माउन्टेन टिभीमा भएको सहमतिका ७ बुँदा यस्ता छन्


Mountain Television Logoमिडियामा सल्केको आन्दोलनको आगो तत्कालका लागि सेलाएको छ। तर पत्रकार/सञ्चारकर्मीका पेशागत समस्याबारे अझै खुला छलफल नहुनुले आउने दिनमा समस्या फेरि बल्झिने संकेत गर्छ।

जे होस् एभिन्युज र हिमालयपछि माउन्टेन टेलिभिजनका पत्रकारले पनि मालिकलाई झुकाएका छन्। यी तीनवटै टेलिभिजन व्यवस्थापनले पत्रकारले पाउन बाँकी तलब दिने र मासिक तलब हरेक महिना भुक्तानी गर्ने सहमति गरेका छन्। सहमति गर्ने तर कार्यान्वयन नगर्ने ‘राष्ट्रिय संस्कृति’ मिडिया सञ्चालकले तोड्न सक्छन् या सक्दैनन् आउने दिनमा प्रष्ट हुनेछ।

सम्पादकीय स्वतन्त्रतासहितका विभिन्न ६ वटा माग राखेर आन्दोलन घोषणा गरेका माउन्टेन टिभीका पत्रकारले सोमबार राति सहमतिपत्रमा हस्ताक्षर गरे जब व्यवस्थापन उनीहरुका माग पुरा गर्न बाध्य भयो। के सहमति भयो त माउन्टेन टिभी व्यवस्थापन र पत्रकारबीच? पढ्नुस् सहमतिपत्र जस्ताको तस्तैः

सहमति-पत्र

नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखाले व्यवस्थापन समक्ष राखेका ६ सुत्रिय मागका सन्दर्भमा नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुदीप श्रेष्ठ नेतृत्वको वार्ता समिति र माउन्टेन टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत धर्मेन्द्र सापकोटा सहितको व्यवस्थापन पक्षसँग आज मिति २०७१ असार ७ गते सोमबार माउन्टेन टेलिभिजनको सभाकक्षमा भएको व्यापक छलफलपछि देहायको सहमति भयो।

  1. माउन्टेन टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीको बक्यौता पारिश्रमिक (तीन महिनाको) असार २० गतेभित्र भुक्तानी गर्ने र अब उप्रान्त प्रत्येक महिनाको पहिलो साताभित्र पारिश्रमिक भुक्तानी गर्ने।
  2. स्थायी, अस्थायी र करार नियुक्ति पाएका तथा नपाएका पत्रकार/कर्मचारीको सेवा सुविधा श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरे बमोजिम हुनेछ। र, नियुक्तिपत्र नपाएका पत्रकार/कर्मचारीहरुलाई साउन २ गतेभित्र ऐन बमोजिम व्यवस्था गरिनेछ। साथै व्यवस्थापन पक्षबाट कर्मचारी विनियमावलीको मस्यौदा असार ११ गते शुक्रबार भित्रमा छलफलमा ल्याइ साउन २ भित्र कार्यान्वयन गर्ने।
  3. कार्यस्थलमा पत्रकार र कमर्चारीको भौतिक सुरक्षाका लागि लैंगिकमैत्री तथा उचित कार्य वातावरणका लागि व्यवस्थापन पक्षले आवश्यक थप गृहकार्य गरी ग्यारेन्टी गर्ने।
  4. पत्रकार तथा कर्मचारीप्रति आग्रह पूर्वाग्रहको वातावरण अन्त्य गर्ने।
  5. सम्पादकीय स्वतन्त्रता रहने।
  6. नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखासँग यसअघि गरेका सम्पूर्ण सहमति पुरा गर्ने।
  7. माउन्टेन टेलिभिजनमा श्रम सम्बन्धि कुनै समस्या उत्पन्न भए तत्काल सम्बोधन गर्न दुबै पक्ष सकारात्मक रहने र महासंघद्वारा माउन्टेन टेलिभिजनमा सञ्चालित आन्दोलनका कार्यक्रम स्थगित गर्ने र समयसीमा भित्र ती कार्य सम्पन्न भएपछि स्वतः समाप्त गर्ने।

सदीप श्रेष्ठ, अध्यक्ष, नेपाल पत्रकार महासंघ

धर्मेन्द्र सापकोटा, प्रमुख कार्यकारी अधिकृत

माउन्टेन टेलिभिजन प्रालि

सम्बन्धित सामग्रीः

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.