तीन दिनभित्र स्पष्टीकरण दिन इकान्तिपुरलाई प्रेस काउन्सिलको निर्देशन


प्रेस काउन्सिल नेपालले इकान्तिपुर डटकममा २०७३ जेठ २४ गते वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे प्रकाशित समाचारको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मंगलबार विज्ञप्ति जारी गरी काउन्सिलले प्रारम्भिक अनुसन्धानबाट इकान्तिपुरले प्रकाशित गरेको समाचार ‘गलत, भ्रामक र संवेदनहीन’ भएको जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार नेपाली राष्ट्रिय गानका संगीतकार समेत रहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा सोमबार राति दुई बजेर ३७ मिनेटमा निधन भएको हो।

अस्पतालले गुरुङको मृत्यु भएको घोषणा गर्नु एक दिन अगाबै इकान्तिपुर डट कमले पारिवारिक श्रोतलाई उद्‍धृत गर्दै गुरुङको मृत्यु भएको समाचार पोस्ट गरेको थियो। तर केही घण्टामै उसले उक्त समाचार हटायो र ‘गलत जानकारीका कारण’ गलत समाचार पोस्ट भएको उल्लेख गर्‍यो। यही विषयलाई लिएर प्रेस काउन्सिलले तीन दिनभित्र समाचारका बारेमा स्पष्टीकरण दिन इकान्तिपुरलाई निर्देशन दिएको हो।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-

‘मानिसको अवशान सम्बन्धी विषय संवेदनशील हुने भएकोले त्यस्तो समाचार सम्प्रेषण गर्दा अति सावधानी र होशियारी हुनुपर्नेमा सचेतता गराउँदै उक्त समाचारले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ३ (४) मा — “सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेः पत्रकार र सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य, तथ्य, बस्तुनिष्ठ एवम् सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ।” भन्ने व्यवस्थाको उल्लङ्घन भएकोमा त्यस अनलाइनबाट गरिएको सामान्य क्षमायाचना प्रयाप्त नहुने भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले सम्वन्धित सञ्चारमाध्यमलाई पत्राचार गरी त्यस्तो आपत्तीजनक समाचार कसरी सम्प्रेषण हुन गएको हो? सो समाचार संकलन गर्ने सम्वाददाता, समाचार सम्पादन गर्ने सम्पादक समेतको विवरण खुल्ने गरी आधार र कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश गरिएको हो।’

काउन्सिलको पत्र

Letter of Press Council Nepal to eKantipur

काठमाडौंटुडेलाई पनि स्पष्टीकरण

प्रेस काउन्सिलले काठमाडौंटुडे डट कामलाई पनि स्पष्टीकरण सोधेको छ। काठमाडौं टुडे डटकमले जेठ १७ गते प्रकाशित गरेको “माधव नेपालको कठोर आरोपः केपी ओली सहिदकी श्रीमती ताक्ने, बलात्कारीको गाडी चढ्ने र जड्याहाका गुरु” (समाचार लिंक) शीर्षकमा प्रकाशित समाचारले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४ (११) उल्लङ्घन भएको भन्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न काउन्सिलले निर्देशन दिएको हो।

काउन्सिलको पत्र

Letter of Press Council Nepal to Kathmandutoay

पत्रकार महासंघका पूर्व अध्यक्षको कडा प्रश्न

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले फेसबुकमा ‘ सत्य प्रमाणित भइसक्दा पनि सत्यका ठेकेदारहरुले मुख नखोलेसम्म सत्य प्रमाणित भएको नमानिने?’ भन्दै प्रश्न गरेका छन्। पत्रकार झाले प्रष्ट उल्लेख नगरे पनि उनको संकेत अम्बर गुरुङको मृत्युबारेकै समाचारका बारेमा हो भन्ने प्रष्ट छ। उनले लेखेका छन्-

२८ वर्षको व्यावसायिक पत्रकारिताको जीवनमा हिजो बिहानदेखि आज बिहान करिब २० घण्टाको समय मैले सबैभन्दा बढी कष्ट र मानसिक पीडाका साथ व्यतित गरेको समय हो। सत्य पनि फरक हुन्छ र? एकले देखेको, बुझेको, देखेको, भोगेको सत्यलाई अर्काले हो भनिदिनुपर्ने? सत्यको सम्वाहकको हैसियत के? पत्रकारितामा सम्भवतः छलफल हुनुपर्ने विषय हो। जिम्मेवार त सबैले भइदिनुपर्ने होइन र? सत्य प्रमाणित भइसक्दा पनि सत्यका ठेकेदारहरुले मुख नखोलेसम्म सत्य प्रमाणित भएको नमानिने? हामी कस्तो सत्यको सेवा गरिरहेका छौं? अनि ती ठेकेदारहरुका कारण मैले र म जस्ताले २० घण्टासम्म भोगेको मानसिक पीडाको कहीँ कतै हिसाब हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.