नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका क्रममा सदस्यता त्याग गर्नेहरूको ‘ट्रेन्ड’ हेर्दा महासंघका करिब ५० प्रतिशत सदस्य गैरपत्रकार रहेको देखिएको छ । महासंघले तीब्रताका साथ चलाइरहेको अभियानको प्रारम्भिक परिणाम हेर्दा करिब ५० प्रतिशत महासंघका सदस्य ‘पूर्व पत्रकार’ वा ‘गैरपत्रकार’ रहेको देखिन्छ ।
“सदस्यता शुद्धीकरण अभियान असारसम्म सकिइसक्छ”, महासंघका महासचिव रोसन पुरीले भने, “महासंघको सदस्य संख्या अहिलेभन्दा ५० प्रतिशत घट्ने देखिन्छ ।”
यसअघि १६४ सदस्य रहेको मकवानपुर शाखामा शुद्धीकरणपछि ७० जनाको मात्र सदस्यता कायम भएको छ । मकवानपुरमा यसअघि सदस्य रहेका ५७ प्रतिशत शुद्धीकरणका क्रममा महासंघबाट बाहिरिएका छन् ।
नुवाकोटमा १७४ सदस्य रहेकोमा अब १०५ जनाको सदस्यता नवीकरण नहुने भएको छ । यहाँ ६० प्रतिशतको सदस्यता नवीकरण नहुने भएको छ । रुकुम पश्चिममा महासंघ सदस्यको संख्या १०३ जनाबाट ६१ पुगेको छ । यहाँ ४० प्रतिशतको सदस्यता नवीकरण भएन । गुल्मी जिल्लामा ८५ बाट सदस्यको संख्या २६ पुगेको छ । पहिलाको तुलनामा यहाँ सदस्यको संख्या ६९ प्रतिशतले घटेको हो ।
पत्रकार महासंघलाई कृयाशील पत्रकारको मात्र संगठन बनाउनु शुद्धीकरणको उद्देश्य रहेको महासचिव पुरीले बताए ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासचिव रोसन पुरीको नेतृत्वमा सदस्यता शुद्धीकरण समिति गठन गरेको थियो । पुरी संयोजकत्वको समितिमा पूर्वमहासचिव उजिर मगर तथा पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य छन् ।
महासंघले माघ १९ गते अपिल जारी गर्दै “सदस्यता शुद्धीकरण अभियान २०७९” थाल्ने घोषणा गरेको थियो । समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ। पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएकालाई स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न महासंघको अपिल छ ।
सदस्यता शुद्धीकरण मापदण्ड कडाईका साथ लागू गरिने र हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाइए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइने पुरीले बताए ।
मापदण्ड नपुगेकाहरूलाई सदस्यबाट हटाउँदा सदस्यता कायम गरिदिन माग गर्दै राजनीतिक नेतृत्वसम्मको दवाव आएको पुरी बताउँछन् । मापदण्ड पुगेका बाहेकलाई कुनै पनि हालतमा महासंघको सदस्यता नदिन आफूहरू प्रतिबद्ध रहेको उनको भनाई छ ।
महासंघले सदस्यता शुद्धीकरणलाई प्रभावकारी बनाउन शाखाहरूमा पनि कार्यदल गठन गरी काम अगाडि बढाएको छ । यसरी गठित कार्यदलहरूले तयार पारेका प्रतिवेदनका आधारमा शुद्धीकरण अभियानलाई तीब्रता दिइएको महासचिव पुरीको भनाई छ ।
यसरी बने जो पनि पत्रकार
२०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापित भएसँगै पत्रकार महासंघको संगठन विस्तारका क्रममा अन्य पेशा व्यवसायमा संलग्नहरूले पनि सदस्यता लिन थालेको पुरी बताउँछन् । “संगठन निर्माणका क्रममा संख्या अपुग हुन्थ्यो, पत्रपत्रिकामा लेख्ने र मिडियामा रुची राख्ने तर मूल पेशा कर्मचारी, शिक्षक, वकिल आदि हुनेहरूलाई सदस्य राखेर अपुग संख्या पूर्ती गरिन्थ्यो’, पुरी भन्छन्, “त्यही चलन पछि विकृत बन्दै गैरपत्रकारहरूको वर्चस्व हुनेसम्मको स्थिति बन्यो ।”
पछि स्थिति यस्तोसम्म बन्दै गयो कि सेना, प्रहरी, गुप्तचर, निजामति कर्मचारी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरू, वित्तीय संस्थाका कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि जो पनि महासंघमा सदस्य बन्न थाले । श्रमजीवी पत्रकार ऐन, २०५१ लागू भएसँगै महासंघमा सदस्यता शुद्धीकरणको माग उठेको थियो । महासंघका हरेकजसो महाधिवेशनहरूमा यो मुद्दा उठरहेकै थियो तर शुद्धीकरणको ठोस पहल भने पहिलोपटक भएको हो ।
विकृत बनाइयो पार्सदलाई
महासंघमा केन्द्रीय समिति चुन्ने अधिकार पार्सदलाई मात्र थियो । पार्सद चुनिनका लागि १० जना सदस्य चाहिन्थ्यो । पार्सद बन्नका लागि यो व्यवस्था दुरुपयोग हुँदै जाँदा जो पनि महासंघको सदस्य बन्ने स्थिति देखा पर्यो । पार्सदको व्यवस्था २०७५ सालदेखि हटाइएको थियो ।
स्वेच्छिक रुपमा नेपाल पत्रकार महासंघको सदस्यता त्याग्नेहरूलाई सम्बन्धित शाखाहरूले सम्मानसहित बिदाई पनि गरिरहेका छन् । महासंघ नवलपरासी शाखाले जेठ पहिलो साता आफ्ना पूर्व सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको थियो ।
महासंघमा हाल १३ हजार ७७ जना सदस्य छन् । महासंघले शुद्धीकरण पूर्व आफ्ना सम्पूर्ण सदस्यको सूची वेबसाइटमार्फत् सार्वजनिक गरिसकेको छ ।
प्रारम्भिक रुपमा स्वेच्छिक रुपमा सदस्यता त्याग्नेहरूको ट्रेन्ड हेर्दा यो संख्या ५० प्रतिशतले घटेमा महासंघमा सदस्य रहेका पत्रकारको संख्या करिब ७ हजार मात्र हुने देखिन्छ ।
यस्तो छ शुद्धीकरण मापदण्ड
नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’
सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिमरुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरौँ ।
१. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश समितिले महासचिव अनिवार्य रहेको समिति तत्काल गठन गरेर सम्पर्क नम्बरसहितको विवरण केन्द्रीय समितिलाई उपलब्ध गराउने । शाखा समितिले पनि आवश्यक समिति निर्माण गर्न सक्नेछन् ।
२. सार्वजनिक भएका साधारण सदस्यले कुन सञ्चारमाध्यममा र कहिलेदेखि (विगतमा काम गरेको र अहिले काम गरिरहेको संस्थाको नामसमेत) काम गरिरहेको भन्ने विवरण शाखा समितिले जेठ २५ गतेसम्म प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उपलब्ध विवरण अध्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउने । नवीकरणका हकमा महासंघको विधानको दफा ५ को उप–दफा (६) अनुसार व्यक्तिगत विवरण एक पटकका लागि (काम गरिरहेको विवरण खुल्ने कागजातहरु जस्तै, नियुक्तिपत्र वा परिचयपत्र वा संस्थागत कर्मचारी विवरणसहितका कागजात) शाखामा अनिवार्य उपलब्ध गराउने । त्यसरी प्राप्त फोटोसहितको पूर्ण डिजिटल विवरण (आवश्यक कागजातसहित) शाखाले एक–एक प्रति प्रदेश र केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने ।
३. उपलब्ध नाम तथा काममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरी उपर प्रदेश समितिले बनाएको समितिलेआवश्यक छानवीन गरेर केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्म जानकारी गराउने । केन्द्रमा प्राप्त सबै नाममध्ये विवादित नामका सन्दर्भमा शुद्धीकरण समितिको कार्यविधिअनुसार तत्काल टुंगो लगाउने ।
४.नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने । नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरणसहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने । प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने ।
५. सदस्य नवीकरण र नयाँ सदस्यता सिफारिसका सन्दर्भमा शाखा समितिले सर्वसम्मत सिफारिस गरेका हकमा प्रदेश समितिले यहीँ मापदण्डका आधारमा निर्णय गरेर केन्द्रीय कार्यलयमा अभिलेखिकरणका लागि पठाउने । शाखाको कार्यसमितिमा विवाद भएको वा सर्वसम्मत नभएकाको वा उजुरी परेकाको हकमा प्रदेश समितिले उत्पन्न विवाद यही मापदण्डका आधारमा टुंगो लगाउने । तर, त्यसरी प्रदेश समितिमा पनि सर्वसम्मतरुपमा निर्णय हुन नसकेकाको हकमा भने शुद्धीकरण समितिले आफ्नो कार्यविधिअनुसार अन्तिम टुंगो लगाउने ।
६. प्रतिष्ठान प्रदेश अन्तरगतका शाखामा विधानअनुसारको संख्या नपुगेमा शाखा मर्जर गर्ने वा सदस्यलाई आफू खुसी जान चाहेको शाखामा स्थानान्त्रणका लागि समय दिने वा खारेजीका लागि प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने र शुद्धीकरण समितिले सो सिफारिस र विधानको व्यवस्थाअनुसार शाखा कायम राख्न संख्या नपुगेकाको हकमा आवश्यक निर्णय लिने ।
७. विधानको दफा ५(६) मा सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई स–सम्मान बिदाई गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने । उक्त निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेर केन्द्रीय समितिमा पठाउने ।
८. विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघसंस्थाका हकमा भने यो व्यवस्था लागू हुने छैन ।
९. मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरुपमा लागू गर्ने ।
१०.जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, वित्तीय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।
११.एसोसिएट संस्थाको हकमा जेठ मसान्तसम्म संस्था दर्ता, नवीकरणलगायतका अध्यावधिक विवरण (गत असार मसान्तसम्मको) प्रदेश समिति र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने । संस्था दर्ता तथा नवीकरणलगायतका कागजात अद्यावधिक नगर्ने संस्थालाई विधानको दफा ५ अनुसार आवद्धता सदस्यता प्रदान नगर्ने र साधारण सदस्यताका सम्बन्धमा शुद्धीकरण समितिले एसोसिएट प्रदेशको समन्वयमा आफ्नो मापदण्डमा रहेर आवश्यक निर्णय लिने । एसोसिएट संस्थाले महासंघको सदस्यता कायम गर्नका लागि महासंघको विधानअनुसारका योग्यता पुगेका व्यक्तिलाई मात्रै सदस्यता दिने व्यवस्था मिलाउने ।
१२. केन्द्रीय साधारणसभाको अधिकारसहित म्याण्डेट, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनअनुसार साउन १ गतेसम्म शुद्धीकरण समितिले दिएको प्रतिवेदन अनुसार केन्द्रीय समितिले सदस्यता सम्बन्धि विवरणलाई सूचीकरण गर्ने । विधानको दफा ५ को उप-दफा (८) अनुसार साउन १ गतेसम्म कायम सदस्यले मात्रै आउँदो महासंघको चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने ।
१३. विभिन्न पेशा व्यवसायमा आवद्ध भएर पनि पत्रकारिता क्षेत्रमा आंशिक क्रियाशील भएका व्यक्तिलाई स्वघोषणा गरेर सक्रिय सदस्यता त्याग्नका लागि शाखा समितिले सुरुवातमै आव्हान गर्ने । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित शाखाले विदाइ गर्ने र आवश्यकताका आधारमा मानार्थ सदस्यता प्रदान गर्ने ।
१४. पत्रकारिताबाहेकको अन्य कामका लागि विदेश गएका महासंघका सदस्यको हकमा ६ महिना भन्दा धेरै समय विदेशमा रहेको अवस्थामा सदस्यता निलम्वन गर्ने प्रावधानलाई लागू गरिनेछ । तर, वैदेशिक शाखा नियमावलीअनुसार महासंघका वैदेशिक शाखा र आवद्ध संस्थामा सदस्यता सार्नसक्ने प्रबन्ध मिलाउने । त्यसैगरी सदस्यता स्थानान्तरण गर्दा महासंघका अन्य सदस्य समान पत्रकारिताको क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ । नयाँ सदस्यताको हकमा विधानअनुसारको मापदण्ड लागू हुने ।
१५. महासंघको यो शुद्धीकरण अभियानलाई कार्यान्वयन गर्ने कम्तिमा १० वटा शाखा र उत्कृष्ट प्रदेश समितिलाई केन्द्रीय महाधिवेशनमा सम्मान गरिनेछ । तोकिएको समायावधिभित्र तोकिएका समितिहरुले काम सम्पन्न नगरेमा शुद्धीकरण समितिले आफ्नो कार्यविधिमा रहेर काम टुंगो लगाउने ।