हरि शर्मामाथि बौद्धिक चोरीको बात : बुझ्‍नैपर्ने ९ विषय


राजनीतिशास्त्री हरि शर्मामाथि बौद्धिक चोरीको आरोप लागेको छ । सेतोपाटी डट कममा प्रकाशित शर्माको पाक्षिक स्तम्भमा डेढ वर्षअघि प्रकाशित एउटा लेख न्यूयोर्करमा छापिएको लेखको अनुवाद भएको आरोपसहित ट्‍विटरमा चर्काचर्की देखिएको छ । एकथरी शर्माले बौद्धिक चोरी गरेको भन्दै सेतोपाटी र शर्माविरुद्ध खुलेर लागेका छन् भने अर्काथरी बौद्धिक चोरीको आरोप मिथ्या भएको तर्कसहित शर्माको पक्षमा उभिएका छन् ।

शर्माको लेख प्रकाशित गर्ने सेतोपाटीले पनि बौद्धिक चोरीको आरोप स्वीकारेको छैन बरु उसले शर्माका लेखहरू कुराकानीमा आधारित भएको प्रष्टीकरण दिएको छ । स्तम्भका लेखक शर्मा सेतोपाटीले स्पष्टीकरण दिएका दुई ट्‍विटलाई रिट्‍विट गर्नेबाहेक यस विषयमा मौन छन् । ट्‍विटरमा प्रश्नहरू उठेपछि शर्माले पहिला आफ्नो ट्‍विटर अकाउन्ट डिएक्टिभ गरेका थिए भने पछि प्राइभेट बनाएका छन् ।

सार्वजनिक सञ्चारमाध्यमले पनि यो विषयलाई खासै मतलब गरेका छैनन् । राजनीतिक दलका नेता तथा सेलिब्रिटीहरूको एउटै ट्‍विट वा स्टाटसलाई समाचार बनाउने नेपालका अनलाइन पोर्टलहरूले यसबारे थाहै नपाएजस्तो गरेका छन् ।

यो लेख ट्‍विटरमा उठेको आँधीलाई एकत्रित गर्ने प्रयास हो ताकि यसबारेमा स्पष्ट धारणा बनाउन सकियोस् । यो समग्र विषय र बहसलाई हामी ९ बुँदामा बुझाउने प्रयास गर्ने छौँ । 

१) हरि शर्माको स्तम्भ : किताब चर्चा 

राजनीतिशास्त्री हरि शर्माले सेतोपाटीमा लेखेको स्तम्भको नाम ‘किताब चर्चा’ हो । शर्माले यो स्तम्भअन्तर्गत करिब १ वर्षभित्र २२ वटा लेख लेखेका छन् । २०७५ माघ २० मा पहिलो लेख र २०७६ पुस १३ मा पछिल्लो लेख प्रकाशित भएको देखिन्छ । स्तम्भको नामजस्तै शर्माले विभिन्न पुस्तकका सन्दर्भसामग्रीहरूका आधारमा कुनै एक विषयलाई केन्द्रमा राखेर लामालामा लेख तयार पारेका छन् । साहित्य, इतिहास, राजनीति, संस्कृति, सिनेमा, पुस्तक लगायत कयौँ क्षेत्रमा छरिए पनि यी लेखहरू प्रस्तुतिकरणका दृष्टिले पठनीय लाग्छन् । शर्माको किताब चर्चाका सम्पूर्ण लेख सेतोपाटीमा पढ्न सकिन्छ । 

२) जुन लेखमाथि बौद्धिक चोरीको बात लाग्यो 

तस्बिरः सेतोपाटी

सेतोपाटीमा ‘किताब चर्चा’ स्तम्भअन्तर्गत २०७५ र २०७६ बीच करिब १ वर्षमा हरि शर्माका २२ वटा लेख प्रकाशित भएका छन् । २०७५ माघ २० मा पहिलो लेख र २०७६ पुस १३ मा पछिल्लो लेख प्रकाशित भएको देखिन्छ । स्तम्भको नामजस्तै शर्माले विभिन्न पुस्तकका सन्दर्भसामग्रीका आधारमा कुनै एक विषयलाई केन्द्रमा राखेर लामा लेखहरू तयार पारेका छन् । जुन लेखमाथि बौद्धिक चोरीको आरोप लागेको हो, त्यो लेख अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाको प्रवचनमा आधारित लेख ‘एन्ड अफ हिस्ट्री’ माथि छ । यो विषयमा फुकुयामाले १९९२ मा पुस्तकसमेत लेखेका थिए ।

संयुक्त राज्य अमेरिकाले वकालत गर्दै आएको उदार लोकतन्त्रमाथि के कस्ता संकट देखिएका छन् भन्ने विषयमा शर्माको लेख केन्द्रित छ । ‘एन्ड अफ हिस्ट्री’ जर्नल लेखका रुपमा प्रकाशित भएपछि फुकुयामाको चर्चा कसरी चुलियो, कसरी केही वर्ष विश्वको राजनीति उनको आँकलनअनुसार अगाडि बढ्यो र पछि त्यो क्रम टुट्यो भन्नेबारे शर्माले लेखमा उल्लेख गरेका छन् । सनसनी मच्चाएको ‘एन्ड अफ हिस्ट्री’ शीर्षकको यो लेखमा अरु पनि कयौँ लेखक, पुस्तक र सन्दर्भहरूबारे चर्चा छ । यो ट्‍विटरमा अहिले चर्चा भएझैँ न्युयोर्करको अनुवाद वा बौद्धिक चोरी हो त ? मुख्य प्रश्न यही हो । तर त्यसभन्दा अघि न्युयोर्करको लेखमा के छ बुझौँ ।   

३) फुकुयामामाथि न्युयोर्करको लेख

२७ अगस्ट २०१८ मा न्युयोर्करमा प्रकाशित हार्वड विश्वविद्यालयका प्राध्यापक लुई मेनन्डको लेख फुकुयाका पछिल्ला तर्कहरूमाथि लेखिएको छ । मेनन्ड यो लेखमा फुकुयामा पछिल्लो समय पहिचानको मुद्दाले उदार लोकतन्त्रमा चुनौती ल्याउने तर्क किन गरिरहेका छन् भन्नेबारे विभिन्न सन्दर्भहरूसहित लेख्छन् । १९८० को दशकमै ‘इतिहासको अन्त्य’ घोषणा गरेका फुकुयामा किन र कसरी पछिल्ला दिनमा आफूले भन्ने गरेको इतिहासको अन्त्यलाई पछि धकेल्दैछन् भन्ने विषयमा लेखकले आफ्ना दलिल प्रस्तुत गर्छन् । न्युयोर्करको लेखको सुरुवात र सेतोपाटीमा प्रकाशित हरि शर्माको लेखको सुरुवातका कतिपय तथ्य तथा प्रस्तुति मिलेजस्तो देखिन्छ । यो बौद्धिक चोरी हो वा होइन भन्ने प्रश्नको जवाफ खोज्न दुई लेखको तुलनात्मक अध्ययन आवश्यक पर्छ । तर त्यसअघि तपाईँले न्युयोर्कर वा सेतोपाटी छोडेर अन्नपूर्ण पोस्ट पढ्नुपर्ने हुन्छ किनभने अन्नपूर्णमा न्युयोर्करको मूल लेखको अनुवाद छापिएको छ ।  

४) अन्नपूर्णको अनुवाद

AnnapurnaPost.com

यहाँनेर तपाईँले केही मिति याद गर्नुपर्ने हुन्छ । सेतोपाटीमा शर्माको लेख छापियो २०७५ चैत ३ गते । अहिले न्युयोर्करको जुन लेखका कतिपय प्रसंग शर्माले चोरेको आरोप लगाइएको छ उक्त लेख छापिएको मिति हो २०१८ अगस्ट २७ अर्थात् २०७५ भदौ १८ । यहाँनेर मितिको हिसाब किन आवश्यक पर्‍यो भने अन्नपूर्ण पोस्ट दैनिकको शनिबार छापिने परिशिष्टाङ्क ‘फुर्सद’ ले २०७६ बैशाख २८ गते न्युयोर्करमा प्रकाशित फुकुयामाबारेको उक्त लेखको अनुवाद छाप्यो । सामान्यतः अनुवादहरू कि तत्कालै छापिन्छन् कि त सन्दर्भ हेरेर । तर फुर्सदले मूल लेख प्रकाशित भएको ८ महिनापछि किन उक्त लेखको अनुवाद छाप्यो होला ? त्यो पनि सेतोपाटीमा हरि शर्माको फुकुयामामाथिको लेख प्रकाशित भएको करिब दुई महिनापछि ? यो प्रश्नको जवाफ न्युयोर्करको लेख अनुवाद गर्ने विभु लुइटेलले ट्‍विटरमै दिएकी छन् । 

सेतोपाटीमा हरि शर्माको लेख प्रकाशित भएपछि चारवटा इमेल ग्रुपहरूमा न्युयोर्करको मूल लेख र शर्माको लेखको चर्चा सुरु भएको विभुले उल्लेख गरेकी छन् । यसलाई ‘एक्सपोज’ गर्नै उनले मूल लेखको अनुवाद गरी अन्नपूर्णमा छापेको उनका ट्‍विटहरूबाट बुझिन्छ । ‘छाप्नुअघि परिशिष्टाङ्क संयोजकले मौखिक प्रतिज्ञा गराएका थिए- ‘अनुवाद ट्‍विटर वा फेसबुकमा सेयर गर्दा हरि शर्माको सेतोपाटीमा प्रकाशित लेखको चर्चा गर्न नपाइने ।’ कारण- उनी समस्यामा पर्नसक्थे’, विभुले लेखेकी छन्, ‘यसबारे त्यतिबेला नै काठमाडौँको ‘बौद्धिक जमात’ मा चर्चा-परिचर्चा भएको थियो तर इमेल ग्रुपहरूमा मात्र । बाहिर ल्याउन कसैले आँट जुटाएनन् किनभने उनी [द] हरि शर्मा थिए ।’ 

५) डेढ वर्षपछि फेरि कसरी भयो चर्चा ?

पहिला खासै कसैले नोटिस नगरेको तर विभुले भने झैँ भित्रभित्रै चर्चा भएको यो विषय डेढ वर्षपछि फेरि कसरी चर्चामा आयो त ? ट्‍विटरमा यस विषयमा अत्यन्त भोकल देखिएका दिनेश पन्तले डिएममा भने- ‘मैले सबैभन्दा पहिला निर्मको ट्‍विटबाट जानकारी पाएको हो ।’

निर्मल आचार्यले न्युयोर्करको मूल लेखको लिङ्कसहित ट्‍विट गरेका छन्- यो लेख सेतोपाटी हो कि के मा कता कता पढेको जस्तो लाग्दो रैछ । 

सरोनर नामक ट्‍विटर प्रयोगकर्ताले हरि शर्माको लेखको अंश र न्युयोर्करको अंश तुलना गरेर ट्‍विट गरेका छन् । 

यसपछि अरु पनि कयौँ ट्‍विटर प्रयोगकर्ताहरूले यो बहसमा मिसिएका छन् ।  

६. सेतोपाटीको प्रष्टिकरण

ट्‍विटरमा प्रश्नहरू उठेपछि हरि शर्माले सुरुमा आफ्नो ट्‍विटर डिएक्भिेट गरे र पछि त्यसलाई प्राइभेट बनाए । सेतोपाटीले भने हरि शर्माका लेखहरू कुराकानीमा आधारित भएको प्रष्टिकरण दियो । तर उक्त लेखका केही अंश न्युयोर्करको लेखबाट चोरिएको मुख्य आरोपमा भने चुप बसिदियो ।

‘सेतोपाटीमा प्रकाशित हरि शर्माको लेख- सनसनी मच्चाएको ‘एन्ड अफ हिस्ट्री’- उहाँले हाम्रै न्यूजरूममा आएर सहकर्मीहरूसँग गर्नुभएको कुराकानी र प्रश्नोत्तरका आधारमा तयार पारिएको हो’, सेतोपाटीको स्पष्टोक्ति छ, ‘उहाँले सम्बन्धित किताबका साथै त्यसबारे प्रकाशित लेख, अन्तर्वार्ता र अन्य सन्दर्भ सामग्री उद्धृत गर्नुभएको थियो। ती सामग्री पढ्न सुझाउनुभएको थियो। उहाँसँग कुराकानी र सन्दर्भ सामग्रीका आधारमा लेख हामीले तयार पारेको जानकारी गराउन चाहन्छौं।’  

७. विरोध र बहस 

यो विषय सतहमा आएपछि अनेक कोणबाट ट्‍विटरमा बहस छेडिएका छन् । कसैले सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्चुअल) माथि बहस छेडेका छन् त कसैले मिडियाको प्रवृत्तिमाथि । कोही पक्षमा उत्रिएका छन् त कोही विपक्षमा । 

जस्तो, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङले हरि शर्माको पक्ष लिएका छन् । ‘हरि शर्मा आफूले पढेका, बुझेका पुस्तक/विचारलाई नेपाली राजनीतिक, सामाजिक सन्दर्भमा आम नेपाली-भाषी पाठकलाई बुझाउन माहिर [मान्छे] हो’, चेम्जोङले लेखेका छन्, ‘कुनै पुस्तक, लेखक, फिल्मको हवालामा हामीलाई घन्टौँ मन्त्रमुग्ध पार्नुहुन्छ।’ 

चेम्जोङको ‘मन्त्रमुग्ध’ तत्कालै आक्रमणको निशानामा पर्‍यो ।

शर्माको वाणीले किन मन्त्रमुग्ध पार्छ भनेर दिनेश पन्तले गरेको ट्‍विटपछि उत्तेजित भएका उनले प्रयोग गरेको भाषालाई लिएर ट्‍विटरमा व्यापक आलोचना भएपछि चेम्जोङले पछि त्यो ट्‍विट डिलिट गरे र एकाउन्ट डिएक्टिभेट गरे । अहिले भने उनको ट्‍विटर एकाउन्ट प्राइभेट गरिएको छ ।

अर्को ट्‍विटमा चेम्जोङले हरि शर्मासँगको कुराकानीमा आधारित लेखबाट समाजविज्ञानका धेरै शिक्षक विद्यार्थी लाभान्वित भएको तर्क गर्दै भनेका छन्- ‘हरि शर्मा वक्ता हो, साइटेसन, रेफ्रेन्स आदिमा सेतोपाटीले ध्यान दिनपर्छ।’

शौरभ बस्यालले हरि शर्माले जे भने पनि जस्ताका तस्तै छाप्ने सेतोपाटीका पत्रकार हुन् कि पृथ्वीनाराणय शाहको दिव्योपदेश छाप्ने भारदार भन्दै प्रश्न उठाएका छन् । 

नयन पी सिन्धुलीय लेख्छन्- 

सेतोपाटीको प्रष्टिकरणलाई ‘हास्यास्पद सफाइ’ भन्दै लेखक सावित्री गौतमले शर्मामाथि प्रश्न उठाएकी छन् । ‘लोकतन्त्रमा प्रश्न गर्ने अधिकारको सबैभन्दा बलिया रक्षक मध्येका एक, दाज्यु त आफूमाथि प्रश्न उठेपछि ट्‍विटर डिएक्टिभेट गरेर बसिदिनुभएछ’, उनले लेखेकी छन्, ‘तिमीहरू जस्तो झारपातले केही लछारपाटो लाउँदैनौ, दुई चार दिन चुप बस्दिन्छु सकिन्छ” भन्न खोजेको त होला। आखिर ट्‍विटर “झारपात”हरुकै स्पेस न हो !’ 

सेतोपाटीले आफूबाट भएको गल्ती स्वीकार्न नसक्नु लज्जाजनक भएको लेखेका छन् अंकित खड्गीले । 

सुवास लामिछाने लेख्छन्- 

नारायणी देवकोटाले व्यंग्य गरेकी छन् । 

वविता राई भन्छिन्- 

हरि शर्मा यतिका समस्यसम्म किन मौन बसे भनेर पनि ट्‍विटरमा प्रश्न उठाइएको छ । 

शर्माको सेतोपाटीमा प्रकाशित स्तम्भ नै परियोजना सञ्चालित भएकोसम्म आरोप ट्‍विटरमा लागेको छ । 

८. बौद्धिक चोरी हो वा होइन ?

हरि शर्माको सेतोपाटीमा प्रकाशित उक्त लेखमा बौद्धिक चोरी हो वा होइन भन्नेमा पनि सामाजिक सञ्जाल विभाजित देखिएको छ । जस्तो, अमेरिकाको लुइस विश्वविद्यालयमा अंग्रेजी विभागका प्रमुख रहेका डा. प्रमोद मिश्रले हरि शर्माको लेखलाई न्युयोर्करबाट चोरिएको भन्न नमिल्ने तर्क गरेका छन् । 

‘हरि शर्मामाथि प्लेजियरिज्मको आरोप लगाउनुअघि प्लेजियरिज्म भनेको के हो, लेख पढ्न र तुलना गर्न जान्नुपर्थ्यो’, मिश्र पनि ट्‍विटरको बहसमा मिसिएका छन्, ‘हतारमा सार्वजनिक रुपमा आरोप लगाउनु आफ्नो पठन अयोग्यता र अरुको मानहानी ठहरिन्छ ।’ विषय र एकादुई ठाउँमा सार्वजनिक तथ्य मिल्न गएको र गैह्रप्राज्ञिक लेखमा यस्तो हुनु स्वभाविक भएको तर्क मिश्रको छ । ‘…यो कतै प्लेजियरिज्म होइन, विषय र इतिहासका सार्वजनिक तथ्य एउटै हुनुले प्लेजियरिज्म हुँदैन….’, मिश्रले दुबै लेखको तुलना गरेर ट्‍विटरमा राखेको लामो नोटमा उल्लेख छ, ‘…कोर्नेलमा पढेका, जीवनभर यस विषयमा किताब खेलाएका व्यक्तिलाई सार्वजनिक तथ्य थाहा हुँदैन ठान्नु अल्पज्ञान हुन जान्छ ।’ 

मानवशास्त्री** सञ्जीव पोखरेल लेखकले नै अनुवाद गरेर आफ्नो नाममा लेख छपाएको भन्नेमा विश्वास गर्दैनन् ।* ‘प्लेजरिजममा सचेत हुनुपर्छ । तर, मैले अत्यन्त बौद्धिक र साहसिक ठानेका केही व्यक्ति यस मुद्धामा असंवेदनशील ‘नेमकलिङ्’ र गालीगलौजमा उत्रेको देख्दा भने दुःख लाग्यो । सामाजिक सञ्जालमा भएको फोहर उठाएर अरूलाई छेप्दा त्यसको मैलो आफैँतिर आउने हेक्का उनीहरूले गर्नुपर्थ्यो । गरेनन्’,  पोखरेल लेख्छन्, ‘एउटा मानिसले आफ्नो विवेक र योग्यताअनुसार काम गरेको हुन्छ । एउटा गल्तीको आरोपमा उसमाथि अभद्र शैलीमा र व्यक्तिगत तहमा निरन्तर आक्रमण गर्ने काम राम्रो होइन । यसमा सम्बन्धित लेखक र प्रकाशक लगायत अरू केही मानिसहरूप्रति जसरी अभियानकै रूपमा आक्रमण गरिएको छ त्यो दुखद् छ ।’

तर लेखक तथा पत्रकार प्रणय जबरा यसलाई स्पष्ट बौद्धिक चोरी भन्छन् । ‘हरि शर्माको बाइलाइनमा रहेको सेतोपाटीको लेख स्पष्ट बौद्धिक चोरी हो, दायाँवायाँ कुरै छैन’, उनले ट्‍विटरमा लेखेका छन्, ‘उनी आफैँले लेखेका हुन् वा सेतोपाटीले उनका शब्दहरू ट्रान्सक्राइब गरेको होस्, उनको बाइलाइनमा छापिएपछि यो बौद्धिक चोरी नै हो ।’

शर्माको लेख बौद्धिक चोरी हो वा होइन भन्ने विषयमा सामाजिक सञ्जाल विभाजित देखिए पनि एउटा कुरा स्पष्ट के भन्न सकिन्छ भने न्युयोर्करको लेखबाट सेतोपाटीको लेखको सुरुवाती प्रस्तुतिकरण निकै प्रभावित भएको देखिन्छ । ध्यान दिएर पढ्दा सुरुमै थाहा हुन्छ- कतिपय लाइन हुबहु मिलेका छन् । चाहे प्राज्ञिक लेखन होस् वा मिडियाको दैनन्दिन लेखन, लिंक दिने, साइट गर्ने, रिफ्रेन्स दिने गर्नुपर्छ । यदि दिइँदैन भने त्यो यो वा त्यो रुपमा बौद्धिक चोरी नै हो । शर्माको लेखमा न्युयोर्करका लाइनहरू कसरी मिल्न गए, सार्वजनिक रुपमा विषयहरू उठिसकेपछि कि सेतोपाटीले कि त शर्माले चित्तबुझ्दो जवाफ दिनु उचित ठहर्छ । 

९) सेतोपाटी कहाँ चुक्यो ? 

सेतोपाटीकै प्रष्टिकरणलाई आधार बनाउने हो भने हरि शर्माका लेखहरू उनीसँगको कुराकानी र प्रश्नोत्तरका परिणाम हुन् । तर कुनै पनि लेखमा सेतोपाटीले कुराकानीमा आधारित हो भन्ने जानकारी पाठकलाई दिएको छैन । जब प्रश्नहरू उठे, तब उसले यसो भनेको छ । कुराकानीमा आधारित हुन् भने ककसले कुराकानी गरेका हुन्, कसले त्यो कुराकानीलाई लेखको आकार दिएको हो- लेखमा खुलाउनु सामान्य अभ्यास हो । सेतोपाटी सुरुमा यहाँनेर चुक्यो । 

दोस्रो, शर्माले न्युयोर्करबाट जानीजानी अनुवाद वा प्याराफ्रेज गरेका होइनन् भन्ने अनुमानमात्र होइन, म विश्वास नै गर्छु । बरु उनले उक्त लेख पढेका हुन सक्छन्, बोल्नुअघि। शर्माले बोलेका कुरालाई थपथाप पार्न खोज्दा सेतोपाटीको जसले शर्माको लेख तयार पार्‍यो, ऊ पो न्युयोर्करको लेखबाट प्रभावित भएर केही प्याराग्राफ मिलाइदिएको हो कि ! यो सम्भावना बढी देखिन्छ । शर्मालाई जोगाउने गरी सेतोपाटीबाट आएको प्रष्टीकरणले यो सम्भावनामा बल पुग्छ ।

राम्रो त यो हुन्थ्यो कि शर्मा आफैँले पनि सार्वजनिक रुपमा प्रश्नहरू उठेपछि यसबारे स्पष्ट जवाफ दिउन् । लोकतन्त्रको वकालत गरेका र यसैको बहस पैरवीमा जीवन खर्चेका शर्माले आफ्ना लेखहरूमा ‘भाइबहिनी’ हरूले उठाएका प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्छ । र, सेतोपाटीले पनि झारा टार्ने हिसाबले भन्दा पनि आफ्ना तर्फबाट त्रुटि भएको हो भने स्वीकार्ने र त्रुटि सच्याउने गर्दा राम्रो हुन्छ । तर हाम्रो मिडिया एउटा गल्ती लुकाउन अर्को गल्ती गर्न खप्पिस छ । सेतोपाटीबाट यस्तो गल्ती नहोस् भन्ने अपेक्षासहित बिट मारौँ ।


अपडेटः हरि शर्माले सोसल मिडियामा उठेका प्रश्नहरूको जवाफमा सेतोपाटीमा मंसिर ८ गते अर्को लेख लेखेका छन् । उनले लेखेका छन्-

प्रबुद्ध पाठकहरूले औंल्याउनुभएको न्यूयोर्कर मात्र होइन, मैले सन्दर्भ–सामग्रीका रूपमा प्रयोग गरेका अरू लेख–रचना पनि सबै यहाँ उद्धृत भएका छैनन्। आज फर्केर हेर्दा मलाई आफूले अन्तर्क्रिया क्रममा पढेर सुनाएका सबै किताब, जर्नल, लेख, समीक्षा, अन्तर्वार्ताहरूको स्रोत खुलाइदिएको भए हुन्थ्यो भन्ने पक्कै लागेको छ। यस निम्ति आत्मालोचना गर्न मलाई कुनै संकोच छैन।

म पाठकहरूले औंल्याउनुभएका कमी–कमजोरी र टीकाटिप्पणीलाई नयाँ सिकाइका रूपमा ग्रहण गर्छु। र, सेतोपाटीमा जुन नयाँ स्तम्भ लेख्ने तयारी गर्दैछु, त्यसमा ती कमी–कमजोरी नदोहोरियोस् भनेर सजग र सचेत रहन्छु।


मिडिया कुराकानीको यो लेखमा केही गल्ती भएका छन् भने कमेन्टमा लेख्नुस्, हामी स्वीकार्छौँ र सच्याउँछौँ ।


* थपिएको ।

** यसअघि सञ्जीव पोखरेललाई समाजशास्त्री सम्बोधन भएकोमा सच्याइएको । उनी मानवशास्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.