सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन भएका छन् । संस्थाको ११औं साधारणसभाले बिहीबार अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अर्याल पत्रकारिता प्राध्यापनसँगै मिडिया, इतिहास र समाजशास्त्र सम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न छन् ।
सीएमआरको उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य र सदस्यहरूमा सुनीता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन भएका छन् ।
साधारणसभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंङ्गले बुझ्न नसकेको भन्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्नका लागि काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सह्रानीय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिए ।
महासंघका सचिव पवन आचार्यले पत्रकारहरूका लागि विशिष्टकृत तालिमको आवश्यकता रहेको बताउँदै समय सापेक्ष तालिमहरु अघि बढाउनु पर्ने बताए ।
नेपाल खुल्ला विश्विद्यालयका सहप्राध्यापक डा. हरि ढुङ्गानाले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा धेरै चुनौती देखा परेको उल्लेख गर्दै नयाँ प्रविधिलाई विशेष ध्यान दिएर अघि बढन् सुझाव दिए ।
सिएमआर नेपालका नवनिर्वाचित अध्यक्ष दीपक अर्यालले विगतमा गरेका कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यवहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन अनुसन्धान गर्ने बताए । उनले मिडिया सम्बन्धी बहसलाई पनि अघि बढाउने बताए ।
सिएमआर नेपालका निर्तमान अध्यक्ष तृष्णा आचार्यले स्थापनादेखि नै सिएमआर नेपालले नेपालको मिडिया क्षेत्रको विकासमा योगदान गर्दै आएको बताइन् । सिएमआर नेपालको सामाजिक लेखा परीक्षण समेत साधारणसभामा गरिएको थियो ।
सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा नेपालमा जर्नालिजम एकेडेमी पनि सञ्चालन गरिरहेको छ।