हिमालय टिभीमा फेरि तलबकै तनाव


Himalaya-Television-Logo-Neगत असार ३ गते पत्रकारका पाँच बुँदे मागमा सहमति जनाएको हिमालय टेलिभिजन व्यवस्थापनले सहमति कार्यायन्वन नगरेपछि त्यहाँका पत्रकार पुनः आन्दोलनमा उत्रने भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, हिमालय टेलिभजन प्रतिष्ठान शाखा र टेलिभिजन व्यवस्थापनबीच भएको सहमति कार्यान्वयनमा व्यवस्थापनले बेवास्था गरिदिएपछि पत्रकारहरु पुनः आन्दोलनमा उत्रन लागेका हुन्।

के भएका थियो सहमति?

लामो समयदेखि पत्रकारलाई तलब नदिएपछि नेपाल पत्रकार महासंघले गत जेठ ३१ गते एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनमा आन्दोलन घोषणा गरेको थियो। दुबै टेलिभिजनले माग पुरा गर्न सहमति जनाएपछि पत्रकारको आन्दोलन रोकिएको थियो।

तर ती सहमति कार्यान्वयन गर्नुको सट्टा पत्रकार/कर्मचारीहरुलाई विभिन्न बाहानामा मानसिक तनाव दिने किसिमका क्रियाकलाप भएपछि पुनः आन्दोलनमा उत्रनु परेको पत्रकारहरु बताउँछन्। ‘आन्दोलनमा सक्रियता देखाएका कर्मचारीलाई व्यवस्थापनले विभिन्न बाहानामा स्पष्टिकरण सोध्ने र राजीनामा दिन बाध्य पार्ने काम पछिल्ला दिनमा भएको प्रतिष्ठान शाखाका अध्यक्ष वाइपी घिमिरेको भनाई छ।

आन्दोलनपछि क्यामेरापर्सन राजेश ढकाललाई राजीनामा दिन बाध्य बनाइयो। मंगलबार मात्रै अर्का कर्मचारी जयराम लामिछानेलाई प्रतिष्ठान शाखाको ध्यानाकर्षण पत्र कार्यालयबाट प्रिन्ट गरिदिएको बाहानामा व्यवस्थापनले गालीगलौज गरेपछि उनले राजीनामा दिएका छन्। अन्य कर्मचारीलाई पनि सानासाना कुरामा अल्झाएर मानसिक तनाव दिने काम भैरहेको त्यहाँका कर्मचारी बताउछन्।

यसअघि भएको सहमति पत्रमा सम्पूर्ण पारिश्रमिक चुक्ता गरी अबदेखिको पारिश्रमिक नियमित दिने सहमति भए पनि टेलिभिजनले तीन महिनादेखि तलब दिएको छैन।

असार मसान्तबाट सम्पूर्ण कर्मचारीको नियुक्ति पत्रको म्याद सकिएको छ। अहिले अधिकांश कर्मचारी बिना नियुक्तिपत्र काम गरिरहेका छन्। नियुक्तिपत्रको म्याद सकिएपछि टेलिभिजन व्यवस्थापनले ‘कुनै पनि समय निकाल्न सकिने’ शर्तमा हस्ताक्षर गरेर मात्र नियुक्ति दिने काम गरेको छ। केही कर्मचारीलाई धम्क्याएर नियुक्ति थमाइएको छ।

स्थायी नियुक्ति पाएका केही कर्मचारीलाई पनि ६ महिनाको कार्यप्रगति हेरेर मात्र थप कदम चालिने उल्लेख गरेर नियुक्तिपत्र दिइएको त्यहाँका एक पत्रकारले बताए।

माउन्टेनमा वार्ताले निस्केन निकास

हिमालयमा मात्र होइन, तलबको समस्या सबैजसो टेलिभिजनमा छ। केही समयअघि माउन्टेन टेलिभिजमा पनि पत्रकार आन्दोलित भए। माउन्टेन टिभीका पत्रकारले मालिकले याद गर्नुपर्ने ६ कुरा नै सार्वजनिक गरे। अन्ततः त्यहाँ सात बुँदे सहमति भयो तर त्यहाँ पनि सहमति कार्यान्वयन भएन। फलस्वरुप त्यहाँ पनि पत्रकार आन्दोलनको मुडमा छन्।

नेपाल पत्रकार महासंघले पत्रकार-व्यवस्थापन सहमतिका लागि माउन्टेन टिभीमा केन्द्रीय सदस्य दीपेन्द्र कुँवर सम्मिलित वार्ता समिति नै बनाएको थियो। तर वार्ताले निष्कर्ष ननिस्केपछि वार्ता समितिमा रहेका महासंघ केन्द्रीय सदस्य कुवँरले वार्ता समिति छोडेको फेसबुकमार्फत घोषणा गरेका थिए। उनले लेखेका थिए-

माउन्टेन टेलिभिजनबाट निकालिएका साथीहरुको पूनर्वहालीका लागि हामी (नेपाल पत्रकार महासंघ) ले पटक पटक वार्ता गर्‍यौँ। व्यवस्थापन पक्षले अपमान गर्दा पनि हामीले लचिलो भएर वार्ता र सम्वादका माध्यमबाटै समाधान गर्ने कोसिस गर्‍यौँ तर हामी गलत सावित भयौं, उसले पटक पटक अल्मल्याउने काम मात्रै गर्‍यो।  अब वार्ता होइन, आन्दोलन मात्रै उपाय रह्यो। त्यसैले अब वार्ता समितिमा बस्नुको पनि औचित्य रहेन। आजदेखि म वार्ता समितिमा छैन।

हिमालयमा बुधबारबाट आन्दोलन

नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले मंगलबार सम्पूर्ण कर्मचारीसँग छलफल गरी उनीहरुको राय अनुसार बुधबारबाट पुनः आन्दोलन सुरु योजना बनाएको छ। शाखाका अध्यक्ष वाइपी घिमिरेले बुधबार १२ बजेसम्मको अल्टिमेटम दिएकोले उक्त समयसम्म सुनुवाइ नभए सम्पूर्ण काम रोकेर धर्नामा उत्रने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.