नेपाली मिडियाका तीन दुःखद खबर


अनलाइन मिडियाका बारेमा खुसीको खबर के छ भने यो सुरु गर्न सजिलो छ ।  तर दुःखद खबर के छ भने यसलाई चलाउन र टिकाउन गाह्रो छ । 

घटस्थापनाको दिन पारेर १० वटा अनलाइन समाचार पोर्टलहरू सुरु भएको खबर पढेपछि धेरै पाठकहरूले जिज्ञासा थियो – कतिन्जेल चल्छन् ? काम गर्नेलाई बेलामा तलब त दिन्छन् के ? 

पछिल्ला केही उदाहरणहरूले भन्छन्- अनलाइन मिडिया चलाउन सजिलो छैन । कोरोना संकटमा जागिर गुमाएका पत्रकारलाई जागिर दिएर सुरु भएका केही समाचार पोर्टल केही महिनामै आफैँ संकटमा परेका छन् । कोही पैसाका कारण त कोही व्यवहारका कारण । 

र, वर्षौँदेखि चलिरहेका कतिपय मिडियाका पत्रकारले तलब पाएका छैनन् । पत्रकार महासंघको भनाईमा यी मिडियाले श्रमजीवी पत्रकारको दशैंसमेत खल्लो बनाएका छन् । 

हामी यो पोस्टमा तपाईँलाई नेपाली मिडियाका तीन दुःखद खबर सुनाउँदैछौँ जसले हाम्रो मिडियाको वर्तमान बुझाउँछन् । 

१) सय दिनमै सामूहिक राजीनामा

युवा पत्रकार कला अनुरागीको नेतृत्वमा साउन १ गतेदेखि नेपाली पब्लिक डट कममा आबद्ध पत्रकारहरूको समूहले उक्त मिडिया १०० दिनमै छोडेको छ । छाड्ने बेला पत्रकारहरूले व्यवस्थापमाथि ‘सम्पादकीय स्वतन्त्रतामाथि पूर्ण हस्तक्षेप’ गरेको आरोप लगाएका छन् । 

‘व्यवस्थापनले रुचि लिएका विभिन्न समाचार सामग्रीहरूका सन्दर्भमा सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापनले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र सम्बर्द्धन गर्नुपर्दछ भन्ने आचारसंहिता स्मरण गराइरह्यौँ’, राजीनामा पत्रमा देखिएको छ, ‘त्यसका बाबजुद सम्पादकीय स्वतन्त्रतामाथि पूर्ण हस्तक्षेप भएपछि सम्पादकीय स्वतन्त्रताको पक्षमा अडिग रहँदै हामीले यो सामूहिक राजीनामा पेश गरेका छौँ ।’ 

नेपाली पब्लिक डट कमका प्रकाशक सुदीपचन्द्र बख्रेलले व्यवस्थापन र सम्पादकीय नेतृत्वको बुझाई फरक परेको प्रतिक्रिया दिए । ‘हरेक दिन म्यागजिनको नारासहित हामी अगाडि बढेका थियौँ तर म्यागजिन के हो भन्ने बुझाईमा फरक पर्‍यो’, बख्रेलको भनाई छ, ‘म्यागजिनमा खोज पत्रकारिता पनि हुन्छ, गहिरा कुरा हुन्छन्, खोतलिएका कुरा पनि हुन्छन्, मनोरञ्जन, साहित्य-कला र खानापानका कुरामात्र होइन ।’ सोचमा भिन्नता भएपछि सहमतिमा टिमलाई नै बिदा गरिएको उनले बताए । 

कोभिड संकटका कारण समस्यामा परे पनि तलबकै समस्या यहाँ थिएन । कतिपयले बिहीबार नै राजीनामा पत्र ट्‍विटरमा सार्वजनिक गर्दै तलबकै कारण सबैले राजीनामा दिएको दाबी गरेका थिए । 

तर नेपाली पब्लिकका समाचार सम्पादक विमल नेपालले सामूहिक राजीनामाको कारण तलब नभएको फेसबुकमा लेखेका छन् । 

बिहीबार सबै पत्रकारलाई नगद दिएर बिदा गरिएको थियो । शनिबार संस्थाका तर्फबाट सम्पादकीय टिमको सामूहिक राजीनामा बारे औपचारिक जानकारी दिइने बख्रेलले बताए । 

शुक्रबार सम्पादक कला अनुरागीले फेसबुकमा सामूहिक राजीनामा पत्र सार्वजनिक गरेका छन् जुन अघिल्लो दिन सोसल मिडियामा आएभन्दा फरक छ ।

राजीनामा पत्रमा भनिएजस्तो समाचार कक्षमा तपाईँहरूले हस्तक्षेप गर्नुभएको हो ? यो प्रश्न हामीले प्रकाशक बख्रेललाई सोध्यौँ ।

बख्रेलले आफूहरूका तर्फबाट समाचार कक्षमा कुनै हस्तक्षप नभएको दाबी गरे । ‘म पनि पत्रकार हो । तथ्यमा खेल्नुपर्छ भन्ने मलाई पनि लाग्छ’, उनले भने, ‘एउटा समाचारमा सम्पादक र अध्यक्षको कोअर्डिनेसन नमिलेको हो, अरु समस्या थिएन ।’ सुरज खनाल यो संस्थाका अध्यक्ष छन् । अब पब्लिक पत्रकारिताको खास अभ्यास शीर्षकमा उनले साइट रिलन्च हुँदा प्रकाशकीय लेखेका थिए ।

समाचार कक्षमा हस्तक्षेप गरेको अस्वीकार गरे पनि प्रकाशक बख्रेलले सम्पादकीय समूहले ‘आफूहरूसहितको पत्रकारिता गर्नुपर्ने’ बताए । ‘हामीसहितको पत्रकारिता हुनुपर्छ, हामी पनि विकृति र विसंगति विरुद्ध लड्ने भनेर आएका हौ, उहाँहरू (सम्पादकीय समूह) ले आफ्नै ढंगले हिँड्न खोज्नुभयो, हामीले विमति जनायौँ ।’ 

कुन समाचारमा हो त कुरा नमिलेको ? 

बख्रेलले ‘१२ करोडको सेटिङ मिलाउन अष्ट्रेलिया बस्ने नटवरलाल नेपालमा’ शीर्षकको समाचारलाई सम्पादकीय समूहले इस्यु बनाएको बताए । ‘हामी बिनाप्रमाण कुनै पनि समाचार हाल्दैनौँ’, उनको दाबी छ, ‘अझ प्रमाण खोजौँ भन्ने हाम्रो कुरा हो । हामीले सम्पत्ति शुद्धिकरण र प्रहरीमा पनि प्रमाण दिएका छौँ । अस्ट्रेलियन दूतावास पनि जाँदैछौँ ।’  

स्रोतको हवाला दिएर कात्तिक ४ गते पर्सा जिल्लाका भेष चौरसियाका बारेमा लेखिएको उक्त समाचार सम्पादकीय सत्यापनबिना व्यवस्थापनले पोस्ट गरेको पत्रकारहरूको भनाई छ ।

सम्पादक कला अनुरागीले आफूहरूको जानकारीबिना उक्त समाचार पोस्ट गरिएको बताए । समाचारमा आरोपित व्यक्तिले खण्डन पठाएको तर खण्डन छाप्ने विषयमा विवाद हुँदा व्यवस्थापनले सम्पादकीय समूहका सबैलाई सीएमएस र फेसबुक पेजबाट हटाएको उनले जानकारी दिए ।  

‘उहाँहरूले समाचारको प्रमाण छ भन्नुभयो । प्रमाण त न्युजरुमले भेरिफाइ गर्ने कुरा हो, उहाँहरू हामीले नै गर्छौँ भन्न थाल्नुभयो’, उनले भने, ‘नैतिक हिसाबले काम गर्न मिलेन भनेर सबै बिदा भयौँ ।’  

२०७४ देखि सुरु भएको नेपाली पब्लिक डट कम अनलाइनमा कला अनुरागीको नेतृत्वमा पछिल्लोपटक १० जना पत्रकार कार्यरत थिए । यो अनलाइनमा सञ्चालनको तीन वर्षमा तीनपटक सम्पादकीय नेतृत्व फेरिएको छ । 

पछिल्लोपटक कला अनुरागीले सम्पादकीय नेतृत्व सम्हालेपछि यो अनलाइनले ‘हरेक दिन, म्यागेजिन’ नारा दिएर सामग्री पस्किरहेको थियो । 

२) संकटमा सूत्रन्युज

तस्बिर केशव खड्काको फेसबुकबाट ।

केही महिनाअघिमात्र टिम बनाएर सुरु भएको सूत्रन्युज डट कम पनि संकटमा परेको छ । सीताराम बराल सम्पादक रहेको यो अनलाइनका कतिपय पत्रकारले राजीनामा दिएका छन् भने कति लामो बिदा लिएर दशैँ मनाउन घर हिँडेका छन् । 

सूत्र टिभी युट्युब च्यानलबाट राम्रो कमाइ गरिरहेको यो समूहले मूलधारको पत्रकारितातर्फ हाम्रो यात्रा शीर्षकमा प्रकाशकीय लेखेर आफ्नो यात्रा थालेको थियो । ‘सूत्र टिभीलाई सूत्रन्युज डटकमको रूपमा गरिएको अपग्रेड युट्युब च्यानललाई पत्रकारिताको मूलधारमा ल्याउने प्रयास पनि हो’, प्रकाशकीयमा लेखिएको थियो, ‘एउटा युट्युब च्यानललाई मूलधार मिडियाको रूपमा विकसित गर्न कति कठिन छ, त्यो हामीले बुझेका छौँ । तर, हामीले त्यो चुनौति स्वीकार गरेका छौँ ।’ 

तीन महिनामै लथालिंग हुने अवस्था कसरी आयो ? ‘उहाँहरूसँग युट्युबको कमाई थियो तर त्यो सकियो’, सूत्रन्युजमा कार्यरत एक पत्रकार भन्छन्, ‘समाचारमा रुपान्तर भएपछि युट्युबको प्रस्तुति फेरियो, कमाई घट्यो र खर्च धान्ने अवस्था नभएपछि समस्या आयो ।’

सूत्रन्युजका अध्यक्ष केशव खड्का पनि यो स्वीकार्छन् । ‘हामीले युट्युबबाट भएको कमाई साइटमा खर्चिएका हौँ’, खड्का भन्छन्, ‘समाचारमा हामीसँग अनुभव थिएन । भिजिटर राम्रो भएरमात्र विज्ञापन बजारले सपोर्ट नगर्ने रहेछ हामीकहाँ ।’ केही पत्रकारहरूले राजीनामा गरे पनि आफ्नो संस्था यथावत सञ्चालन भइरहेको उनको भनाई छ ।

‘यो एउटा परीक्षण पनि थियो । साथीहरू दशैँ मानेर फर्किनुहुन्छ, परिस्थिति विश्लेषण गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ’, उनले भने । यहाँ कार्यरत पत्रकारहरूलाई दशैँसम्मको तलब भने पाइसकेका छन् । 

संकटमा परेका यी दुई अनलाइन उदाहरणमात्र हुन् ।  खासमा नेपालका धेरै मिडिया अनेक संकटमा गुज्रिएको जस्तो देखिन्छ । तर तलबकै समस्या बारम्बार उठिरहने भएका कारण अरु मुद्दाहरूबारे खासै छलफल भएको पाइन्न । कोरोना संकटले अर्थतन्त्र थलिएका बेला यो दशैँमा पनि मूलरुपमा पत्रकारले तलब नपाएकै विषयले चर्चा पाइरह्यो । नेपाल पत्रकार महसंघले बिहीबार निकालेको विज्ञप्तिलाई यसको प्रमाणका रुपमा लिन सकिन्छ । 

३. समस्या जहिले पनि तलबकै 

आन्दोलनमा पत्रकारहरू । तस्बिरः जन्मदेव जैशीको फेसबुकबाट ।

नेपाल पत्रकार महासंघले बिहीबार विज्ञप्प्ति निकाल्यो- ‘श्रमजीवी पत्रकारको दशैंसमेत खल्लो बनाउने मिडिया हाउसविरुद्ध महासंघ कठोर’ शीर्षक राखेर । तर विगतका कयौँ उदाहरणहरूले भन्छन्- महासंघ जति नै कठोर भए पनि तलबको समस्या कहिल्यै सुल्झिएन । 

श्रमजीवी पत्रकार ऐन आएको २५ वर्ष भइसक्दा पनि तलबजस्तो  आधारभूत विषयमा आन्दोलन गरिरहनपर्नु लज्जाको विषय हो । 

दशैंबीचमा पनि महासंघले आन्दोलन राख्ने बताएको छ । कोरोना कहरलाई बहाना बनाएर विभिन्न मिडियाहरूमा जागिरबाट निकालिएका पत्रकार पुनर्बहाली लगायतका माग राखेर आन्दोलनरत पत्रकार महासंघले पछिल्लोपटक पत्रकारहरूले तलब नपाएको विषयलाई उठाइरहेको छ । ‘सञ्चार गृहहरुले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएको’ महासंघले जनाएको छ । 

आन्दोलनरत पत्रकारहरू । तस्बिर जन्मदेव जैशीको फेसबुकबाट ।

‘फूलपातिको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार/कर्मचारीहरूलाई वडा दशैं नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम अपमान भएको महासंघ ठान्दछ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ’, विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकार ऐन–२०५१ र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासीनताका कारण आम श्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि महासंघ सरकार र सरोकारवाला पक्षसँग पुनः आग्रह गर्दछ ।’

महासंघले कोरोनालाई निहुँ बनाएर दबाबमूलक बिदामा राखिएका लगायत सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । ‘कोरोना महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या हल गर्न पनि पुनः आग्रह गर्दछ’, महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘अन्यथा महासंघ श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी दिन चाहन्छ ।’


अब तपाईँको पालो । नेपाली मिडिया उद्योग र पत्रकारहरूले भोगिरहेका समस्याबारे तपाईँको बुझाई र धारणा के छ ? कमेन्टमा लेख्नुहोस् । 

1 Comments

  • Sushil Pokharel (#)
    October 24th, 2020

    घुस्याहा र भ्रष्टाचारी राजनीतिक दल र तिनका नेताहरू, सरकारी कर्मचारी अनि फटाहा, चाेर, हत्यारा र तस्करहरुलाई समेत ब्ल्याकमेल गर्ने कानुनी लाइसेन्स पाएका छन् मूलधारका ठूला भनिने लुटेरा मिडियाहरूले । तर उनीहरू श्रमजीवि पत्रकार ऐन २०५१ आफ्ना संस्थामा लागू गर्दैनन्, पत्रकार र कर्मचारीलाई पारिश्रमिक दिँदैनन् । आफू भने कराेडका गाडी चढ्छन् तेही मिडियाकाे कमाइबाट, अनि अरु अनेकाैं व्यापार र धन्धा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.