द एशिया फाउण्डेशनले च्यालेन्ज फण्ड अवधारणाका लागि आह्वान गरेको छ । फाउण्डेशनले युएसएआईडी नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत तीन फरक विषयमा च्यालेन्ज फण्ड घोषणा गरेको हो ।
यो कार्यक्रम महिला, युवा तथा सीमान्तकृत समुदायको नेतृत्वमा रहेका वा उनीहरूका लागि सक्रिय संस्था, समूह वा सञ्जाल लक्षित रहेको फाउण्डेशनले जनाएको छ । घोषित कार्यक्रमअनुसार 'सबल र समावेशी मिडिया च्यालेन्ज फण्ड', 'जवाफदेही, उत्तरदायी र समावेशी शासन च्यालेन्ज फण्ड' र साँस्कृतिक सम्बन्धक च्यालेन्ज फण्डका लागि योग्य संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थाले तीनमध्ये कुनै एक वा एकभन्दा बढी च्यालेन्ज फण्डका लागि आवेदन दिन पाउँछ । २०८१ जेठ २० गतेभित्र संक्षिप्त अवधारणा पठाउनुपर्ने छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा सञ्चालित युएसएआईडी नागरिक समाज र सञ्चार (सीएसएम) पाँच वर्षे परियोजना हो । सन् २०२२ मा सुरु भई लुम्बिनी र मधेश प्रदेशमा सञ्चालित यो कार्यक्रम सन् २०२७ सम्म चल्नेछ ।
प्याक्टसँगको सहकार्यमा द एशिया फाउण्डेशनद्वारा सञ्चालित ‘सीएसएम’ कार्यक्रमले महिला, युवा तथा सीमान्तकृत समुदायका निम्ति र नेतृत्वमा सक्रिय नागरिक समाज र मिडियालाई सहयोग गर्दै सार्वजनिक चासो, आधारभूत स्वतन्त्रता र जवाफदेहिता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
"युएसएआईडी सीएसएम कार्यक्रमले आफ्नो लक्ष्यसँग मिल्दोजुल्दो विषयमा विभिन्न संस्था, समूह वा सञ्जाललाई च्यालेन्ज फण्ड उपलब्ध गराउँछ", आह्वानमा भनिएको छ, "स्थानीय मुद्दालाई स्थानीय तवरमै सम्बोधन गर्ने नवीन एवं रचनात्मक सोचमा आधारित नतिजामुखी कार्यक्रमको कार्यान्वयनका लागि अनुदान उपलब्ध गराउनु च्यालेन्ज फण्डको उद्देश्य हो ।"
'सबल र समावेशी मिडिया च्यालेन्ज फण्ड',
घोषित कार्यक्रमअनुसार पहिलो कोष 'सबल र समावेशी मिडिया च्यालेन्ज फण्ड (Media Sustainability, Diversity and Inclusion (SDI) Challenge Fund)' हो । यो फण्ड मिडिया क्षेत्रमा केन्द्रित छ ।
"नेपाली मिडियाले विभिन्न चुनौती सामना गरिरहेको छ । स्रोतहरूको सीमितताका कारण सञ्चार गृहलाई व्यावसायिक रूपमा टिक्न कठिन भइरहेको छ । समाचार कक्षलाई समावेशी बनाउन र समाचारको विषयवस्तुलाई विविधिकरण गर्दै महिला, युवा र सीमान्तकृत समुदायका मुद्दा उठान गर्नमा पनि मिडियाले विभिन्न चुनौती खेपिरहेको छ", आह्वानमा भनिएको छ, "मिडिया र नागरिक समाजबीच पनि प्रभावकारी सहकार्य हुनसकेको छैन, जसकारण यी दुईले समन्वयनात्मक रूपमा पहल र पैरवी गर्दै सार्वजनिक चासो, आधारभूत स्वतन्त्रता र जवाफदेहिता प्रवर्द्धन गर्न सकिरहेका छैनन् ।"
यी चुनौती सम्बोधन गर्ने खालका नवीन, रचनात्मक र नतिजामुखी कार्यक्रम कार्यान्वयन गर्न विभिन्न संस्थालाई सहयोग पुऱ्याउने उद्देश्यले सबल र समावेशी मिडिया च्यालेन्ज फण्ड घोषणा गरिएको फाउण्डेशनले जनाएको छ ।
यो च्यालेन्ज फण्ड प्राप्त गर्न इच्छुक र आवश्यक मापदण्ड पुगेका संस्थाले मिडियाको सबलीकरण र समावेशितासँग जोडिएका चुनौती स्पष्टसँग उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने नवीन, रचनात्मक र नतिजामुखी कार्यक्रमको संक्षिप्त अवधारणा प्रस्तुत गर्नुपर्ने आह्वानमा भनिएको छ ।
कसरी पठाउने अवधारणा ?
अवधारणा तीन तरिकाले पठाउन मिल्छ । पहिलो, दुई पृष्ठमा अट्ने गरी अवधारणा लेखेर [email protected] मा पठाउन सकिन्छ । दोस्रो, आफ्नो भनाइ रेकर्ड गरी बढीमा तीन मिनेटको अडियो वा भिडियो गुगल ड्राइभमा राखेर त्यसको लिंक [email protected] मा पठाउन सकिन्छ । अडियो वा भिडियो बनाउँदा सम्पादन गरेर थप परिष्कृत बनाउन आवश्यक नरहेको तर अडियोमा आवाज र भिडियोमा दृश्य र आवाज स्पष्ट हुनुपर्ने आह्वानमा उल्लेख छ । तेस्रो, अनलाइन फर्म भरी फर्ममा भएको अडियो वा भिडियोमा क्लिक गरेर आफ्नो अवधारणा पठाउन सकिन्छ ।
लिखित वा अडियो/भिडियोमार्फत् पठाइएको अवधारणामा दुई प्रश्नको उत्तर स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ । पहिलो, यस च्यालेन्ज फण्डमार्फत सम्बोधन गर्न खोजिएको मिडियाको व्यावसायिकता र समावेशितासँग सम्बन्धित चुनौती के हुन् ? दोस्रो, यी चुनौती सम्बोधन गर्न प्रस्तावित नवीन, रचनात्मक एवं नतिजामुखी पहलहरू के हुन् ?
को हुन सक्छन् आवेदक?
विधिवत दर्ता भएका नागरिक समाज संस्था (CSOs), गैर-सरकारी संस्था ( NGOs ) र नाफा वितरण नगर्ने संस्था (non-profit organizations) हरू यो फण्डमा आवेदन दिन योग्य रहेको फाउण्डेशनले जनाएको छ । तर आवेदकसँग मिडिया विकास कार्यक्रम सञ्चालन गरेको अनुभव, क्षमता र विशेषज्ञता हुनुपर्छ भने लुम्बिनी र मधेश प्रदेशमा स्थानीय सञ्चार गृहसँग सहकार्य गरिसकेका वा गर्नसक्ने सम्भावना भएको हुनुपर्नेछ ।
मूल्याङ्कनका मापदण्ड
फाउण्डेशनले मूल्याङ्कनका चार मापदण्ड पनि खुलाएको छ । पहिलो, अवधारणामा प्रस्तुत चुनौतीको गाम्भीर्यता, सान्दर्भिकता र स्पष्टता । दोस्रो, ती चुनौती समाधान गर्ने पहल वा उपायको नवीनपना र रचनात्मकता । तेस्रो, समाधानका उपाय कार्यान्वयन हुने र ठोस नतिजा प्राप्त हुने सम्भावना । र, चौँथो, प्रस्तुत अवधारणामा महिला, युवा तथा सीमान्तकृत समुदायका सदस्यको नेतृत्वदायी सहभागिता ।
मापदण्डअनुरूप छनोट भएका अवधारणापछि पूर्ण आवेदन प्रक्रिया सुरु हुनेछ । त्यस क्रममा आफूले प्रस्तुत गरेका अवधारणालाई थप विकसित बनाउँदै विस्तृत प्रस्ताव पत्र पठाउने अवसर प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।