पत्रकार सुरेश रजकको मृत्युः तीनकुने घटनाको मिनेट-मिनेटको विश्लेषण | VISUAL INVESTIGATIONS

पत्रकार सुरेश रजकको मृत्युः तीनकुने घटनाको मिनेट-मिनेटको विश्लेषण | VISUAL INVESTIGATIONS

  • श्रावण ३, २०८२ शनिबार १२:२६

गत वर्ष चैतमा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन कसरी आगजनीमा परिणत भयो र पत्रकार सुरेश रजकको ज्यान गयो ? मिडिया कुराकानीले यो दृश्य अनुसन्धानले उक्त त्रासदीपूर्ण घटनाको मिनेट मिनेटको विश्लेषण गरेको छ ।

२०८१ चैत १५ गते शुक्रबार । दिउँसो १ बजेर ५३ मिनेट । तीनकुनेस्थित मार्बल हाउसको दोस्रो तलाको झ्यालमा पहिलोपटक ढुंगा प्रहार हुन्छ । झ्यालमा लगातार पाँच मिनेटसम्म ढुंगा प्रहार हुन्छ ।

२ बजेर २४ मिनेटमा पहिलो तलामा आगो देखिन्छ । त्यसको ६ मिनेटमा दोस्रो तलामा आगो दन्किन्छ र मुस्लो तेस्रो तलासम्म पुग्छ ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक यतिबेला यही भवनभित्र थिए । उनी भवनभित्रबाट बाहिर सडकमा र भवन भित्रै पनि प्रदर्शनकारीका गतिविधिको भिडियो खिचिरहेका थिए ।

हामीले विभिन्न सामजिक सञ्जाल (फेसबुक, एक्स, टिकटक, युट्युब) मा भेटिएका तीनकुने घटनासँग सम्बन्धित २०० भन्दा बढी भिडियो फुटेजहरू भेला गर्‍यौँ । कतिपय दोहोरिएका भिडियोहरूलाई काटछाँट गर्‍यौँ र छानिएका फुटेजहरू विस्तृतमा हेर्‍यौँ । 

हामीले सामाजिक सञ्जालमा खोजेका भिडियोलाई स्रोतहरूबाट प्राप्त ओरिजिनल फोटो र भिडियोहरूसँग जुधाएर घटना घटेको समय र घटना विवरण पुष्टि गर्‍यौँ ।

प्राप्त भिडियोहरूलाई १ बजेर ५३ मिनेट अर्थात् ढुंगा हान्न सुरु भएको समयदेखि दमकल आएसम्मको समयअवधि भित्र राखेर ब्रेकडाउन गर्‍यौँ । 

हाम्रो खोज समाचार रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकसँग सम्बन्धित भएकाले हामीले सुरेश भएको घर अर्थात् मार्वल हाउसको 3D मोडल बनाएर त्यो घरभित्र के भयो, कतिबेला भयो र कसरी भयो भन्ने प्रश्नको उत्तर पहिल्याएका छौँ ।

हामीले देख्यौँ- २ बजेर २७ मिनेटमा अन्तिमपटक सुरेश तेस्रो तलाको झ्यालबाट मुन्टो निकालेर बाहिर हेर्दै गरेको देखिन्छन् । तर त्यसको केही मिनेटमै पुरै भवनलाई कालो धुवाँले ढाक्छ ।

आगो सल्किएको करिब ५१ मिनेटपछि मात्रै प्रभावकारी ढंगले आगो निभाउने प्रयास भएको हाम्रो अनुसन्धानमा देखिन्छ । यतिन्जेलसम्म भिडिओ खिचिरहेका पत्रकार सुरेश रजकले ज्यान गुमाइसकेका थिए ।

हाम्रो खोजले भन्छ- समयमै भिड नियन्त्रण भएको भए सुरेशलाई उद्धार गर्न सकिन्थ्यो । उनलाई बचाउन सकिन्थ्यो । यो कुनै आकस्मिक दुर्घटना मात्र थिएन । राज्य संयन्त्रको समन्वय विफलताको नतिजा पनि थियो । 

हेर्नुहोस्, मिडिया कुराकानीको खोजमूलक भिडियो स्टोरी -


Related Story

एजेन्सी र कर्मचारीको मिलेमतोमा सरकारी विज्ञापनमा भ्रष्टाचार, मिडिया पनि मतियार

सरकारी सूचना र विज्ञापनमा विज्ञापन एजेन्सी र सरकारी अड्डाका हाकिमहरू मिलेर करदाताले तिरेको रकममा रजाइँ गरिरहेका छन् भने मिडिया पनि