुका साथै आवश्यक परे सम्बन्धित शाखाबाट निर्णय गराई निश्चित अवधिको अल्टिमेटम दिएर संघर्षका कार्यक्रमसमेत संचालन गर्ने र संघर्षका कार्यक्रम संचालन भएको अवस्थामा केन्द्रीय समितिका अन्य सवै पदाधिकारी, सदस्यले पनि त्यसमा सहभागिता जनाई निश्कर्षमा पुर्‍याउने निर्णय बैठकले गर्‍यो।

२) हिमालय टेलिभिजन र एभेन्युज टेलिभिजनमा उत्पन्न श्रम समस्या जेठ मसान्तसम्म समाधान गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान व्यवस्थापनलाई आह्वान गर्ने, अन्यथा संघर्षका कार्यक्रममा महासंघ केन्द्रीय समिति प्रत्यक्ष सहभागी भई संघर्षलाई निश्कर्षमा पुर्‍याउने निर्णय बैठकले गर्‍यो।

३) मुद्रास्फिति दर र दैनिक जीवनयापनको आधारमा विद्यमान न्यूनतम पारिश्रमिकमा तत्काल पुनरावलोकन गरी रु. २०,०००।– हुनु पर्ने माग राख्ने निर्णय बैठकले गर्‍यो। श्रमजीवी पत्रकार ऐनका अन्य व्यवस्थाको कार्यान्वयन र प्रत्येक वर्ष मुद्रस्फिति दर अनुसार स्वतः मिलान हुने प्रावधानसहित यसलाई टुंगो लगाउन पहल गर्ने निर्णय बैठकले गर्‍यो। सरोकारवाला पक्षसँगको वार्ताका आधारमा वृद्धि अंकको टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय समेत बैठकले गरेको छ।

४) श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारलाई थप दवाव दिने र व्यवस्थापिका संसदको विकास समितिलाई झक्झक्याउने साथै ऐनको उल्लंघन भएको कारण मर्कामा परेको कारण कानुनी उपचार खोज्न चाहने कुनै पनि श्रमजीवी पत्रकारलाई निःशुल्क कानुनी डेस्कमार्फत कानुनी सेवा प्रदान भइराखेकाले त्यसलाई निरन्तरता दिने निर्णय बैठकले गर्‍यो।

५) महासंघसँगको सहमति र नेपाल सरकारको बजेट वक्तब्यमा उल्लेख भई संसदबाट पारित भएर पनि आर्थिक वर्ष सकिन लाग्दासमेत सरकारले पत्रकारको दुर्घटना बिमा र द्वन्द्वपीडित पत्रकार कल्याण कोषको कार्यान्वयन एवं आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनामा अझै आलटाल गरिनु दुःखद्अवस्था रहेको निश्कर्षसहित यसको तत्काल कार्यान्वयनका लागि सरकारको गम्भीर ध्यानकर्षण गराउने निर्णय बैठकले गर्‍यो।

घ) संविधान निर्माण सन्दर्भमा

१) संविधानसभाबाट सकेसम्म चाडो संविधान जारी गर्न प्रमुख राजनीतिक दलहरूबीच भएको सहमति र उक्त सहमतिको जगमा संविधानसभाबाट भैरहेको प्रगतिको महासंघ स्वागत गर्दछ। शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याई परिवर्तनका एजेण्डालाई संस्थागत गर्न परिवर्तनकारी शक्तिबीच व्यापक सहकार्य अपरिहार्य छ। महासंघ हाल सहमत हुन नसकेका पक्षसँग समेत संवाद र सहकार्यको पहल जारी राख्दै र आम नागरिकलाई समेत सो प्रक्रियामा सहभागी गराई छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अग्रगामी संविधान जारी गर्न र मुलुकलाई राजनीतिक स्थिरता र सम्बृद्धिको दिशामा अग्रसर गराउन अपील गर्दछ।

२) नयाँ संविधान जारी गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्दछ। हालको मस्यौदामा रहेका कतिपय व्यवस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने अवस्था रहेकोले महासंघ स्थापित अन्तर्राष्ट्रिय मान्यतासँग मेल खानेगरी ती व्यवस्थाको पुनर्लेखन हुनुपर्ने धारणा राख्दछ र सोको लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ।

४. समसामियिक विषयमा 

१) महाभूकम्प पीडितलाई राहत दिने नाममा विभिन्न सञ्चारगृहले सुरु गरेको अभियानमा संकलित रकम दुरुपयोग भइरहेको भन्ने चर्चा चलेकाले समग्र सञ्चार जगतको बदनाम हुने देखिएकाले संकलित रकम तत्काल पारदर्शीता देखाई आफ्नो गरिमा जोगाउन महासंघ सम्बन्धित सञ्चारगृहहरुलाई गम्भीर ध्यानाकर्षण गराउँछ।

२) द्वन्द्वपीडित पत्रकारको सहयोगार्थ नेपाल पत्रकार महासंघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता, महासंघको ६० औं स्थापना दिवसमा आयोजित महासंघ ११ र सभासद् ११ बीच मैत्रीपूर्ण फुटबल प्रतिगिता, भूकम्प प्रभावित पत्रकारहरुलाई त्रिपालको व्यवस्था मिलाउने सञ्चारकर्मी मैत्री एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको २०७२ जेठ २९ गते राती निधन भएकाले उहाँप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

उजिर मगर

महासचिव

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.