एउटा जीवन्त जर्नलका २५ वर्ष


सन् १९९२ को सेप्टेम्बर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) तथा युनिभर्सिटी अफ सिड्नीको मानवशास्त्र विभागको संयुक्त आयोजनामा काठमाडौँको बज्र होटलमा एउटा सम्मेलन भइरहेको थियो । दर्शकदीर्घामा रहेका माधवलाल महर्जन मञ्चमा चलिरहेका प्राज्ञिक बहस सुनिरहेका थिए । उनले काठमाडौँमा मण्डला बुक प्वाइन्ट सञ्चालन गरेको भर्खर चार वर्ष पुग्दै थियो ।

सम्मेलनमा सहभागी एक उत्साही र जल्दोबल्दो तन्नेरीले मञ्चासीनहरूलाई सोधेका धारिला प्रश्नहरूले माधवलालको ध्यान खिच्यो ।

“मलाई तानेकै उहाँका प्रश्नहरूले हो,” उनी भन्छन्, “हाम्रो पहिलो चिनजान नै त्यहीँ भयो ।”

०७३ मा नेपालसँगको अन्तर्वार्तामा माधवलालले प्राज्ञिक र अनुसन्धानमूलक प्रकाशनप्रति आफ्नो अनुरागले कसरी ती ‘उत्साही र जल्दोबल्दो तन्नेरी’ सँगको भेटपछि मूर्त रूप लियो भनेर उल्लेख गरेका छन् ।

ती तन्नेरी थिए, प्रत्यूष वन्त ।

वन्तसहितको सम्पादकीय टिमको नेतृत्वमा सन् १९९६ देखि प्रकाशन आरम्भ भएको नेपाल केन्द्रित जर्नल ‘स्टडिज इन् नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास)’ ले यो वर्ष २५ औँ वसन्त टेकेको छ ।

यो लेख स्वयंसेवी रूपमा गैरसरकारी तवरबाट थालनी भएर ज्ञान उत्पादनमा समर्पित ‘सिन्हास’ को योगदान स्मरण गर्ने प्रयत्न हो ।

वन्त त्यतिबेला अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभानियाबाट पीएचडी गर्दै थिए । नेपालमा बसेर थेसिस लेखिरहेका उनी कहिले पुस्तक खोज्न त कहिले माधवलालसँग गफिन मण्डला बुक्स गइरहन्थे ।

पहिलो भेट भएको करिब दुई वर्षपछि एक दिन माधवलालले प्रत्यूषलाई प्रस्ताव राखे, ‘तपाईँ प्राज्ञिक जर्नल सम्पादन गर्नुहुन्छ भने म प्रकाशित गर्छु ।’

अनुसन्धाताका रूपमा प्रत्यूषलाई नेपालबाट र नेपालबारे प्रकाशित हुने जर्नलहरूबारे राम्रै जानकारी थियो तर आफैँ जर्नल निकाल्ने भने सोचेका थिएनन् ।

प्रत्यूषले तत्काल निर्णय दिएनन् । थेसिस सक्न अमेरिका फर्किनुअघि माधवलाललाई साथीहरूसँग छलफल गरेर निधो दिने जवाफ दिए ।

अमेरिकामा मानवशास्त्री मेरी डेसेन र त्यतिबेला भर्खर मानवशास्त्रमा विद्यावारिधि सकेका मार्क लिक्टीसँग प्रत्यूषले जर्नल प्रकाशनका सम्भावनाबारे छलफल गरे । प्रत्यूषकी बहिनी लाजिमा वन्त (भट्ट) मानवशास्त्रमा विद्यावारिधि गर्दै थिइन् । यसरी यी चार जनाको संस्थापक सम्पादक मण्डल तयार भयो, जर्नल प्रकाशनका लागि ।

सेप्टेम्बर १९९५ मा प्रत्यूष काठमाडौँ फर्किए । मार्क, मेरी र लाजिमा अमेरिकामा र प्रत्यूष नेपालमा रहेर जर्नलका लागि लेख खोज्ने र सम्पादन गर्ने काम सुरु भयो । १९९६ मा ‘सिन्हास’ को पहिलो अंक प्रकाशित भयो । त्यसयता प्रत्यूष जर्नल सम्पादनको नशामा चुर्लुम्म डुबेका छन् ।

जर्नलप्रतिको यही मोहका कारण राजकुमार बानियाँले एक लेखमा प्रत्यूष वन्तलाई उपमा दिएका छन्, ‘जर्नलका जर्नेल’ । नेपालमा ०७३ मा प्रकाशित उक्त लेखमा प्रत्यूष हर्क गुरुङलाई सम्झन्छन् । हर्कले उनलाई भनेका थिए रे, ‘अरू जेसुकै काम गर तर जर्नल निकाल्ने काम नगर ।’

जे नगर भनेर ‘सुझाव’ पाएका थिए, कालान्तरमा त्यही उनको नशा बनिदियो । त्यही नशाको परिणाम हुन्, बितेका २५ वर्षमा छापिएका ‘सिन्हास’ का ४९ अंक, डेढ दर्जन पुस्तक र पहिला ‘मिडिया अध्ययन’ नाममा छापिने अहिलेको ‘समाज अध्ययन’ जर्नल । गैरसरकारी संस्था मार्टिन चौतारीमार्फत उनी निरन्तर तल्लीन छन्, प्राज्ञिक कर्ममा ।

कोभिड– १९ महाव्याधिले रोकेर मात्र हो नत्र ४९ औँ अंक यतिबेला पाठकका हातमा परिसकेको हुन्थ्यो । ५० औँ अंक पनि प्रेसमा जान ठिक्क छ ।

सिन्हास, २०१७ डिसेम्बर अंक । रमेश पराजुली/मार्टिन चौतारी

वर्षको दुईचोटि जुन र डिसेम्बरमा प्रकाशित हुने ‘सिन्हास’ ले धेरै लेखकहरूलाई प्राज्ञिक लेखनको अभ्यास गर्ने मञ्च दिएको छ । एउटा उदाहरण हुन्, अभि सुवेदी ।

लेखनका अनेक विधा प्रयोग गर्न रुचाउने सुवेदीले साहित्यिक समालोचना र सामाजिक विषयहरूमा टिप्पणी लेखनलाई भने निरन्तरता दिइरहे । यी दुई रुचिलाई समायोजन गर्ने मनसुवाले उनलाई जर्नल लेखनमा जोड्यो ।

भर्खर पीएचडी भ्याएर फर्केका प्रत्यूष प्रकाशन तयारीमा रहेको जर्नलको पहिलो अंकका लागि लेख माग्न एक दिन अभि सुवेदीकहाँ पुगे । ‘त्यो एक हिसाबले मेरा लागि चुनौती थियो,’ सुवेदीले एक लेखमा आफ्नो लेखन तथा प्राज्ञिक प्राथमिकताहरूमा आएको परिवर्तनमा सिन्हास’ को महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै लेखेका छन्, ‘मसँग रहेको साहित्यिक समालोचनाको बुझाइ र समाजशास्त्रीय अध्ययनको अभ्यासलाई समायोजन गर्नु सबभन्दा ठूलो चुनौती थियो ।’ उनले बीपी कोइरालाका अदालती बयानहरूको अध्ययन गरी जर्नलमा लेख लेखे ।

बीपीको अदालतको बयान अध्ययन गरी लेखेको पञ्चायती युटोपियाबारेको लेखलाई सुवेदीले बीपीबारे आफ्नो ‘पहिलो गम्भीर रचना’ भनेका छन् । लेख लेख्ने क्रममा संग्रह गरेका दस्तावेजहरूका आधारमा ०७२ मा उनले ‘सान्दाजुको महाभारत’ नाटक लेखे, देश–विदेशमा कयौँ सेमिनारहरू पनि दिए ।

सुवेदीले भनेझैँ ‘सिन्हास’ नेपालको उथलपुथलकारी समयावधिको इन्द्रधनुषी प्रस्तुतीकरण बनेको छ । ‘सिन्हास’ का पछिल्ला ४८ अंकमा प्रकाशित सामग्रीहरूबारे मार्टिन चौतारीको वेबसाइटमा राखिएको फ्याक्ट सिटअनुसार २ सय ३० वटा अनुसन्धानमूलक लेख, ५९ टिप्पणी, ९ वटा साहित्य समीक्षा (लिटरेचर रिभ्यु) निबन्ध, ४ वटा सन्दर्भ सूची, दुइटा अन्तर्वार्ता र ५ वटा नोट्स फ्रम द आर्काइभ प्रकाशित भएका छन् । त्यसबाहेक १६६ वटा पुस्तक समीक्षा पनि जर्नलमा प्रकाशित भएका छन् । जर्नलमा मानवशास्त्र, इतिहास, समाजशास्त्र, राजनीतिशास्त्र, भूगोल, साहित्य, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, जनस्वास्थ्य, संस्कृत अध्ययन, संगीत, कानुन, विकास अध्ययन, वातावरण विज्ञानलगायतका कयौँ विषयका अनुसन्धानमूलक लेख छापिएका छन् ।

०००

प्रत्यूष वन्त (२०१०) कै अध्ययनअनुसार नेपालको पहिलो जर्नल नेपाल सांंस्कृतिक परिषद् पत्रिका (विसं २००९) प्रकाशित भएयता नेपालमा ६० वर्षको अवधिमा १ सय २९ वटा जर्नलहरू प्रकाशित भएका छन् ।

जर्नलको पनि जीवन हुन्छ । कति नियमित हुन्छन् त कति समयकालमा बन्द हुन्छन् । जर्नलहरूको भीडमा ‘सिन्हास’ अर्को एउटा जर्नल हो । तर ग्रहणका हिसाबले प्राज्ञिक समुदायमाझ यो एउटा विश्वसनीय खुराक बनेको छ ।

‘सिन्हासको योगदानलाई कसरी हेर्नुभएको छ ?,’ नेपालको जिज्ञासामा प्रा. माइकल हटले लेखे, ‘नेपालको प्रमुख प्राज्ञिक जर्नलका रूपमा यसले अन्तर्राष्ट्रिय पहिचान बनाएको छ, यो ठूलो कुरा हो ।’ हटजस्तै देश–विदेशमा छरिएको प्राज्ञिक समुदाय ‘सिन्हास’ जर्नलको योगदानको मुक्तकण्ठले प्रशंसा गर्छ । जस्तो, अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा प्राध्यापनरत जगन्नाथ अधिकारी लेखहरूमा हुने सूक्ष्म ‘पियर रिभ्यु’ र खदिँलो सम्पादन ‘सिन्हास’ को सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउँछन् ।

“विश्वका नामी अन्तर्राष्ट्रिय जर्नलहरूकै दाँजोमा यसले गुणस्तरीय लेखहरू प्रकाशित गरेको छ”, सिन्हासमा लेखहरू प्रकाशित गरेका तथा तिनको रिभ्यु गरेका अधिकारी भन्छन्, “स्वयंसेवी हिसाबमा जारी रहेको यो उत्कृष्ट बौद्धिक पहल हो ।” लामो समय मार्टिन चौतारीको नेतृत्वमा समेत रहेकाले आफ्नो प्रतिक्रिया आत्मप्रशंसा मात्र हुन्छ कि भन्नेमा अधिकारी सचेत देखिए ।

तर यो आत्मप्रशंसा मात्र होइन । जस्तो, स्वतन्त्र अध्येता अमिना सिंह नेपालसँग सम्बन्धित प्राज्ञिक लेखनका लागि सबभन्दा विश्वसनीय सन्दर्भ सामग्री ‘सिन्हास’ का लेखहरूलाई मान्ने गरिएको बताउँछिन् । “गहन पियर रिभ्यु र खारिएको सम्पादन यो जर्नलका विशेषता हुन्”, भन्छिन्, “लेख्नेहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको जर्नलमा छापूँ भन्ने हुन्छ, देशमै त्यो स्तरको जर्नल पाउनु प्राज्ञिक क्षेत्रलाई खुसीको कुरा हो ।”

नेपाल समाजशास्त्र संघका उपाध्यक्षसमेत रहेका समाजशास्त्री विश्वकल्याण पराजुली ‘सिन्हास’ लाई नेपाली समाज र इतिहासको अध्ययनमा कोसेढुंगा मान्छन् । “म एकदम कदर गर्छु किनभने उहाँहरू स्वयंसेवी हिसाबले व्यक्तिगत रूपमा खटेर काम गरिरहनुभएको छ, अनुसन्धाताहरूलाई प्लेटफर्म दिनुभएको छ”, पराजुली भन्छन्, “त्यसलाई बचाउनुभएको छ, सबभन्दा ठूलो कुरा यो हो ।”

प्रत्यूष र जर्नलका अर्का सम्पादक लोकरञ्जन पराजुलीले एक लेखमा ‘निरन्तरता, एकरूपता (कन्सिस्टेन्सी) र गुणवत्ताको हिसाबले ‘सिन्हास’ नेपालबारे छापिने समाज विज्ञानसम्बन्धी उम्दा जर्नल’ भएको उल्लेख गरेका छन् ।

अर्को एक लेखमा प्रत्यूष ‘सिन्हास’ सम्पादनका दु:खबारे भन्छन्, ‘जर्नल सम्पादन कडा मिहिनेतको काम हो । तर नेपालबाट पनि अन्तर्राष्ट्रिय स्तरको जर्नल प्रकाशन गर्न सकिन्छ भन्ने हामीले देखाएका छौँ ।’

सिन्हासका सम्पादक प्रत्यूष वन्त ।

‘सिन्हास’ कथा खोज्दै जाँदा जताबाट पनि घुम्दै माधवलाल र प्रत्यूष नै आइपुग्छन् । मण्डला बुक प्वाइन्ट र मार्टिन चौतारी आइपुग्छन् । अरू कयौँ नाम, सन्दर्भ र प्रसंगहरू आउँछन् । जर्नल सामूहिक प्रयत्न हो । तर त्यो प्रयत्नलाई वास्तविकतामा बदल्ने काम केही व्यक्तिहरूबाट सुरु हुन्छ । ‘सिन्हास’ पनि त्यस्तै भयो ।

लेखक सीके लालको भनाइमा प्रत्यूष सजिलै बौद्धिक स्टार हुन सक्थे । त्यसका लागि उनीसँग आवश्यक सबै योग्यताहरू पनि थिए । ‘तर उनले अपजसे खालको काम रोजे । संस्था निर्माण तथा बलियो बनाउने तथा ज्ञान उत्पादनका लागि मञ्च निर्माण गर्ने काममा उनले ध्यान लगाए’, लाल लेख्छन्, ‘यसले सिन्हासलाई समाज विज्ञानको प्रमुख पियर्ड रिभ्युड जर्नलका रूपमा यसको दीर्घायु र गुणस्तर सुनिश्चित गर्‍यो ।’

प्राज्ञिक जर्नलको सीमा भनेकै यसले समेट्ने विषय र यसका पाठक सीमित हुन्छन् । अन्य मिडियाजस्तो आम पाठकलाई लक्ष्य गरी जर्नल छापिँदैन । सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि भने जर्लन नभई नहुने सामग्री हुन् । तर गहन अनुसन्धान र सम्पादन प्रक्रियाका कारण समय र लगानी खर्चिनुपर्छ । खर्च अभावकै कारण धेरै जर्नल बन्द भएका उदाहरण छन् । तर ‘सिन्हास’ अपवाद हो । कारण, यो पूर्णत: स्वयंसेवाका आधारमा चलेको छ । छाप्ने काम मण्डला बुक प्वाइन्टले गरिदिन्छ । बाँकी काम स्वयंसेवा । न लेखकहरूले पैसाको आशले लेख्छन्, न त सम्पादहरूले नै पारिश्रमिक लिन्छन् । जर्नल प्रकाशनका लागि कतैबाट आर्थिक स्रोत पनि जुटाइएको छैन ।

बिना ‘फन्ड’ स्वयंसेवी रूपमा गैरसरकारी क्षेत्रबाट प्राज्ञिक स्तर कायम गरेर जर्नल निकालिनु नेपालका लागि मात्र नभएर विश्वमै नमुना काम भएको बताउँछन्, मानवशास्त्री सुरेश ढकाल । “नेपालबारे अध्ययन/अनुसन्धान गर्ने स्वदेशी–विदेशी अध्येताहरूले खोज्ने भनेकै यही जर्नल हो”, ढकाल भन्छन्, “यत्तिको मिहिनेत गरेर जर्नल हामीकहाँ निकालिएको छैन ।” सम्पादन प्रक्रिया र यसको पियर रिभ्युबाहेक नेपाली र विदेशीहरूको सहकार्य पनि प्रशंसनीय रहेको ढकालको भनाइ छ ।

प्राज्ञिक ज्ञान वृद्धिको कामले तत्क्षण नतिजा दिँदैन । लेखक सीके लालको बुझाइमा यो काम कालजयी प्रवृत्तिको हो । यसको असर आजको भोलि देखिन्न । “यसका लागि ठूलो हिम्मत र संयम चाहिन्छ”, उनी भन्छन्, “त्यसैले ठूलाठूला विश्वविद्यालयहरूले छहारी दिएका हुन्छन् । तर हामीकहाँ त्यस्तो छैन ।”

उसो त लाल नेपालमा प्राज्ञिक समुदाय भएकैमा शंका गर्छन् । विश्वविद्यालय वा प्रज्ञाप्रतिष्ठानमा नोकरी गर्दैमा कोही प्राज्ञ नहुने उनको तर्क छ । उनी नेपालका विश्वविद्यालयलाई ट्युसन सेन्टरको विस्तारित रूप मात्र ठान्छन् र प्रतिष्ठानहरूलाई पञ्चायती व्यवस्थाको प्रवर्द्धन गर्न बनाइएको राजनीतिक मञ्च ।

“प्राज्ञ हुनका लागि केही आधारभूत मान्यता हुन्छन्”, भन्छन्, “अनुसन्धानद्वारा ज्ञानको प्रवर्द्धन गर्नुपर्छ । ज्ञान थपिनुपर्छ नत्र त्यो प्राज्ञिक कर्म हुँदैन ।”

विश्वविद्यालयहरू प्राज्ञिक कर्मबाट च्युत भएको अवस्थामा गैरसरकारी तवरबाट जारी रहेको ‘सिन्हास’ लाई लाल अपवाद मान्छन् । “अपवाद जहाँ पनि हुन्छ”, भन्छन्, “नेपालका बारे नेपाली र विदेशीहरूले लेखेका गहन सामग्रीहरू पढ्न पाउँदा मलाई वर्षको दुई पटक खजाना भेट्टाएजस्तो हुन्छ ।”

तर ढकाल विश्वविद्यालयहरूमा अनुसन्धान नै नहुने कुरा स्वीकार्दैनन् बरु प्राज्ञिक कर्मलाई जागिर बनाइँदा/ठानिँदा प्राज्ञिक क्षेत्र धराशयी हुँदै गएको बताउँछन् । “विश्वविद्यालयमा पनि अनुसन्धानहरू भएका छन् तर हाम्रा विभागहरू मूलत: शिक्षण विभाग हुन्, यहाँ पढाइ हुन्छ”, भन्छन्, “नियमित प्राज्ञिक अनुसन्धानको काम अनुसन्धान केन्द्रहरूको हो ।”

नियमित अनुसन्धान गर्नकै लागि भनेर स्थापित मुलुकको पुरानो त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चार वटा अनुसन्धान केन्द्रहरूको हालत हाम्रो प्राज्ञिक स्खलनको कुरूप चित्र हो । अत्याधुनिक शैलीमा बनेको आर्थिक विकास तथा प्रशिक्षण केन्द्र (सेडा) को भवनको गएगुज्रेको अवस्थाले त झन् धुरुक्क रुवाउँछ ।

माधवलाल महर्जन, ‘सिन्हास’ को प्रकाशक मण्डला बुक प्वाइन्टका सञ्चालक ।

२५ वर्षदेखि निरन्तर चलिरहेको यो जर्नलको प्रभाव हाम्रो प्राज्ञिक बौद्धिक क्षेत्रमा कति पर्‍यो, सरल जवाफ छैन । यसै पनि प्राज्ञिक ज्ञानको प्रभाव मापन सहज छैन । अनुसन्धाता सिंह ‘सिन्हास’ लाई प्रभावको कसीमा मात्र हेर्न नहुने बताउँछिन् । “कति बिक्री हुन्छ, कतिले पढ्छन्, अन्य अनुसन्धानमा कति उद्धृत (साइट) भयोलगायतलाई आधार बनाउन सकिन्छ तर यसको कसीमा मात्र हेर्नु हुँदैन”, उनी भन्छिन्, “लेखिएका सामग्री, तिनको गुणस्तर, तर्क, अनुसन्धान विधि, प्रमाण, लेखमा नयाँ कुरा कसरी आएको छलगायतलाई हेर्नुपर्छ ।”

लाल प्राज्ञिक कर्मलाई बाँझो जमिन जोत्नुसँग तुलना गर्छन् । ‘सायद प्रत्यूषको विश्वव्यापी नेटवर्कका मानिसहरूले सिन्हासका पुराना अंकहरू खोज्नेछन्, त्यसमाथिको धुलो टक्टक्याउनेछन् र जीवन्त सामग्रीहरूमा डुबुल्की मार्नेछन्’, लाल लेख्छन् । प्राज्ञिक कर्मबाट प्राप्त हुने ख्यातिलाई बन्धनसँग दाँज्दै उनी भन्छन्– ज्ञानको आनन्द गुमनाम रहनुमा छ ।

पर्दाभित्रको यो प्राज्ञिक कसरतलाई देवराज हुमागाईं अझ प्रस्ट बनाउँछन् । ‘जर्नल सम्पादनमा लागेर कुनै तक्मा वा पुरस्कार पाइने होइन’, उनी लेख्छन्, ‘पाइँदो हो त झन्डै २५ वर्षसम्म जर्नल सम्पादनमा चुर्लुम्म डुबेर काम गर्ने सिन्हास जर्नलका सम्पादक प्रत्यूष वन्त हुन् वा बाग्लुङजस्तो ठाउँमा बसेर धौलागिरि जर्नल अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजीको १४ वर्षदेखि सम्पादन गर्दै आएका मानबहादुर खत्रीजस्ता धेरै जर्नल सम्पादकका छातीभरि तक्मा झुन्डिएका हुन्थे ।’

सफल घिमिरेको जर्नल लेख छाप्ने जोश, कोमल भट्टको ज्ञानको प्रत्यूष आरन, प्रेम भण्डारीको जर्नल खुर्पाको बीँड होइन, जर्नल लेखनका सुख–दु:खबारेका पठनीय सामग्री हुन् ।

०००

रहरैरहरमा जर्नललाई प्रकाशकीय छहारी दिएका माधवलाल जर्नल निरन्तरताको श्रेय सम्पादकीय टिमलाई दिन्छन् । “स्वयंसेवा गरेर यहाँसम्म ल्याउनुभएको छ, उहाँहरूले कहिलेसम्म अगाडि बढाउन चाहनुहुन्छ, तबसम्म यो जारी रहन्छ”, उनी भन्छन् ।

माधवलाई पनि थाहा छ, जर्नलको माग छैन । पढ्ने मानिस कम छन् । तर यो नगरी नहुने र नभई नहुने काम हो भन्ने उनलाई लाग्छ । “अहिले लेखिएन भने पछिल्लो पुस्ताले आफ्नो समाज र इतिहास कसरी चिन्छ ?”, उनी प्रश्न गर्छन्, “अझ धेरै अनुसन्धान गरिएका लेख र जर्नलहरू आउन जरुरी छ ।”

प्रत्यूषलाई फर्केर हेर्दा आफ्नो काम कस्तो लाग्छ ? “यति दु:ख हुन्छ भन्ने थाहा पाएको भए यो कामै गर्दिनथेँ”, प्रत्यूष भन्छन्, “कति पेसाहरू हुन्छन्, सुरुमा धेरै कुरा थाहा हुँदैन, अनुभवले धेरै कुरा सिकाउँछ ।”

जति अनुभवले खारिए पनि दु:ख ज्यूँका त्यूँ छन् किनभने हरेक अंक निकाल्न उत्तिनै दु:ख गर्नुपर्छ । प्रत्यूष र टिमको दु:ख जर्नलमा लेख्नेहरू वा पियर रिभ्यु गर्नेहरूले बुझेका छन् । “गुणस्तरीय लेखहरू आउँदैनन् । आएका पनि पियर रिभ्यु वा सम्पादनका क्रममा छाँटिन्छन्”, अमिना भन्छिन्, “सम्पादक र प्रकाशकको दु:ख हो यो ।”

प्रविधिका कारण मानिसहरूको पढ्ने रुचि फेरिएकाले अब जर्नललाई डिजिटल प्लेटफर्ममा पनि लैजाने सोचमा छन्, माधवलाल । “सबै मानिसहरू डिजिटल भनिरहेका छन्, सायद हामी पनि डिजिटलमा जान्छौँ कि”, उनी भन्छन्, “आउने पुस्ताका लागि यसको स्थायित्व आवश्यक छ ।” नेपाल म्यागजिनमा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.