भ्लगका नाममा भल्गारिटीः राइड सेयरिङमा महिलाहरूमाथि बढ्दो दुर्व्यवहार

भ्लगका नाममा भल्गारिटीः राइड सेयरिङमा महिलाहरूमाथि बढ्दो दुर्व्यवहार

  • माघ १५, २०८१ मंगलबार २२:५३

राइड सेयरिङमा महिला यात्रुको गोपनीयता र सुरक्षा जोखिममा


एक महिना अघिको घटना हो । ठमेलको सिनेट क्लब नजिक एक राइडर यात्रु कुरिरहेका हुन्छन् । यात्रु कुरिरहेका उनी भ्लग पनि बनाइरहेका हुन्छन् । उनको हेलमेटमा गोप्रो क्यामेरा जोडिएको छ । त्यसैबाट उनी भिडियो खिचिरहेका छन् । 

त्यतिखेरै दुई जना युवती त्यहाँ आइपुग्छन् । ती युवतीहरू उक्त भ्लगमा देखिन्छन् । मदिरा सेवन गरेजस्तो देखिने एक युवतीले ती राइडरलाई भ्लग किन बनाइरहेको भनी प्रश्न गर्छिन् । ती युवतीले राइडरले अघिल्लोपटक पनि आफ्नो भिडियो बनाएको भन्दै प्रतिरोध गर्छिन् । उनीहरूबीच लामो समय वादविवाद हुन्छ । 

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । प्रतिक्रियामा धेरैले ती युवतीहरूको व्यवहारको आलोचना गर्छन् । मदिरा सेवन गरेर अनावश्यक झगडा गर्न आएको भन्दै उनको विरोध हुन्छ । मदिरा सेवन गरेर कसैलाई गालीगलौज गर्नु गलत हो। तर, यो घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ - यात्रुको गोपनीयताको अधिकार ।

युवतीहरूले गरेको "भ्लग किन बनाएको?" भन्ने प्रश्नले राइड सेयरिङमा यात्रुको गोपनीयता उल्लङ्घन भइरहेको प्रष्ट पार्छ । पछिल्लो समय सार्वजनिक भएका घटनाहरूले यस्तो प्रवृत्ति बढ्दै गएको देखिन्छ । 

राइड सेयरिङमा भ्लगिङको प्रवृत्ति

नेपालमा अनलाइन राइड सेयरिङ सेवा प्रदान गर्ने दुई प्रमुख कम्पनी छन् - पठाओ र इनड्राइभ । यी दुवै कम्पनीमा हजारौं राइडरहरू आबद्ध छन् । धेरैजसो राइडरले दुवै कम्पनीमा आफ्नो अकाउन्ट बनाएका छन् । यी बाहेक नेपालमा अहिले टुटल, जुमजुम, सजिलो राइडर लगायतका राइड सेयरिङ एप सञ्चालनमा छन् । 

पछिल्लो समय राइडरहरूमा भ्लग बनाउने प्रवृत्ति बढेको छ । उनीहरूले हेल्मेटमा गोप्रो राख्ने र यात्रा गराउँदा गराउँदै यात्रुसँग कुराकानी गर्दै भिडियो खिच्ने गरेका छन् ।

यस्ता भिडियो उनीहरू युट्युब लगायतका प्लेटफर्ममा राख्छन् । तर कतिपय राइडरहरूले अश्लील शीर्षक र थम्बनेल राखेर भिडियो सार्वजनिक गरेको भेटिएको छ । यसरी यात्रुको अनुमतिबिना भिडियो खिच्ने र त्यसलाई अश्लील तरिकाले प्रस्तुत गर्ने राइडरहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

Untitled design (5).png

राइडरहरूले युट्युबमा राख्ने भिडियोमा विभिन्न किसिमका विषयवस्तु समेट्ने गरेका छन् । केही राइडरहरूले ठमेलको रात्रिकालीन गतिविधिको भिडियो बनाउने गरेका छन् । 

स्पा व्यवसायमा कार्यरत महिलाहरूसँग अनावश्यक र अश्लील प्रश्नहरू सोध्ने, उनीहरूको व्यक्तिगत जीवनबारे खोजीनीति गर्ने र त्यस्ता कुराकानीलाई सनसनीपूर्ण शीर्षक र थम्बनेलसहित सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् । यस्ता भिडियोहरूमा व्यक्तिको गोपनीयता र मर्यादामा आँच आउने खालका सामग्रीहरू समावेश गरिएको स्पष्ट देख्न सकिन्छ ।  

यात्रुको गोपनीयता र मर्यादाको खिल्ली 

यस्ता भिडियो बनाउने राइडरहरूले प्रयोग गर्ने शीर्षक र थम्बनेलहरूको प्रकृति हेर्दा यात्रुको गोपनीयता र मर्यादाको खिल्ली उडाएको स्पष्ट छ । 

युट्युबमा 'सुनुवार मोटो' नामक च्यानलमा राखिएका भिडियोहरूमा महिला यात्रुहरूको कोठामा गएको र विभिन्न अनैतिक प्रस्तावहरू गरेको जस्ता शीर्षकहरू राखिएका छन् । त्यस्तै, 'जीसिआर भ्लग नेपाल' नामक अर्को च्यानलमा पनि महिला यात्रुहरूसँग भएका कुराकानीलाई अश्लील र सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। 

यी दुई युट्युब च्यानल उदाहरण मात्र हुन्, भ्लगका नाममा यस्ता अनेकौँ च्यानलहरू युट्युबमा छन् । 'गर्‍यो भने त जे पनि मिल्छ', '५ हजारमा अफर', 'मेरो घरमा आउनु', 'प्यासेन्जरको कडा अफर', 'छाडा केटीसँग मध्यरातमा' यस्तै यस्तै आपत्तिजनक शीर्षकहरू र थम्बनेलहरू राखेर भिडियोहरू अपलोड भएका छन् ।

Untitled design (4).png

यस्ता भिडियोहरूमा यात्रुलाई पैसाको प्रलोभन देखाउने, एकान्त स्थानमा जान प्रस्ताव गर्ने र अन्य आपत्तिजनक व्यवहारहरू समावेश गरिएका छन् ।

राइड सेयरिङमा महिला यात्रुको सुरक्षा चुनौतीपूर्ण बनेको यस्ता घटनाहरूले देखाउँछन् । माघ २ गते मुग्लिनबाट काठमाडौँ आउने क्रममा एन्जिला खनाल नामकी युवतीले एक गम्भीर दुर्व्यवहारको सामना गर्नुपर्‍यो । 

इनड्राइभ मार्फत यात्रा गरिरहेकी खनाललाई राइडरले बाटोमै एकान्त स्थानमा रोक्ने र भाडा नलिने प्रस्ताव गरे । यो आपत्तिजनक व्यवहारपछि खनालले टिकटक मार्फत आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरिन् । यसपछि जिल्ला प्रहरी कार्यालय काठमाडौँले चितवन घर भएका राइडर प्रविन बराललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

राइड सेयरिङ सेवामा महिला यात्रुको सुरक्षा र गोपनीयताको विषय जति गम्भीर छ, त्यति नै यस्ता घटनाहरूले कम्पनीको सुरक्षा मापदण्ड र नियमनको प्रभावकारिता माथि समेत प्रश्न खडा गरेका छन्।

दुर्व्यवहारको घटना सार्वजनिक भएपछि दुवै राइड सेयरिङ कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् । पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले एक भिडियो मार्फत कम्पनीको धारणा सार्वजनिक गरे । उनका अनुसार कम्पनीले यौन दुर्व्यवहारका घटनामा कडा नीति अपनाएको छ । 

यस्ता घटनाको रिपोर्ट प्राप्त हुनासाथ सम्बन्धित राइडरको अकाउन्ट निलम्बन गरी अनुसन्धान प्रक्रिया सुरु गरिने उनले बताएका छन् । यदि दुर्व्यवहार प्रमाणित भएमा राइडरलाई तत्काल निष्कासन गरी कानुनी कारबाहीका लागि प्रहरीलाई सिफारिस गर्ने बस्नेतको भनाइ छ । 

इनड्राइभका क्षेत्रीय निर्देशक मार्क टलीले प्रयोगकर्ताले भोगेको हालैको घटनाप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन् । उनले आफ्ना सेवाग्राहीहरूमाथि गरिने आपत्तिजनक, दुर्व्यवहारपूर्ण वा गैरकानुनीजस्ता कुनै पनि कार्यप्रति शुन्य सहनशीलताको नीति कायम राखेको बताएका छन् । 

सुरक्षा निर्देशिका छैन, भए पनि कार्यान्वयन छैन

इनड्राइभले आफ्नो सेवा प्रयोगका लागि विस्तृत नीति तथा निर्देशिका तयार पारेको छ । यस नीतिमा राइडर र यात्रुबीचको सम्वादसम्बन्धी स्पष्ट मापदण्ड तोकिएको छ ।

कम्पनीको नीतिअनुसार राइडर र यात्रुबीच हुने कुराकानी केवल यात्रा र सेवासँग सम्बन्धित विषयमा मात्र सीमित हुनुपर्छ । यात्रुसँग यात्रा र सेवाभन्दा बाहिरका विषयमा गरिने कुनै पनि किसिमको संवादलाई दुर्व्यवहारको रूपमा लिइने र त्यस्तो कार्य गर्ने राइडरको अकाउन्ट निलम्बन गर्नसक्ने प्रावधान पनि नीतिमा समावेश गरिएको छ ।

यी नीतिहरू भए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । राइडरहरूले इनड्राइभको नीतिको खुलेआम उल्लंघन गरिरहेका छन् तथा यात्रुसँग अनावश्यक र अश्लील संवाद गर्ने र त्यस्ता कुराकानीलाई भिडियो बनाएर युट्युबमा समेत सार्वजनिक गरिरहेका छन् । यसले कम्पनीको नीति कागजमा मात्र सीमित रहेको देखाउँछ । 

यसैगरी, अर्को प्रमुख राइड सेयरिङ कम्पनी पठाओको स्थिति अझै चिन्ताजनक देखिन्छ । कम्पनीको वेबसाइटमा यात्रु सुरक्षा वा सेवा प्रयोगसम्बन्धी कुनै पनि नीति वा मापदण्ड देखिनेगरी राखिएको छैन । तर गुगल गर्दा भने भित्र कतै भेटिन्छ । र, उसले त्यहाँ भनेको छ- हामी दुर्घटना, क्षति वा अरु कुनै पनि कुराको जिम्मा लिँदैनौ, सम्बन्धित व्यक्ति वा पक्षले त्यसको जिम्मा लिनुपर्छ । 


तपाईँसँग पनि राइड सेयरिङका यस्ता अनुभव छन् ? [email protected] मा इमेल गरी हामीसँग बाँड्नुहोस् । 


Related Story

मिडिया समेत जोडिएको वैयक्तिक गोपनीयताको मुद्दाले माग गरेको बहस

गृह मन्त्रालयमा रहेका वैयक्तिक गोपनीयताका विषय मिडियामा दिएको भन्दै सरकारलाई कानुनी चुनौती, प्रेस स्वतन्त्रता र गोपनीयताको सीमा कति ? कुनै पनि

युट्युबर जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

कोठाभित्र रङ्गेहात भेटिए स्मृति र साजन, पेटको बच्चा फालेको हो/होइन? भोजराजले खोजीखोजी यसरी भेटे’ युट्युबर भोजराज थापालाई पछ्याउनुहुन्छ भने पक्कै हेरेको

Safeguarding Privacy In The Digital World

Harsha Man Maharjan Many scholars have said in the virtual world, people make public many issues that they before a decade