‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२’ बाट दुई पत्रकार महिला पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यस वर्ष सिन्धुपाल्चोककी कमला पाख्रिन र जुम्लाकी दिलमाया शाहीले पाएका हुन् ।
पाख्रिन र शाहीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२’ प्रदान गरे । पुरस्कृत शाही ‘सन्धान अनलाइन’ र पाख्रिन ‘कान्तिपुर टेलिभिजन’ मा आवद्ध छन् । नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एक लाख एघार हजार रुपैयाँ छ ।
पुरस्कृत पत्रकारलाई बधाई दिँदै प्रमुख अतिथि एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रसंसा गरे । उनले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि सुधारको आवश्यक्ता रहेको भन्दै आत्मालोचना सहित रुपान्तरण हुनुपर्ने बताए । उनले सञ्चार सम्बन्धी कानुन निर्माणलाई प्रथामिकताका साथ अघि बढाउने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजासँगको निरन्तर सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरे ।
उनले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आमसञ्चार प्रतिष्ठानको आवश्यक्ता रहेको बताए । कानुन निर्माण प्रकृयालाई सरल बनाई पत्रकारिताका सबै क्षेत्रलाई समेट्नुपर्ने उनले बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएको बताए । उनले पत्रकारले पत्रकारिताको सामान्य मूल्यमान्यतालाई आत्मसात् गरी सत्यतथ्य समाचार सम्प्रेषण गरे मात्रै पनि पत्रकारितामा सुधार हुने बताए ।
कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले नेजाले नेपालको पत्रकारितामा गर्दै आएको साथ र सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिवद्धता गरे ।
महासंघका महासचिव रोसन पुरीले नेजाले पत्रकारिता पुरस्कार मात्रै हैन पत्रकारहरू बिरामी पर्दा र प्राकृतिक विपत्तिमा पनि नेपाली पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको भन्दै प्रशंसा गरे ।
उनले श्रमजीवी पत्रकार ऐनसहितका सञ्चार सम्बन्धी कानुनको पूर्ण कार्यान्वयन नहुँदा पत्रकारहरु पारिश्रमिकबाट वञ्चित हुनुपरेको बताए । उनले पत्रकारहरुलाई सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले २२३ आवेदक मध्येबाट उत्कृष्ट दुईजनालाई छनोट गरिएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल लगायतले धारणा राखेका थिए ।