प्रेस काउन्सिलको वर्गीकरणमा १० पत्रिकालाई क प्लस, हुबहु घट्यो


प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०६९/०७० र ०७०/०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ।

हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने र वर्गीकरणकै आधारमा लोक कल्याणकारी विज्ञापन दिने व्यवस्था भए पनि काउन्सिलले गत वर्ष नतिजा सार्वजनिक गरेको थिएन। यो वर्ष दुई आर्थिक वर्षको नतिजा एकैपटक सार्वजनिक गरिएको हो।

०६९/०७० मा वर्गीकरणका लागि फारम भरेका ८ सय ८१ वटा पत्रिका मध्ये ७ सय ७८ पत्रिका विभिन्न वर्गमा परेका छन्। बाँकी १०३ वटा पत्रिकालाई वर्गीकरणमा समावेश गरिएको छ।

राष्ट्रियमा २१२, क्षेत्रीयमा १९१ र स्थानीय वर्गमा ३७५ पत्रिका वर्गीकृत भएका छन्। जम्मा बर्गिकरणमध्ये ‘क+’ मा ११ ‘क वर्ग’ मा २१०, ‘ख’ वर्गमा ३१३, ‘ग’ वर्गमा १८६ र ‘घ’ वर्गमा १५८ पत्रपत्रिका वर्गीकरणमा परेका छन्।

यसैगरी ०७०/०७१ मा फाराम भरेका ८७५ पत्रपत्रिका मध्ये ८२२ पत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ५३ पत्रपत्रिकाहरुको नतिजा स्थगित गरिएको छ। जसमध्ये राष्ट्रिय स्तरमा २००, क्षेत्रीय स्तरमा १८७ र स्थानीय स्तरमा ४३५ पत्रपत्रिका रहेका छन् ।

अघिल्ला वर्षहरुको तुलनामा हुबहु (कपीपेस्ट) गर्ने पत्रिकाको संख्या घटेको प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले बताए।

यस पटकदेखि वर्गीकरणमा क+

यस वर्षदेखि काउन्सिलले पत्रिकाले पाएको अंकका आधारमा क+ वर्ग थप गरेको छ।

मूल्यांकनमा ९० अंक भन्दा बढी ल्याउनेलाई यस वर्षमा समाबेश गर्ने निर्णय अघिल्लो वर्ष नै भएपनि अहिलेबाट लागू गरिएको प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले बताए।

मापदण्ड वमोजिम ७०/७१ मा ‘क+’ मा ७ दैनिक र ३ साप्ताहिक गरी १० पत्रिका वर्गीकरणमा परेका छन्।

गोरखापत्र, कान्तिपुर, द हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, दि राइजिङ नेपाल, नागरिक, द काठमाडौं पोष्ट दैनिक क प्लसमा परेका छन्। यस्तै जनआस्था साप्ताहिक, साप्ताहिक र नेपाल साप्ताहिक क प्लसमा परेका छन्। यी सबै काठमाडौंबाट छापिने पत्रिका हुन्।

आर्थिक वर्ष ६९/७० मा भने यी माथिका पत्रिकासँगै हिमाल साप्ताहिक पनि क प्लसमा थियो। यसपटक हिमाल वर्गीकरणमै सामेल भएन।

यस वर्ष ‘क+’ मा १० ‘क वर्ग’ मा २३१, ‘ख’ वर्गमा ३२६, ‘ग’ वर्गमा २०२ र ‘घ’ वर्गमा ५३ पत्रपत्रिका वर्गीकरणमा परेका छन्।

सूचना विभागका महानिर्देशकको संयोजकत्वमा प्रेस काउन्सिल नेपाल अन्तर्गत रहेको वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वर्गीकरणका गर्छ।

वर्गीकरणको नतिजामा चित्त नबुझे पुनरावलोकनको लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने व्यवस्था छ।