अनिल कुमार गुप्ता नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्य हुन् । उनी २०७७ साल चैतमा उपत्यका प्रदेशको कार्यसमितिको सदस्यमा सर्वसम्मत भएका थिए । तर उनले पत्रकारिताको आवरणमा मानव तस्करी गरेको खुलेको छ ।
आफूलाई पत्रकार दाबी गर्ने गुप्ताले पत्रकारिताको आवरणमा मानव तस्करी गर्दै आएको खुलासा रातोपाटी डटकमले गरेको हो । गुप्ताले आफूलाई शिक्षा मन्त्रालयको स्वकीय सचिव हुँ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएर मानिसहरूलाई कोरिया तस्करी गरेको खुलेको छ । गुप्ताले कसरी मानव तस्करी गर्थे ?, कसरी खुल्यो उनको पोल ? आउनुस् यी प्रश्नको जवाफ खोजौँ ।
०००
झापाकी छिरिङ डोमा शेर्पाको एउटै सपना थियो- कोरिया जाने । सन् २०१९ मा इपीएस परीक्षामा नाम पनि निस्कियो । तर कोभिड महाव्याधिका कारण यात्रा रोकिएपछि उनले कोरिया जान चोर बाटो रोजिन् । साथीहरूको सङ्गत र सहयोगमा उनले अनिल कुमार गुप्तालाई भेटिन् ।
"म जुन घरमा बस्थेँ, त्यही घरमा बस्ने पेमा शेर्पा भन्ने साथी पनि कोरिया गएकी थिइन् । तर उनले इपीएस परीक्षा पास गरेर गएकी थिइनन् । मैले तिमी कसरी गयौ भन्दा कसैले पठाइदिएको बताइन् । त्यतिबेला उनले १० लाखजति तिरेको सुनेको छु," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "म पनि आउन चाहन्छु, सम्पर्क गराइदेउ न भनेपछि पेमाले कुमार गुप्ता भन्ने व्यक्तिको फेसबुक आइडी पठाइदिइन् ।"

रातोपाटी कार्यालयमा छिरिङ डोमा शेर्पा । फोटो साभारः रातोपाटी
गुप्ताकै सहयोगमा साथी कोरिया गएको बुझेपछि लोभिएका शेर्पाले गुप्तालाई फेसबुक सम्पर्क गरिन् । उनले आफ्नो नम्बर दिएर भेट्न बोलाए । "भेटपछि उनले आफ्नो नाम अनिल गुप्ता भएको र शिक्षा मन्त्रालयको स्वकीय सचिव रहेको बताए," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "मलाई भेट्न बोलाउँदा पनि सिंहदरवार भित्रै बोलाउँथे । तर शिक्षा मन्त्रालयमा नभई उनले मलाई क्यान्टिनतिर बोलाउँथे ।"
१३ लाख ५० हजार रुपैयाँमा कोरिया लैजाने डिल भयो । ढिलोमा ४ महिनामा सबै काम सकिने आश्वासन दिएपछि शेर्पाले ७ लाख ५० हजार रुपैयाँ बझाइन् ।
गुप्ताले शेर्पालाई पत्रकार बनाएर कोरिया लैजाने प्रपञ्च बुनेका थिए ।
गुप्ताले शेर्पालाई कानुनी बाटोबाट कोरिया पठाउने भन्दै सुरुमा ‘गोलमेच साप्ताहिक’को पत्रकार बनाए । उक्त साप्ताहिकका अध्यक्ष तथा सप्पादक एकराज दाहालको सहयोगमा शेर्पाकै नाममा २०८० जेठ ५ गते बाइलाइन समाचार पनि प्रकाशन गरे । सोही साप्ताहिकको कार्यालयबाट कर्मचारी विवरणमा शेर्पाको नाम राखेर सूचना विभागबाट पत्रकार परिचयपत्र प्रमाण पत्र समेत बनाइयो ।

'अमेरिकाको नाङ्गो हस्तक्षेप' शीर्षकमा गोलमेच साप्ताहिकमा छापिएको शर्पाको नाममा बाइलाइन समाचार ।
"गुप्ताले मलाई गोलमेच साप्ताहिक नामक पत्रिकाको पत्रकार बनाइदिने र त्यही पत्रिकाको कार्यालयबाट कर्मचारी विवरणमा मेरो नाम राखेर सूचना विभागमा पत्रकार परिचयपत्र बनाउनका लागि सिफारिस गराइयो," शेर्पाले रातोपाटीसँग भनेकी छन्, “त्यही सिफारिसका आधारमा २०७९ असोज ४ गते मैले सूचना विभागबाट प्रमाण पत्र नम्बर ३०७०३ बाट पत्रकार परिचय पत्र पनि लिएँ । मलाई कानुनी बाटोबाटै कोरिया पठाउने हो भनियो ।“
पत्रकार परिचयपत्र लिएपछि शेर्पालाई गुप्ताले नेपाल पत्रकार महासंघको काठमाडौं शाखा कार्यालयमा भिसा आवेदनको लागि सिफारिस लिन पठाए । महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले हस्ताक्षर गरेर सिफारिस दिए ।

गिरोहले यसरी सूचना विभागबाट शेर्पालाई पत्रकार परिचय पत्र निकालिदिएको थियो ।
गोलमेच साप्ताहिकले शेर्पालाई कोरियामा हुने ‘फोर्थ ग्लोबल सोयल सेक्युरिटी कन्फरेन्समा सहभागिताका लागि जान लागेको भन्दै सिफारिस पत्र दियो र शेर्पाको नाममा इन्भिटेसन लेटर पनि आयो । तर गुप्ताले शेर्पालाई कोरिया पठाउन सकेनन् ।
आफूलाई कोरिया पठाउन भन्दै ३ वर्षमा साढे ७ लाख ठगी गर्ने गुप्तासँग शेर्पाले पटक पटक पैसा फिर्ता मागिन् तर गुप्ता सम्पर्कमा नआएपछि उनी वैदेशिक रोजगार विभाग पुगिन् । वैदेशिक रोजगार विभागले यस्तो मुद्दा प्रहरीले हेर्ने जवाफ दियो । प्रहरी वैदेशिक रोजगार विभाग जानू भनेर पन्छियो । त्यसपछि उनी मिडियामा पुगिन् । शेर्पाले रातोपाटी डटकमका पत्रकार मदन ढुङ्गानालाई भेटेपछि समाचार सार्वजनिक भयो ।
समाचारमा नखुलेका थप तथ्यहरू
> गोलमेच साप्ताहिकका प्रकाशक एवं सम्पादक एकराज दाहालले मंगलबार विज्ञप्ति निकालेर ठगी गर्ने अनिल कुमार गुप्ता र ठगिएको भनिएकी छिरिङ डोमा शेर्पा २०७९/२०८० सम्म पत्रिकामा आबद्ध रहेको तर हाल कार्यरत नरहेको दाबी गरेका छन् । उनको यो दाबी गलत यसकारण ठहर्छ कि शेर्पा आफैँले आफू पत्रकार नभएको तर कोरिया लैजानमात्र आफूलाई पत्रकार बनाइएको हो । र, आफ्नो नाममा बाइलाइन समाचार छपाइएको हो । यसबाट पत्रिका यो संगठित अपराधको हिस्सा बनेको देखिन्छ ।
> नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्य रहेका अनिल कुमार गुप्ता सुरुमा उक्त कार्यालयमा सिफारिस बनाउन पुगेका थिए । तर उपत्यका प्रदेश समितिका अध्यक्ष सृजन झा र महासचिव टेनिस रोकाले आफ्नो कमिटीसँग असम्बन्धित पत्रकारलाई सिफारिस पत्र बनाउन नमिल्ने भनेपछि उनी महासंघको काठमाडौं शाखा पुगेका थिए ।

नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखाले दिएको सिफारिस पत्र ।
> गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाल सत्तारुढ नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन् भने प्रेस सेन्टरकै भक्तपुर इन्चार्ज पनि हुन् ।
> यस्तै, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, जसले असम्बन्धि व्यक्तिलाई कोरियामा हुन लागेको कार्यक्रममा जान लागेको भनेर सिफारिस दिए, उनी पनि प्रेस सेन्टरकै केन्द्रीय सदस्य हुन् । उनी सेन्टरकै ललितपुर इन्चार्ज पनि हुन् ।
> मंगलबार बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकमा पनि यी दुईजनाले पत्रकारिताको आवरणमा ठगी गरेको विषयले प्रवेश पाएको छ । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सेन्टरको उपत्यका प्रदेश कमिटीलाई यस विषयमा छानबिन गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइसकिएको बताए । “हामी यस विषयमा तदारुकताका साथ छानबिन गर्छौँ, प्रदेश कमिटीलाई यसको जिम्मा दिइएको छ’, पौडेलले भने, “प्रतिवेदन आउनासाथ आवश्यक कारबाही गर्छौँ ।“
> गोलमेचका प्रकाशक/सम्पादक एकराज दाहाल र महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीलाई प्रभावमा पारेर गुप्ताले पछिल्लो ठगी गरेको देखिन्छ । जोसुकै व्यक्तिलाई यस्ता कार्यक्रमहरूमा जान सिफारिस गरिनुले यो एउटा घटना होइन, बरु संगठित रुपमै यसो भइरहेको शंका उब्जिन्छ । गुप्ताले पहिला पनि यस्तै चोरबाटोबाट कोरिया पठाएको भनिएकी महिलाका सन्दर्भमा पनि पत्रकारिताको आवरणमा त्यसो गरिएको हुन सक्छ । जसको स्वतन्त्र अनुसन्धान आवश्यक छ ।
> पहिला यसरी नै पठाइएकी महिला नफर्केपछि पुनः आएको त्यस्तै सिफारिसलाई दूतावासले फिर्ता पठाएको हुन सक्छ । पत्रकारको परिचय पत्र बेच्ने तथा महासंघ लगायत सम्मानित संस्थाहरूको लेटरप्याड दुरुपयोग गर्ने कार्यले पत्रकार र पत्रकारिता पेशामात्र बदनाम भएको छैन, यस्ता संस्थाहरूको विश्वसनीयता र आधिकारिकतामा पनि गमभीर प्रश्नचिह्न खडा हुन्छ । पत्रकार महासंघबाट यस्ता तत्त्वहरूलाई बिदा गरी सदस्यता शुद्धिकरण गर्ने उत्तम अवसर यही हो ।
> एकराज दाहाल, जो पत्रकार महासंघको काठमाडौं शाखाका साधारण सदस्य हुन्, उनलाई उक्त शाखाले स्पष्टीकरण सोधेको छ भने ठगी गर्ने गुप्ता, जो काठमाडौं शाखाकै साधारण सदस्य हुन्, उनलाई निलम्बन गर्नु भनेर काठमाडौं शाखाले सिफारिस गरिसकेको छ ।