एकै मञ्चमा गुरु-शिष्यका पुस्तक

एकै मञ्चमा गुरु-शिष्यका पुस्तक

  • फाल्गुण २०, २०८१ मंगलबार ००:४५

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको 'क्यामेरा भवन' । सोमबार बिहानको एक विशेष क्षण । गुरु र शिष्य, दुई पुस्ताका विद्वत् लेखकहरूका पुस्तक एकै दिन, एकै मञ्चमा लोकार्पण हुँदै थिए ।

विभागका संस्थापक प्रमुख प्रा. पी. खरेलको पुस्तक 'डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर: बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स' र विभागकै उपप्राध्यापक डा. श्रीराम पौडेलको पुस्तक 'नेपालमा आमसञ्चार: समाचार र गैर-समाचार मिडियाको नालीबेली' एकैसाथ सार्वजनिक गरिए । खरेलको पुस्तक अंग्रेजी भाषामा छ भने पौडेलको पुस्तक नेपालीमा । 

गत वर्ष रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसबाट आफ्नै सुविधासम्पन्न क्यामेरा भवनमा सरेको त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा सोमबार बिहानको यो जमघट किन पनि विशेष भयो भने यहाँ नेपालको मिडिया शिक्षा र पत्रकारिताका तीन पुस्ता सँगै थिए ।   

kharel sir book.jpgप्राध्यापक पी. खरेलको नयाँ पुस्तक 'डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर: बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स' को लोकार्पण त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, लेखक प्राध्यापक खरेल, डा. टंक उप्रेती र विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलले संयुक्त रुपमा अनावरण गरे । 

WhatsApp Image 2025-03-03 at 5.36.56 PM.jpegपुस्तक लोकार्पण पछि त्रिविका शिक्षाध्यक्ष प्रा.डा. केसीले आफ्ना लागि पनि खरेलको पुस्तकका विषय नयाँ भएको बताए। अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक केसी, पुस्तकको उपशीर्षक 'बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स' ले आफूलाई आकर्षित गरेको बताउँदै थिए।

यसको अर्थ नेपाल र नेपालबाहेक अन्यत्र पनि भन्ने सन्देश थियो। अर्थात् खरेलको पुस्तक 'डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर' ले लोकतान्त्रिक मूल्य-मान्यता र प्रक्रियाहरूमा आएका विचलन र सञ्चार माध्यमहरूमाथि राजनीतिक, व्यावसायिक वा अन्य स्वार्थी समूहले गरेको विश्वव्यापी नियन्त्रणलाई विमर्शको विषय बनाएको छ । र, यो प्रक्रिया संसारभरी कसरी चलिरहेको छ भन्नेबारे पुस्तकमा विस्तृत रूपमा चर्चा गरिएको यसको विषयसूचीले देखाउँछ।

अंग्रेजी भाषामा लेखिएको पुस्तकमा ८ अध्याय समावेश छन् । पुस्तकमा लोकतन्त्रमा सञ्चारको भूमिका, मिडिया नियन्त्रण, मिथ्या सूचना र दुष्प्रचार र समकालीन पत्रकारिताका विविध आयामहरूको विश्लेषण गरिएको छ। २८३ पृष्ठको यो पुस्तक मण्डप पब्लिकेशन हाउसले प्रकाशित गरेको हो।

शिक्षाध्यक्ष केसीले प्राध्यापक खरेलको लेखकीय सक्रियता र लगनशीलताले अन्य शिक्षकहरूलाई समेत प्रेरणा दिएको बताए । उनले प्राध्यापन पेशामा खरेल एक 'आइकन' रहेको उल्लेख गर्दै यस पुस्तकले प्राज्ञिक अध्ययन र अध्यापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

khadga kc.jpg

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. केसी ।


पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित भएको बताउँदै उनको नयाँ पुस्तक पाठकहरूका लागि प्रेरणादायक हुने बताए ।

लेखक प्राध्यापक खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा समर्पित रहेको बताए । उनले आफूलाई मन पर्ने पुस्तकहरूको अध्ययन गर्ने र विचारहरू प्रवाह गर्न नियमित रूपमा लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उल्लेख गरे । पुस्तकले पाठकहरूलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास खरेलले व्यक्त गरे ।

प्राध्यापक खरेल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक प्रमुख हुन् र उनले तीन दशकभन्दा बढी समय त्रिविमा सेवा गरेका छन् । उनी हाल विभागमा एमफिल-पीएचडी कार्यक्रममा अध्यापनरत छन् ।  

खरेलले सञ्चार र आमसञ्चारका विविध पक्षहरूमा २० भन्दा बढी पुस्तकहरू लेखेका छन् । उनले आफ्नो करियर द राइजिङ नेपाल दैनिकमा सब-एडिटरको रूपमा सुरु गरेका थिए र पछि सन्डे डिस्प्याच र द राइजिङ नेपालको प्रधान सम्पादक भएका थिए । खरेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा ३,५०० भन्दा बढी लेखहरू प्रकाशित गरेका छन् ।

Kharel sir and Lal Aire.jpeg

कार्यक्रममा उपस्थित आफ्ना विद्यार्थी र सहकर्मीहरूलाई पुस्तकमा शुभेच्छा सन्देश लेख्दै हस्ताक्षर गर्न व्यस्त रहेका 'खरेल सर' त्यही क्षण कक्षाकोठामा झैँ सिकाउने काममा पनि सक्रिय भइरहेकै थिए । प्रा. खरेलसँग गोरखापत्र संस्थानका महाप्रबन्ध समेत रहेका विभागका विद्यार्थी लाल ऐरी । 


"नाफालाई जनताभन्दा अगाडि राख्ने र व्यावसायिक हितलाई सार्वजनिक विश्वसनीयताभन्दा प्राथमिकता दिने प्रवृत्तिले मिडियालाई स्वार्थी समूहहरूद्वारा क्याप्चर हुने अवस्था सिर्जना गर्छ," पुस्तकको ब्याक कभरमा उल्लेख छ, "आफूलाई उन्नत लोकतान्त्रिक भन्ने सरकारहरू समेत व्यक्ति, प्रख्यात व्यक्तित्वहरू, मिडिया संस्था र व्यापारिक घरानाहरूलाई आफ्नो स्वार्थपूर्तिका लागि फसाउन अनैतिक माध्यमहरू प्रयोग गर्न हिच्किचाउँदैनन् ।"

खरेलको पुस्तक लोकार्पण लगत्तै हाल पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलको पुस्तक 'नेपालमा आमसञ्चारः समाचार र गैर-समाचार मिडियाको नालीबेली' सार्वजनिक गरियो । 

Dr, shree ram poudel.jpg

पौडेल दुई दशकभन्दा बढी समय नेपाली पत्रकारिताका सबै स्वरुप (छापा, रेडियो, टेलिभिजन र अनलाइन) मा निर्णायक तहमा रहेर काम गरेका अनुभवी व्यक्तित्व हुन् । 

पौडेलको पुस्तकमा नेपालमा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको प्रारम्भ र विकासका सम्बन्धमा विस्तृत जानकारी समेटिएको छ । पुस्तकमा विविध स्वरूप र प्रविधिको प्रयोगमाथिको राजनीतिक-सामाजिक-सांस्कृतिक प्रभावअनुसार विकसित नीतिगत र कानुनी प्रावधानहरूको चर्चा गरिएको छ । यसका साथै वृत्तचित्र र चलचित्र जस्ता विस्तारित पत्रकारिताका आयामहरू पनि पुस्तकमा समेटिएका छन् ।

पौडेल लिखित पुस्तक केही समयमै पाठकको हात पर्ने मण्डप पब्लिकेसन्सका राजकुमार गजुरेलले जानकारी दिए ।