डेटिङ एपको सहारामा शृंखलाबद्ध ठगी गर्ने कुख्यात अपराधी [The Tinder Swindler]

डेटिङ एपको सहारामा शृंखलाबद्ध ठगी गर्ने कुख्यात अपराधी [The Tinder Swindler]

नर्वेको पत्रिका भिजीको कभरेजको मुख्य तस्बिर ।
  • चैत्र १२, २०७८ शनिबार १७:२७

‘द टिन्डर स्वीन्ड्लर’ इन्टरनेटको दुनियाँमा बाँचिरहेको जोसुकैका लागि एउटा चेतावनी हो । र, आमनागरिकको न्यायका निम्ति गरिएको सचेत पत्रकारिताको कथा पनि हो । 


लन्डन निवासी सेसिलीले साइमन लिभाईलाई डेटिङ एप टिन्डरमा भेटिन् । र, कुनै दिन एक घन्टाको कफी डेट अचानक निजी जहाजमा बुल्गेरियासम्मको यात्रामा परिणत भयो । नियमित च्याट हुन्थ्यो– गुड मर्निङ, गुड नाइट, मिस यू, लभ यू । ह्वाट्स एपमा भइरहने च्याट, फोटो, भिडियो, उसको बिलासी जीवनशैली र निरन्तर भइरहने भेटघाटका कारण उनी साइमनप्रति पूर्ण विश्वस्त थिइन् । 

बहुमूल्य हिराको व्यापारमा संलग्न साइमनले सामना गर्नुपरेका खतरासँग पनि सेसिली भलिभाँती जानकार थिइन् । तर ह्वाट्स एपमा अचानक आइपुगेको साइमनको अंगरक्षकको रक्ताम्मे तस्बिर अनपेक्षित थियो । उनी आत्तिन्छिन् । स्थिति नियन्त्रणमा लिन केही रकम पठाइदिन उसले आग्रह गर्छ । विश्वास नगर्नुपर्ने कारण थिएन । पटक–पटक बैंकहरूबाट ऋण निकालेर उनले रकम दिइरहिन् । रकम फिर्ता हुनेमा उनी ढुक्क थिइन् । तर, एक दिन उनको विश्वास चकनाचुर भयो । 

द टिन्डर स्वीन्ड्लर’ अनलाइनमार्फत् महिलाहरूलाई मायाजालमा पारेर शृंखलाबद्ध ठगी गर्ने एक कुख्यात अपराधीको कथा हो । बहुमूल्य हिराको व्यापार गर्ने अर्बपतिको सन्तानका रूपमा आफूलाई चिनाउने ‘साइमन लिभाई’ उर्फ सिमोन एहुदा हायुत डेटिङ एप टिन्डर प्रयोग गरेर युरोपसहित विश्वका अन्य मुलुकका महिलालाई ठग्दै बिलासी जीवन बिताइरहेको हुन्छ । मन मुटुसँगै थैलीसमेत नराम्रोसँग लुटिएका ती महिलाहरू साइमनलाई ‘अप्ठ्यारो’ पर्दा दिएको सहयोगको मूल्य आजपर्यन्त चुकाइरहेका छन् । तीन साताअघि नेटफ्लिक्समा सार्वजनिक डकुमेन्ट्री ‘द टिन्डर स्वीन्ड्लर’ डिजिटल दुनियाँको दर्दनाक वास्तविकता हो ।

इन्टरनेटको एक क्लिक, स्वाइप वा स्क्रोलले जीवनलाई कसरी ध्वस्त बनाइदिन वा बदलिदिन सक्छ भन्ने दृष्टान्तहरू डकुमेन्ट्रीमा छन् । साइमनबाट ठगिएका मुख्य तीन पात्रका अनुभूति, उनीहरूसँग रहेका तस्बिर, भिडियो, अडियो म्यासेज र च्याट म्यासेजहरूले यसको कथावाचनलाई जीवन्त बनाएका छन् । डकुमेन्ट्री सार्वजनिक भएपछि सेसिलीसँगै पर्निल्ला र एलिन विश्वभर चर्चामा छन् । साइमनलाई विश्वास गरी उसको सहयोगार्थ बैंकहरूबाट लिएको ऋण तिर्न अहिले पनि उनीहरू हारगुहार गरिरहेका छन् । सेसिली, पर्निल्ला र एलिनले क्राउन्ड फन्डिङ वेबसाइट ‘गो फन्ड मी’मार्फत सहयोगको याचना गरेका छन् । ६ लाख पाउन्ड लक्ष्य राखिएको अभियानमा डेढ लाख पाउन्डभन्दा बढी रकम उठिसकेको छ । नेटफ्लिक्सले पनि उनीहरूको ऋण तिर्न सहयोग गरिदिन सार्वजनिक आह्वान गरेको छ ।

Tinder Swindler Poster Small.jpegडकुमेन्ट्रीक‍ा प्रभावहरू पक्कै पनि सकारात्मक छन् । सँगसँगै इन्टरनेटको एउटा दयनीय पाटो पनि उजागर हुन्छ । डकुमेन्ट्रीका तीन पात्रसहित सयौँ महिलाहरूबाट १० मिलियन अमेरिकी डलरभन्दा बढी ठगी गर्ने खलनायक साइमन भने सेलिब्रेटी जीवन बाँचिरहेको छ । डकुमेन्ट्री सार्वजनिक भएपछि उसको सेलिब्रेटी छविको सुई झन् उकालो लागेको छ । महिलाहरूमाथि गरेका अपराधको सजाय उसले भोग्नुपरेको छैन । अझ मिडिया ध्यानाकर्षणको फाइदासमेत उठाइरहेको छ । हालै ‘इनसाइड एडिसन’लाई दिएको अन्तर्वार्तामा साइमनको दाबी छ– ऊ संसारकै सर्वाधिक सज्जन मान्छे हो । 

डकुमेन्ट्री सेसिलीको कथाबाट सुरु हुन्छ । साइमनले आफू एलएलडी डाइमन्डको मालिक लेख लिभाइभको छोरा हो भनेर विश्वास दिलाइसकेको हुन्छ । परिस्थिति डरलाग्दो तब बन्दै जान्छ, जब उसले आफू दुस्मनहरूबाट खतरामा रहेको विश्वास दिलाउँछ । आफ्नो क्रेडिट कार्ड तथा बैंक प्रयोग गर्दा लोकेसन ट्र्याकका कारण सुरक्षा खतरा बढेको भान पारेर उनीसँग पैसा माग्छ । उसले बिजनेस डिल सकिनेबित्तिकै रकम फिर्ता गर्ने वाचा गरिरहेकै हुन्थ्यो । त्यसपछि डकुमेन्ट्रीमा अरू दुई महिला पर्निल्ला र एलिनको प्रवेश हुन्छ । उनीहरूको पनि कथा समान हुन्छ । साइमनले हरेकसँग एउटै रणनीति अपनाएर सम्बन्ध स्थापित गर्थ्यो, आफू अर्बपति हो भनेर विश्वास दिलाउँथ्यो र उनीहरूबाट ठूलो रकम आफ्नो मोजमस्तीका लागि खर्च गर्थ्यो ।  

नेटफ्लिक्सको सर्वाधिक हेरिएको फिल्मको सूचीमा पहिलो नम्बरमा उक्लिएको यो डकुमेन्ट्रीले नर्वेको पत्रिका ‘भिजी’लाई पनि विश्वमाझ चिनाइदिएको छ, जसले तीन वर्षअघि सन् २०१९ मा यो ठगी प्रकरणमाथि विस्तृत कभरेज गरेको थियो– ‘द टिन्डर स्वीन्ड्लर’ शीर्षकमा । यही नाममा बनेको नेटफ्लिक्सको डकुमेन्ट्री वास्तवमा ‘भिजी’को विशेष कभरेजको विस्तृत दस्ताबेजीकरण जस्तो लाग्छ ।

साइमनले सेसिलीलाई दिएको दुई लाख ५० हजार डलरको चेक सटही हुँदैन । तर, चेक दिइसकेको भन्दै जब ऊ तर्किन थाल्छ, बल्ल उनी आफू ठगिएको निष्कर्षमा पुग्छिन् । त्यसपछि उनी नर्वेमा प्रहरीको शरणमा पुग्छिन् । लामो समयदेखि प्रहरीबाट लुक्दै आफ्नो ठगीधन्दा चलाइरहेको उसलाई कसले रोक्ने ? उनको अन्तिम विकल्प मिडिया थियो । यसरी कथामा नर्वेको पत्रिका भिजी जोडिन आइपुग्छ । साइमनसँगको नितान्त व्यक्तिगत च्याटसहित करिब ४०० पृष्ठको डकुमेन्ट उनी भिजीलाई दिन्छिन् ।

TinderSwindler_Group_041ra.jpg

(बायाँबाट दायाँतर्फ) सेसिली, एलिन र पर्निल्ला । लन्डन, डिसेम्बर ३, २०२१ ।  फोटोः नेटफ्लिक्स


भिजीका चारजना पत्रकारको अनुसन्धानबाट पत्ता लाग्छ– २०११ देखि नै ऊ सानाठूला ठगीमा संलग्न थियो र प्रहरीको आँखा छल्दै ऊ विश्व सयर गरिरहेको थियो । युरोप त उसका लागि पानी पँधेरो थियो । सिसिलियाले दिएका सामग्री अध्ययनपछि भिजीका पत्रकारहरूले पर्निल्लालाई फेसबुकमा खोजेर सम्पर्क गर्छन् । जब पत्रकारबाट वास्तविकता थाहा पाउँछिन्, पर्निल्ला पनि छाँगाबाट खसेझैँ हुन्छिन्, किनभने साइमनले दिन्छु भनेको रकम उसको एकाउन्टमा पनि आइपुगेको हुँदैन । उनले पनि टिन्डर स्वाइप गर्दै गर्दा उसलाई देखेकी थिइन् । त्यो दाहिने स्वाइप यति महँगो पर्छ भन्ने उनले पनि कल्पना गरेकी थिइनन् । 

भिजीका पत्रकारबाट साइमनको वास्तविकता सुनेको भोलिपल्ट पर्निल्ला उसलाई भेट्न स्टकहोम जाँदै थिइन् । उनी र पत्रकारबीच सहमति बन्छ । पत्रकारले लुकेर त्यहीँ उसको फोटो खिच्छन् । र, ६ महिनाको अनुसन्धानपछि भिजीमा उक्त मल्टिमिडिया स्टोरी छापिन्छ । सेसिली र पर्निल्लाले सोचेका थिए, भिजीमा समाचार आएपछि मानिसहरूले उसलाई चिन्नेछन् र उसको अपराध कर्ममा ब्रेक लाग्नेछ । स्टोरी भाइरल हुन्छ । विश्वभरका मिडियाले चासो राख्छन् । प्रहरीलाई पक्राउ गर्न दबाब होस् भन्ने पनि उनीहरूको चाहना थियो । विश्वभरबाट पीडितहरूका फोन आउँछन् । सानाठूला गरेर उसले कैयौँ महिलाहरूबाट १० मिलियन अमेरिकी डलर ठगी गरेको थियो ।

सेसिली र पर्निल्ला ‘भिजी’को स्टोरीमा छन्, तर एलिन भने छैनन् । किनभने एलिनको कथा ‘भिजी’को उक्त कभरेजको पाठकका रूपमा सुरु हुन्छ । एलिन चार्लोट आफ्नो ‘ब्वाइफ्रेन्ड’ ठग भएको समाचारबाट पत्तो पाउँछिन् । ‘भर्डेन्स ग्याङ’ अर्थात् छोटकरीमा ‘भिजी’ भनिने नर्वेको यो पत्रिकाले लामो समयदेखि अनलाइन डेटिङ एप प्रयोग गरेर महिलाहरूलाई ठगिरहेको उक्त पुरुषबारे छापा र अनलाइनमा विशेष कभरेज गरेको थियो । २०१९ फेब्रुअरीमा प्रकाशित उक्त स्टोरीमा सेसिली र पर्निल्ला नामका युवतीहरू टिन्डरमा भेटिएको एक इजरायली पुरुषबाट कसरी ठगिए भनेर विस्तृत उल्लेख गरिएको थियो । एलिनलाई वास्तविकता विश्वास गर्न गाह्रो पर्छ । स्टोरीका दुई पात्रमध्ये पर्निल्लालाई उनले इन्स्टाग्राममा खोज्छिन् । 

पर्निल्लासँगको कुराकानीपछि उनी थाहा पाउँछिन्– उनको ‘ब्वाइफ्रेन्ड’ कसरी ठगीधन्दा चलाइरहेको छ । हरेकलाई ठग्ने तरिका समान थियो । ‘पोन्जी स्किम’ भनिने यो ठगीधन्दामा पहिलो व्यक्तिबाट लिएको रकम दोस्रो व्यक्तिमा र दोस्रो व्यक्तिबाट लिएको रकम तेस्रो व्यक्तिमा गर्दै एवंरीतले खर्च गरिन्छ । साइमनले एउटा पीडितको रकम अर्कोलाई प्रलोभनमा पार्न खर्च गथ्र्याे । १९२० को दशकमा इटलीका चाल्र्स पोन्जीले अपनाएको ठगी विधिलाई नामकरण गर्ने क्रममा यसलाई पोन्जी स्किम भनिएको रहेछ । 

भिजीको स्टोरी ‘द टिन्डर स्वीन्ड्लर’ पढिरहँदा एलिनले आफूलाई पनि त्यहीँ कतै भेटिन् । किनभने उनले पनि साइमनलाई पाँचतारे होटेलमै भेटेकी थिइन् । त्यसरी नै उसले विश्वास दिलाएको थियो । केही समयको प्रेम सम्बन्धपछि उनले पनि ठूलो रकम उसलाई दिएकी थिइन्, ताकि उसका दुस्मनहरूबाट ऊ सुरक्षित हुन सकोस् । भिजीको मल्टिमिडिया प्याकेजमा भिडियो, अडियो र टेक्स्ट म्यासेजहरू थिए । ह्वाट्स एपमा संवाद एकपटक फेरि नियालिन्, तरिका उस्तै थियो । पर्निल्ला स्टकहोममा घर खोजिरहँदा सेसिली लन्डनमा घर खोजिरहेकी हुन्थिन् । उता एलिन एमस्टरड्याममा घर खोजिरहेकी हुन्थिन् । सबैजना आफ्नो प्रेमी साइमनसँग आरामदायी बसाइको कल्पनामा थिए । 

बिजनेस मिटिङदेखि हरेक ठाउँमा सँगै लगेर विश्वास दिलाउँथ्यो । पाँचतारे होटेलमा स्वागत गर्थ्यो । ठेगाना सोधेर गुलाफको बुके पठाउँथ्यो । भ्वाइस म्यासेज आइपुग्थ्यो – आई लभ यू । कहिलेकाहीँ अचानक युवती बसिरहेको सहरमा पुगेर सरप्राइज दिन्थ्यो । प्रेम झांगिरहेकै थियो । अविश्वास गर्नुपर्ने कुरै थिएन । तर, उनीहरूको सबैको सपना चकनाचुर हुन्छ, जब साइमन पूर्ण रूपमा झूटो ठहरिन्छ । 

tinder-swindler-simon-arrested.jpg

साइमन लिभाई ग्रिसमा पक्राउ परेपछि । फोटोः screenrant.com


डकुमेन्ट्रीको कथा सन् २००२ को बायोग्राफिकल सिनेमा ‘क्याच मी इफ यु क्यान’सँग पनि मिल्छ, भलै यी दुई फरक कथा हुन् । कहिले शिक्षक, कहिले चिकित्सक त कहिले पाइलट हुँ भनेर ढाँट्दै फ्रान्क विलियम अबाग्नेलले १९ वर्ष उमेर नपुग्दै कसरी कैयौँ मिलियन अमेरिकी डलर ठगी गर्छ र कानुनबाट उम्किरहन्छ भन्ने कथा उक्त फिल्ममा छ । 

भिजीको स्टोरी पढेपछि एलिनमा आत्मविश्वास पलाउँछ कि उनी ठगविरुद्ध कानुनी कारबाहीको प्रयत्न गर्न सक्छिन् । उनले सबै कुरा थाहा पाए पनि उसप्रति बफादार रहेको अभिनय गर्दै अन्तिमपटक भेट्छिन् । छुट्नुअघि उनले साइमनका तीन बाकस महँगा कपडाहरू बोक्छिन् । र, त्यसलाई इन्टरनेटमा बिक्रीमा राख्छिन् । भिजीमा स्टोरी छापिएपछि साइमनको कर्तुत छताछुल्ल भएको थियो । नयाँ सिकार पाउन उसले छोडेको थियो । त्यसैले ऊ खर्चका लागि त्यही कपडा बेचेर आउने रकमको आशमा बसिरहेको थियो ।

साइमनका लागि ठूलो रकम खर्चिएकी एलिन उसका सबै कपडा बेचेर १० हजार अमेरिकी डलर कमाउँछिन् । ‘मैले उसका लागि जे गुमाएँ, त्यसको तुलनामा यो पक्कै पनि केही पनि होइन’, डकुमेन्ट्रीमा उनी भन्छिन्, ‘तर थोरै नै भए पनि पैसा त फिर्ता आयो ।’

यत्तिकै एलिनको मन कसरी शान्त हुन्थ्यो ? अन्तिम बदला लिने निश्चय गरिन् । नक्कली पासपोर्ट प्रयोग गरी ऊ जर्मनीको म्युनिकबाट ग्रिस जाँदै थियो । जब यो सूचना उनले प्रहरीलाई दिइन् । यसरी भिजीमा स्टोरी छापिएको पाँचौँ महिनामा ऊ पक्राउ पर्छ । इजरायलमा उसलाई पुराना प्रकरणहरूमा १५ महिनाको सजाय हुन्छ तर ऊ पाँच महिनामै छुट्छ । पछिल्लो अपराधका लागि भने उसमाथि कुनै प्रकारको सजाय हुँदैन, बरु ऊ सेलिब्रेटी छवि बेच्न व्यस्त छ । 

बरु पीडितलाई झन् पीडा दिने र आरोपित गर्ने प्रवृत्ति यहाँ पनि देखिन्छ । जब भिजीमा यसबारे स्टोरी छापियो, कति प्रतिक्रियाहरू यस्ता थिए– जहाँ साइमनबाट ठगिएका महिलाहरूलाई नै पैसाका लागि प्रेमको खेती गर्ने ‘गोल्ड डिगर’ भन्दै आरोपित गरिएका थिए ।

पात्रहरूका कथा र पृष्ठभूमिको संगीतले दर्शकको ध्यान पटक्कै बाहिर जान दिँदैन । कतै यस्तै अनलाइन व्यवहारबाट तपाईं पनि ठगिनुभएको वा धोका खानुभएको त छैन भनेर आफैँलाई प्रश्न गर्ने अवसर पनि पाउनुहुन्छ । 

तपाईं डेटिङ एप चलाउनुस् वा नचलाउनुस्, ‘द टिन्डर स्वीन्ड्लर’ अपरिचित मानिसहरूसँग अनलाइनमा च्याट गर्ने जोसुकैका लागि एउटा चेतावनी हो । यो साझा शत्रुविरुद्ध एकजुट पीडित महिलाहरूको कथा पनि हो । र, यो आमनागरिकको न्यायका निम्ति गरिएको सचेत पत्रकारिताको कथा पनि हो । ‘द टिन्डर स्वीन्ड्लर’ इन्टरनेटको दुनियाँमा हामी सुरक्षित छैनौँ भन्ने प्रमाण हो । कुन खाल्डोमा कतिवेला भासिन्छौँ हामी अनुमान गर्न सक्दैनौँ । तर, हाम्रो विचार, व्यवहार कसरी नियन्त्रित हुन सक्छ भनेर सचेत हुन र हामी बाँचेको समाजलाई सचेत बनाउन पक्कै सक्छौँ । अहिलेलाई हामीले गर्न सक्ने यति नै हो । 


पहिलोपटक नयाँ पत्रिका दैनिक (झन् नयाँ) मा प्रकाशित ।


Related Story

१० डलरको सेवालाई ‘प्रिमियम कन्टेन्ट’को नाममा २६ डलर तिर्न पाठक तयार होलान्?

न्युयोर्क टाइम्स र रिपब्लिक मिडियाबीच भएको अनौठो सहकार्यले नेपाली पाठकलाई फाइदा हुन्छ कि बोझ मात्र थप्छ ? नेपाल रिपब्लिक मिडिया लिमिटेड

के अबको पत्रकारिता भिजुअल नै हो? युट्युबमा नेपाली मिडियाका ठूला नाम

ठूला समाचार कक्षको नेतृत्व गरेका सम्पादकहरूको भिडियो प्लेटफर्म युट्युबमा बलियो उपस्थिति गत जेठ अन्तिम साता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले

के अबको पत्रकारिता भिजुअल नै हो ? युट्युबमा नेपाली मिडियाका ठूला नाम

ठूला समाचार कक्षको नेतृत्व गरेका सम्पादकहरूको भिडियो प्लेटफर्म युट्युबमा बलियो उपस्थिति गत जेठ अन्तिम साता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले

Aiding the Digital Revolution in Global Financial Inclusion

Expanding people’s access to finance, reducing the cost of digital transactions, and channeling wage payments and social transfers through financial

नयाँ माध्यम र सामाजिक सञ्जाल

निर्मलमणि अधिकारी- ‘नयाँ माध्यम’ (न्यू मिडिया) शब्दावलीमा आएको ‘नयाँ’ शब्दको अर्थ सन्दर्भअनुसार लगाउनु पर्ने हुन्छ । कुनै जमानामा छपाइ मेसिन (मुद्रण यन्त्र)

Nepal’s Interface with Information

New survey shows that as mobile ownership spreads, the social web is far ahead of the mainstream press new survey of

डिजिटल पत्रकारिताको रफ्तार

डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

अनिल यादव र निर्भीकजंग रायमाझी- मंगलबार झिसमिसेमै जिल्ला प्रहरी कार्यालय तनहुँका केही प्रहरी गेटअगाडि बाँस र डोरीले बार लगाइरहेका थिए। धेरैलाई