- चिरञ्जीवी मास्के -
हुलाक सेवालाई विश्वको इतिहासमा सञ्चारको भरपर्दो माध्यमका रूपमा परिभाषित गरिँदै आएको छ । प्रविधि विकास नभएको अवस्थामा हुलाक सेवाले पारिवारिक, राजनीतिकलगायत हरेक सूचना आदान–प्रदान गर्दै आएको विगत छ ।
सन् १६६० मा संयुक्त अधिराज्य (बेलायत)का तत्कालीन राजा चाल्र्स द्वितीयले जनरल पोस्ट अफिस स्थापना गरेपछि हुलाक सेवा सुरु भएको मानिन्छ । नेपालमा पनि हुलाक सेवाको इतिहास लामो छ । विक्रम संवत् १९३५ मा तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहले चिट्ठीपत्रमार्फत खबर आदान–प्रदान गर्ने उद्देश्यले हुलाक घरको स्थापना गरी हुलाक सेवाको सुरुवात गरेको पाइन्छ । नेपालले सन् १९७४ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्वमा नेपालको हुलाक सेवा विस्तार भएको देखिन्छ ।
नेपालको सन्दर्भमा विगतदेखि अहिलेसम्म पनि हुलाक सेवाले चिट्ठीपत्र तथा पुलिन्दा सम्बन्धित ठाउँमा पु¥याउने, निर्धारित समयमै हुलाक टिकट प्रकाशन गर्ने, धनादेश तथा हुलाक बचत बैङ्क व्यवस्थापन गर्नेलगायतका सीमित काममात्र गर्दै आएको छ ।
प्रविधिको विकाससँगै आमनागरिकको इमेल, इन्टरनेट, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा पहुँच वृद्धि भएपछि अहिले हुलाक सेवा प्रयोग कम हुँदै गएको छ । त्यसैले देशका सबै जिल्लाको सदरमुकाममा मात्र होइन पालिका, वडा र टोल तहसम्म गरी करिब चार हजार कार्यालय र झन्डै १७ हजार कर्मचारी रहेको हुलाक सेवालाई नयाँ परिवेशअनुसार रूपान्तरित कार्ययोजनासाथ अगाडि बढाउनुपर्ने देखिएको छ ।
विगतमा सञ्चारको मुख्य माध्यम बनेको हुलाकमा दैनिक सयौँ चिट्ठीपत्र आउने गथ्र्याे र ती पत्रहरूलाई निर्धारित समयावधिमै सरोकारवाला प्रापकसम्म पुर्याउने चुनौती कर्मचारीमा रहने गर्थ्यो । तर, अहिले हुलाक कार्यालय तथा विभिन्न सहरको पायक पर्ने स्थानमा राखिएको पत्रमञ्जुषा खाली रहने गरेको छ भने हुलाक कार्यालय सुनसानप्रायः देखिन्छन् । पढ्नुस् चिरञ्जीवी मास्केको गोरखापत्रमा प्रकाशित लेख