१०० वर्षे इतिहासमा पहिलोपटक फेरियो आवरणमा TIME को नाम


करिब १०० वर्षे इतिहासमा ‘टाइम’ म्यागजिनले पहिलोपटक आवरण पृष्ठमा आफ्नो नाम परिवर्तन गरेको छ । पछिल्लो अंकमा आफ्नो नाम TIME लेख्ने ठाउँमा उसले लेखेको छ- VOTE । 

अमेरिकामा नोभेम्बर ३, २०२० मा राष्ट्रपतीय निर्वाचनको लागि अन्तिम मतदान हुँदैछ ।  उक्त मतदानमा अमेरिकी जनताले राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरूलाई समर्थन गरेका ‘इलेक्टोर्स’ हरू छान्नका लागि राज्यस्तरमा मतदान गर्नेछन् । यो प्रक्रियालाई इलक्टोरल कलेज भनिन्छ ।

अमेरिकामा ४३५ जनप्रतिनिधिहरू (कंग्रेस सदस्य), १०० सिनेटर तथा कोलम्बिया जिल्लाका थप ३ गरी कूल ५३८ इलेक्टर्सहरू छन् । मतदानमार्फत् आफ्नो अधिकार प्रयोगका लागि अमेरिकी मतदातालाई प्रेरित गर्न टाइमले यसो गरेको हो ।

बहालवाला राष्ट्रपत डोनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा छ ।

टाइमको आवरण चित्रमा मास्क लगाएकी एक महिलाको पोट्रेट छ र मास्कमा पनि ब्यालेट बक्सकै चित्र छ जहाँ लेखिएको छ- VOTE । यो चित्रले सुरक्षित तरिकाले मतदान गरौँ भन्ने सन्देश प्रवाहित गर्न खोजेजस्तो देखिन्छ ।

टाइमको चुनावी आवरण

टाइमको ‘भोट कभर’ कलाकार शेपर्ड फेरेले बनाएका हुन् । उनी सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बराक ओबामाको चुनावी अभियानमा पनि आबद्ध थिए । ओबामाको पोट्रेट चित्रसहित HOPE लेखिएको उनको कला निकै चर्चित पनि बनेको थियो । 

उनका दुईवटा चित्र यसअघि टाइमको कभर बनिसकेका छन् । 

टाइमका प्रधान सम्पादक तथा सीईओ एडवार्ड फेल्सेन्थलले एक लेखमा टाइमले लोगो परिवर्तन गर्नुपर्नाका कारण खुलाएका छन् । 

“म यो ठाउँ पाठकहरूको ध्यान अन्य प्रकाशनहरूतर्फ लैजान खासै प्रयोग गर्दिनँ, तर तपाईँलाई ‘साइन्स’ मा सेप्टेम्बर २४ मा प्रकाशित एउटा लेख हेर्न म सिफारिस गर्छु”, उनले साइन्समामा प्रकाशित एक अनुसन्धानमूलक लेखको लिंक राख्दै भनेका छन्, “यो लेखले महाव्याधि सुरु भएपछि मानिसहरू [आफ्ना गतिविधिहरूबाट] अस्थायी रुपमा फिर्ता भएपछि प्राकृतिक संसारमा आएका सकारात्मक परिवर्तनहरूको सूचीमा अर्को नयाँ विषय थप्छ । यस्तो लाग्छ कि अघिल्ला पटकभन्दा सापेक्षित रुपमा मौन देखिएको सान फ्रान्सिस्को बे एरियामा अप्रिल र मेमा सेतो मुकुटधारी भँगेराको गीत पहिलेभन्दा आनन्ददायी र मिठो सुनिएको छ ।” 

“यो साह्रै पीडा, कष्ट, अन्योल र क्षयको वर्ष रह्‍यो ।  र, पनि विश्वका मुलुकहरू महाव्याधिबाट  पुनर्निर्माणतर्फ अगाडि बढेका छन् । हामी [अमेरिकी] लाई पनि हरेक पुस्तामा एक पटक आफ्नो लय परिवर्तन गर्नका लागि आउने अवसर प्राप्त छ भन्ने स्पष्ट छ”, उक्त लेखमा भनिएको छ । 

टाइमले यो अंकमा एउटा विशेष रिपोर्ट छापेको छ जसमा कसरी मतदान गर्ने र किन मतदान गर्ने भन्नेबारे विस्तृत उल्लेख भएको जनाइएको छ । “नोभेम्बर  ३ (वा, त्यसलगत्तै) मा हामीले बितेका यी अन्यौलपूर्ण ४ वर्षको के अर्थ हुन्छ भन्ने प्रश्नको जवाफ पाउँनेछौँ”, टाइमका राष्ट्रिय राजनीतिक सम्वाददाता मोलि बालले लेखेका छन्, “यो कस्तो नीति कार्यान्वयन गर्ने भन्ने निर्णय होइन, बरु कस्तो बास्तविकतामा बाँच्ने भन्ने हाम्रो सामूहिक निर्णय हो ।” 

यो ऐतिहासिक क्षणलाई स्मरणीय बनाउन र मतदान गर्ने अधिकारलाई प्रबर्द्धन गर्न करिब १०० वर्षको इतिहासमा पहिलोपटक लोगो परिवर्तन गरिएको टाइमले उल्लेख गरेको छ । 

आवरण चित्र बनाउने कलाकार फेरेले मतदानबाट नागरिकले आफ्नो शक्तिको अभ्यास गर्ने कुरालाई स्मरण गराउन आफूले उक्त चित्र बनाएको बताएका छन् । “यो चित्रको विषय महाव्याधिका बेला लोकतन्त्रमाथि थप चुनौतीहरू छन् भन्ने पनि हो”, उनले टाइमसँग भनेका छन्, “तर हरेक व्यक्ति आफ्नो आवाज बुलन्द पार्न र मतदानद्वारा आफ्नो शक्तिको अभ्यास गर्न प्रतिबद्ध छन् ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.