खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन् । केन्द्रको बुधबार सम्पन्न १६औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका दीक्षित खोपकेका संस्थापक पनि हुन् । उनी नेपाली टाइम्सका प्रकाशक हुन् ।
यस्तै केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, विद्या राई र नवीन झा चयन भएका छन् । दुई सदस्य नयाँ कार्यसमितिले मनोनीत गर्नेछ ।
खोज पत्रकारिता केन्द्र सन् १९९६ मा स्थापना भएको हो । यो संस्था मुलतः पत्रकारहरूलाई खोज पत्रकारिताको तालिम दिने, मार्गदर्शन (मेन्टरसिप) गर्ने, र खोजमूलक समाचार सामग्री उत्पादनमा संलग्न छ । यसले खोजी समाचारको गुणस्तर सुधार गर्न प्राविधिक, लजिस्टिक र सम्पादकीय सहयोग गर्दै आएको छ ।