गोरखापत्रलाई जन्मदिनको शुभकामना ! मुलुकको जेठो समाचार पत्रिका ११६ औँ वर्षमा


मुलुकको पहिलो समाचार पत्रिका गोरखापत्रलाई जन्मदिनको शुभकामना !

नेपालको पहिलो समाचार पत्रिका गोरखापत्र प्रकाशन भएको ११६ वर्ष पुगेको छ। विक्रम सम्वत् १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक समाचार पत्रिकाको रुपमा प्रकाशन आरम्भ भएको गोरखापत्रले आज २०७३ बैशाख २४ गते प्रकाशनको ११५ औँ वर्षको यात्रा पुरा गरी ११६ औँ वर्षमा प्रवेश गरेको छ। तत्कालीन राणा प्रधानमन्त्री श्री ३ देवसमशेरको चाहनाबाट गोरखापत्र छापिएको इतिहास पाइन्छ।

वार्षिकोत्वसको अवसरमा गोरखापत्रले विशेष प्रकाशकीय प्रकाशित गरेको छ भने १६ पृष्ठको विशेषांक प्रकाशित गरेको छ। ‘समुन्नत भविष्यतर्फको यात्रा’ शीर्षकको विशेष प्रकाशकीयमा उसले ‘केही वर्षदेखि खस्कँदै गएको संस्थानको वित्तीय स्वास्थ्य तंग्रिँदै गएको र प्रकाशन गृहहरुमध्ये सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने करदाताका रुपमा सम्मानित भएको उल्लेख गरेको छ।

Gorkhapatra 116 yearप्रकाशकीयमा उल्लेख छ-

आधुनिक नेपाली इतिहासको सम्पूर्ण कालखण्डको झण्डै आधा घटना समेटिएको गोरखापत्रका अनुसन्धानमूलक, अप्राप्य एवं ऐतिहासिक दस्तावेज नष्ट हुनबाट जोगाउन विद्युतीय अभिलेखीकरण गरी सार्वजनिक गर्ने प्रयोजनका लागि कार्य प्रारम्भ भइसकेको छ। संस्थानको समष्टिगत सुधारका लागि यसका कानुनी एवं नीतिगत संरचनालाई युगानुकूल बनाउन जरुरी छ। त्यसैले ५४ वर्षअघिदेखिका ऐनमा विद्यमान अव्यवहारिक प्रावधान हटाई नेपालको नयाँ संविधान अनुकूल हुने गरी जनसेवी सञ्चार माध्यमका रुपमा रुपान्तरण गरी सं३य लोकतान्त्रिक गणतन्त्रलाई बल पुर्‍याउने किसिमको संरचनागत सुधारका लागि प्रयन्त गरिँदै छ।

यस्तै ‘सामयिकताको कसीमा गोरखापत्र’ शीर्षकमा गोरखापत्रले सम्पादकीय लेखेको छ-

हरेक व्यवस्था परिवर्तनमा गोरखापत्रको कायापलटको कुरो हुँदै आए पनि व्यवहारिक धरातलमा फड्को नमारिनु रिक्तताको पाटो हो। गोरखापत्रको स्तर सुधारका सम्बन्धमा बेलाबखत फरक फरक बाजा बज्दै आएक छन्। कहिले निजीकरण त कहिले सहकारीकरण त कहिले संसदीय समिति अन्तर्गत चलाउने कुरो भएका हुन्। केवल कुराले माखो नमर्नु अनौठो होइन। गोरखापत्रलाई गोरखापत्र संस्थान ऐनअनुसार मात्रै चलाउने हो भने पनि यसले अहिलेको दायर फराकिलो बनाउनेमा शंका छैन। ऐनअनुसार यसका सेयर सर्वसाधारण तथा कर्मचारीबीच पुर्‍याइएका खण्डमा थोरै सही रुपान्तरण निश्चित छ। गोरखापत्र संस्थानलाई समयानुकूल चुस्त दुरुस्त राख्नका लागि यहाँ कार्यरत पत्रकार, कर्मचारीमा उत्प्रेरणा जगाउन सकारात्मक कार्य वातावरणको महत्वलाई नकार्न सकिँदैन।

गोरखापत्रको इतिहास

गोरखापत्र विक्रम सम्वत् १९५८ वैशाख २४ गते सोमबार तद्अनुसार ६ मे १९०१ मा प्रकाशनमा आएको थियो। नेपाली पत्रपत्रिकाको इतिहासमा गोरखापत्रलाई सवैभन्दा जेठो समाचार पत्रिका मानिन्छ। यद्यपि नेपाली पत्रकारिताको उदय भने विक्रम सम्वत् १९५५ साल साउनदेखि सुरु भएको ‘सुधासागर मासिक’ पत्रिकाबाट भएको हो। तर यो समाचार पत्रिका भने थिएन।

शिव रेग्मीले पुस्तक ‘नेपालमा पत्रकारिताको विकास’ (२०५०) मा भनेका छन्- नरदेव मोतिकृष्ण शर्माद्वारा श्री पशुपत प्रेसमा सातामा एक पटक छापिएर आउन थालेको गोर्खापत्र नेपाली पत्रपत्रिकामा पहिलो साप्ताहिक समाचारपत्र हो। सुधासागर मासिक साहित्यिक पत्रिका भएकोले गोर्खापत्रलाई जेठो अखबार मानिएको हो।

ग्रीष्मबहादुर देवकोटा पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०५९) मा लेखेका छन्- गोरखापत्र तत्कालिन सरकारको प्रत्यक्ष लगानी र नियन्त्रणमा थियो। विक्रम सम्वत् १९५८ मा प्रकाशन हुँदा गोर्खापत्र लेख्ने गरिएकोमा वि.स. १९८३ देखि गोरखापत्र लेख्न थालियो। साप्ताहिक रुपमा प्रकाशन प्रारम्भ भएको गोर्खापत्र प्रकाशनको ४२ वर्षमा सातामा दुईपटक, ४५ वर्षपछि साताको तीनपटक र ५९ वर्षपछि अर्थात २०१७ फागुन ७ सालदेखि गोरखापत्र दैनिक प्रकाशन सुरु भएको हो।

देवकोटा लेख्छन्-

राणा प्रधानमन्त्री श्री ३ महाराज देव शम्शेर जंगबहादुर राणाको शासनकालमा गोरखापत्र प्रकाशन सुरु हुँदा नेपालमा नागरिक र प्रजातान्त्रिक चेतनाको अभाव थियो। तर पनि अरुभन्दा उदार प्रधानमन्त्री देव शम्शेरले गोरखापत्र प्रकाशनको उद्धेश्य सरकारका काम कारवाही जनस्तरमा पुर्‍याउनु र जनतालाई सुसूचित पार्नु रहेको अनुमान गर्न सकिन्छ। तर प्रजातान्त्रिक भावना र उदारताको दोष खेपेका देव शम्शेर आफ्नै भाई चन्द्र शम्शेरको षडयन्त्रका कारण पदच्युत हुनुपरेपछि चेतना र जागृतिको बाटो पनि बन्द भयो। फलस्वरुप गोरखापत्र प्रकाशनको प्रारम्भपछि र चन्द्र शम्शेरको शासनकालका ३१ वर्षसम्म नेपाली भूमिबाट कुनैपनि पत्रपत्रिका प्रकाशित भएनन्। गोरखापत्रपछि नेपालबाट अर्को पत्रिका प्रकाशन हुन ३३ वर्ष कुर्नुपर्‍यो। बरु त्यसबीचमा भारतको कलकत्ता, बनारस, दार्जिलिङलगायतका ठाउँबाट गोर्खाली, राजभक्ति, गोर्खा संसार, तरुण गोर्खा, युगवाणी, नेपाल पुकार आदि पत्रिकाहरू प्रकाशित भएको पाइन्छ। विदेशी भूमिबाट निस्कने पत्रिकामथि पनि सरकारी नियन्त्रण कडा थियो।

किशोर नेपाल पुस्तक ‘जनमतसंग्रहदेखि जनआन्दोलनसम्मः नेपाली पत्रकारिताको विकास र प्रभाव’ (२०५७) मा लेख्छन् – विक्रम सम्वत २००७ सालको क्रान्तिले नेपाली समाजका लागि प्रजातान्त्रिक शासन व्यवस्थाको सूत्रपात गरेपछि मात्र नेपालमा पत्रकारिताको प्रारम्भ भएको हो। यसको अर्थ, यसअघि नेपालमा पत्रकारिता नै थिएन भन्ने होइन। एक शताब्दी पुरानो हाम्रो आफ्नै गोरखापत्र नेपालमा पत्रकारिताको उपस्थितिको सत्य कथा हो। तर, पत्रकारिताको व्यापक प्रभावको कुरा गर्दा यो सत्यकथाको प्रतीकात्मकबाहेक अर्को महत्व छैन।

गोरखापत्रको प्रकाशन संस्था गोरखापत्र कर्पोरेसनले हाल गोरखापत्र दैनिकसँगै अंग्रेजी दैनिक दि राइजिङ नेपाल, साहित्यिक मासिक मधुपर्क, युवामञ्च मासिक र वाल पत्रिका मुना प्रकाशित गर्छ। यसले गोरखापत्रअनलाइनट डट कम पनि सञ्चालन गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.