महिना दिन नपुग्दै इकागजका प्रकाशक बाहिरिए


सुरु भएको एक महिना नपुग्दै समाचार पोर्टल इकागज डट कमका प्रकाशक वसन्त वन बाहिरिएका छन् । घटस्थापनाको दिन पारेर  कात्तिक १ गतेदेखि सुरु भएको इकागजका प्रकाशक वनले सञ्चालक संस्था इकागज मिडिया प्राइभेट लिमिटेडबाट लगानी झिकेका हुन् । 

वनले बुधबार सञ्चालक समितिबाट राजीनामा दिएको इकागज सञ्चालक समितिका सदस्यहरूले जानकारी दिए । बिहीबार साइटको फुटरबाट समेत उनको नाम झिकिएको छ । यसबारे इकागज डट कमले औपचारिक रुपमा केही लेखेको भने छैन । 

तिहारलगत्तै उनको वनको नाममा रहेको सेयर फिर्ता गर्ने सञ्चालक समितिका सदस्यहरूको भनाइ छ । इकागज सञ्चालक समितिमा वनसहित ७ जना थिए । यी मध्ये ५ जना यहाँ कार्यरत पत्रकारहरू नै छन् । 

किन बाहरिए ?

साइट सुरु हुँदाकै दिनदेखि अध्यक्ष वनका विषयमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरू भएका थिए । यसको कारण थियो- विराटनगर जुट मिलको अध्यक्षका रुपमा उनले गरेको भनिएको सेयरसम्बन्धी निर्णय तथा उनका अन्य कम्पनीहरूको करसम्बन्धी विवाद । यी विषयमा कतिपय मिडियाले विगतमा खबरसमेत लेखेका थिए ।

सुशासन तथा पारदर्शितालाई मूल मुद्दा बनाएर पत्रकारितामा लामो समय बिताएका हरिबहादुर थापाको नेतृत्वमा सुरु भएको अनलाइनमा विवादित छविका व्यक्ति सञ्चालक तथा अध्यक्ष रहेको भनी सामाजिक सञ्जालमा आलोचना भएपछि सुरुकै दिनदेखि यो समूहलाई दाँतमा ढुंगा लागेको थियो । 

यद्यपि वनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए । मिडिया कुराकानीसँगको कुराकानीमा ‘अपचलनको उद्देश्य र लालच राखेर काम नगरेको’ उनले दाबी गरेका थिए । ‘रुग्ण उद्योगलाई उठाउने क्रममा भएका कतिपय कमजोरीलाई बदमासीका रुपमा व्याख्या गरेर छवि ध्वस्त पार्ने काम भएको’ उनको भनाइ थियो । आफ्नो नाममा आएको सेयर खारेज गरेर सरकारको नाममा ६८ प्रतिशत कायम गरेको उनको भनाइ छ ।

वन सांग्रिला माइक्रोसिस्टम प्रा.लि., सांग्रिला इन्फरम्याटिक्स प्रा.लि., जिओसफ्ट टेक्नोलोजी प्रा.लि.लगायतका कम्पनीका सञ्चालक हुन् । उनी विराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष पनि हुन् ।

सुरुदेखि नै वनको सेयर फिर्ता गर्नेबारे सञ्चालक समितिमा हुन थालेको छलफल तीन सातापछि निर्णयमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.