नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्षसमेत रहेका पत्रकार ओम शर्मा माथि हातपात भएको छ । मंगलबार गैर आवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा शर्मामाथि हातपात भएको हो ।
शर्मा चारदिशा अनलाइनका सम्पादक पनि हुन् । एमाले नेता महेश बस्नेत समेतको सहभागिता रहेको उक्त कार्यक्रममा फोटो खिच्दै गर्दा डिलिट गर्नू भन्दै युवा संघका कार्यकर्ताले हातपात गरेको शर्माले भिडियोमा दाबी गरेका छन् ।
"...युथ फोर्सको कार्यक्रम कसरी भयो ? एउटा फोटो लिन्छु, त्यसपछि अरु कुरा गरौँला भनेको थिएँ, त्यसपछि युथफोर्सका कार्यकर्ताहरूले हिर्काउनु भयो," उनले भिडियोमा भनेका छन्, "तपाईँले देखिराख्नु भएको छ, मेरो मुख ड्यामेज भएको छ, अरु शरीर ड्यामेज भा'छ, धेरै हिर्काउनु भयो, मैले तीन वटा फोटो लिएको थिएँ, मेरो फोन खोजेर उहाँहरुले जबरजस्ती डिलिट गर्नु भएको छ ।"
छानबिन गर्न महासंघको माग
पत्रकार शर्मामाथि हातपात भएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै महासंघले बेल्जियम शाखाका अध्यक्ष तथा चारदिशा अनलाइनका सम्पादक शर्मामाथि भएको सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति आपत्ति जनाएको हो ।
पत्रकार शर्मामाथि भएको आक्रमण 'अत्यन्त निन्दनीय, अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप' भएको महासंघले जनाएको छ ।
"प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको स्पष्ट छ," महासंघले उल्लेख गरेको छ ।
महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता तथा भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
पत्रकार उमाकान्त पाण्डेले एनआरएनका नाममा विदेशमा बस्ने सबै नेपाली लज्जित हुने काम भएको टिप्पणी गरेका छन् ।
सोसल मिडियामा यस विषयमा पत्रकार तथा अन्य क्षेत्रका व्यक्तिहरूले पनि टिप्पणी गरेका छन् ।