समाचार कक्षमा देखिने नस्लवादसहितका सामाजिक-सांस्कृतिक विभेद हटाउन पत्रकारहरूलाई शिक्षित गर्नुका साथै सोसल मिडिया नीति बनाएर कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन
मंसिर ३ गते । क्रिकेटप्रेमीहरूका लागि महत्त्वपूर्ण दिन थियो । एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिको लागि इन्डिया र अस्ट्रेलिया भिड्दै थिए ।
खेलमा हारजित हुन्छ, मन परेको टिमको समर्थन स्वभाविक रुपमा जसले पनि गर्छ । पत्रकार पनि यसमा अपवाद हुने कुरा भएन ।
कान्तिपुर टिभीमा कार्यरत समाचार प्रस्तोता श्रद्धा अर्यालले ट्विटरमा पोस्ट गरेको भिडियो पनि त्यही समर्थनको परिणाम थियो । तर, भइदियो अर्थोकै ।
छैटौं पटक अस्ट्रेलियाले विश्वकप जितेपछि कान्तिपुर टिभीका समाचार प्रस्तोता अर्यालले अस्ट्रेलियालाई बधाई दिँदै सानो भिडियो क्लिप ट्विट गरिन् । उक्त भिडियोमा अस्ट्रेलियाले विश्वकप जितेपछि कान्तिपुर टिभीका पत्रकारहरू रमाएको देखिन्छ ।
तर भिडियोमा खुसीयाली मात्र देखिँदैन । हाम्रो मस्तिस्कमा गहिरोसँग गढेको नस्लवाद पनि उक्त भिडियोमा देखिन्छ ।
भिडियोमा एक पुरूष पत्रकारले “विचरा धोती” [पाठकहरू माफ गर्नुहोला, तपाईँको जानकारीका लागि हामीले पनि यो शब्द प्रयोग गर्नैपर्यो] भनेको सुनिन्छ । यही कारणले अर्यालको ट्विट छिट्टै भाइरल र विवादित भयो । र, डिलिट पनि ।
उक्त ट्विट डिलिट भए पनि धेरै त्यसलाई संग्रह गर्न भ्याइसकेका थिए, फलस्वरुप कान्तिपुर टिभीको आलोचना भयो ।
आफू आवद्ध संस्थालाई जोडेर आलोचना भएपछि पत्रकार अर्यालले आफ्नो पोस्टलाई व्यक्तिगत रुपमा लिइदिन र भिडियोमा सुनिएको असान्दर्भिक आवाजप्रति दुःख व्यक्त गर्दै माफी मागिन् ।
१. भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेटको फाइनल नजिताको दृश्य समेटिएको मेरो व्यक्तिगत पोस्टप्रति व्यक्त चासो र टिप्पणीप्रति गम्भीर छु । मेरो आशय कसैको भावनामाथि चोट पुर्याउने नरहेको प्रष्ट पार्न चाहन्छु… pic.twitter.com/2uch4PQJEp
— Shraddha aryal (@ShraddhaAryal) November 20, 2023
यो प्रकरणले हाम्रा समाचार कक्षहरूले पत्रकारहरूलाई कसरी सामाजिकीकरण गरिरहेका छन् भन्ने तथ्य उद्घाटित भएको बताउँछन्, त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका सहप्राध्यापक डा. कुन्दन अर्याल ।
“तपाईंको संस्थाले आफ्ना पत्रकारलाई कसरी सोसिएलाइज गर्दो रहेछ, थाहा भयो" अर्याल लेख्छन्, “कान्तिपुर टिभीको न्युजरूम कति कल्चरल सेनसिटिभ (सांस्कृतिक रुपमा सम्वेदनशील) रहेछ भन्ने पनि थाहा भयो ।”
सोसल मिडिया नीति नहुँदाको परिणाम
मिडिया अनुसन्धाता तथा सिएमआर जर्नलिज्म एकेडेमीका निर्देशक उज्वल आचार्य मिडिया हाउसले सामाजिक सञ्जाल सम्बन्धि नीति नबनाउँदाको परिणाम ठान्छन् । आचार्य सञ्चार संस्थामा सोसल मिडिया प्रयोग सम्बन्धी नीति आवश्यक रहेको तर्क गर्छन् ।
"मिडियामा काम गर्ने कर्मचारीहरूलाई हामी 'अपिनिएन लिडर' को रूपमा लिन्छौँ", आचार्य भन्छन्, "सोसल मिडियामा उनीहरूको उपस्थिति वा प्रस्तुति मिडियाको ब्रान्डलाई क्षति हुने वा मिडियाको नाम बदनाम हुनेगरी हुन हुँदैन ।"
समाचार कक्षभित्रबाट प्रत्यक्ष प्रसारण (लाइभ) गर्न पाउने कि नपाउने अथवा भिडियो खिच्न पाउने कि नपाउने, न्युजरूम भित्रको फोटो हाल्न पाउने कि नपाउने लगायतका कुरा सोसल मिडिया नीतिले सम्बोधन गर्न सक्ने आचार्यको सुझाव छ । "यी कुराहरूमा स्पष्ट हुँदा राम्रो हुन्छ, नत्र कान्तिपुरमा अहिले जे भयो त्यो जहाँ पनि हुन सक्छ", आचार्य भन्छन, "यस्तो गतिविधिले पत्रकारको निष्पक्षतामाथि प्रश्न उठ्छ र सम्बन्धित सञ्चार संस्था र समग्र पत्रकारितालाई नै क्षति पुर्याउँछ ।"
स्थापित अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले कार्यरत पत्रकारहरूका लागि सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी नीति बनाएका हुन्छन् ।
त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक ऋषिकेश दाहाल नेपालका समाचार कक्षहरूमा पनि सोसल मिडिया गाइडलाइन अत्यावश्यक रहेको बताउँछन् ।
आफू कार्यरत संस्था पहिलोपोस्ट/बिजमान्डुमा सोसल मिडिया गाइडलाइन बनाइएको उदाहरण दिँदै उनी भन्छन्, "हामीले सोिल मिडिया गाइडलाइन लागू गरेका छौँ, त्यसमा पनि अपडेट गर्नुपर्ने कुराहरू धेरै छन् तर अधिकांश कुरा लागू भएका छन्", दाहाल भन्छन्, "यस्तो नीति बनाइर मात्र अब पुग्दैन, समाचार कक्षमा के गर्न हुन्छ र हुँदैन भन्ने अभिमुखीकरण नै भएन, त्यसमा काम गर्नुपर्ने देखिन्छ ।" पहिलोपोस्ट अहिले बन्द भइसकेको छ ।
कान्तिपुर टिभीमा जे भयो, त्यो भयानक गल्ती भएको दाहाल बताउँछन् । "समाचार कक्षमा 'हेट स्पिच' (घृणायुक्त अभिव्यक्ति) गर्न पाइँदैन । समाचार कक्षमा स्कुलिङ र ओरिएन्टेसन पुगेको छैन भन्ने प्रमाण हो," उनी भन्छन्, "समाचार कक्षको दृष्टिकोण कस्तो हुनपर्छ भनेर सिक्न/सिकाउन नसकेको हो ।"
कान्तिपुर टिभीले यस प्रकारको नीति बनाउनका लागि गृहकार्य भए पनि पूर्णता नपाएको कान्तिपुर टिभीका प्रधान सम्पादक दिलभुषण पाठक बताउँछन् । "प्रत्यक्षप्रसारण लगायतका कुरामा हामीले ध्यान दिएका छौँ, चाहे त्यो पोशाकमा होस् वा प्रस्तुतिमा", पाठक भन्छन्, "हामीले पत्रकारलाई सोसल मिडियामा यसो गर्नुस्, त्यसो नगर्नुस् भनेर अहिलेसम्म लिखित नियम बनाएर कार्यान्वयन गरिसकेका छैनौँ, तर मस्यौदा बनाउन केही गृहकार्य भने भएको छ ।"
के हुन्छ सोसल मिडिया नीतिमा ?
सोसल मिडियाले सम्भावित जोखिम ल्याउन सक्ने भन्दै द न्युयोर्क टाइम्सले सामाजिक सञ्जालसम्बन्धी नीति तयार गरेको छ । उक्त नीति त्यहाँ कार्यरत सबै पत्रकारले पालना गर्नुपर्छ ।
“हामीले सधैँ स्पष्ट गरेका छौँ कि न्युजरूमका कर्मचारीहरूले तटस्थता र निष्पक्षताको लागि हाम्रो प्रतिष्ठालाई हानी पुर्याउने कुनै पनि कुरा सोसल मिडियामा पोस्ट गर्नबाट जोगिनु पर्छ”, द न्यूयोर्क टाइम्सको नीतिमा उल्लेख छ ।
त्यस्तै बीबीसीले सामाजिक सञ्जालमा व्यक्तिगत र 'आधिकारिक' खातालाई कसरी बुझिन्छ भन्ने बीचमा कुनै भिन्नता नरहेको भन्दै सचेत रहन भनेको छ ।
“बिबिसीका लागि काम गर्ने जो कोही पनि अफलाइन र अनलाइन हुँदा (सामाजिक सञ्जालमा समेत) उनीहरू संस्थाका प्रतिनिधि हुन्,” बिबीसीको सामाजिक सञ्जाल सम्बन्धी नीतिमा भनिएको छ ।
वासिङ्टन पोस्टले पनि आफ्नो सम्पादकीय नीतिमा पत्रकारले सोसल मिडिया कसरी चलाउने भनेर उल्लेख गरेको छ ।
पब्लिक मिडिया अलायन्सले दक्षिण अफ्रिकाका मिडियाकर्मी र पत्रकारका लागि निर्माण गरेको यो निर्देशिका नेपालका समाचार कक्षहरूका लागि पनि उपयोगी हुन सक्छ ।