दिक्क त्यतिबेला लाग्छ जब कसैले गल्ती गर्दा कारबाही गर्ने अख्तियारी बोकेको कुनै निकाय निरीह रुपमा प्रस्तुत हुन्छ । प्रेस काउन्सिल नेपाल पछिल्लो उदाहरण हो ।
मिडियाहरूले पत्रकार आचारसंहिता उल्लङ्घन गरेमा कारबाहीसम्म गर्न सक्ने प्रेस काउन्सिल नेपालले आफ्नो मूल कम बिर्सेजस्तो विज्ञप्ति निकालेको छ ।
'पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारालगायतका विषयमा प्रकाशित/प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ' बुधबार अपिल जारी गर्दै काउन्सिलले पत्रकार आचारसंहिता नै प्रभावित हुनेगरी सामग्री प्रचारप्रसार भइरहेको जनाएको छ ।
‘कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पुर्याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, काउन्सिलका सूचना अधिकारीसमेत रहेका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी अपिलमा भनिएको छ ।
खासमा काउन्सिलले गर्नुपर्ने त आचारसंहित उल्लङ्घन गर्ने मिडियाहरूमाथि नत्थी लगाउने हो । तर त्यसो नगरे काउन्सिलले अपिल निकालेर कर्तव्य पूरा गरेजस्तो गरेको छ । आचारसंहिता उल्लङ्घन भएको उसले ठहर गरिसकेपछि त्यस्ता गतिविधिमा संलग्न मिडियाहरूमाथि कारबाही गर्नु उसको मुख्य काम हो ।
बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्याउने गरी सम्प्रेषण नगर्न काउन्सिलको आग्रह छ ।
‘तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पुर्याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्याउने गरी सामग्री सम्प्रेषण गर्नु/गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो’ अपिलमा भनिएको छ, ‘सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु/गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ ।’
हेर्नुस् काउन्सिलको विज्ञप्तिः
