महाव्याधि, मिडिया र मखुन्डो


पाठकहरूलाई थाहै छ, यसअघि कुनै पनि किसिमका प्रतिकूलताले हामीलाई रोकेन/छेकेन । खासमा पत्रकारिता प्रतिकूलताका बेला पन्छिने पेसा पनि होइन । हामीले एकपछि अर्को अप्ठ्याराका बीचमै सार्थक पत्रकारिता गर्दै आयौँ, चाहे त्यो सशस्त्र द्वन्द्व होस् वा शाही अधिनायकत्व अथवा विभिन्न खाले दमन वा अवरोध खडा गरिएको बेला होस्, कान्तिपुर सदैव सत्तीसालझैं ठिङ्ग उभिरह्यो । हामीलाई त्यो ऊर्जा हाम्रा पाठकहरूकै साथबाट प्राप्त भएको थियो । अहिले आम पाठककै आग्रह र सुझावमा हामी विगतभन्दा फरक निर्णय लिन बाध्य भएका हौं । कर्फ्यु वा अन्य निषेधाज्ञाका बेला जुनसुकै अप्ठ्यारा तोडेर पनि हामी आफ्ना पत्रिका पाठकका हात–हातमा पुर्‍याउँथ्यौं । अहिलेको महामारीको प्रकृति नै यस्तो छ, हात–हातबीच नै दूरी राख्नुपर्ने भएको छ । कुनै पनि बाहिरी वस्तुसँग जति धेरै ‘भौतिक दूरी’ राख्न सक्यो, सम्भावित खतराबाट जोगिन उति सहज हुने अवस्था छ । त्यसैले अहिले पत्रिका र पाठकबीच अस्थायी रूपले दूरी कायम राख्नुपर्ने बाध्यता आइपरेको हो । (कान्तिपुर विशेष प्रकाशकीय, १४ चैत २०७६)

कोभिड १९ महाव्याधिको कारण देखाउँदै कान्तिपुर पब्लिकेसन्सले १४ चैतमा आफ्ना सम्पूर्ण प्रकाशनहरूको मुद्रण तथा वितरण ‘केही दिनका निम्ति स्थगन गर्ने’ निर्णय गर्‍यो । कान्तिपुर दैनिक र काठमाडौं पोस्ट अंग्रेजी दैनिक एक सातापछि पुनः प्रकाशन भए तर अन्य प्रकाशनहरू पूर्ववत् बन्द रहे । कान्तिपुर र काठमाडौं पोस्ट पुनःप्रकाशनको जानकारी दिइएको २२ चैतको सूचना अन्य प्रकाशनहरूबारे मौन थियो । ‘नेपाल’, ‘नारी’ र ‘साप्ताहिक’का प्रिन्ट संस्करणहरू बन्द भएर अनलाइनमा सीमित भए ।

यसबीचका करिब तीन महिना म कार्यरत ‘नेपाल’ ले पूर्ण डिजिटल म्यागजिनको अभ्यास गर्‍यो ।  प्रिन्ट कहिले आउला भन्ने पर्खाइमा करिब तीन महिना बिते । तर प्रिन्ट पर्खिँदापर्खिँदै व्यवस्थापनले अचानक डिजिटल प्रकाशनसमेत बन्द गरिदियो । ‘नेपाल म्यागजिन’ मात्र होइन, ‘साप्ताहिक’ र ‘नारी’का समेत प्रिन्ट र डिजिटल ‘बन्द’ भए ।

२० वर्षको इतिहास बोकेको विश्लेषणात्मक ‘नेपाल म्यागजिन’ र २६ वर्ष पुरानो मनोरञ्जनात्मक ‘साप्ताहिक’ को अन्त्य यसरी गरियो कि १४ चैतको विशेष प्रकाशकीयमा भनिएजस्तो ‘पाठकहरूको साथबाट प्राप्त ऊर्जा’ ले काम गरेन । पाठकको ऊर्जावाला न्यारेटिभ फगत औपचारिकता मात्र थियो भन्ने तब प्रष्ट भयो जब पाठकहरूलाई प्रकाशनहरू स्थायी रुपमा बन्द भएका हुन् वा अस्थायी रुपमा भन्नेबारे सामान्य जानकारी समेत दिइएन । आज पनि यी तीन पत्रिकाहरू पूर्णतया बन्द भएका हुन् वा कोभिड १९ महाव्याधिले निम्त्याएको संकटका कारण प्रकाशन स्थगित गरिएका हुन् प्रष्ट छैन । किनभने सम्बन्धित पत्रिकाका वेबसाइट वा सोसल मिडिया प्लेटफर्ममा यसबारे पाठकहरूलाई कुनै जानकारी दिइएको छैन ।

पत्रिका बन्दको अवस्थाबारे ‘सम्पादकीय नोट’ सहित पाठकहरूसँग बिदा माग्नेबारे न्युज रुममा छलफल चल्दै थियो । तर हामीले काम गरेका वेबसाइट र सोसल मिडियामा पाठकलाई अभार प्रकट गर्ने अवसरबाट समेत न्युज रुमलाई वञ्चित गरियो । हामीले काम गरिरहेका पोर्टलमा पासवर्डले काम गर्न छोडेको थियो । सोसल मिडिया पेजहरूबाट सम्पादकीय टिमलाई हटाइसकिएको थियो । यो सम्पादकीय स्वतन्त्रता अपहरण थियो । पत्रिका बन्द भएको हो वा स्थगित गरिएको हो भन्नेबारे व्यवस्थापनले पाठकलाई त के, समाचार कक्षमा कार्यरत पत्रकारहरूलाई समेत जानकारी दिएको थिएन ।

अवस्था सामान्य भएपछि पुनः छापा संस्करण सुचारु गर्ने गरी डिजिटल प्लेटफर्महरू नियमित गर्नेतिर ध्यान नदिई लामो इतिहास बोकेका प्रकाशनहरू बन्दको बहाना केबल त्यहाँ कार्यरत पत्रकारहरूलाई निष्कासन गर्नका लागि थियो भन्ने प्रष्ट हुन्छ । यसरी कोभिड १९ को कारण देखाएर त्यहाँ कार्यरत ५० भन्दा बढी पत्रकारलाई कामबाट निकालियो । प्रकाशनहरूको स्थितिबारे पाठकहरूलाई रत्तिभर मतलब गरिएन । नत्र पाठकको दुहाइ दिएर पहिलोपटक प्रकाशनहरू स्थगित गरेको पब्लिकेसन्सले ‘बन्द’ भएका प्रकाशनहरू किन नियमित नगरिएको हो भनेर पाठकलाई जानकारी गराउनुपर्ने होइन र ? आफैँ कार्यरत म्यागजिन बन्दको खबर समेत लेख्न नपाई लाचार भएर समाचार कक्षबाट बाहिरिनु पत्रकारिता अभ्यासमा एउटा नमिठो अनुभूति थियो ।

कोरोना कहरबीच भोगेको व्यक्तिगत अनुभूतिले केही प्रश्नहरू उब्जाइदियो । पहिलो, समाजका अरु अवयवहरूमा रहेका बेथितिमाथि प्रश्न उठाउने र जवाफदेहिताको खोजी गर्ने मिडिया आफैँ कति जवाफदेही छ ? कम्तिमा पनि पाठकहरूप्रति मिडिया जवाफदेही हुनुपर्ने हो । तर पाठकहरूलाई प्रकाशनहरूको अवस्थाबारे औपचारिक जानकारीसमेत दिन आवश्यक नठान्नु हाम्रो मिडियामा जवाफदेहिता शून्य छ भन्ने उदाहरण हो ।

दोस्रो, कानुनी शासनका लागि आवाज उठाउनुपर्ने मिडियाहरू आफैँ चाहिँ कानुन मान्छन् त ? मूलरुपमा मिडियाको काम भनेको कानुनी शासनको वकालत गर्न हो । कहीँ कतै कानुनविपरीत भएगरेका काम कारबाही नागरिकसमक्ष सार्वजनिक गर्नु मिडियाको धर्म हो । तर मिडियाहरू आफैँलाई चाहिँ कानुनभन्दा माथि ठान्छन् भन्ने पछिल्ला उदाहरणहरूले देखाउँछन् । जस्तो, कुनै पनि सञ्चारगृहले आफ्ना प्रकाशनहरू वा पुरै संस्था नै पनि बन्द गर्न पाउँछ । यो सामान्य कुरा हो । श्रमजीवी पत्रकार ऐनको दफा २३ (१) मा ‘व्यवस्थापकले आफूले सञ्चालन गरेको सञ्चार प्रतिष्ठान कुनै कारणले बन्द गर्न चाहेमा सो कुराको सूचना प्रेस रजिष्ट्रार र सम्बन्धित श्रमजीवी पत्रकारहरूलाई तीन महिना अगावै दिनु पर्ने’ व्यवस्था छ । तर कान्तिपुर पब्लिकेसन्सले त्यहाँ कार्यरत पत्रकारलाई निष्कासन गर्नुअघि त्यसो गरेको थिएन । कानुनी प्राबधान पूरा गर्नु त परै जाओस्, पाठकलाई सामान्य जानकारी दिने न्यूनतम नैतिक दायित्व पूरा गर्ने आवश्यकता पनि उसले देखेन । यतिसम्म कि अधिकांश ठूला सञ्चारगृहहरूले पत्रकारहरूलाई बेतलबी बिदामा राखेका छन्, आधा तलबमा काम गराइरहेका छन्, तर के कति कारणले त्यसो गरिएको हो भनेर औपचारिक जानकारी दिइएको छैन ।

तेस्रो, अरुका आवाजलाई समाचारहरूमा बुलन्द पार्ने पत्रकारहरू आफ्ना मुद्दाहरूबारे किन मौन छन् ? मिडिया उद्योग र पत्रकारिता पेशामा रहेका शोषण, विभेद र विकृतिहरूबारे पत्रकारहरूबीच त अनौपचारिक छलफलहरू हुन्छन् तर त्यसबारे सार्वजनिक चर्चा कमै हुन्छन् । मिडियामा यसबारे रिपोर्टिङ हुने सम्भावना पनि न्यून छ । यसको कारण पत्रकार स्वयं हुन् । किनभने उनीहरू आफ्ना समस्याबारे मौन रहन्छन् । एउटा, सधैँभरी पीडितका आवाज उठाउने कर्ममा लागेका पत्रकार आफूलाई भने पीडितका रुपमा देखाउन नचाहने हीनताभासबाट ग्रसित छन् । पत्रकारका रुपमा पाइरहेको सामाजिक इज्जत क्षय हुने भय पत्रकारहरूमा देखिन्छ । अर्को, सञ्चारगृहको व्यवस्थापन तथा सम्पादकीय नेतृत्वको सार्वजनिक आलोचना गर्दा पर्न सकिने कोपभाजन वा भविष्यमा रोजीरोटीमै समस्या पर्न सक्ने त्रास पनि उनीहरूमा छ ।

चौँथो, कानुन कार्यान्वयन गर्ने सरकारी निकाय तथा पाठकहरूलाई पनि जानकारी नै नदिई सार्वजनिक सञ्चार माध्यम बन्द गरी पत्रकारहरू निष्कासन गर्दा पनि यो मुद्दा किन सार्वजनिक बहसको विषय बन्न सकेन ? माथि चर्चा गरिएझैँ एक त यसको कारण त्यहाँ कार्यरत पत्रकारहरू नै हुन् जो आफ्नो समस्याबारे मौनप्रायः रहन्छन् । जब पत्रकार नै मौन रहन्छन्, तब यो पेशामा भएका गलत कामहरू बहसमै जाँदैनन् । बहस हुन पनि कम्तिमा त्यो विषय सार्वजनिक हुनुपर्छ तर पत्रकारहरू नै त्यसलाई सार्वजनिक गर्न संकोच मान्छन् । दोस्रो, हाम्रो सार्वजनिक वृत्तको चरित्र पनि बलेको आगो नै ताप्ने छ । मिडियासँगको आश र त्रासका कारण न राजनीतिकर्मीहरू न त सांसदहरू न त अधिकारकर्मीहरू नै यसबारे बोल्न अघि सर्छन् । संसदमा पत्रकारहरुलाई सञ्चारसंस्थाले दिएको पीडा बोलिँदैन । शुन्य समय र विषेश समयमा पत्रकारहरुलाई परेका समस्यामा बोलिदिने सांसद नहुनु भनेको उनीहरुको समाचार नआउने हो कि भन्ने भय नै हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

पाँचौ, पत्रकारहरू कानुनी उपचारमा जान किन हिचकिचाउँछन् ? श्रमजीवी पत्रकार ऐनले पत्रकारहरूको हक, हित, सुविधा र सुरक्षाकाबारेमा धेरै व्यवस्थाहरू गरेको छ । कानुनले तोकेको पारिश्रमिक तथा सेवासुविधा नपाएमा तथा अन्यायमा परेमा कानुनी उपचारको बाटो यो ऐनले दिन्छ । तर, थोरैमात्र पत्रकार कानुनी उपचारको बाटोमा जान्छन् । अरुबेला कानुनी शासनको चर्को कुरा गरे पनि जब आफूमाथि अन्याय पर्छ, तब चुप बस्ने प्रवृत्ति हामीकहाँ छ । त्यतिमात्र होइन, कानुनी उपचारमा जानुअघि व्यवस्थापनसँग सामुहिक सौदाबाजीमा जाने वातावरण पनि हामीकहाँ छैन । यसको कारण पत्रकारहरुमा ट्रेड युनियनको अभ्यास छैन । आफूलाई हेपिएको वा आफू शोषणमा परेको अनुभूति नै गर्न नसक्ने चिन्ताजनक अवस्थामा हाम्रा पत्रकारहरु छन् । न सामुहिक सौदाबाजीमा जान सक्ने, न कानुनी उपचारमा जाने, न त आफ्नो पेशामा रहेका विकृतिहरुबारे सार्वजनिक बहस नै गर्न सक्ने । यस्तो किंकर्तव्यविमूढ अवस्थामा रहेको वर्गसँग वर्षौदेखि मुलुकको अर्थराजनीतिक शक्तिको गठजोड मिलाएर मुनाफा आर्जनमा लिप्त मिडिया लगानीकर्ता डग्ने कुरै भएन ।

अन्त्यमा, कोभिड १९ ले बजार आधारित मिडिया मात्र होइन, यी मिडियामार्फत् भइरहेको हाम्रो पत्रकारिता अभ्यासको मखुण्डो समेत उदांगो पार्‍यो । र, हामी पत्रकारले भन्ने गरेको सम्पादकीय स्वतन्त्रता कति कमजोर रहेछ भन्ने पनि स्पष्ट पार्‍यो । पत्रकारलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक दिन नपर्ने, संकटको मौका छोपेर पत्रकार कर्मचारीलाई निष्कासन गर्ने तर वर्षौँदेखि कमाएको मुनाफाको हरहिसाब देखाउनुनपर्ने दण्डहीनताको अवस्था आउनुमा हामी पत्रकारको मौनतासँगै नियामक निकायहरु र राजनीतिक संरचना पनि जिम्मेवार छन्, जसले सधैँभरी सञ्चारसंस्थाका गलत कदममा आँखा चिम्लिरहे ।

(यो लेख प्रेस काउन्सिल नेपालको प्रकाशन ‘कोरोना कहरमा काउन्सिल’ मा प्रकाशित छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.