प्रेस सङ्ग्रहालय स्थापना गर्दै प्रेस काउन्सिल


तपाईँसँग ऐतिहासिक महत्त्वका पुराना रेडियो सेट, टेलिभिजन सेट वा टेलिफोन सेट छन् ? सञ्चारको विकासक्रम दर्शाउने पत्रपत्रिका वा सञ्चारसामग्री छन् ? टाइपराइटर वा तस्बिर छन् ? छन् भने ती प्रेस सङ्ग्रहालयका लागि उपयुक्त हुन सक्छन् । 

तपाईँ त्यस्ता ऐतिहासिक महत्त्वका सञ्चार सामग्री निःशुल्क वा रकम लिएर प्रेस सङ्ग्रहालयलाई दिन सक्नुहुन्छ । 

प्रेस काउन्सिल नेपालले सूचना तथा सञ्चारसँग सम्बन्धित सामग्रीहरूको सङ्ग्रहालय स्थापना गर्ने भएको छ । प्रेस सङ्ग्रहालय स्थापनाका लागि काउन्सिलले अहिले त्यहाँ राख्ने पुराना उपकरणहरू सङ्ग्रह गर्न थालेको छ । 

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालका अनुसार दुई वर्षअघिदेखि योजनामा रहेको यो कार्यक्रम अहिले कार्यान्वयन गर्न लागिएको हो । उनका अनुसार सरकारले एक वर्षअघि नै बिऊ पूँजीस्वरुप यो कार्यक्रम कार्यान्वयन गर्न १० लाख दिएको थियो । 

‘सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाऊ पुर्‍याउने उद्देश्य’ले प्रेस सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्ग्रहालयमा राख्ने सामानहरू सके निःशुल्क रुपमा प्राप्त गर्न पहल गर्ने, नसके किन्ने योजना काउन्सिलले बनाएको छ । 

के खोज्दैछ काउन्सिल ?

सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामग्री काउन्सिलले खोजिरहेको छ । एक विज्ञप्ति जारी गरेर काउन्सिलले यस्ता सामान कोही कसैसँग छन् भने उपलब्ध गराइदिन अनुरोध गरेको छ । 

यस्ता सामान यदि तपाईँले निःशुल्क दिनुभयो भने उक्त सामानमा तपाईँको नाम/नामेसीसहित सङ्ग्रहालयमा राख्‍ने नीति काउन्सिलले बनाएको छ । नत्र सशुल्क खरिद गरिएका सामानमा भने सम्बन्धित व्यक्तिको नाम उल्लेख हुने छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.