निर्मलमणि अधिकारी-
‘नयाँ माध्यम’ (न्यू मिडिया) शब्दावलीमा आएको ‘नयाँ’ शब्दको अर्थ सन्दर्भअनुसार लगाउनु पर्ने हुन्छ । कुनै जमानामा छपाइ मेसिन (मुद्रण यन्त्र) पनि नयाँ थियो । रेडियो तथा टेलिभिजन पनि जुन बेला सुरु भएका थिए, त्यतिबेला नयाँ नै थिए तर आजको सन्दर्भमा पुरानो प्रविधिबाट सञ्चालन हुने पत्रपत्रिका, रेडियो तथा टेलिभिजन माध्यमहरू पुराना माध्यम मानिन्छन् किनभने तीभन्दा झन् नयाँ माध्यम आइसकेको छ ।
वर्तमान परिप्रेक्ष्यमा ‘नयाँ’ भनेर डिजिटल प्रविधिको प्रयोगलाई इङ्गित गरिएको हो । कम्प्युटर तथा मोबाइल फोनमार्फत मानिसले दूरसञ्चार, सूचनाप्राप्ति र मनोरञ्जन लगायतको संकेन्द्रित प्रयोग गरिरहेका छन् । अनलाइन समाचार माध्यम, सोसल मिडिया, ब्लग, भिडियो गेम आदिलाई सञ्चारविद्हरूले ‘नयाँ माध्यम’ भनेर उल्लेख गरेको पाइन्छ ।
रबर्ट लोगनले आफ्नो पुस्तक अण्डरस्ट्याण्डिङ न्यु मिडियामा ‘नयाँ माध्यम’ भन्नाले त्यस्ता डिजिटल माध्यम हुन्, जो अन्तक्र्रियात्मक (इन्टरएक्टिभ) छन्, दोहोरो सञ्चार सम्मिलित गर्छन् र कम्प्युटिङको कुनै न कुनै स्वरूप प्रयोग गर्छन् भन्ने परिभाषा दिएका छन् । द न्यु मिडिया रिडर पुस्तकमा ‘नयाँ माध्यम’ का विज्ञ प्राध्यापक लेव् म्यानोविच्ले यो माध्यम कम्प्युटरमा आधारित रहेको वा वितरणका लागि कम्प्युटरमा निर्भर रहेको विश्लेषण गरेका छन् । ‘नयाँ माध्यम’ अनिवार्यतः डिजिटल प्रविधिमा आधारित छन् ।
‘नयाँ माध्यम’ को उद्भव, विकास र प्रयोगमा कम्प्युटर प्रविधिको निर्णायक प्रभाव देखिएको छ । कम्प्युटर र इन्टरनेटको आविष्कारपछि त्यसको प्रभाव सञ्चार क्षेत्रमा पनि प¥यो र सूचना तथा सञ्चार प्रविधिको विकासका कारणले मिडिया जगत्मा पनि अभूतपूर्व परिवर्तन आयो । सूचना र मनोरञ्जनका लागि वर्तमान समयमा डिजिटल प्रविधिका अनेकौँ उपकरण उपलब्ध छन् । पत्रपत्रिकाका प्रकाशक र रेडियो स्टेसन तथा टेलिभिजन च्यानलका सञ्चालकहरूले पनि आफ्नो सेवालाई ‘नयाँ माध्यम’ मार्फत प्रस्तुत गर्न थालिसकेका छन् । आज ‘नयाँ माध्यम’ लगभग सबै प्रकारका सूचनाहरूको साझाथलो (प्लेट्फर्म) बनिसकेको छ ।
‘नयाँ माध्यम’का लागि कम्प्युटर प्रविधिमा आधारित डिजिटल प्लेटफर्मको प्रयोग सूचनाको वितरण प्रणालीका लागि पनि अनिवार्य रूपमा भइरहेको छ । तसर्थ, कम्प्युटर प्रविधिमा नयाँ विकास हुनासाथ त्यसको प्रत्यक्ष प्रभाव ‘नयाँ माध्यम’मा स्वतः पर्छ । भविष्यमा सूचना तथा सञ्चार प्रविधिमा आउने परिवर्तनसँगै ‘नयाँ माध्यम’ को स्वरूपमा पनि परिवर्तन अवश्यम्भावी देखिन्छ । ‘नयाँ माध्यम’ साँच्चिकै नयाँ भएको हुनाले यो आफ्नो विकासको प्रारम्भिक चरणमा छ र प्रविधिमा हुँदै गरेका तथा भविष्यमा हुने विकाससँगै यसको थप चमत्कार देख्न पाइने आकलन अध्येताहरूको रहेको छ ।
‘नयाँ माध्यम’मा उच्च अन्तक्र्रियात्मकता एक मुख्य विशेषता देखिन्छ । ‘नयाँ माध्यम’का प्रयोगकर्ताहरू केवल लक्षित प्रापकवर्ग मात्र होइनन्, यिनीहरू त सूचना वा अन्तर्वस्तुका सक्रिय उत्पादक पनि हुन् । अर्थात्, ‘नयाँ माध्यम’का प्रयोगकर्ताहरूमा प्रेषक र प्रापक दुइटै भूमिकाको सहविद्यमानता छ । ‘नयाँ माध्यम’को कारणले नयाँ स्वरूपका सञ्चार व्यवहार सम्भव भएका छन् । यसरी डिजिटल सञ्चार सञ्जाल पनि नयाँ माध्यमको एक विशेषताका रूपमा रहेको छ । अनलाइन डिजिटल प्लेटफर्ममा अस्तित्व रहेका भर्चुअल समुदायहरूको प्रभाव वास्तविक समाज वा समुदायमा पनि पर्छ । नयाँ माध्यमको प्रभाव सामाजिक मूल्यमान्यता र सामाजिक रूपान्तरणमा पनि परेको देखिन्छ ।