माधव नेपालको पार्टीमा लेख्न-बोल्न रोक, विश्वमणिमाथि बर्साए डण्डा

माधव नेपालको पार्टीमा लेख्न-बोल्न रोक, विश्वमणिमाथि बर्साए डण्डा

  • माघ ४, २०८१ शुक्रबार ०२:०९

एमालेमा बोल्न नदिएको भन्दै विद्रोह गरेर बनेको नेकपा एसले आफ्नै नेतालाई लेख लेखेकै कारण स्पष्टीकरण सोधेको छ


तीन वर्षअघि नेकपा एमालेबाट विद्रोहगरी बनेको नेकपा एकीकृत समाजवादीको वेबसाइटमा 'पार्टी परिचय' पृष्ठमा पार्टी गठनको पृष्ठभूमिबारे भनिएको छ- "यो पार्टी तत्कालिन पार्टी नेकपा (एमाले) को नेतृत्व गुटमा देखिएको व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध विद्रोह गरेर गठन गरिएको पार्टी हो ।" 

तर यही पार्टीले नेतृत्वको आलोचना गरेको भन्दै एकजना जिम्मेवार नेतामाथि कारबाहीको डण्डा चलाएको छ । एक अनलाइनमा प्रकाशित लेखको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीले आफ्नै पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई स्पष्टिकरण सोधेको हो ।

सुवेदीले नेपालप्रेस डट कममा एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस? शीर्षकमा लेख लेखेका थिए । 

उक्त लेखमा अभिव्यक्त विचारलाई लिएर नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयको लेटरहेडमा सुवेदीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको उनले फेसबुकमा सार्वजनिक गरेको पत्रअंशबाट थाहा हुन्छ । 

"पेशागत हक, अधिकारका कुरा पार्टी प्रणालीमा आधारित भएर गरौं भनेर, अनि सत्य र निष्ठाको पक्षमा माधव नेपाल उभिए भनेर चलाएको 'विद्रोह'मा पनि आखिर चाकर र दासकै खोजी हुने रहेछ", आफूलाई स्पष्टीकरण सोधिएको जानकारीसहित सुवेदीले फेसबुकमा असन्तुष्टि पोखेका छन् ।  

eb5c0c42-b026-432b-977a-a3f9992ca550.jpeg

सुवेदीलाई सोधिएको स्पष्टीकरणको बेहोरा । 


सुवेदी २०७८ भाद्र २ गते नेकपा एमालेबाट फुटेर बनेको माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग पूर्वसदस्य एवं पूर्व केन्द्रीय परिषद सदस्य हुन् । हाल उनी नेकपा एसको पत्रकारहरूको समाजवादी प्रेस संगठनका अध्यक्ष छन् । 

तीन वर्षअघि नेकपा एमालेमा अभिव्यक्ति स्वतन्त्रता नभएको र चाकरी प्रवृत्ति हावी भएको भन्दै विद्रोह गरेको स्मरण गर्दै सुवेदीले अहिले आफ्नै पार्टीले विचार अभिव्यक्त गरेकै कारण स्पष्टिकरण सोधेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

लेखमा सुवेदीले नेकपा एसका नेताहरूको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीभित्रका केही नेताहरूलाई 'कबाडी'को संज्ञा दिएका छन् । साथै, कांग्रेस र माओवादी केन्द्रले नेकपा एसलाई केवल मोहराको रूपमा प्रयोग गरिरहेको टिप्पणी पनि उनले लेखमा गरेका छन् ।

"अब म कुन मुखले भनौं, त्यहाँ दास छन्, यहाँ विवेक र चेतनाले लागेका मान्छे छौं भनेर?" सुवेदीले फेसबुकमा प्रश्न गरेका छन्, "त्यहाँ चाकर छन्, दास छन्। लेख्न र बोल्न बर्जित छ भनेर विद्रोह गर्‍यौं, तर आज आफ्नै पार्टीले लेखेबापत स्पष्टिकरण सोधेको छ।"

सुवेदीले आफू गलतलाई गलत र सहीलाई सही भन्ने क्रममा निरन्तर लेखिरहने बताएका छन् । पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको यो कारबाहीले नेकपा एसको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठेको छ । 

केही समयअघि नेकपा एमालेले विवादित व्यापारीबाट दान लिएको जग्गा फिर्ताको माग गर्ने नेताहरूलाई पार्टीबाट निस्कासन गर्नेसम्मका कारबाही गरेको थियो । एमालेमा बोल्नेहरूमाथि ओलीको डण्डा एमालेमा बोल्नेहरूमाथि ओलीको डण्डा


Related Story

एमालेमा बोल्नेहरूमाथि ओलीको डण्डा

विवादित व्यापारीबाट दान लिएको जग्गा फिर्ताको माग गर्ने नेताहरू अध्यक्ष ओलीको पछिल्लो निशानामा परेका छन् गत असोज २५ गते प्रधानमन्त्री तथा