नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!

नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!

खबरहबबाट लिइएको फोटोमा कोलाज ।
  • श्रावण १५, २०८१ मंगलबार ०२:१४

कसरी एक व्यक्ति मिडियाको नजरमा 'महाठग' बाट 'महाराज' बने? विष्णु प्रपन्‍नाचार्य तथा बाल योगेश्वर नामहरूले चिनिने विजय भण्डारीको विवादास्पद यात्रा र नेपाली मिडियाको दोहोरो मापदण्डको कथा


यति बेला काठमाडौंमा चलिरहेको एउटा 'कोटिहोम' को चर्चा सर्वत्र छ । भर्खरै अनलाइनखबरमा सम्पादक बसन्त बस्नेतले लेखेका छन् - यहाँ [पशुपतिमा जारी कोटिहोममा] धर्म, परोपकार, आइटी सेक्टर, कर्पोरेट, संसदीय राजनीति सबै जोडिएको छ । बस्नेतको ‘कथा’को केन्द्रमा छन्- देवी प्रतिभा ।

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना ! शीर्षकको कथामा देवी प्रतिभालाई प्रसङ्ग बनाएर बस्नेत कथाहरूकै कथा भन्छन् । र, कथा भन्नेहरूमाथि लेख्छन्- ‘सबैले पत्याउने गरी कथा भन्न जसले सक्छ, त्यो माथि गयो, जसको कथावाचन क्षमता छैन, त्यो तलै रह्यो ।'

हामी पनि तपाईँलाई एउटा कथा भन्दैछौँ । तर यो देवी प्रतिभाको कथा होइन । यो त कोटिहोम लगाएर देवी प्रतिभालाई कथा भन्न बोलाउने विजय भण्डारीको कथा हो ।

सम्बन्धविच्छेद पाप भएको प्रतिभाको अभिव्यक्तिको सचेत आलोचना पनि सञ्जालमा भएकै छ ।  तर देवी प्रतिभासँगै कोटिहोममा अर्की कथावाचक पनि छन्- राधिका दासी, जो आफैँ ‘डिभोर्सी’ हुन् ।

पशुपतिको कोटिहोममा के भनिन् ‘देवी प्रतिभा’ले? शीर्षकमा उकालोमा नेहा शर्मा लेख्छिन्- प्रतिभाको वाचन सुन्दा लाग्थ्यो–ठूलो संघर्षले ल्याएका सबै समताका कानुन खारेज गर्दै मध्य युगीन धार्मिक कानुन स्थापित गर्नुपर्छ, फेरि ‘सतियुग’ फर्काउनुपर्छ। र त्यो मध्य युगीन ‘नर्क’ नै हाम्रो ‘धर्म’ हो । 

यो देवी प्रतिभा, राधिका दासी वा साउन १ देखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जारी कोटिहोमको कथा होइन । यो त पहिला नेपाली मिडियामा प्रशस्त चर्चा भएर अहिले 'न्युज रुम' हरूले 'न्युज भ्यालु' नदेखेका बाल योगेश्वरको कथा हो । बाल योगेश्वर अर्थात् विजय भण्डारी ।  

pratibha bal yogeshowr.jpg

बाल योगेश्वर भनिने विजय भण्डारी र देवी प्रतिभासँग भक्तजनहरू । फोटोः देवी प्रतिभाको फेसबुकबाट ।


०००

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा साउन १ गतेदेखि कोटिहोम जारी छ । मानव सेवा फाउण्डेशन लगायतका धार्मिक सङ्घसंस्थाको आयोजनामा हिन्दु धर्मालम्बीहरुको धार्मिक स्थल पशुपतिमा मासिक ज्ञान महायज्ञ २०८१ सुरु भएको हो । 

मानव सेवा फाउनण्डेशनका सञ्चालक विष्णु प्रपन्‍नाचार्य र बाल योगेश्वर नामहरूले पनि चिनिने [धर्मगुरु] विजय भण्डारी हुन् । 

भण्डारी धर्म प्रचारका लागि अमेरिका पठाउँछु भनेर ठगी गरेको अभियोगमा गत ०७१ साल भदौ ७ गते पक्राउ परेका थिए । पढ्नुस् अनलाइनखबरको समाचार 

विजय २०७६ साल २८ गतेदेखि असोज ११ गतेसम्म गुल्मी तथा सोही वर्ष माघ ११ देखि फागुन ११ सम्म चितवनमा भएको महायज्ञमा संकलित रकमसहित फरार भएका थिए । पढ्नुस् रातोपाटीहिमालयखबरमा प्रकाशित समाचार सामग्रीहरू

उनको ठगी धन्दाका विषयमा कान्तिपुर लगायतका मिडियाले समाचार सम्प्रेषण गरेका छन् । कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल साप्ताहिकले २०६९ भदौ २४ गते जनकराज सापकोटाको बाइलाइनमा 'महाठग महाराज' शीर्षकमा लामो समाचार सामग्री छापेको थियो ।

Kantipur.png

सापकोटा, रमेशकुमार पौडेल र घनश्याम गौतमको संयुक्त बाइलाइनमा २०७६ माघ ११ गते कान्तिपुरमा महाराज’को आवरणमा ठगी’  शीर्षकमा समाचार छापिएको थियो । दुई दिनपछि माघ १३ गते जनकराज सापकोटाकै बाइलाइनमा ‘महाराज’ विरुद्ध ठगी मुद्दाको चाङ  र माघ १७ गते ठग ‘महाराज’ को राजनीतिक साइनो  शीर्षकमा समाचार प्रकाशित छन् । कान्तिपुरले यही विषयमा २०७६ माघ १९ गते सम्पादकीय समेत लेखेको छ । 

यसअघि नेपाल लाइभ ले २०७६ असोज ८ गते धर्मको आवरणमा ठगी लुकाउँदै 'विष्णु प्रपन्नाचार्य', राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन शीर्षकमा समाचार छापेको थियो । 

यस्तै, अनलाइनखबरले पनि धर्म प्रचारका लागि अमेरिका पठाउँछु भन्दै ठग्ने ‘स्वामी’ पक्राउ शीर्षकको समाचारसँगै कान्तिपुर दैनिकको समाचार साभार गर्दै दर्जनौं व्यक्ति ठग्ने धर्मगुरु नाम बदलेर फेरि सक्रिय शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

रातोपाटीले पनि २०७६ भदौमा रिडी महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फरार शीर्षकमा समाचार लेखेको थियो । तर रातोपाटीले अहिले कोटिहोम’का लागि पशुपतिको कैलाश क्षेत्रमा खाल्डो खन्दा किन उठ्यो प्रश्न ? शीर्षकमा भण्डारी समूहको वक्तव्य जस्तो गरी समाचार प्रकाशन गरेको देखिन्छ । 

आर्थिकन्युज*ले माघ २०७६ मा उपराष्ट्रपतिलाई नै झुक्काउने यस्तो छ 'महाराज'को ठगी धन्दा शीर्षकमा समाचार लेखेको थियो । यो अनलाइन पनि अहिले 'महाराज'को महिमागानमा सीमित छ ।

यीसँगै खबरहब, देशसञ्चार, साँघु साप्ताहिक लगायतका मिडियाले पनि उनका विषयमा लेखेका थिए । 

'बाबा'को विवादित श्रृंखला जो मिडियाले बिर्सिए

विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै एक करोड २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं प्रहरी परिसर र तत्कालीन अपराध महाशाखामा उजुरी परेपछि भण्डारी २०७१ असोजमा पक्राउ परेका थिए । 

२०७३ मंसिर ६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो ।

त्यसअघि नै उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारको थुनामा थिए । केन्द्रीय कारागारका अनुसार ‘महाराज’ २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए ।

अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भए । जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै भण्डारी उच्च अदालत पाटन पुगेका थिए । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदिएको थियो । लामो बहसपछि न्यायाधीकरण कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । पढ्नुहोस् कान्तिपुरको समाचार 

अदालतको फैसला अनुसार उनी फरार अभियुक्त हुन् । तर, खुलेआम पशुपतिनाथ जस्तो धार्मिक आस्थाको केन्द्रमा महायज्ञ सञ्चालन गरिरहेका छन् ।

तर पहिले उनीबारे समाचार लेख्ने मिडिया अहिले करिब मौन छन् । २०६९ मा महाराजको ‘ठगी’को घटना उजागर गर्ने कान्तिपुर पनि अहिले चुप देखिन्छ । एकादुई बाहेक सबैजसो मिडिया महाराजको ठगी शृङ्खलाबारे मौन छन् । दियोपोस्टसाँघुन्यूज अपवाद हुन् । 

कान्तिपुरसँगै ‘पशुपतिमा महायज्ञ कोटिहोम सुरु’ शीर्षकका औपचारिक समाचारमा सीमित भएका नेपाली मिडिया 'कोटिहोम समापन' मा पुगेर टुङ्गिन्छन् वा पहिले आफूले कथेका/रचेका/खोजेका कथाहरू उधिन्छन्, त्यो थाहा पाउन अझ दुई साता पुरै बाँकी छ ।

किनभने बाल योगेश्वरको नेतृत्वमा जारी कोटिहोम साउन ३२ गतेसम्म चल्नेछ ।  


*सच्याइएको: यसअघि आर्थिकन्युज हुनुपर्नेमा आजको अर्थ भएकाले भुलसुधार गरिएको, अपडेट: 08:17PM, July 30, 2024.