कात्तिक १७ गते शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले त्यस आसपासका सञ्चारसंस्थाहरूमा पनि क्षति पुगेको छ । कयौँ पत्रकारहरू पनि प्रभावित भएका छन् ।
यो खबर तयार पार्दा सम्म जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको छ भने ३५० जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
भूकम्पबाट भएको क्षतिबाट जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कतिपय सञ्चारसंस्थाका कार्यालय क्षतिग्रस्त भएका छन् भने कतिपय पत्रकारहरू घरबास विहीन भएका छन् ।
पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अनुसार रुकुम पश्चिममा मात्रै ३० जना पत्रकार प्रभावित भएका छन् । प्रभावित ३० जना पत्रकारहरूमध्ये प्रायः पत्रकारहरूको घर पूर्ण जोखिममा छन् ।
रुकुम पश्चिममा तीन वटा सञ्चार गृहहरू क्षतिग्रस्त अवस्थामा छन् । भूकम्पमा रेडियो समावेशी आवाज पूर्ण रुपमा क्षति भएको छ । उक्त रेडियो हाल टेन्टबाट प्रशारणमा छ ।
रुकुम पश्चिममा रेडियो सानिभेरी र नयाँ नेपाल एफएम पनि आसिंक रुपमा क्षति भएको हो ।
पत्रकार महासंघ जाजरकोट शाखाका अनुसार जाजरकोटमा मात्रै ३२ जना पत्रकार प्रभावित भएका छन् । प्रभावित पत्रकारहरूको घरमा क्षति भएको शाखाले जनाएको छ । शाखाका अनुसार जाजरकोटमा ७ जना सञ्चारगृह प्रभावित भएका छन् ।
“यहाँ कार्यरत ३२ जना पत्रकारहरू भूकम्पबाट प्रत्यक्ष प्रभावित छन् । कतिको घर भत्किएको छ त कतिको ल्याप्टप, क्यामेरा, मोबाइल लगायत सामग्रीहरू पुरिएका छन्,” शाखाका अध्यक्ष बालकुमार शर्माले भने,“सबै सामग्रीहरू गरेर २१ देखि २२ लाख बराबरको क्षति पत्रकारहरूले बेहोर्नुपरेको छ । त्यसका अलावा आफन्त वा घर गुमाउनु पर्ने पीडा त छँदै छ ।” पत्रकार महासंघ कर्णाली प्रदेश शाखाका अनुसार भूकम्पमा ७ जना पत्रकारको घर भत्किएको छ ।
पत्रकार मनोवैज्ञानिक रुपमा कमजोर
भूकम्पका कारण सञ्चारगृहसँगै पत्रकारहरुको मनोविज्ञानमा पनि असर परेको छ । शोकमा डुबेका नागरिकलाई सुसूचित गराउन तल्लीन पत्रकारहरू आफ्ना सञ्चार सामग्रीमा भएको क्षतिको पीडा त छँदैछ, छरछिमेकी र प्रियजनहरूमा परेको असर पनि झेलिरहेका छन् । त्यससँगै सञ्चार गृहहरूले दिने दबावका कारण पनि उनीहरू मनोवैज्ञानिक रुपमा पनि विक्षिप्त बनेको पत्रकार महासंघ जाजरकोटका पूर्वअध्यक्ष राजेन्द्र कार्की बताउँछन् ।
“हाम्रा धेरै साथीहरू मनोवैज्ञानिक रुपमा निकै कमजोर बन्नु भएको छ । धेरै साथीहरू एकोहोरिईरहनुहुन्छ । प्रायः सबै पत्रकारहरू विक्षिप्त नै छन्, धेरै साथीहरु गाउँ शोकमा डुबेसँगै मनोवैज्ञानिक रुपमा कमजोर बन्नु भएको छ,” कार्की भन्छन्, “राष्टिय सञ्चार गृहमा काम गर्ने साथीहरूलाई झन धेरै पीडा छ, समयमा तलब पनि दिदैनन् तर यहाँ यस्तो घटना घटेको बेलामा घरी फोटो चाहियो, घरी समाचार चाहियो, घरी भिडियो चाहियो भनेर दबाब दिन्छन्, जसकारण पत्रकार थप पीडामा परेका हुन् ।”
ल्यापटप, क्यामेरा, मोबाइल जस्ता उपयोगी सामग्रीहरू भूकम्पमा तहसनहस भएपछि मनोवैज्ञानिक रुपमा कमजोर भएका कतिपय पत्रकारको उदाहरण नै दिए, महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माले ।
राहतका लागि महासंघको अपील
नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूका लागि राहत उपलब्ध गराउन अनुरोध गरेको छ । पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सहयोग गर्न आहृवान गरेको हो ।
कात्तिक २२ गते बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर न्यूनीकरण गर्न प्रभावित पत्रकार र सञ्चारगृहलाई राहत वितरण थालेको हो ।