प्रमाण नबोलेको न्यूयोर्क टाइम्सको रिपोर्टः अनुसन्धान कि अनुमान ?

प्रमाण नबोलेको न्यूयोर्क टाइम्सको रिपोर्टः अनुसन्धान कि अनुमान ?

  • आश्विन ३१, २०८२ शुक्रबार १४:२४

बेनामे स्रोत र विदेशी विशेषज्ञका भनाईका भरमा ठोस प्रमाणबिना न्यूयोर्क टाइम्सले नेपालको जेन जी आन्दोलनलाई 'योजनाबद्ध षड्यन्त्र' भनी गलत चित्रण गरेको छ


न्यूयोर्क टाइम्समा अक्टोबर १२ मा प्रकाशित हाना बीच (Hannah Beech) र सजल प्रधान (Sajal Pradhan) द्वारा लिखित समाचार सामग्रीले अहिले सामाजिक सञ्जाल र नेपाली जनमत तरङ्गित छ । अनुसन्धानमूलक भनिएको उक्त रिपोर्टले जेन जी आन्दोलन स्वरुपमा स्वतःस्फूर्त देखिए पनि सारमा योजनाबद्ध थियो भन्ने सङ्केत गरेको छ । न्यूयोर्क टाइम्सको अनुसन्धानको दाबा छ कि दोस्रो दिनको आगजनी र तोडफोड एउटा संयोजित विध्वंसकारी अभियान (coordinated campaign of destruction) थियो । 

महिना दिन अघि मात्र ७० जना भन्दा बढीको ज्यान गएको र खर्बौँ रुपैया बराबरको नोक्सानी बेहोरेपछि सेनाको उपस्थितिमार्फत नियन्त्रणमा आएको आन्दोलनको पृष्ठभूमिमा, यो अनुसन्धानले दोस्रो दिनको आन्दोलन सुनियोजित थियो भन्ने दाबी गरेर नेपाली जनमतलाई विभाजित गरेको छ । रिपोर्टको सत्यतथ्य बुझ्न छाडेर, बौद्धिक, पत्रकार र दल आबद्ध मानिसहरू न्यूयोर्क टाइम्सको खबर असत्य र आधारहीन हुनै सक्दैन भने जसो गरी यो समाचारको हवाला दिँदै आदोलन योजनाबद्ध र सुनियोजित थियो भनिरहेका छन् तर कसले कसका लागि त्यस्तो गर्‍यो अझै अनुत्तरित छ ।  

यस टिप्पणीमा मैले मेरो सञ्चार र पत्रकारिताको अध्ययन र अन्तर्राष्ट्रिय विकासको अनुभवका आधारमा केही कुरा प्रष्ट हुन र पार्न चाहेको छु । म एक पाठकको रूपमा यो रिपोर्टलाई वस्तुगत रूपमा विश्लेषण गर्नेछु, तथ्यहरूको जाँच गर्नेछु र यसको वस्तुनिष्ठता, सन्तुलन र निष्पक्षतामा प्रश्न उठाउनेछु । के यो अनुसन्धानमूलक भनिएको रिपोर्ट साँच्चै यति सत्य र विश्वसनीय छ जति दाबी गरिएको छ ? आउनुस्, केलाऔँ । 

Pushkar Khanal !oute.jpegयो रिपोर्टले उठाउन खोजेको मुख्य विषय अर्थात् अनुसन्धान प्रश्न (research question) आन्दोलन स्वतःस्फूर्त प्रतिक्रिया थियो वा सुनियोजित षड्यन्त्र थियो भन्नेमा केन्द्रित छ । तर सुरुदेखि अन्त्यसम्मै आन्दोलन सुनियोजित हो भनेर स्थापित गर्न खोजिएकाले घटनाको प्रस्तुतिकरणमा फ्रेमिङ बायस (Framing Bias) देखिन्छ ।  पहिलो वाक्य नै ‘Coordinated Arson Attack’ अर्थात् ‘संयोजित आगजनी आक्रमण’ बाट सुरु हुन्छ । र, दोस्रो दिनको आन्दोलन पहिलो दिन युवाहरूको हत्याको स्वस्फूर्त प्रतिक्रिया भन्दा पनि देशव्यापी रुपमा योजनाबद्ध ढंगले समन्वय गरिएको ध्वंशात्मक अभियान थियो कि भन्ने शंका व्यक्त गर्छ । 

समाचारको हेडलाइन र लिड दुबैले शंका अर्थात् ‘स्पेकुलेसन’ को मात्र कुरा गर्छन् । अनुसन्धानमूलक भने पछि त यकिनका साथ तथ्य र विचार प्रस्तुत गर्नु पर्ने होइन र ? पहिलो दाबी ‘संयोजित आगजनी आक्रमण (Coordinated Arson Attack)’ लाई प्रमाणले भन्दा पनि शंकाले स्थापित गर्न खोजेको देखिन्छ । 

अनुसन्धानको पद्धति बारे प्रश्न (Question on Methodology)

रिपोर्टका अनुसार, पत्रकारहरूले दर्जनौँ साक्षी र सहभागीहरूसँग अन्तर्वार्ता गरे, विदेशी आगजनी विशेषज्ञहरूसँग परामर्श लिए, क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरे र घटनाका तस्बिर तथा भिडियोको विश्लेषण गरे । तर प्रश्न उठ्छ- यति ठूलो घटनाको दर्जन अन्तर्वार्ता र क्षतिग्रस्त क्षेत्रको अवलोकनले मात्रै निष्कर्षमा पुग्न सम्भव छ ? फोरेन्सिक जाँच र घटनामा संलग्नहरूको सही पहिचान गरेर तथ्यको नजिक पुग्न जरुरी हुँदैन ? 

पत्रकारिताको आफ्नो सिमा हुन्छ तर रिपोर्ट बनाउने हतारोले आधिकारिक रुपमा अनुसन्धान गर्न बनेको आयोगले गर्नुपर्ने वैज्ञानिक अनुसन्धान भन्दा पहिले नै अन्तराष्ट्रिय मिडियाले अनुसन्धानको नाममा कमजोर पद्धतिको भरमा शंकालाई बल पुर्‍याउन खोजेको देखिँदैन ?

फेरि प्रश्न उठ्छ- आगजनी विज्ञको रुपमा जो विदेशीलाई उद्धरण गरिएको छ, के ती पत्रकार वा आगजनी विशेषज्ञहरूले संयुक्त रुपमा घटनास्थल प्रत्यक्ष अवलोकन गरे ? के कुनै विदेशी विशेषज्ञ, जसलाई स्थानीय सन्दर्भको बुझाई छैन, केवल आफ्नो प्राविधिक ज्ञानका आधारमा यस्तो निष्कर्षमा पुग्न सक्छन् ? 

रिपोर्टमा बेलायतमा रहेको एन्ड्र्यु मूर एण्ड एसोसिएट्समा आबद्ध आगलागी  विज्ञ रिचार्ड हागर भन्छन्- यो किसिमको आगजनी गर्न एक हप्ता वा महिनाको योजनाले मात्र सम्भव छ। मेरो तर्क के हो भने यदि सरकारले हप्ता दिन अघि मात्र सामाजिक सञ्जाल बन्द गरेको थिएन भने यो आन्दोलन यो तहमा हुने नै थिएन र अघिलो दिन युवामाथि गोली दागिएको थिएन भने दोस्रो दिनको घटना हुने पनि थिएन । अनि हप्ता र महिना दिनको योजना भनेर के कुरा इंगित गर्न खोजेको अस्पस्ट छ। रह्यो कुरा आगजनीको, किन नेपाली आगजनी विज्ञका कुरा समेटिएन जसले घटना प्रत्यक्ष देखेका थिए र घटनाको सन्दर्भ अनुरुप विचार दिन सक्थे ?

वैज्ञानिक (फोरेन्सिक) अनुसन्धान र परिमाणात्मक तथ्याङ्कबिना, केही गुणात्मक पत्रकारिता पद्धतिबाट यस्तो रहस्य उदाङ्गो गरिएको दाबी कमजोर पद्धतिमा आधारित देखिन्छ ।

छद्म तथ्य (Pseudo Facts) बारे प्रश्न

रिपोर्टको चौथो अनुच्छेदमा योजनाबद्ध घटनाको शंकालाई बल पुर्‍याउन “ready-to-use lists” सामाजिक सञ्जालमा देखा परेको जसमा भ्रष्टाचार र सञ्जालमा संलग्न भनिएका व्यक्तिहरूको व्यक्तिगत विवरण समावेश थियो भनिएको छ । यति अनुसन्धान गरे पछि त्यो लिस्टको स्रोत म्यापिङ किन गरिएन ? यो लिस्ट पत्रकारले आफै देखेको हो कि प्रत्यक्षदर्शीले प्रष्ट छैन । न त कसैलाई उधृत गरिएको छ, न प्रमाणको रुपमा कुनै स्क्रिन्सट वा डिजिटल प्रमाण नै राखिएको छ। सुनेको भरमा लेखेका जस्तो यी अनुच्छेदहरू पत्रकारको व्यक्तिगत व्याख्या जस्ता लाग्छन्, वस्तुगत रिपोर्टिङ होइन ।

त्यस्तै, पाँचौ अनुच्छेदको अन्तिम लाइन “Akin to  hundreds of airstrikes” मा “एयरस्ट्राइक” भन्ने शब्दले विमानबाट गरिएको आक्रमण जस्तै भनेर यो घटनाको विध्वंसको मापन गर्न खोजिए पनि यो उपमा नाटकीय जस्तो सुनिन्छ । अनुसन्धानमूलक भनिएको रिपोर्टमा यस्तो विषय पत्रकारले भावनामा बगेर लेख्ने हो कि प्रत्यक्षदर्शीले देखेको आधारमा उद्धरण सहित बताउने ?

टाइमलाइन (Timeline) का बारेमा प्रश्न

सुनियोजित आक्रमण भयो भन्ने यो अनुसन्धानको ‘हाइपोथेसिस’ स्थापित गर्न न्यूयोर्क टाइम्सले टाइमलाइन (Timeline) प्रस्तुत गरेको छ । यसमा दाबा गरिएको छ कि जुन अज्ञात भिडले संसद भवनमा आगो लगायो, त्यही भिडले आधा-एक घण्टाको बीचमा सिंहदरबार र सर्वोच्च आदलत पनि जलायो । उही रिचार्ड हागरलाई उधृत गर्दै यति छोटो समयमा यति धेरै भवनमा आगो लागाउन बिना योजना असम्भव छ भनिएको छ । 

timeline nyt.pngभिडले यति धेरै ठाउँमा केही समयको अन्तरालमा आगजनी गर्‍यो भनिएको छ र फेरि भनिएको छ कि यो हप्तौँ र महिनौँदेखिको योजनामा आधारित देखिन्छ। भिडले गर्‍यो पनि भन्ने र योजनाबद्ध थियो पनि भन्दा, बिना प्रमाण यो दाबी कमजोर देखिन्छ किनकि भिड आफैमा असंगठित समूह हो । 

आन्दोलनको पहिलो दिन संसद भवन अगाडि  सुरक्षा गर्न बसेको प्रहरीले भिड संसद भवनको पर्खाल नै नाघेर भित्र पसे पछि नियन्त्रण गर्ने नाममा राज्यतर्फबाट गैरजिम्मेवार नरसंहार भएको  र त्यसैको प्रतिक्रिया स्वरुप दोस्रो दिन आन्दोलनकारीको पहिलो निशानामा संसद भवन परेको देखिन्छ । यहीँबाट सबै घटनाको शुत्रपात भएको थियो। त्यसपछि मात्र यो रिपोर्टले भने जस्तो राज्यसंयन्त्र अन्तर्गतको अरु संरचना जुन पहिले देखि विवादित थिए, त्यसतर्फ सो भिड आगजनी गर्न उन्मुख भए भन्ने देखिन्छ । 

तर भिड काठमाडौँ  वरिपरिबाट उर्लिएको र सामाजिक संजालमा निर्बाध यस्ता दृश्यहरू सहभागीले पोस्ट गरिराखेकोले कतै सञ्जालले नै भिडलाई उद्देलित गरेको र एक ठाउँको आगजनीले अर्को ठाउको आगजनीलाई उत्प्रेरित गरेको हुन सक्दैन ? अनुसन्धान भिडको समवेदना, मनोविज्ञान र सामाजिक सञ्जालको उत्प्रेरक भूमिकाका बारेमा किन मौन छ ? भिडलाई आगो झोस्न कुन फ्याक्टरले उक्सायो ? यी पक्षलाई रिपोर्टले मिहिन ढंगले केलाउनु पर्ने होइन ? आगजनी योजनाबद्ध हो भनेर प्रमाणित गर्न घटना घटेको टाइमलाइन राखेको देखिन्छ तर आधार पुष्टि गर्न यथेष्ट प्रमाण दिइएको छैन। भिड आवेग र संवेगमा चल्छ, योजना अरु कसैको थियो र भिड कसैले नियन्त्रण गरिरहेको भन्ने भाष्य हो भने पनि ठोस प्रमाण जरुरी हुन्छ । 

सुरुवाती समयमा जेन जीका समूहहरू आफैमा पनि नेटवर्कमा आधारित सञ्चारमा अब्बल, एजेन्डामा संगठित र परिचालनमा बलिया देखिन्थे । जेन जी समूहहरू आफै पनि सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा पोख्त छन् भन्ने कुरा उनीहरूले सञ्चालन गरेका ‘नेपो बेबी’ ट्रेन्डदेखि डिस्कोर्ड वार्तालापसम्मले पुष्टि गर्छन् । 

यस्तोमा आन्दोलनकै लागि समन्वय पनि सामाजिक सञ्जाल एपहरू मार्फत नै गरेका थिए, किनभने इन्टरनेट बन्द थिएन र यसबीच सरकारले सामाजिक सञ्जालको बन्देज पनि फुकुवा गरिसकेको थियो । सामाजिक सञ्जालको प्रयोगले नै उनीहरूलाई सूचित, प्रेरित र संगठित बनायो । मैले स्वयं एउटा गुगलम्यापका बारेमा फेसबुक रिलमा सुनेको थिएँ, नेताहरूको घरको लोकेसन ट्रयाक गर्न जेन जी समूहहरुले प्रयोग गरेको थियो। देशका सबै युवा होमिएको आन्दोलनमा प्रविधिका जानकारहरूले सहजीकरण गरेको किन हुन सक्दैन ? अनुसन्धान यो कोणबाट पनि गर्न सकिन्छ l

प्राविधिकको बयानमाथिको प्रश्न 

रिपोर्टमा Andrew Moore and Associates का वरिष्ठ फायर इन्भेस्टिगेटरलाई उद्धृत गरिएको छ । के ती अनुसन्धानकर्ता नेपालमा आएर घटनाको अनुसन्धानमा संलग्न थिए वा यहाँ संकलित प्रमाणलाई उनको ल्याबमा टेस्ट गरेका थिए ? उनको अग्नि सम्बन्धी विज्ञताले विदेशमा बसेर फोटो र भिडियो केलाएको भरमा टिप्पणी गरेको हो भने त्यो सतही देखिन्छ। त्यसैले स्थानीय सन्दर्भको जानकारी बिना विदेशी उद्धरण सान्दर्भिक देखिँदैन । यहाँ नेपाली विशेषज्ञको मत किन लिइएन ? यहीँ सन्दर्भको महत्त्व देखिन्छ। 

नेपालको पूर्वाधार, मौसम वा प्रदर्शन संस्कृतिसँग अपरिचित विदेशी विज्ञहरूले सजिलै सतही अपव्याख्या गर्ने जोखिम हुन्छ।  नेपाल प्रहरीको फोरेन्सिक विभागका प्रमुखलाई उधृत गरिएको छ तर प्रहरी आफैँमा सङ्गठनात्मक र मनोबलका हिसाबले कमजोर भएको अवस्थामा अनुसन्धानलाई जोड दिने कुनै सन्दर्भ प्रस्तुत गर्न सकेको देखिँदैन ।  

नेपाली सेनाको भूमिका

यो रिपोर्टले धेरै विषयलाई छोएको छ तर गहिराइमा कमै पुगेको छ । यस्तै मध्ये एक हो नेपाली सेनाको भूमिकाको विषय । यो नयाँ कुरा भने होइन । आम नेपालीलाई थाहा भएको विषय के हो भने नेपाली युवाहरूको हत्यापछि भड्किएको अवस्थालाई सेनाले तत्काल नियन्त्रणमा लिन प्रयास गरेको भए थप हताहतीको सम्भावना रहन्थ्यो । त्यसैले दिनभर सेना परिचालन भएको थिएन । 

रिपोर्टले चारजना जानकारहरूको हवाला दिएर त्यसदिन नेपाली सेनालाई सडकमा नउत्रिनु भनेर भनेको दाबी गरिएको छ । सेनालाई सडकमा नउत्रिनु कसले भन्यो खुलाइएको छैन । तर कुनै अदृश्य शक्तिले स्थिति काबुमा राख्न सेनालाई पनि रोकेको जस्तो गरी गुप्त चार जनाको हवाला दिएर नयाँ खुलासा गरे जसरी लेखिएको छ र उनीहरूको पहिचान लुकाइएको छ।  सेना प्रमुखले नै विज्ञप्तिमा भनेको कुरा र आम नेपालीले बुझेको कुरा कसरी न्यूयोर्क टाइम्सका लागि नयाँ खुलासा भयो बुझ्न सकिँदैन । अन्तिम विकल्पका रुपमा दोस्रो दिनको साँझ ५ बजेपछि मात्र सेना सडकमा खटिएको थियो ।

म स्वयं अर्को दिनमै घटनास्थलमा भद्रकालीमा थिएँ — प्रदर्शनकारीहरूले सेनाको मुख्यालयमा उत्रिन लागेको हेलिकोप्टर समेत लखेट्ने प्रयास गरेका थिए । त्यो आक्रोश नियन्त्रणबाहिर थियो । त्यस्तो अवस्थामा सेनाले कठोर निर्णय लिनु पर्ने अवस्थामा भवन जल्न दियो तर नेपाली मर्न दिएन भन्ने आम बुझाई हो । 

आगजनीको अनुसन्धान “विशेष आदेश” का कारण भएन

यो रिपोर्टले सो शृङ्खलाबद्ध आगजनीका बारेमा छिटो फोरेन्सिक जाँच हुनु पर्ने र प्रत्यक्षदर्शीको बयान लिनु पर्ने औँल्याएको छ । यसका लागि सम्बन्धित निकायले प्रमाण नष्ट हुनु अगाडि नै काम गर्नु पर्ने राय समेत व्यक्त गरेको छ। प्रहरीको फोरेन्सिक ल्याबले नभई पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको मातहतमा यो अनुसन्धानको जिम्मेवारी छ भने प्रहरीले हालको अवस्थामा अलगै कसरी अनुसन्धान कसरी गर्छ ?

पत्रकारले प्रहरी र सरकारी निष्क्रियताको कारण बुझ्न सकेनन्, बरु “विशेष आदेश” का बलमा अनुसन्धान हुन नसकेको अनुमान गर्न भ्याए । तसर्थ, अनुसन्धानमूलक भनिएको यो रिपोर्टको  मुख्य हतियार नै अनुमान (speculation) हो ।

यदि साँच्चै गम्भीर प्रश्न उठाउन चाहन्थे भने, गृह मन्त्री, प्रहरी महानिरीक्षक वा प्रवक्तालाई उद्धृत गर्न सक्थे र किन आगजनीको अनुसन्धान भएन भनेर सोध्न सक्थे । अनुसन्धान कसैको आदेशले रोकिए जस्तो हल्का अनुमान गर्दैनथे ।  

न्यूयोर्क टाइम्सले के बिर्सिनु हुँदैन भने त्यो जनआन्दोलनले प्रहरी संयन्त्रभित्रको गम्भीर कमजोरी र अविश्वास पनि उजागर गरेको छ । दलीयकरणको चपेटामा परेको प्रहरी संगठन र विद्रोह दबाउन नागरिक हत्याको आरोप खेपेको संगठनलाई नागरिक सरकारले विश्वास नगरेर अनुसन्धान गर्न नदिएको भन्न पाइयो तर जनविश्वास गुमाएको संस्थाले सबुद सङ्कलन गरेर आन्दोलनकारीलाई कारबाही गर्न असम्भव हुन्छ भनेर नै स्वतन्त्र नागरिक जाँचबुझ आयोगको आवश्यकता परेको हो । 

उक्त रिपोर्टमा नेपाल प्रहरीका फोरेन्सिक ल्याबका प्रमुख पवन ढुंगाना नै भन्छन् “यो पूर्वयोजनाबद्ध जस्तो देखिन्छ, तर प्रमाण छैन ।” न्यूयोर्क टाइम्सको अनुसन्धान रिपोर्टको पनि समयस्या ठ्याक्कै यही हो— धेरै अड्कलबाजी, तर ठोस प्रमाण छैन ।

आकलनमा आधारित, कमजोर दाबी

आगजनीको जिम्मा कसको ? यो रिपोर्ट भन्छ कि घटना सुनियोजित थियो । तर फेरि भनिएको छ कि “कसैले घटनाको जिम्मेवारी लिएन।” जेन जी प्रदर्शनमा संगठित आपराधिक समूहको मुख्य हात भए जसरी कसैले जिम्मा लिएन भनिएको छ । यदि यो महिनौँदेखिको योजनामा कुनै कट्टरपन्थी समूहले गरेको हुन्थ्यो भने, उनीहरूले आतंक सिर्जना गर्न घटनाको दाबा गर्थे होला । पूर्ण रुपमा राजनीतिक आक्रोश पोख्न सडकमा उत्रिएका प्रदर्शनकरीले बिनासको जिम्मा लिँदैनन पनि । कसैले जिम्मा लिएको भए त अनुसन्धानले आकलन गर्दैन थियो, प्रमाण नै जुटाउथ्यो होला । 

तीव्र ज्वाला (Intense flames theory)

नेपाल प्रहरीका फोरेन्सिक प्रमुखले तस्बिर हेरेर मात्र सोडियम हो कि म्याग्नेसियम वा अन्य कुनै  रासायनिक पदार्थ प्रयोग भएको भनेर अड्कल गरेका छन् । फेरि भनेका छन्- विश्लेषण नगरी केही भन्ने अवस्था छैन । यकिन हुन नसक्ने उद्धरण अनुसन्धानमा आधारिक समाचारले राखेको देखिन्छ । बरु प्रत्यक्षदर्शीलाई सोधेको भए पनि आधा सत्य बाहिर आउँथ्यो होला कि ? 

म आफैले केही ठाउँमा प्रदर्शनकारीले मोटरसाइकलवालालाई रोक्दै पेट्रोल मागेर बोतलमा पेट्रोल भर्दै गरेको देखेको थिएँ ।  प्रदर्शनकारीहरूले त्यहीँ भएका मोटरसाइकल र कारबाट पेट्रोल निकालेर प्रयोग गरेनन् होला र ? के त्यो पेट्रोल स्वयं सबैभन्दा द्रुत दहन हुने पदार्थ होइन ? योजनाबद्ध थियो भन्ने स्थापित गर्न र ठूलै आगो चाँडै झोस्न काबिल अपराधीहरू परिचालित थिए भन्ने भाष्य निर्माण गर्न खोजेको हो र ? होइन भने जे स्रोत ती स्थानमा उपलब्ध थिए, तिनकै अधिकतम उपभोग गरेको देखिँदैन र ?

खुला झ्यालहरू (Open window theory)

पत्रकारले सिंहदरबारको खुला झ्याल देखाएर अर्को षड्यन्त्र सिद्धान्त बनाउन समेत भ्याएका छन् । दोस्रो दिन बिहान आन्दोलन सुरु भए पनि प्रदर्शनकारी कार्यालय खुल्ने समयबीच दिउसो मात्र सिंहदरबार पुगेका थिए । मन्त्रालयका झ्याल यसै पनि कार्यालय सहयोगीले अफिस खुल्ने समयमा खोलेर राख्न सक्छन् । उनीहरूलाई के थाहा थियो र प्रदर्शनकारी सिंहदरबार नै आउँछन् भनेर ! 

यस्तोमा तल चौरमा आगजनीका बीच रिपोर्टरहरुले खुलेका झ्यालका फोटो राखेर आगो फैलिन मद्धत गर्ने गरी झ्याल खुला राखेको भन्दै कुनै षड्यन्त्रको संकेत समेत गरेका छन् । तर, त्यो त पूर्ण रूपमा अनुमान मात्र हो । भवन विशेषका वा त्यस दिनको हावाको चापको कुनै तथ्याङ्क छैनन्, झ्यालमार्फत आगो फैलिएको भन्ने प्रमाण पनि छैन। केवल आशंका र आन्दाजलाई विज्ञान जस्तो देखाएर प्रस्तुत गरिएको छ । 

योजनाबद्ध आगजनी हो भन्ने कुरा फेरि पुष्टि  गर्न रिपोर्टरले अर्को विदेशी विज्ञकै सहारा लिनु परेको छ । सिङ्गपुरको Fire Science Forensics का केनेथ केलेले पनि भवनको आकार र आगोको तीव्रताका आधारमा योजनाबद्ध आगजनी भएको भनाई दिएकी छन् । तर फेरि प्रश्न उठ्छ- के उनी वा उनको टोली कुनै अनुसन्धानमा फिल्डमा प्रत्यक्ष संलग्न थिए ? आगोको लप्काको फोटो भिडियो हेरेरै योजनाबद्ध भन्न सकिन्छ ? फेरि पनि अड्कलबाजी र अनुमानमात्र ।

अपरिपक्व प्रमाण 

न्यूयोर्क टाइम्सको रिपोर्टले आगजनीकर्ता (Armed arsonists) हरू सुसज्जित रुपमा लाठी, हतियार र पेट्रोल सहित आएका थिए भनेर सहभागी र प्रत्यक्षदर्शीले बोलेको रिपोर्टमा उल्लेख छ । हामीले आफैले पनि सामाजिक सञ्जालमा लुटिएका हतियार र प्रहरीका बर्दी सहित सहभागी भएका प्रदर्शनकारीहरू देख्यौँ । पहिले नै तयारी अवस्थामा आए अथवा भवन तोडफोड गरेर हतियार र समान लुटेपछि त्यस्तो अवतारमा आए ? यसै भन्न सकिन्न ।‌ तर टाइम्सको रिपोर्टमा किन एउटै सुसज्जित आगजनीकर्ताको तस्बिर वा भिडियो छैन? कम्तीमा ब्लर गरिएको तस्बिर भए पनि विश्वसनीयता बढ्दो हो ।

क्रमशः यो रिपोर्टमा तीन युवा आगजनीकर्ता (Three young arsonists) को विषयमा लेखिएको छ । यो योजनाबद्ध आगजनीको षड्यन्त्रमा पर्दा पछाडि को थियो भन्ने यी युवाबाट खुल्दैन । खासमा आगजनीकर्तासँगको अन्तर्वार्ताले योजनाबद्ध थियो भन्ने केही पनि खुलाउँदैन । बरु एउटा वृद्ध व्यक्तिले पेट्रोल बम दिएको उल्लेख छ । आक्रमणको आदेश कसले दियो वा त्यसका लागि पैसा दियो वा दिएन भन्ने खुलाइएको छैन । 

तर, अर्को अनुच्छेदमा आगजनीकर्ताले जति ठूलो आगोको लप्का त्यही अनुसार पैसा भनेर बोलेको छिमेकीले सुनेको आधारमा मात्र हतियारधारीहरू आगजनीमा परिचालित भए भन्ने कुरा बलजफ्ती जोडिएको छ । यसरी प्रमाणबिना लेखिएको कथाले वास्तविकताको सट्टा ‘रेटोरिकल’ रंग दिने कोसिस गरेको देखिन्छ । 

आगजनी राजनीतिक संस्कार ( Arson as Political Manifestation)

पत्रकारले आगजनीलाई नेपालको राजनीतिक संस्कृतिको अवयवका रुपमा चित्रण गरेका छन् र नेपालमा माओवादी द्वन्द्वको राजनीतिको प्रभाव अझै बाँकी रहेको आशय व्यक्त समेत गरेका छन् । राजनीतिक वा सामाजिक निराशा पोख्न नेपालीले धेरै पटक आगजनी र विध्वंसको साहरा लिएको सत्य हो । तर, विश्वभर नै राजनीतिक निराशालाई सार्वजनिक र व्यक्तिगत सम्पत्तिलाई निशानामा परेर आक्रोश शान्त पार्ने गरेको देखिन्छ । 

अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन होस् वा फ्रान्सको पहेंलो ज्याकेट आन्दोलन, यसरी नै जनआक्रोश विध्वंसका रूपमा प्रकट भएका थिए । त्यसको जड प्रायः राजनीतिक असन्तुष्टि नै हुन्छ न कि कुनै योजनाबद्ध षड्यन्त्र । न्यूयोर्क टाइम्सले ८ सेप्टेम्बरको बालबालिकामाथिको गोलीकाण्डपछि नेपालीहरूले महसुस गरेको गहिरो भावनात्मक र सम्वेदनात्मक आघातलाई मनन गर्ने हो भने विध्वंसको प्रमुख कारण त्यही नै हो ।

रिपोर्टको सबल र दुर्बल पक्ष

आन्दोलनको एक महिनापछि निकालिएको रिपोर्टले विध्वंसका बारेमा विविध कोणबाट असली विषयहरू उठान गरेको छ । मुख्यतः फोरेन्सिक अनुसन्धान गरिनुपर्ने विषय मुख्य हो । साथै, यो रिपोर्टले जाँचबुझ आयोगले विचार पुर्‍याउनुपर्ने कुरालाई पनि इंगित गरेको छ । कन्टेन्टमा बलियो छ तर करेक्सनमा कमजोर देखिन्छ । अर्थात्, रिपोर्टरको काम सन्तोषजनक छ तर सम्पादकले गर्नुपर्ने काम गरेको देखिँदैन ।

अनुसन्धानमूलक रिपोर्ट वा समाचारकै कडीमा भने न्यूयोर्क टाइम्स जत्तिको मिडियाको सामग्री अझ गुणस्तरीय बनाउने ठाउँ हुँदाहुँदै पनि सत्तापलट पछिको समयमा अन्तर्राष्ट्रिय मिडियाले तेस्रो विश्वमा बनाउने ‘न्यारेटिभ’ तर्फ अग्रसर हुन खोजेको हो कि जस्तो देखिन्छ । 

रिपोर्टमा टुक्राटुक्रा घटनाका अपुष्ट विवरण छन्, जसले जबर्जस्ती योजनाबद्ध आगजनीको चित्र बनाउन खोजेको प्रष्ट छ । यसलाई प्रमाणित गर्न फिल्ड अनुसन्धानबाट प्राप्त ठोस तथ्य आवश्यक पर्छ । प्रमाणबिनाका भनाईहरू र बेनामे उद्धरणहरूले स्थापित गर्न खोज्नु तथ्यपरक र बस्तुपरक लाग्दैन । अनुसन्धानमूलक रिपोर्ट रिपोर्टरको फिल्ड डायरी पढे जस्तो लाग्छ । रिपोर्टका अनुच्छेदहरू बीच तादम्यता देखिँदैन । धेरै विषय एकैपटक बताउनु परेको हतारो जस्तो देखिन्छ । लामा अनुच्छेदमा दुई असम्बद्ध विषय एकैसाथ जोडिएका छन्, बिना सन्दर्भ तिनको सम्बन्ध केलाउन आम पाठकलाई सहज छैन । 

निष्कर्ष (Conclusion)

खुला सत्य के हो भने जेन जी आन्दोलनमा आम युवा मात्र होइन, सबै राजनीतिक दलका सम्बद्ध युवाको पनि स्वस्फुर्त सहभागिता थियो । देशव्यापी जनसमर्थन थियो । दोस्रो दिन मात्र स्वस्फूर्त सहभागी भएका जेन जी युवा लगायत सबै प्रतिशोधको भावनाले उद्वेलित थिए । तर, त्यहीबीच सबै ठूला राजनीतिक दल र समूहका स्वार्थी व्यक्ति पनि त्यसमा संलग्न भए । जुन समूहलाई जसप्रति आक्रोश थियो, तिनीहरूलाई लक्ष्य गर्दै आक्रमण गरे । त्यो चाहे सरकार होस्, नेताहरू हुन् वा व्यवसायी । उनीहरूले यो आन्दोलनलाई आफ्नो प्रतिशोध निकाल्ने र अहम् सन्तुष्ट पार्ने उपयुक्त अवसरका रूपमा प्रयोग गरे ।

यो प्रवृत्ति सामाजिक सञ्जालमार्फत झन् द्रुत ढंगले फैलियो । फलस्वरुप सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा एकसाथ ८ घण्टा भित्र ‘फ्लास मोब’ (Flash mob) शैलीमा आगजनी भएकोले पनि योजनाबद्ध आगजनी जस्तो देखिएको हुन सक्छ । क्रिया प्रतिक्रिया बीच यो जनविद्रोह यति चाँडै उत्कर्षमा पुग्यो कि ४८ घण्टाभित्र सत्ता उल्टिएर नयाँ सरकार बन्यो । भविष्यमा बलिया प्रमाणहरू सहितको जाँचबुझले अन्यथा देखाए बाहेक यो आगजनी ‘रुप’ मा योजनाबद्ध देखिए पनि ‘सार’ मा नेपाली युवाको स्वस्फूर्त विद्रोहको परिणाम थियो भन्नेमा शंका गर्नु अतिशयोक्ति हुन जान्छ ।

माथि वर्णित न्यूयोर्क टाइम्सको रिपोर्टले आगजनीलाई योजनाबद्ध र सुनियोजित स्थापित गर्दै यसका पछाडि सङ्गठित शक्तिको हात रहेको इङ्गित गर्न खोजेको जस्तो देखिन्छ, जसले जेन जी प्रदर्शनलाई विध्वंसतर्फ उन्मुख गरेको हो भन्छ । आधारहीन दाबीहरु विभिन्न कोणबाट प्रस्तुत गर्दै आन्दोलन परिचालित थियो भन्ने आशय यसमा व्यक्त भएको छ । वास्तवमा ठोस प्रमाण बिना योजनाबद्ध आगजनी हो भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले पहिलो दिनको अमानवीय गोलीकाण्ड र वर्षौंको भ्रष्ट शासकीय प्रणालीविरुद्ध प्रतिक्रिया जनाएका जेन जी नवयुवा र प्रदर्शनकारी नेपालीलाई अपराधीकरण गर्न थप मलजल नपुग्ला भन्न सकिन्न ।  

यदि यो केवल शंका वा अनुमानको रूपमा प्रस्तुत गरिएको भए सायद ठूलो समस्या हुने थिएन, तर जब यसलाई ठोस दावीका रूपमा ‘खोज’ का नाममा कुनै राजनीतिक कथा निर्माण गर्न खोजिन्छ, तब यो चिन्ताजनक हुन्छ । अहिलेको अवस्थामा यो अनुसन्धानमूलक समाचारले नेपालको “जेन जी आन्दोलन कुनै योजनाबद्ध षड्यन्त्रको परिणाम हो” भन्ने अफवाहलाई मलजल गरेको देखिन्छ ।

नेपाल सूचना रिक्तता र सूचना महामारीबाट गुज्रिरहेको अवस्थामा वैज्ञानिक अनुसन्धान र प्रमाणबिना गरिएको अनुमान र दावी न्यूयोर्क टाइम्स जस्तो प्रतिष्ठित पत्रिकालाई शोभा दिँदैन । त्यसैले ऊ आफ्नो समाचारप्रति जिम्मेवार हुनुपर्छ । गत हप्ता “फेक अकाउन्ट” प्रयोग भएको सम्बन्धमा इजरेली कम्पनीको कमजोर अनुसन्धान रिपोर्ट र यस हप्ता “सङ्गठित आगजनी” भन्ने जस्ता छद्म (स्युडो) अनुसन्धानमूलक रिपोर्टहरू उचित अनुसन्धान विधि र प्रमाणका आधारबिना प्रकाशित हुनुले नेपाली समाजमा अनावश्यक षड्यन्त्रको डर फैलाइरहेको छ । यस्ता आधारहीन दाबीहरूले जेन जी आन्दोलन, यसको उद्देश्य र युवा सहिदहरूको बलिदानीलाई अवमूल्यन गर्ने जोखिम ननिम्त्यओस भन्नेमा चनाखो हुनु जरुरी छ । 

खोजमूलक पत्रकारिता नाटकीयरुपमा अनुमान लगाउने विषय होइन । यो ठोस प्रमाण, सन्दर्भ र सन्तुलनको विषय हो । यिनको अभावमा जतिसुकै बलियो अनुमान किन नहोस्, त्यो सनसनी खबर बन्न जान्छ । र, सनसनीपूर्ण पत्रकारिताले नेपालजस्तो कमजोर लोकतान्त्रिक धरातलमा उभिएको देशलाई फाइदा भन्दा हानी पुर्‍याउँछ । यद्यपि, टाइम्सको यो रिपोर्टिङले अन्तर्वार्ता मार्फत श्रोतको गहिराईमा पुगेर सूचना ल्याएको छ, प्रमाणको अनिश्चिततालाई दोहोर्‍याएको छ र फोरेन्सिक जाँचको मागलाई बलियो बनाएको छ । यसर्थमा, यसले फेरि पनि सरकारको ध्यानाकर्षण गरेकै छ ।

रिपोर्टले आफ्ना दाबीहरूको पुष्ट्याईँ गर्न अधिकांश बेनामे स्रोतहरूमा भर परेको छ । उनीहरूको नाम र पहिचान दिइएको छैन । कतिपय अवस्थामा स्रोत गोप्य राख्नु पत्रकारितामा आवश्यक हुन्छ तर अनावश्यक रुपमा त्यसो गरिँदा उद्धरणहरू वास्तविक छन् भन्नेमा शंका हुन्छ । अझ, नेपाल जस्तो राजनीतिक रूपमा विभाजित र उच्च निगरानी हुने मुलुकमा यो थप जोखिमपूर्ण हुन्छ ।

रिपोर्टले पर्याप्तरुपमा विविध मत र दृष्टिकोण समेट्न सकेको छैन । जबर्जस्ती योजनाबद्ध आगजनी स्थापित गर्न खोज्दा प्राविधिक विषयमा मात्र केन्द्रित भएको देखिन्छ । र, पुष्टि गर्न प्रयोग भएका प्रमाणहरू सीमित अग्नि विज्ञ, फोरेन्सिक विज्ञ र केही प्रत्यक्षदर्शी तथा सहभागीसँगको कुराकानीमा आधारित छन् । संयोजित विध्वंसकारी अभियान नै थियो भने त्यसको परिणाम मात्र हेरेर पुग्दैन, बरु कसले किन गर्‍यो पत्ता लगाउन सामाजिक-मनोवैज्ञानिक अनुसन्धान गर्नु पर्ने होइन ? त्यसका लागि अपराध विशेषज्ञ, मनोवैज्ञानिक, समाजशास्त्री, सुरक्षाविद्, संचारविज्ञ र अभियन्ताका आवाज आउनु पर्दैन ? युवा आक्रोश, भ्रष्टाचारविरुद्धको असन्तुष्टि र प्रणालीगत निराशा जसले आन्दोलन उत्पन्न गर्‍यो, रिपोर्टमा केवल पृष्ठभूमि मात्र बनेको छ । खासमा अनुसन्धानको प्रस्थान विन्दु यो हुनुपर्ने थियो कि ! 

नेपालको घटना न्यूयोर्क टाइम्सले रिपोर्टिङ गरिरहदा पश्चिमी विशेषज्ञमा अत्याधिक निर्भरता देखिन्छ । फलस्वरुप, बाह्य प्राविधिक दृष्टिकोण प्रस्तुत भए पनि स्थानीय सन्दर्भको अभाव खड्किन्छ । अन्तर्राष्ट्रिय रिपोर्टिङमा अझै औपनिवेशकालीन प्रयोगको झल्को यसले दिन्छ । त्यस्तै, रिपोर्टले प्रस्तुत गरेका डिजिटल दाबीहरू अप्रमाणिक छन् किनकि डिजिटल प्रमाण भनेर लेखे पनि ‘कन्टेन्ट’ को फोटो, मेटाडेटा, समय, स्रोत केही पनि दिइएको छैन । यस्ता महत्वपूर्ण तथ्य आंशिक रूपमा अन्वेषण नगरी प्रयोगमा ल्याएको देखिन्छ । 

रिपोर्ट लेखनमा पनि सन्तुलनको अभाव देखिन्छ । “सङ्गठित विनाश अभियान” भन्ने वाक्यांशलाई “सुरक्षा बलद्वारा घातक गोलीकाण्ड” भन्दा अधिक महत्त्व दिइएको छ । गोलीकाण्डका पीडितहरू एक पटक मात्र उल्लेख गरिन्छ तर योजनाबद्ध आगजनीकर्ता पटक पटक दोहोरिएको छ जसले गर्दा रिपोर्ट लेखन आफैमा असन्तुलित र एकतर्फी हो कि भन्ने लाग्छ । 

यो ‘खोजमूलक’ लेख न्यूयोर्क टाइम्सले भूराजनीतिक सन्दर्भमा ‘ग्लोबल न्यारेटिभ’ बनाउने प्रयास हो कि भन्ने देखिन्छ किनकि तेस्रो विश्वमा जनविद्रोह र सत्तापलट पश्चात पश्चिमा मिडियाले प्रायः उक्त विद्रोह कसको योजनामा भयो भन्ने भाष्य निर्माण गर्छ र छद्म अनुसन्धानमार्फत् सङ्गठित् वा बाह्य शक्तिको हस्तक्षेप संकेत गर्छ । जस्तै- श्रीलंका (२०२२), हङकङ (२०१९), म्यानमार (२०२१) । यस्तो अनुसन्धानमूलक रिपोर्टले आम जनआक्रोशलाई अरुबाट परिचालित भएको भनेर स्थापित गर्दै जनआक्रोश र विद्रोहको वैधत़ालाई समेत कमजोर गर्ने गरेका उदाहरण छन् । न्यूयोर्क टाइम्सको यो अनुसन्धान पछाडिको उद्देश्य के हो त्यो प्रष्ट आउनु पर्दछ । स्थानीय पत्रकार (सजल प्रधान) को उपस्थितिले यो रिपोर्टलाई नेपाली सन्दर्भमा जोडे पनि कथाको स्वर र शैलीमा पश्चिमी प्रभुत्व देखिन्छ । 

त्यसैले यस्तो अनुमानमा आधारित रिपोर्टले आम जनमानसमा जनविद्रोह बाह्य शक्ति र योजनामा भएको, अन्तरिम सरकार विदेशी हस्तक्षेपमा बनेको जस्ता हल्लालाई बल पुर्‍याउने काम नगरोस् तथा जनताको परिवर्तनको आकांक्षा र मागलाई अपराधीकरण गरी आन्दोलनको वैधतालाई कमजोर नबनाइयोस् भन्नेमा ध्यान दिनुपर्छ । यो रिपोर्टले नेपाललाई अस्थिरता र हिंसाको क्रिडास्थलको रूपमा स्थापित गर्ने जोखिम छ । यसले नेपालको अन्तर्राष्ट्रिय छवि बिगार्न सक्छ र विदेशी सहायता, कूटनीतिक सम्बन्ध तथा लगानीमा असर पार्न सक्छ । फलस्वरुप, नेपाल असफल राष्ट्र बन्न सक्छ । 

तसर्थ न्यूयोर्क टाइम्सले जिम्मेवार ढङ्गले ठोस प्रमाणका साथ वैज्ञानिक अनुसन्धान गरोस् वा सरकारले बनाएको स्वतन्त्र जाँच आयोगको प्रतिवेदन पर्खेर अझै गहिराइमा रिपोर्टिङ गरेर सत्य तथ्य बाहिर ल्याओस् । अन्यथा, पत्रकारितामा बलियो ब्रान्ड बनाएको न्यूयोर्क टाइम्स यस किसिमको “हेलिकोप्टर पत्रकारिता” अर्थात् पश्चिमी दृष्टिकोणबाट स्थानीय पीडा व्याख्या गर्ने भनेर आलोचित हुन सक्छ । 


पुष्कर खनाल सञ्चार विज्ञ हुन् । उनी हाल बेल्जियमको केयु लुवेन विश्वविद्यालयमा मानवशास्त्र र विकासमा एड्भान्स मास्टर्स गर्दै छन् । इमेलः [email protected]


Related Story

पत्रकारको चुनावमा ओलीले यसो गरे, प्रचण्डले कसो गर्लान्?

पत्रकारितालाई दलको दासत्वबाट मुक्त नगरी यसको विश्वसनीयता पुनर्स्थापना गर्न सकिएला ? दलीय पत्रकारका संगठनमाथिको विमर्श हालै विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको

प्रेस चौतारीमा चुनाव वा टिके प्रथा?

प्रेस चौतारीको महाधिवेशनमा देखिएको पार्टी नेतृत्वको हस्तक्षेपले महाधिवेशनको औचित्य र प्रतिनिधिहरूको सार्वभौम मताधिकारमाथि आघात प्रेस चौतारी नेपालको महाधिवेशनको पूर्वसन्ध्यामा देखिएका घटनाक्रमले

को हुन् पत्रकार महासंघको पहिलो अध्यक्ष ?

हालसम्मका ऐतिहासिक तथ्यहरू भन्छन्, सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा गठित पत्रकार संघ नेपाली पत्रकारहरूको पहिलो संगठन हो  आइतबार प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन

मिडिया प्रभावको सैद्धान्तिक आयाम

डा. निर्मलमणि अधिकारी - मिडियालाई समाजको यथार्थ प्रतिविम्ब दिने ‘ऐना’ मान्ने कि भ्रमित पार्ने ‘जादुको ऐना’ ठान्ने भन्नेमा मिडिया–अध्येताहरूमा लामो समयदेखि

बालुवाटारमा पत्रकार सम्मेलनको बेइज्जत

बालुवाटारमा प्रधानमन्त्रीको एकालाप, पत्रकारहरू सुनिरहे तर प्रश्न सोधेनन् एक दिन अघि मात्र प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन