नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप लक्षित आन्दोलनका कार्यक्रमहरू तीन दिनका लागि स्थगन गरेको छ ।
कान्तिपुर व्यवस्थापनले ८२ जना पत्रकारलाई निष्कासन गरेको विरोधमा घोषित आन्दोलनका कार्यक्रमहरू शुक्रबार राति गएको भूकम्पका कारण स्थगित गरिएको रोसन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
महासंघले शोक मनाउन आफ्ना औपचारिक कार्यक्रमहरू तीनदिनसम्म स्थगित गरेको हो । कात्तिक २१ गतेदेखि आन्दोलन जारी रहने विज्ञप्तिमा जनाइएको छ ।
महासंघले आन्दोलनका कार्यक्रमहरू अद्यावधिक गरी पुनः सार्वजनिक गर्ने जनाएको छ । यदि तपाईँलाई नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ भन्ने थाहा छैन भने कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगारानी पढ्नुहोस् ।
भूकम्पमा सञ्चारमाध्यमा पनि क्षति
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११:४७ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा भएको मानवीय तथा भौतिक क्षतिप्रति महासंघले दुःख व्यक्त गरेको छ ।
भूकम्पबाट केही सञ्चारगृहमा भौतिक क्षति पुगेको र कतिपय पत्रकार पनि प्रभावित भएका महासंघले जनाएको छ ।
विपद्को रिपोर्टिङका क्रममा सुरक्षा सम्वेदनशीलता अपनाउन र भूकम्पको समयमा क्षति र हताहतीको रिपोर्टिङ गर्दा मानवीय सम्वेदनशीलता, पत्रकार आचारसंहिता तथा पीडितको भावनाको उच्च सम्मान गर्न महासंघले पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
भूकम्पपछि सरकारले थालेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन महासंघले आग्रह गरेको छ । पत्रकार तथा सञ्चारकर्मीलाई उद्धार तथा राहतमा केन्द्रित भएर सञ्चारकर्ममा जुट्न उसले आग्रह गरेको छ ।