हिमालमिडिया प्रालिको अंग्रेजी प्रकाशन नेपाली टाइम्स साप्ताहिक र नेपाली टाइम्स डटकममा नयाँ सम्पादक नियुक्त भएका छन्।
नेपाली टाइम्स डटकमको सम्पादकमा सहिना श्रेष्ठ र नेपाली टाइम्स साप्ताहिकको कार्यकारी सम्पादकमा सोनिया अवालेलाई नियुक्त गरिएको प्रकाशक कुन्द दीक्षितले जानकारी दिएका छन्।
श्रेष्ठ र अवाले दुवै १५ असोजदेखि लागू हुने गरी उक्त पदमा नियुक्त भएका हुन्। यसअघि नेपाली टाइम्सको सम्पादकीय नेतृत्व दीक्षितले नै सम्हाल्दै आएका थिए।
सन् २०१३ देखि नेपाली टाइम्समा आबद्ध श्रेष्ठले अमेरिकास्थित न्यूयोर्क विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन्।
हङकङ विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी अवाले सन् २०१५ देखि नेपाली टाइम्समा आबद्ध छिन्।
श्रेष्ठ यसअघि नेपाली टाइम्सको अडियन्स इन्गेजमेन्ट प्रमुख थिइन् भने अवाले नेपाली टाइम्सकी एसोसिएट एडिटर थिइन्।
नेपाली टाइम्स साप्ताहिक सन् २००० देखि नियमित रूपमा प्रकाशन हुँदै आएको छ। हिमालखबरबाट ।