जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता र संविधानविपरीत भएको ठहर गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमा श्रेष्ठलाई पक्राउ गरिएलगत्तै प्रहरीले उनको घर र कार्यालयमा मध्यराति खानतलासी गरेको उल्लेख गरेका छन् ।
"यही साउन २७ गते राति ९ बजेको समयमा काठमाडौं प्रहरी परिसरको टोलीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो”, विज्ञप्तिमा भनिएको छ, “पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट गएराति १ बजेतिर उहाँको घरमा र आज बिहानै कार्यालयमा खानतलासी गरिएको जानकारी प्राप्त भएको छ ।"
कान्तिपुरले पनि श्रेष्ठको घर तथा कार्यालयमा छापा मारेर प्रहरीले सञ्चार उपकरणहरु जफत गरेको लेखेको छ ।
बिहीबार बिहीबार बिहान ललितपुरको झम्सिखेलस्थित कार्यालय र मध्यराति उनको घरबाट प्रहरीले सीपीयू, मोनिटर, ल्यापटप र मोबाइललगायतका डिभाइस जफत गरेको कान्तिपुरले जनाएको छ ।
जनआस्थाका सम्पादक राजेन्द्र रिमाललाई उद्धृत गर्दै कान्तिपुरले मध्यराति १ बजे श्रेष्ठको घरमा छापा मारेर प्रहरीले ल्यापटपलगायतका डिभाइस जफत गरेको लेखेको छ ।
प्रेस काउन्सिलमार्फत् समाधान खोज्न महसंघको आग्रह
महासंघले समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरी परिचालन गरिनु स्वेच्छाचारी कदम भएको टिप्पणी गरेको छ ।
"समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल हो”, सरकारी कदमको भर्त्सना गर्दै महासंघले भनेको छ, “यसको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ ।"
महासंघले यो घटनालाई लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी सिद्धान्तमाथिको प्रहार भनेको छ ।
"यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ । महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ", महासंघको विज्ञप्तिमा भनिएको छ ।
पत्रकार श्रेष्ठलाई तत्काल विना शर्त रिहा गर्न महासंघले सरकारसँग माग गरेको छ । साथै, प्रेस काउन्सिल नेपाललाई पनि आफ्नो भूमिका प्रभावकारी बनाउन उसले आग्रह गरेको छ।
"महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषय भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ, “आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ ।"