पत्रकारको परिचयमा एक युवतीलाई गैरकानुनी ढंगले विदेश पठाउन लागेको घटनामा नाम मुछिएका दुईजना केन्द्रीय सदस्यमाथि प्रेस सेन्टर नेपालले छानबिन गर्ने भएको छ । मंगलबार बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकमा यस विषयले प्रवेश पाएपछि छानबिन प्रक्रिया अघि बढेको हो ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सेन्टरको उपत्यका प्रदेश कमिटीलाई यस विषयमा छानबिन गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइसकिएको बताए ।
गोलमेच साप्ताहिकको पत्रकारका रुपमा प्रस्तुत गरी सूचना विभागबाट पत्रकार परिचयपत्र समेत बनाई ती युवतीलाई कोरिया पठाउन लागिएको खुलेको हो । गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाल सत्तारुढ नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन् भने प्रेस सेन्टरकै भक्तपुर इन्चार्ज पनि हुन् ।
यस्तै, उनलाई कोरियामा हुने एक कार्यक्रमको सहभागीका रुपमा पठाउन नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले सिफारिस गरेका थिए । असम्बन्धि व्यक्तिलाई कोरियामा हुन लागेको कार्यक्रममा जान लागेको भनेर सिफारिस दिने महासंघ काठमाडौंका अध्यक्ष सुवेदी पनि प्रेस सेन्टरकै केन्द्रीय सदस्य हुन् । उनी सेन्टरका ललितपुर इन्चार्ज समेत हुन् ।
ती युवतीलाई पत्रकार बनाएर कोरिया पठाउने भन्दै पैसा असुल्ने अनिल कुमार गुप्ता नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमितिका सदस्य हुन् । गुप्ता पत्रकारिताको आवरणमा मानव तस्करीमा संलग्न रहेको खुलासा रातोपाटी डटकमले सोमबार गरेको थियो ।
गुप्ताले आफूलाई शिक्षा मन्त्रालयको स्वकीय सचिव हुँ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएर गुप्ताले मानिसहरूलाई कोरिया तस्करी गरेको खुलेको छ ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले उपत्यका प्रदेश कमिटीलाई छानबिन गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको बताए ।
“यस विषयमा तदारुकताका साथ छानबिन गर्न प्रदेश कमिटीलाई यसको जिम्मा दिइएको छ’, पौडेलले भने, “प्रतिवेदन आउनासाथ आवश्यक कारबाही गर्छौँ ।“
प्रेस सेन्टर नेपाल, प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले दाहाल र सुवेदीमाथि छानबिन अघि बढेको बताए ।
"समाचारमा विषयहरू आएका छन्, उहाँहरूसँग स्प्ष्टीकरण लिई आवश्यक छानबिन गर्छौँ", ज्ञवालीले भने, "महासंघको अध्यक्षको हैसियतामा उहाँ [सूर्य सुवेदी] ले सिफारिस गरेको देखिन्छ । महासंघले के गर्न हुन्छ र हुँदैन भन्ने महासंघको विषय हो तर उहाँहरू हाम्रा सदस्य भएका कारण स्वभाविक रुपमा चासो लिएर गम्भीरतापूर्वक अनुसन्धान गर्छौँ ।"
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको समितिका अध्यक्ष श्रीजन झा राज्यका निकायमा उजुरी दर्ता भएमा मानव तस्करीमा नाम मुछिएको भनेर मिडियामा नाम आएका आफ्नो कार्यसमितिका सदस्य अनिल कुमार गुप्तालाई निलम्बन गर्ने बताउँछन् ।
"मिडियामा समाचार आएको छ तर उहाँविरुद्ध उजुरी दर्ता कहीँ पनि भएको छैन", झा भन्छन्, "उजुरी दर्ता भएको ५/७ मिनेटमा निलम्बन लगायतका निर्णय लिन हामी तयार छौँ ।" मिडियामा समाचार आउँदैमा संस्थागत निर्णय गरिहाल्न नमिल्ने उनको तर्क छ ।
गोलमेचका प्रकाशक/सम्पादक एकराज दाहाल र महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीलाई विश्वासमा पारेर गुप्ताले पछिल्लो ठगी गरेको देखिन्छ ।
नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले निवेदक सम्पादक समेत लिएर प्रमाण र कागजातहरूसहित आएकाले विश्वास गरेर सिफारिस बनाइदिएको बताउँछन् ।
"बाइलाइन समाचारसहित सूचना विभागको प्रेस पास र सम्पादकलाई समेत लिएर आएकाले स्वभाविक ठानेर सिफारिस गरेको हो', सुवेदीले भने, "तर अहिले समाचार पढेपछि म आफैँ प्रयोग भएछु भन्ने बुझेँ ।"
सबै चिनेकै मान्छे र निवेदक स्वयम् प्रमाणसहित आएकाले विश्वासमा परेको उनको दाबी छ । "पीडित बहिनीले न्याय पाउनुपर्छ । मैले गल्ती गरेको रहेछु भने ममाथि पनि कारबाही हुनुपर्छ", उनले भने ।
यस्तो छ घटना विवरण
झापाकी छिरिङ डोमा शेर्पाको एउटै सपना थियो- कोरिया जाने । सन् २०१९ मा इपीएस परीक्षामा नाम पनि निस्कियो । तर कोभिड महाव्याधिका कारण यात्रा रोकिएपछि उनले कोरिया जान चोर बाटो रोजिन् । साथीहरूको सङ्गत र सहयोगमा उनले अनिल कुमार गुप्तालाई भेटिन् ।
"म जुन घरमा बस्थेँ, त्यही घरमा बस्ने पेमा शेर्पा भन्ने साथी पनि कोरिया गएकी थिइन् । तर उनले इपीएस परीक्षा पास गरेर गएकी थिइनन् । मैले तिमी कसरी गयौ भन्दा कसैले पठाइदिएको बताइन् । त्यतिबेला उनले १० लाखजति तिरेको सुनेको छु," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "म पनि आउन चाहन्छु, सम्पर्क गराइदेउ न भनेपछि पेमाले कुमार गुप्ता भन्ने व्यक्तिको फेसबुक आइडी पठाइदिइन् ।"

रातोपाटी कार्यालयमा छिरिङ डोमा शेर्पा । फोटो साभारः रातोपाटी
गुप्ताकै सहयोगमा साथी कोरिया गएको बुझेपछि लोभिएका शेर्पाले गुप्तालाई फेसबुक सम्पर्क गरिन् । उनले आफ्नो नम्बर दिएर भेट्न बोलाए । "भेटपछि उनले आफ्नो नाम अनिल गुप्ता भएको र शिक्षा मन्त्रालयको स्वकीय सचिव रहेको बताए," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "मलाई भेट्न बोलाउँदा पनि सिंहदरवार भित्रै बोलाउँथे । तर शिक्षा मन्त्रालयमा नभई उनले मलाई क्यान्टिनतिर बोलाउँथे ।"
१३ लाख ५० हजार रुपैयाँमा कोरिया लैजाने डिल भयो । ढिलोमा ४ महिनामा सबै काम सकिने आश्वासन दिएपछि शेर्पाले ७ लाख ५० हजार रुपैयाँ बझाइन् ।
गुप्ताले शेर्पालाई पत्रकार बनाएर कोरिया लैजाने प्रपञ्च बुनेका थिए ।
गुप्ताले शेर्पालाई कानुनी बाटोबाट कोरिया पठाउने भन्दै सुरुमा ‘गोलमेच साप्ताहिक’को पत्रकार बनाए । उक्त साप्ताहिकका अध्यक्ष तथा सप्पादक एकराज दाहालको सहयोगमा शेर्पाकै नाममा २०८० जेठ ५ गते बाइलाइन समाचार पनि प्रकाशन गरे । सोही साप्ताहिकको कार्यालयबाट कर्मचारी विवरणमा शेर्पाको नाम राखेर सूचना विभागबाट पत्रकार परिचयपत्र प्रमाण पत्र समेत बनाइयो ।

'अमेरिकाको नाङ्गो हस्तक्षेप' शीर्षकमा गोलमेच साप्ताहिकमा छापिएको शर्पाको नाममा बाइलाइन समाचार ।
"गुप्ताले मलाई गोलमेच साप्ताहिक नामक पत्रिकाको पत्रकार बनाइदिने र त्यही पत्रिकाको कार्यालयबाट कर्मचारी विवरणमा मेरो नाम राखेर सूचना विभागमा पत्रकार परिचयपत्र बनाउनका लागि सिफारिस गराइयो," शेर्पाले रातोपाटीसँग भनेकी छन्, “त्यही सिफारिसका आधारमा २०७९ असोज ४ गते मैले सूचना विभागबाट प्रमाण पत्र नम्बर ३०७०३ बाट पत्रकार परिचय पत्र पनि लिएँ । मलाई कानुनी बाटोबाटै कोरिया पठाउने हो भनियो ।“
पत्रकार परिचयपत्र लिएपछि शेर्पालाई गुप्ताले नेपाल पत्रकार महासंघको काठमाडौं शाखा कार्यालयमा भिसा आवेदनको लागि सिफारिस लिन पठाए । महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले हस्ताक्षर गरेर सिफारिस दिए ।

गिरोहले यसरी सूचना विभागबाट शेर्पालाई पत्रकार परिचय पत्र निकालिदिएको थियो ।
गोलमेच साप्ताहिकले शेर्पालाई कोरियामा हुने ‘फोर्थ ग्लोबल सोयल सेक्युरिटी कन्फरेन्समा सहभागिताका लागि जान लागेको भन्दै सिफारिस पत्र दियो र शेर्पाको नाममा इन्भिटेसन लेटर पनि आयो । तर गुप्ताले शेर्पालाई कोरिया पठाउन सकेनन् ।
आफूलाई कोरिया पठाउन भन्दै ३ वर्षमा साढे ७ लाख ठगी गर्ने गुप्तासँग शेर्पाले पटक पटक पैसा फिर्ता मागिन् तर गुप्ता सम्पर्कमा नआएपछि उनी वैदेशिक रोजगार विभाग पुगिन् । वैदेशिक रोजगार विभागले यस्तो मुद्दा प्रहरीले हेर्ने जवाफ दियो । प्रहरी वैदेशिक रोजगार विभाग जानू भनेर पन्छियो । त्यसपछि उनी मिडियामा पुगिन् । शेर्पाले रातोपाटी डटकमका पत्रकार मदन ढुङ्गानालाई भेटेपछि समाचार सार्वजनिक भयो ।
गोलमेच प्रकाशकको दाबीः उनीहरू अहिले हामीसँग छैनन्
गोलमेच साप्ताहिकका प्रकाशक एवं सम्पादक एकराज दाहालले मंगलबार विज्ञप्ति निकालेर ठगी गर्ने अनिल कुमार गुप्ता र ठगिएको भनिएकी छिरिङ डोमा शेर्पा २०७९/२०८० सम्म पत्रिकामा आबद्ध रहेको तर हाल कार्यरत नरहेको दाबी गरेका छन् ।
तर उनको यो दाबी गलत यसकारण ठहर्छ कि शेर्पा आफैँले आफू पत्रकार नभएको तर कोरिया लैजानमात्र आफूलाई पत्रकार बनाइएको बताएकी छन् । त्यही प्रयोजनका लागि आफ्नो नाममा बाइलाइन समाचार छपाइएको उनको भनाई छ । यसबाट पत्रिका यो संगठित अपराधको हिस्सा बनेको देखिन्छ ।
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्य रहेका अनिल कुमार गुप्ता सुरुमा उक्त कार्यालयमा सिफारिस बनाउन पुगेका थिए । तर उपत्यका प्रदेश समितिका अध्यक्ष सृजन झा र महासचिव टेनिस रोकाले आफ्नो कमिटीसँग असम्बन्धित पत्रकारलाई सिफारिस पत्र बनाउन नमिल्ने भनेपछि उनी महासंघको काठमाडौं शाखा पुगेर सिफारिस बनाउन सफल भएका थिए ।

नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखाले दिएको सिफारिस पत्र ।
एकराज दाहाल, जो पत्रकार महासंघको काठमाडौं शाखाका साधारण सदस्य हुन्, उनलाई उक्त शाखाले स्पष्टीकरण सोधेको छ भने ठगी गर्ने गुप्ता, जो काठमाडौं शाखाकै साधारण सदस्य हुन्, उनलाई निलम्बन गर्नु भनेर काठमाडौं शाखाले सिफारिस गरिसकेको छ ।