मधेसमा मिडिया र अधिकारकर्मीप्रति आक्रोश


फोटोः yatradaily.com
फोटोः yatradaily.com

कान्तिपुर दैनिकमा बसन्त बस्नेतले ‘सय दिनको सकस‘ शीर्षकमा मधेस आन्दोलनको स्थलगत रिपोर्ट लेखेका छन् जसमा मधेस आन्दोलनको मिडिया कभरेजबारे त्यहाँका स्थानीयबासीको विचार पनि उल्लेख छ। समाचारमा उल्लेख छ-

मधेस आन्दोलनका सकारात्मक पक्ष समेट्नुको साटो काठमाडौंबाट चलेका अखबार, टिभी, रेडियो र अनलाइनले नकारात्मक समाचारलाई मात्रै प्राधान्य दिएको भन्दै अधिकांश आन्दोलनकारीहरू चर्को आलोचना गर्छन्। पर्साका स्थानीय व्यवसायी सन्तोष श्रीवास्तवले ४२ जना मधेसीको मृत्युले खासै ‘स्पेस’ नपाएको, तर आठ प्रहरीको मृत्युलाई बढाइचढाइ उछालिएको आरोप लगाए। सीमा नाकामा जारी धर्नालाई भारतीय नाकाबन्दी भनी चित्रित गरिएको भन्दै आपत्ति गर्नेहरू पनि थुप्रै भेटिए।

कतिपय स्थानीय सञ्चारकर्मीले भने आफूले सबैखाले समाचार सम्प्रेषण गरिरहे पनि अमूक दल र नेताको तस्बिर, समाचार नछापिँदा धम्कीको सिकार बन्नु परेको खुलाए। ट्रक, एम्बुलेन्स, स्कुल बसमा आगजनी, तोडफोड, सिमानापारिबाट नेपालतिर ढुंगा प्रहार, उतै खाना खाएको, पेट्रोल बम प्रहारजस्ता समाचार प्रकाशन/प्रसारण हुँदा सञ्चारकर्मीहरू आन्दोलनकारीको निसानामा पर्ने गरेको तिनको भनाइ छ।

‘हामी हरेक दिन आन्दोलनको सबैखाले समाचार पठाइरहेका हुन्छौं, तर आफ्नो आलोचनामा आएका समाचार मात्रै नोटिस गर्छन्, अनि पहिलेका कुरासमेत निकालेर नेताहरू रिस फेर्ने गर्छन्,’ एक स्थानीय पत्रकारले सुनाए, ‘अब त समाचार लेखेकै कारण असुरक्षित भइने हो कि भन्ने चिन्ता छ।’

स्थानीय रेडियोहरूले आन्दोलनसम्बन्धी कार्यक्रमहरू प्राथमिकतासाथ बजाउने गरेकामा प्रेस काउन्सिलले सचेत पनि गराएको छ। वीरगन्जको एक स्थानीय टिभीले शुक्रबार दिउँसो, राति र शनिबार बिहानभरि अब शान्तिपूर्ण आन्दोलनको उपयोगिता सकिएको, हिंस्रक शैलीमा जानुपर्ने तर्क राखिएका ‘भक्स पप’ र अन्तर्वार्ता बजाइरह्यो। निष्पक्ष र सन्तुलित सूचना सम्प्रेषणबाट स्थानीय सञ्चार माध्यम विचलित हुनुका पछाडि कतिपय आन्दोलनकारी नेताहरूकै लगानीबाट तिनीहरू सञ्चालित हुनुलाई मुख्य कारण मान्छन्, पत्रकार महासंघ धनुषाका एक पूर्वपदाधिकारी।

अर्कातिर काठमाडौंबाट प्रसारित कतिपय टिभी र रेडियोका समाचार र विचारको शैलीप्रति मधेसमा तीव्र आक्रोश पोखिएको छ। ‘संघीयता र राज्यशक्तिको पुन:संरचनामा देशबाहेक अरू केही अखण्ड हुँदैन, तर किन प्रधानमन्त्री भइसकेका नेताहरू सीमांकनमा एक इन्च पनि हेरफेर हुँदैन भन्ने अभिव्यक्ति दिँदै छन्? र तपाईं मिडियाका साथीहरू किन त्यस्ता भनाइलाई प्रोत्साहन गर्नुहुन्छ?,’ पर्सास्थित मधेसी बुद्धिजीवी पेसागत समूहमा आबद्ध अधिवक्ता शैलेन्द्रकुमार चौरसियाले सोधे। केही मानवअधिकारवादी संस्थाले त घटनास्थलमै नपुगी बाहिरबाटै प्रतिवेदन तयार पारेको आरोपसमेत लगाए स्थानीय नागरिक अगुवाहरूले। आन्दोलनका समर्थक र विरोधी दुवैखाले अधिकारकर्मीले आफूअनुकूल घटनालाई मात्रै उछालेको भन्दै शुक्रबार वीरगन्जमा आयोजित एक अन्तर्क्रियामा आलोचना गरियो।

मिडियालाई मलजल

नेकपा एमाले पर्सा जिल्लाका एक नेताले मिडियासहित आन्दोलन समर्थक दललाई भारतीय वाणिज्यदूतको कार्यालयको मलजल गरिरहेको आरोप लगाएका छन्। समाचारमा उल्लेख छ-

वीरगन्जमा रहेको भारतीय वाणिज्यदूतको कार्यालयले आफूलाई कूटनीतिक गतिविधिमा सीमित राख्नुपर्नेमा राजनीतिक भूमिका खेल्दै आन्दोलन समर्थक दल, मिडियालगायतलाई मलजल गरिरहेको ती नेताको दाबी छ।

सम्बन्धित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.