राजधानी दैनिकका पत्रकार आन्दोलितः ३० मिनेट पेन डाउन


Rajdhaniयसअघि भएका सम्झौता कार्यन्वयन, विनियमावली लागू तथा समयसापेक्ष तलब बृद्धिलगायतका माग राख्दै राजधानी दैनिकका पत्रकार आन्दोलित भएका छन्।

उनीहरुले  दबाब सिर्जना गर्न २०७२ असार १७ गते बिहीबार साँझ ७ बजेदेखि साढे ७ बजेसम्म पेन डाउन गरे।

नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष रामसूदन तिमल्सिनाका अनुसार पेन डाउन कार्यक्रममा पत्रिकाका सबैजसो पत्रकार सहभागी थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव ध्रुब लम्साल, केन्द्रीय सदस्यहरु दीपेन्द्र कुँवर र  रोसन पुरी उपस्थिति थिए।

विनियमावली लागू गर्न माग

पेन डाउनपछि महासंघ राजधानी दैनिक शाखाका अध्यक्ष रामसूदन तिमल्सिनाले राजधानी बन्द गर्न नभइ झन् राम्रो बनाउन दबाब दिइएको बताए। ‘हामीले हाम्रो हक मागेका हौँ। पत्रिका राम्रो बनाउन जति पनि काम गर्छौँ’, उनले भने।

गत वर्ष पुस महिनामा नै विनियमावली लागू गर्ने विषयमा सहमति भए पनि त्यसतर्फ कुनै चासो नदेखाएपछि पत्रकार आन्दोलित भएका हुन्।

आन्दोलन किन?

राजधानी न्युज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनले विनियमावली तयार गरी लागू गर्ने सहमति गत वर्ष पुसमा नै गरेका थिए।

व्यवस्थापनले ड्राफ्ट गरेको वियिनयमावलीका विषयमा छलफल गरी  पत्रकार/कर्मचारीले सुझाव सहित बुझाएका थिए। तर विनियमावली लागू गर्न व्यवस्थापनले चासो देखाएन। महासंघले जहाँ जे समस्या छन्, त्यसैबाट आन्दोलन अघि बढाउने निर्णय गरे बमोजिम राजधानी दैनिकका पत्रकारले विनियमावली लागू गर्न माग गर्दै दबाबमूलक अभियान थालेका हुन्।

साथै समयसापेक्ष महँगीको अनुपातमा तलब वृद्धि नभएकाले आर्थिक वर्ष २०७२/०७३ देखि लागू हुने तलबसमेत वृद्धि गर्न उनीहरुको माग छ।

अब के हुन्छ?

राजधानीका पत्रकारले अध्यक्ष महेन्द्र शेरचनलाई बुझाएको १८ बुँदे मागका विषयमा भएको सहमति कार्यन्वनयका लागि वार्ता र छलफलसँगै दबाबमूलक कार्यक्रम पनि जारी राख्नेछन्। सम्पादकमार्फत व्यवस्थापनलाई ध्यानआकर्षण गराउनेछन्।

यसअघि एभिन्युज टेलिभिजन, हिमायल टेलिभिजन र माउन्टेन टेलिभिजनमा पत्रकारले आन्दोलन गरेका थिए।

राजधानीको प्रोफाइल

राजधानी दैनिक २२ जेष्ठ २०५८ बाट उत्सर्ग प्रकाशन प्रा. लि. (अहिले राजधानी न्युज पब्लिकेशन प्रालि) ले प्रकाशन सुरु गरेको हो। राजधानी न्युज पब्लिकेसन प्रा. लि. राजधानी दैनिकको प्रकाशक हो। यसका अध्यक्ष महेन्द्र शेरचन हुन्। उनी नेकपा एमालेका तर्फबाट सभासद् छन्।

राजधानी न्युज पब्लिकेसनको स्थापना १ पौष २०५७ मा उत्सर्ग प्रकाशन प्रा. लि.को रुपमा भएको थियो। यो कम्पनीलाई १ श्रावण २०७० मा उत्सर्ग प्रकाशन प्रा. लि. बाट राजधानी न्युज पब्लिकेसशन प्रा. लि.मा परिवर्तन गरिएको थियो।

सम्बन्धित सामग्रीः

 

 

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.